Successfully Copied

शरीरलाई रिचार्ज गर्छ स्पाले

स्पा ट्रिटमेन्ट जीवनको हरेक समयका लागि उत्तिकै महत्वपूर्ण छ तर पनि अरू बेला समय निकालेर स्पामा समय बिताउन कामकाजी तथा गृहिणी दुवैलाई फुर्सद हुँदैन तर चाडपर्वको अवसरमा स्पाको हाफ डे वा फुल डे उपचार लिई उल्लासपूर्ण रूपले चाड मनाउन सकिन्छ ।

माया गुरुङ, ब्युटी एस्थेटिक थेरापी कलेज 

शरीर तथा दिमाग दुवैलाई वार्म अप गरेर मानिसको व्यस्त जीवनशैलीको तनाव तथा विभिन्न शारीरिक समस्या स्पा थेरापीमार्फत कम गर्न सकिन्छ । स्पा ट्रिटमेन्ट जीवनको हरेक समयका लागि उत्तिकै महत्वपूर्ण छ तर पनि अरू बेला समय निकालेर स्पामा समय बिताउन कामकाजी तथा गृहिणी दुवैलाई फुर्सद हुँदैन तर चाडपर्वको अवसरमा स्पाको हाफ डे वा फुल डे उपचार लिई उल्लासपूर्ण रूपले चाड मनाउन सकिन्छ ।

घर तथा बाहिरी दोहोरो जिम्मेवारी निर्वाह गर्ने महिलाहरूका लागि यो निकै आवश्यक छ । स्पाअन्तर्गत विभिन्न थेरापी उपलब्ध हुन्छन् जसमध्ये आफ्नो समस्या तथा बजेटअनुसार उपचार चयन गर्न सकिन्छ । एकपटक स्पा जाँदा ३ देखि १० हजार रुपैयाँसम्म खर्च हुन्छ । गर्मीमा कुल हुने खालको तथा जाडोमा वार्म अप हुने खालको थेरापी लिनुपर्छ । 

स्पा किन आवश्यक छ ?

स्पा ट्रिटमेन्ट निकै महत्वपूर्ण छ । यसले मानसिक एवं शारीरिक रूपमा सुन्दर बनाउँछ । स्पा ट्रिटमेन्टले शरीरको मृत छाला हटाएर छालालाई नरम बनाउँछ । मानसिक तथा शारीरिक थकान हटाई आफूलाई रिचार्ज गर्न स्पा निकै उपयोगी छ । यसले शरीरमा पहिलेजस्तै शक्ति पैदा गर्छ । स्पाका विविध पद्धति छन् जसबाट विविध रोगहरूको उपचार पनि हुन्छ । उदाहरणका रूपमा स्टोन थेरापीले युरिक एसिड तथा ढाडको समस्या कम गर्छ भने थाइ मसाज गराउँदा शरीर दुख्ने तथा झमझमाउने समस्या कम हुन्छ । 

स्पा ट्रिटमेन्टमा के हुन्छ ?

स्पा ट्रिटमेन्टमा टाउकोदेखि पाइतालासम्मको उपचार हुन्छ । टाउकोमा तेल हालेर मसाज गरी आनन्द प्रदान गर्ने प्रयास गरिन्छ । मसाजका लागि एन्टिअक्सिडेन्ट तेल प्रयोग गरिन्छ । शरीरमा विभिन्न प्रेसर प्वाइन्ट पहिचान गरी यो उपचार गरिन्छ । यस क्रममा सर्वप्रथम शरीर सफा गरिन्छ । त्यसपछि स्क्रब लगाएर मृत छाला हटाई सर्कुलर मसाज गरिन्छ । त्यसपछि बडी प्याक लगाइन्छ ।

स्टिम बाथको व्यवस्था छैन भने रुमाललाई तातोपानीमा भिजाएर काम चलाइन्छ । यसका लागि २ देखि ३ घन्टा समय लाग्छ । स्पा गराउने स्थान शान्त तथा सजिलो हुनुपर्छ । स्पामा अरोमा तेलको वासना हुनु आवश्यक छ । शान्त संगीत सुन्दै स्पा गराउँदा थप आनन्द प्राप्त हुन्छ ।

बडी स्पा कति प्रकारका हुन्छन् ?

स्पा विविध प्रकारका हुन्छन् । अहिले अरोमा स्पा निकै प्रचलित छ । त्यसका साथै स्टोन थेरापी, हाइड्रा स्पा, मडप्याक थेरापी तथा सी सल्ट थेरापी पनि लोकप्रिय छन् । स्पाका क्रममा शरीरको प्रेसर प्वाइन्टमा दबाब दिएर रिल्याक्स दिने प्रयास गरिन्छ । हाइड्रो थेरापीमा पानीको माध्यमबाट थेरापी गराइन्छ । सी सल्ट थेरापीमा समुद्रको नुनले शरीर मालिस गरिन्छ । मड स्पामा विभिन्न किसिमका माटो प्रयोग गरिन्छ ।

छालाको प्रकृतिअनुसार उपचार 

स्पामा छालाको प्रकृतिअनुसार फरक–फरक उपचार गराउनुपर्छ । सामान्य रूपमा हाम्रो छालाको प्रकृति ४ प्रकारको हुन्छ— तैलीय, सुख्खा, सामान्य तथा मिश्रित । सुख्खा छालालाई बढी हेरचाह आवश्यक हुन्छ । स्पा ट्रिटमेन्टका लागि राम्रो स्पा सेन्टर छनौट गर्नुपर्छ । सफाइ तथा स्वास्थ्यको हिसाबले पनि राम्रो स्पा सेन्टर जानु आवश्यक छ । 

कुन एज ग्रुपका मानिसहरूले स्पा गराउँछन् ?

मिडिल एज ग्रुपका मानिसहरू स्पातर्फ बढी आकर्षित छन् । केही महँगो भएकाले सामान्य मानिसहरू स्पा जान डराउँछन् । १५ दिन वा महिनाको एकपटक स्पा गराउनु जरुरी हुन्छ । आजको समयमा काम गर्ने तौरतरिकामा परिवर्तन आएको हुँदा यसको प्रभाव शरीरको पूरै भागमा पर्छ ।

स्पाको सहायताले शरीरलाई तरोताजा बनाउन सकिन्छ । स्पा गराउनेहरूका लागि बडी पोलिसिङ आवश्यक हुँदैन । समयअनुसार अहिले यसको अवधारणा परिवर्तनसमेत आएको छ । २५ देखि ४५ वर्षका महिलाहरू स्पाप्रति आकर्षित छन् । यसले छालालाई चम्किलो बनाउनुका साथै टोनअप पनि गर्छ । अहिले प्राय: गरी जागिरे तथा व्यवसायमा आबद्ध महिलाहरू स्पा गर्न रुचाउँछन् । यो अहिले बिस्तारै कर्पाेरेट कल्चर पनि बन्दै गएको छ । यसले छालासम्बन्धी विविध समस्यामा राहत प्रदान गर्छ । 

स्पा जानुअघि ?

स्पाको सेवा लिनुअघि आफ्नो ठाउँ बुकिङ गर्नुपर्छ । अहिले अधिकांश स्पामा बुकिङ सिस्टम छ । फोन गरेर सेवाका लागि समय लिनुपर्छ । स्पा गराउन जाँदा सकेसम्म गहना लगाउनु हुँदैन । रुमाल तथा अन्य सामान स्पामा दिइन्छ । आफ्नो ब्रान्ड नै प्रयोग गर्ने बानी छ भने स्याम्पु तथा साबुन लिएर जान सकिन्छ । सौना वा स्टिम लिने भए बाथिङ सुट तथा चप्पल आवश्यक हुन्छ । 

खानपान 

स्पा जानुभन्दा पहिले हलुका खाना खानुपर्छ । गरिष्ठ खाना खाएपछि थेरापी लिन असहज हुन्छ । मसाज तथा स्टिममा बस्दा डिहाइड्ेरसन हुने सम्भावना बढ्छ तसर्थ प्रशस्त पानी सेवन गर्नुपर्छ । स्पा पुगेपछि पहिले नुहाउनु बेस हुन्छ । 

पुग्ने समय 

आफ्नो एपोइन्टमेन्टभन्दा १५ मिनेट पहिले स्पा सेन्टर पुग्नुपर्छ । यसो गर्दा समयमै आफ्नो आवश्यकता बताउन सकिन्छ । स्पा जाँदा अतिरिक्त पैसा साथमा राख्नुुपर्छ । कारण भोक लागे खाजा खान सजिलो हुन्छ । 

स्पा सेन्टर कसरी छनौट गर्ने ?

विभिन्न स्पा सेन्टर भ्रमण गरेर त्यँहाको सेवा तथा वातावरणका विषयमा जानकारी हासिल गर्ने । 

स्पा थेरापिस्टसँग प्रत्यक्ष कुराकानी गरी सेवाका विषयमा जानकारी लिने । आफ्नो आवश्यकता के हो भन्ने कुरा यकिन गर्ने ।  स्पामा प्रयोग गरिने सामानहरू जाँच गर्ने ।

 Image