Successfully Copied

गर्मी मौसममा छालामा देखिने समस्या

यो मौसममा गर्मी तथा तापक्रमका कारण पसिना धेरै आउँछ । फलस्वरूप पसिना गुम्सिने ठाउँ जस्तो काखी, औंलाको काप तथा अन्य भागमा दादको समस्या देखिन सक्छ । खेतीपातीका क्रममा हिलोसँग सम्पर्क हुँदा औंलाको काप खाने समस्या हुन्छ । यो पनि एक किसिमको दाद नै

 

गर्मी मौसम सुरु भएसँगै छालामा विभिन्न समस्या देखा पर्छन् । घामले गर्दा छालामा चायाँ–पोतो, एलर्जी एवं डन्डिफोरजस्ता समस्या देखिन्छन् । गर्मी मौसममा घामको किरणको प्रभावका कारण शरीरमा अक्सिडेटिभ स्ट्रेसको मात्रा बढ्छ । घामका कारण छाला डढ्छ । छालामा एजिङ (जर) देखिने सम्भावना बढ्छ । यसैगरी गर्मी मौसममा पहिले नै चायाँ–पोतो भएकाहरूको चायाँ–पोतो अझ वृद्धि हुन्छ । घामका कारण छालाको रंग परिवर्तन हुन्छ । यसले गर्दा छाला डढ्छ । छालामा एजिङ (जर) देखिने सम्भावनासमेत हुन्छ । घामका कारण तथा बढ्दो तापक्रमले गर्दा पसिना आउँछ । यसले गर्दा पनि एजिङ देखिन्छ । गर्मी धेरै हुने भएकाले स्ट्ेरस बढ्छ ।

समस्या

यो मौसममा गर्मी तथा तापक्रमका कारण पसिना धेरै आउँछ । फलस्वरूप पसिना गुम्सिने ठाउँ जस्तो काखी, औंलाको काप तथा अन्य भागमा दादको समस्या देखिन सक्छ । खेतीपातीका क्रममा हिलोसँग सम्पर्क हुँदा औंलाको काप खाने समस्या हुन्छ । यो पनि एक किसिमको दाद नै हो । प्राय: यो समस्या तराईमा धेरै देखिन्छ । त्यसैले गर्मी मौसममा काप सुख्खा राख्नुपर्छ । यसका लागि एन्टिफंगल पाउडर प्रयोग गर्नुपर्छ । कटनको भित्री वस्त्र प्रयोग गर्नुपर्छ । आ–आफ्नो व्यक्तिगत रुमाल मात्र प्रयोग गर्नुपर्छ । सम्भव भएसम्म एन्टिफंगल साबुन प्रयोग गर्नुपर्छ । प्रयोग गरेको रुमाल तथा भित्री वस्त्र घाममा सुकाउनुपर्छ । दाद देखिए चिकित्सकलाई देखाएर औषधि प्रयोग गर्नुपर्छ ।

गर्मी मौसम तथा वर्षामा लामखुट्टे तथा अन्य कीराले टोक्छन् । यसलाई इन्सेक्टिबाइट हाइपर सेन्सिटिभिटी भनिन्छ । यसो हुँदा स–साना बिमिरा आउनुका साथै चिलाउँछ पनि । प्राय: यो समस्या बालबालिकामा देखिन्छ । त्यसैले लामो बाहुला भएका कटनका पहिरन लगाउनुपर्छ भने अनिवार्य रूपमा झुल प्रयोग गर्नुपर्छ । घाँटी, हात तथा अन्य खुल्ला भागमा रेपिलेन्ट क्रिम प्रयोग गर्दा पनि यस्ता समस्याबाट जोगिन सकिन्छ ।

यो मौसममा पसिना धेरै आउँछ । जसले गर्दा हाइपर हाइड्रोसिस भएका बिरामीहरूको दिनचर्यामै असर गर्न सक्छ । यस्तो हुँदा छालामा औषधिजन्य साबुन तथा एल्युमिनियम क्लोराइडयुक्त डियोडरेन्ट प्रयोग गरे समस्या अलि कम हुन्छ ।

पसिना धेरै बग्ने भएकाले शरीरमा पानीको मात्रा कम भै छाला सुख्खा भएर चिलाउन सक्छ । चर्को घाम लागेका बेला बाहिर निस्कदा छाला डढ्न सक्छ । यसरी डढेको छाला चिलाउने, सुख्खा हुने तथा फुस्रो हुने समस्या देखापर्छ । कपडाले नछोप्ने शरीरका विभिन्न भागमा डढेको प्रस्ट देखिन्छ ।

अहिले घामका कारण छालामा एक्टिनिक केराटोसिस पनि देखिन थालेको छ । यो सामान्यतया अनुहार, ओठ, कान, काँध एवं हातमा हुन सक्छ । यो रातो दाग–धब्बा स्वरूपमा हुन्छ ।

गर्मी मौसममा बढी गर्मी तथा चर्को घामका कारण छाला चिलाउनुका साथै रातो दाग तथा बिमिरा देखा पर्छन् । यस्ता दाग लामो समय घाममा बस्दा देखिन सक्छन् । यो समस्या देखिएका बेला बिरामीहरूले घामका कारण भएको भनेर सनस्क्रिन लगाउँदा समस्या अझ बल्झन सक्छ । त्यसैले डर्मेटोलोजिस्टको सल्लाह लिनु उपयुक्त हुन्छ ।

गर्मी मौसममा धेरैजसो मानिस स्वीमिङमा रमाउँछन् । स्वीमिङ पुलको पानीमा क्लोरिलन हुने भएकाले स्वीमिङ गर्दा पनि खुल्ला भागको छाला घामले डढ्छ ।

यसैगरी गर्मीमा आँप तथा अन्य फलफूल खाँदा ओठ वरिपरि रातो चिलाउने बिमिरा आउन सक्छ । त्यस्ता फलफूलमा रसायन प्रयोग गरिएको हुन्छ ।

सीधा घामको असर (एक्सपोजर) पर्ने ठाउँमा पनि स्किन क्यान्सरको सम्भावना हुन्छ । नेपालमा भने यो कमै छ ।

जोगिने उपाय

युभिए तथा युभिबी प्रोटेक्टिभ क्रिम लगाउनुपर्छ ।

बिहान ८ बजे, १२ बजे, ३ बजे तथा बेलुकी ५–६ बजेतिर अर्थात् ४ पटक सनस्किन क्रिम लगाउनु उपयुक्त हुन्छ । एक्ने भएकाहरूको समस्या अझ बढ्न सक्ने भएकाले स्क्रबयुक्त फेसवास प्रयोग गर्नुपर्छ । अन्यले भने सामान्य फेसवास प्रयोग गर्न सक्छन् । पिएचयुक्त साबुन प्रयोग गर्नुपर्छ ।

औषधियुक्त तथा हरियो रंगको साबुन प्रयोग गर्नुहुँदैन । यसले छाला सुख्खा बनाउँछ फलस्वरूप एलर्जीको समस्या अझ बढ्ने सम्भावना हुन्छ ।

सुख्खा छाला हुनेहरूले लोसनयुक्त तथा चिल्लो छाला हुने तथा डन्डिफोरको समस्या भएकाहरूले एक्वा जेल (जेलयुक्त) क्रिम लगाउनुपर्छ ।

फलफूल खाँदा केहीबेर पानीमा डुबाएर मात्र खानुपर्छ । यसो गर्दा त्यसमा भएको रसायन केही हदसम्म कम हुन्छ ।

स्वीमिङ गर्नुअघि तथा गरिसकेपछि सनस्किन क्रिम लगाउनुपर्छ जसले छालामा कम असर पर्छ ।

पसिना धेरै बग्ने भएकाले पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

छालाको एलर्जी भए चिकित्सकको सल्लाह लिनुपर्छ ।

यो मौसममा कीरा तथा लामखुट्टेको टोकाइबाट जोगिन रेपिलेन्ट क्रिम लगाउनुपर्छ ।

कटनका खुल्ला पहिरन प्रयोग गर्नुपर्छ । पूरा बाहुला भएका पहिरन लगाउनुपर्छ । अनिवार्य झुल प्रयोग गर्नुपर्छ ।

घरका कोठा, घर तथा वरपर सफा राख्नुपर्छ । घर वरिपरि पानी जम्ने फोहोर भए पुरिदिनुपर्छ ।

त्यसबाहेक घाममा हिँड्दा छाता, क्याप, ह्याट तथा मास्क प्रयोग गरेर पनि घामको असरबाट जोगिन सकिन्छ ।

 Image