सुन्दर र हेर्दै चिटिक्क परेको शरीर देखाउने चाहना कसको हुँदैन ? यही चाहना पूरा गर्न अहिले नेपालगन्जमा ब्युटिपार्लर खोल्ने होडबाजी चलेको छ । पाइलैपिच्छे नयाँ–नयाँ ब्युटिपार्लर खोलिएका छन् । त्यही अनुपातमा ब्युटिसियन र ब्युटी हुन चाहने पनि बढेका छन् । पार्लरमा हरेक समुदायका महिला आफूलाई राम्रो देखाउन र बनाउन निसंकोच पुग्छन् ।
विवाहको मौसममा त ब्युटिपार्लरमा महिलाको घुइँचो लाग्छ । पहिले पर्दामा रहने महिलासमेत परिवर्तन भएका छन् । उनीहरू सिंगार गर्न पार्लर धाउन थालेपछि यो पेसामा प्रतिस्पर्धा पनि बढेको छ । आधुनिकताको प्रभाव पर्दाभित्रका महिलामा समेत परेको छ । घरबाट बाहिर निस्कनै नदिने पुरानो सामाजिक–पारिवारिक संस्कारमा परिवर्तन हुँदै गएकाले नेपालगन्जमा ब्युटिपार्लर व्यवसाय फस्टाउँदै गएको हो ।
अब सिंगार मात्र होइन, त्यसका लागि गुणस्तरीय प्रसाधन प्रयोग गर्नुपर्ने मागसमेत बढेको छ । ब्युटिपार्लरमा दस वर्ष लामो अनुभव सँगालेकी बागेश्वरी ब्युटिपार्लरकी दुर्गा अधिकारी भन्छिन्– अब जसले राम्रो सेवा दिन सक्यो त्यहीँ सेवाग्राही बढी आउँछन् । पार्लर एउटा पेसा वा व्यवसाय मात्र होइन, उनी भन्छिन्–‘यसले महिलालाई आत्मनिर्भर बनाउँदैछ ।’
उनीजस्तै आठ वर्ष लामो पार्लरको अनुभव बोकेकी शीतल ब्युटिपार्लरकी सञ्चालिका शीतल श्रेष्ठ महिलाका लागि पार्लर सुरक्षित र राम्रो व्यवसाय भएको बताउँछिन् । छ महिनाको बेसिक कोर्स गरी अरू पार्लरमा समेत कामको अनुभव सँगालेकी शीतलले पार्लर मौसमी व्यापार भएको बताइन् । उनले अहिले दुई जना महिलालाई आफूसँगै राखेर काम सिकाउँदैछिन् । ती महिलालाई काम सिकाएबापत् मासिक १२ हजार लिन्छिन्, तर उनले यसलाई व्यावसायिक रूप दिन सकेकी छैनन् । त्यसका लागि उनले पार्लर खोल्ने कुनै समयतालिका बनाएकी छैनन् । श्रेष्ठ भन्छिन्– अल्छी लाग्यो भने सबेरै पार्लर बन्द गरी घरतिर जान्छु । आफैंले सञ्चालन गरेकाले जति बेला खोल्न मन लाग्यो खोल्यो, उनले भनिन्– ‘खोल्ने, बन्द गर्ने कुनै निश्चित समय हुँदैन ।’ तर समय दिएर लगनशील भै व्यावसायिक रूपले काम गर्न सके पार्लरबाट राम्रो आयआर्जन गर्न सकिने बताउँछिन्–अनु ब्युटिपार्लरकी अनु थापा । ‘नयाँ–नयाँ फेसनसँगै सेवाग्राहीले चाहेको सेवा दिन सके थोरै समयमा धेरै पैसा कमाउन सकिन्छ,’–थापाले भनिन् । पार्लरबाट दिनमा १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म बचत हुने थापा बताउँछिन् ।
तीन वर्षअघि मात्र पार्लर खोलेकी थापाको आम्दानीबाट सबै चकित छन् । सीप विकासबाट बेसिक कोर्स गरेर दिल्लीमा समेत तालिम लिएर फर्किएकी अनु पार्लरमा नै आफ्नो भविष्य रहेको बताउँछिन् । तर, प्रतिस्पर्धाको बजारमा नयाँ–नयाँ प्रविधिको माग भैरहेकाले सानो लगानीले धेरै ठूलो माग पूरा गर्न भने कठिनाइ भैरहेको छ । त्यसका लागि पनि पैसा नै चाहिन्छ, थापाले भनिन् । पार्लरको बढ्दो संख्यालाई दृष्टिगत गरी अहिले ब्युटिसियनहरू आफ्नो हकहितका लागि संगठितसमेत भएका छन् । उनीहरूले एक वर्षअघि सौन्दर्य व्यवसायी संघसमेत गठन गरेका छन् । संघकी अध्यक्ष उर्मिला अग्रवाल यो पेसामा चुनौतीसमेत रहेको बताउँछिन् ।
नेपालगन्जको परिवेश उनीहरूले चाहेजस्तो भने छैन । समाजका केही मानिसले पार्लर व्यवसायलाई गलत दृष्टिकोणले समेत हेर्ने गरेकोमा उनले दु:ख व्यक्त गरिन् । अग्रवाल भन्छिन्–‘कुनै पनि पेसा सानो–ठूलो हुँदैन, सही ढंगले आफ्नो काम गर्नुपर्छ, भन्नेहरूको पछि लाग्नुहुँदैन । एसएलसीसम्म पढेकी उर्मिला अहिलेको समयमा पढाइको महत्त्व रहेको बताउँछिन् । दिन–प्रतिदिन नयाँ–नयाँ प्रोडक्ट आउँछ, त्यसका बारेमा पनि जानकारी राख्नुपर्छ, अग्रवालले भनिन् । पार्लरमा २५ वर्ष लामो अनुभव सँगालेकी अग्रवालले अस्वाभाविक प्रतिस्पर्धाबाट यो व्यवसाय अछुतो नरहेको बताइन् । ग्राहक तान्ने होडबाजीमा सबैले विदेशबाट तालिम लिएको बताउने गरेको तीतो सत्य सुनाउँदै अग्रवालले भनिन्– यस्तो प्रतिस्पर्धाले व्यवसायबाट क्षणिक फाइदा भए पनि पछि क्षति सहनुपर्छ ।’
प्रस्तुति: रूपा गहतराज