भान्सामै सौन्दर्य खजाना
चामलमा एमिनो एसिड र भिटामिन पाइन्छ । छालालाई गोरो बनाउन यसले सहयोग गर्छ ।

मौसम जुनसुकै होस् । चाहना सधैं सुन्दर एवं आकर्षक देखिने हुन्छ तर मौसमको चिसोले सौन्दर्यमा नकारात्मक प्रभाव पार्छ । यस्तोमा विशेष हेरचाह आवश्यक हुन्छ । जाडोमा छाला बढी सुख्खा हुने भएकाले छालालाई बढी मोइस्चराइज गर्नुपर्छ । छाला बढी सुख्खा छ भने ओयल बेस्ड मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । सुख्खा छालाका लागि पेट्रोलियम जेली पनि उपयोगी हुन्छ ।मोइस्चराइजेसनका लागि ओयल मसाज पनि राम्रो विकल्प हो । नुहाउनुभन्दा पहिले नरिवलको तेलले मसाज गर्नुपर्छ ।
नुहाएपछि तुरुन्तै बडी लोसन, क्रिम वा ओयल प्रयोग गर्न सकिन्छ । यसबाट मोइस्चर लक हुन्छ र छाला बढी समयसम्म हाइड्रेटेड रहन्छ ।
नुहाउन मनतातो पानी प्रयोग गर्नुपर्छ । कडा रसायनयुक्त प्रोडक्टको साटो माइल्ड प्रोडक्ट प्रयोग गर्नुपर्छ । कडा केमिकलले छालालाई क्षति पुर्याउँछ । कडा केमिकलयुक्त साबुन पनि प्रयोग गर्नुहुँदैन । यसले छालालाई अझ सुख्खा बनाउँछ । नुहाउँदा साबनुको साटो बेसन तथा दहीको पेस्ट प्रयोग गर्न सकिन्छ । जाडोमा अनुहारको प्राकृतिक चिल्लोपन कम गर्ने खालको प्याक्स एवं मास्कबाट जोगिनुपर्छ । मड प्याक्स तथा अल्कोहल बेस्ड कुनै पनि प्रोडक्ट सकेसम्म प्रयोग गर्नु हुँदैन । एलोबेरा, ग्लिसरिन वा प्राकृतिक तेलयुक्त सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ । अनुहारका साथै हातको छालाको पनि ख्याल राख्नुपर्छ ।
ह्यान्ड ग्लब्स प्रयोग गर्नुपर्छ र पानीमा काम गरेपछि ह्यान्ड क्रिम वा लोसन लगाउनुपर्छ ।कुहिनाको खस्रो र सुख्खा छालाका लागि मह एवं चिनीको स्क्रब प्रयोग गर्न सकिन्छ । यसले छालालाई नरम राख्छ । हातखुट्टा धेरै सुख्खा छन् भने लेक्टिक एसिड लोसन प्रयोग गर्नुपर्छ । नुहाउने पानीमा दुई कप दूध मिसाएर नुहाउँदा दूधमा भएको फ्याट एवं लेक्टिक एसिडले छाला कोमल बनाउँछ ।मेनिक्योर–पेडिक्योर गराउँदा पानीमा नेचुरल ओयल्स प्रयोग गर्नुपर्छ । कटनका मोजा लगाउनुपर्छ, यसले कुुर्कुच्चा फुट्न दिँदैन ।
जाडो मौसममा ओठको छाला पनि सुख्खा हुन्छ । यसका लागि थोरै मात्रामा मख्खन, केही थोपा कागतीको रस एवं गुलाबजल मिसाएर हरेक राति सुत्नुपूर्व ओठमा प्रयोग गर्दा फाइदा मिल्छ ।
अनुहारलाई पनि लाइट स्क्रबले एक्सफोलियट गर्नुपर्छ । यसबाट मृतछाला हटेर अनुहार चम्किलो हुन्छ । हाइड्रेटिङ फेस मास्क प्रयोग गर्नुपर्छ । एक–एक चम्चा मह तथा नौनी मिसाई अनुहारमा लगाउने र १५ मिनेटपछि साधारण पानीले पखाल्ने । त्यसपछि चिसो पानीले अनुहार धुने । यो मास्कले छाला हाइड्रेट रहन्छ । एक–एक चम्चा कोको बटर तथा ओलिभ आयल मिसाउने । त्यसमा एक चिम्टी अदुवाको पेस्ट मिसाई अनुहारमा लगाएर १५ मिनेटपछि पखाल्दा अनुहार सुन्दर देखिन्छ । पिम्पल्सको समस्या छ भने यो पेस्ट प्रयोग गर्नुहुँदैन ।
आल्मन्ड आयल तथा मिल्क मास्क अत्यन्त लाभदायक हुन्छ । एक चम्चा आलमन्ड आयलमा दुई चम्चा काँचो दूध मिसाउने । १० मिनेटसम्म मुहार छोपेर राख्ने । त्यसपछि अनुहार पखाल्ने । दूध र आलमन्ड आयलको हाइड्रेटिङ गुणले छालामा सकारात्मक प्रभाव पार्छ । रोजवाटर तथा स्ट्रबेरी फेस प्याकले छालालाई ग्लोइङ इफेक्ट प्रदान गर्छ । दुई चम्चा स्ट्रबेरी पल्पमा एक चम्चा गुलाबजल मिसाएर मुहारमा प्रयोग गर्ने । २० मिनेटपछि मुहार धुने । स्ट्रबेरी भिटामिन सी तथा ओमेगा थ्री फेटी एसिडले भरपूर हुने भएकाले यसले छालालाई पोषण प्रदान गर्छ ।
केरा तथा मिल्क पाउडरको मास्क पनि प्रयोग गर्न सकिन्छ । केरा मोइस्चराइजिङ गुणयुक्त मानिन्छ । म्यास गरिएको एक चम्चा केरा तथा एक चम्चा मिल्क पाउडर मिसाउने । छाला धेरै तैलीय छ भने मिल्क पाउडरको साटो गुलाबजल मिसाउनुपर्छ । त्यसमा केही थोपा मह पनि मिसाउने । यो मास्क लगाएर २० मिनेटपछि पखाल्ने । यसले छाला नरम, चम्किलो एवं आकर्षक राख्छ । दहीले मसाज गर्दा छालामा चमक पैदा हुन्छ ।