Successfully Copied

सौभाग्य चिन्ह

लक्ष्मीपूजाका दिनमा महिलाहरू लक्ष्मीजस्तै सजिएर पूजाका लागि तयार हुन्छन् ।

लक्ष्मीपूजाका दिनमा महिलाहरू लक्ष्मीजस्तै सजिएर पूजाका लागि तयार हुन्छन् । उनीहरू उक्त दिन हातमा राता चुरा, निधारमा टीका, सिउँदोमा सिन्दूर, पाउजु, बिच्छीलगायत सबै किसिमका शृंगार सामग्री प्रयोग गर्छन् । यस्ता सौभाग्य चिह्नले विशेष फाइदा प्रदान गर्छन् भन्ने विश्वास गरिन्छ । 

सिन्दूर 

विवाहपछि सिन्दूर लगाउने परम्परा सबैजसो जात–जातिमा छ । विवाहपछि सिउँदोमा सिन्दूर लगाउनुलाई विशेष मानिन्छ । सिउँदोको सिन्दूरले महिला विवाहित हुन् कि होइनन् भन्ने जनाउ पनि दिन्छ । नेपालको पहाडी भागमा निख्खर रातो सिन्दूर लगाइन्छ भने तराईतिर सुन्तला रंगको सिन्दूर लगाउने चलन छ । सिउँदोमा रातो सिन्दूर सबै महिलालाई सुहाउँछ । यसलाई सोर्‍ह शृंगारमध्ये एक मानिन्छ । 

मंगलसूत्र 

विवाहसँग नारीका धेरै कुरा जोडिएका हुन्छन् । विवाहपछि तिलहरी लगाउने चलन छ । हिजोआज सबैले एक लुंग पोते मात्र भए पनि लगाएकै हुन्छन् । त्यसैगरी सुनमा पोते जडेर तयार पारिने मंगलसूत्र लगाउने चलन अहिले व्यापक छ । यसले श्रीमान्–श्रीमतीको सम्बन्धलाई सार्थक बनाउने विश्वास गरिन्छ । यसलाई सौभाग्यको चिन्ह पनि मानिन्छ । मंगलसूत्र स्वास्थ्यको हिसाबले पनि राम्रो मानिन्छ । यो विभिन्न शैलीमा उपलब्ध हुन्छ । 

टीका 

टीकालाई सौभाग्यको चिन्ह मानिन्छ । नेपाली नारी श्रीमान्को सुरक्षाका लागि टीका लगाउँछन् । यसलाई सोर्‍ह शृंगारमध्ये एक मानिन्छ । हिजोआज डिजाइनर टीकाको चलन बढिरहेको छ । बजारमा विभिन्न प्रकारका बिन्दी खरिद गर्न सकिन्छ । बिन्दी अनुहारको सुन्दरता बढाउन सहयोगी हुन्छ । निधारमा लगाइएको टीकाले महिलाहरूमा गरिमा प्रदान गर्छ । निधारमा लगाइएको टीकाले मन एकाग्र गराउँछ। 

गाजल 

गाजलले आँखाको सुन्दरता बढाउँछ । गाजल मेकअपको सबैभन्दा महत्वपूर्ण हिस्सा पनि हो । साना नानीहरूलाई गाजल लगाइदिने चलन पहिलेदेखिकै हो । गाजलले आँखालाई स्वस्थसमेत राख्छ । 

लिपिस्टिक 

ओठको चमकले जोकोहीलाई आकर्षित गर्छ । आँखापछि ओठको सजावटलाई महत्वपूर्ण मानिन्छ । 

फूली 

फूली पनि सौभाग्यको प्रतीकमध्ये एक हो । यसले नाकलाई सुुन्दर देखाउँछ । यसले नाकको रोग पनि कम गर्छ भने सुँघ्ने शक्ति पनि बढाउँछ । फूली घाँटीका लागि पनि उपयोगी छ । महिलाको शृंगार फूलीबिना अधूरो मानिन्छ । अहिले फूली फेसनको पर्याय बनेकाले अहिले बजारमा विविध प्रकारका फूली खरिद गर्न सकिन्छ । 

औंठी 

हीराको औंठी अहिले महिलाहरूको पहिलो रोजाइ बन्दैछ । यसले शरीरको विकार पनि कम गर्छ । बजारमा उपलब्ध विविध प्रकारका औंठीले हातको सुन्दरता बढाउँछन् । 

पाउजु 

पाउजुले महिलाहरूमा आत्मविश्वास जन्माउँछ । यसले खुट्टालाई सुन्दर देखाउँछ । पहिले चाँदीको पायल लगाउने चलन थियो भने हिजोआज सुन तथा विभिन्न मीनाकारी गरिएका पाउजु फेसनमा छन् । पाउजुले खुट्टा फुल्ने समस्या पनि कम गर्छ । मासिक धर्म नियमित गराउन पायल निकै उपयोगी मानिन्छ । 

चुरा 

हातमा लगाइएका चुराले मनमा सकारात्मक ऊर्जा दिन्छन् । नेपालमा चुराको विशेष महत्व छ । यसलाई पनि सौभाग्यको अभिन्न अंग मानिन्छ । चुराले महिलाहरूको हात सुन्दर बनाउँछ । अहिले बजारमा विविध प्रकारका चुरा  खरिद गर्न सकिन्छ । सुन वा काँच दुवै किसिमका चुराको महत्व उत्तिकै छ । 

(मेकअप आर्टिस्ट मन्जु कार्कीसँगको कुराकानीमा आधारित लेख)

 Image