Successfully Copied

साउनको पहिरन तथा मेकअप

समय गतिशील छ, हिजो हाम्रा हजुरआमा तथा आमाहरूले जे गर्नुहुन्थ्यो त्यो आज पनि गरिन्छ तर जमानासँगै त्यसको शैली र प्रयोगमा परिवर्तन आएको छ ।

समय गतिशील छ, हिजो हाम्रा हजुरआमा तथा आमाहरूले जे गर्नुहुन्थ्यो त्यो आज पनि गरिन्छ तर जमानासँगै त्यसको शैली र प्रयोगमा परिवर्तन आएको छ । कुरा हो साउन महिनालाई पवित्र महिनाका रूपमा मनाइने चलनको । पहिले साउन महिनामा व्रत बस्ने चलन मात्र थियो । साउनलाई हाम्रा अग्रजहरूले पवित्र महिनाका रूपमा लिन्थे भने अहिले यो महिना विशेष आराधनामा मात्र  सीमित छैन । परम्परासँग आधुनिकता मिसिएको छ अर्थात् साउन महिनामा हरियो, पहेंलो वा रातो रंगले सजिने फेसन पनि जोडिएको छ । विवाहित हुन् वा अविवाहित परम्परादेखि चलिआएको धर्म तथा संस्कृतिलाई कसैले पूर्णत: नकार्न सक्दैनन् । तथापि हिजोआज त्यसलाई पहिले जस्तो दृष्टिकोणले बुझ्ने वा लिने चलन भने छैन । आजभोलि परम्परालाई वैज्ञानिक कोणबाट हेर्ने चलन बढेको छ भने यसलाई स्वास्थ्य तथा मानसिक तन्दुरुस्तीसँग पनि जोडेर हेरिन्छ । अग्रज तथा वृद्ध महिलाहरू परम्परासँग अझै पनि महिलाहरूको अनुशासनलाई तुलना गरेर हेर्छन् तर अहिलेका महिला तथा युवती फरक ट्रेन्डमा हिँड्न रुचाउँछन् । यो महिनाभरि महिलाहरू अन्य समयभन्दा फरक आभूषणमा हिँड्छन् । साउन महिनालाई हरियो, रातो र पहेंलो रंगको महिनाका नामले पनि चिनिन्छ । यो महिनामा महिलाहरू हरियो, पहेंलो वा रातो रंगको पहिरन वा एसेसरिजमै रमाउँछन् । सौन्दर्य प्रसाधनदेखि उनीहरूले लगाउने परिधानमा फरक ट्रेन्ड महसुस गर्न सकिन्छ । साउनमा हातमा पहेंलो, हरियो र रातो चुरा अनि मेहन्दी अनिवार्यजस्तै हुन्छ । यसका पछाडि कुनै शास्त्रीय मान्यता नभए पनि यसको फेसन राम्रैसँग चलेको छ । त्यसो त असारको दोस्रो सातादेखि नै बजारमा साउने फेसनको चहलपहल बढेको थियो । अब यो महिनाभरि साउने फेसनकै चहलपहल कायम रहनेमा व्यवसायीहरू विश्वस्त छन् । बुटिकहरूमा पनि साउन महिनाका लागि विशेष पहिरनको अर्डर आएको डिजाइनरहरू बताउँछन् ।

डिजाइनर राधा ढकाल

इगल आइज फेसन हाउस, न्यूरोड

साउने फेसनको प्रभाव देशभर छ । सबैजसो फेब्रिक सेन्टरमा  हरियो, रातो, पहेंलो खोज्नेहरूकै संख्या बढी छ । गत असारको अन्तिम सातादेखि नै साउनका लागि पहिरन अर्डर गर्न आउनेहरूको संख्या बाक्लिन थालेको छ । अधिकांश कामकाजी महिला, गृहिणी तथा युवतीलाई साउने फेसनले छोएको हुन्छ । यो वर्षको साउनमा पाकिस्तानी ठूलो सुरुवाल तथा लामो कुर्ता ट्रेन्डमा छ । हरेक वर्ष साउनमा एउटा ट्रेन्डको विकास हुँदै गएको छ । पाकिस्तानी सुरुवालमा लामो कुर्ता बनाउन जर्जेट, सिफन र कटन फेब्रिक उपयुक्त हुन्छ । यद्यपि पाकिस्तानी कुर्ताको लम्बाइ लगभग अनारकलीजस्तै हुन्छ तर यसको नेकको डिजाइन भने फरक हुन्छ । पातलो शरीर भएकालाई हाइनेक स्टाइलको नेकलाइन सुहाउँछ भने मोटो शरीर भएकालाई ओपन नेक सुहाउँछ । रंगको कुरा गर्दा यसपटक अरेन्ज कलरको ट्रेन्ड छ ।

गत वर्षको साउनमा पन्जाबी र टप्स लेगिन्जको ट्रेन्ड थियो । यसपटक पनि उक्त ट्ेरन्ड कायमै छ भने नयाँ ट्ेरन्ड पनि थपिएको छ । साउनका लागि परिवारका सबै महिला सदस्यले एकै खालका पहिरन लगाउने ट्रेन्डको विकास गरेका छन् । एउटा परिवारका महिलाहरू एउटै डिजाइन र रंगको पहिरन अर्डर गर्न पनि आएका छन् । साडीको सन्दर्भमा सिफन, सफ्ट नेटका साडीको माग बढी छ । कम रकममा अथवा आर्थिक क्षमताअनुसार पनि पहिरन तयार गर्न सकिन्छ । भड्किला पहिरनमा तडभडक देखाएर हिँड्नुभन्दा सामान्य डिजाइनका पहिरन नै आरामदायक र सजिला हुन्छन् । यस्ता पहिरनमा लामो समय मन्दिरमा लाइन लाग्न पनि झन्झट हुँदैन ।

ब्युटिसियन रिना प्रधान,

द फिनिसिङ टच सेन्टर फर ब्युटी, टेक्नोलोजी, कुमारीपाटी

साउन महिनामा महिलाहरू सोह्र शृंगारमा सजिएर हिँड्ने चलन छ । यो महिनामा भगवान् शिवको पूजा–आराधना गरिन्छ । महादेवलाई मन पर्ने हरियो, पहेंलो र रातो रंग लगाउनुपर्छ भन्ने कथनलाई आधार मानेर सबैजसो यही रंगमा सजिन्छन् भने त्यस्तै प्रकारको शृंगारमा सजिएर आराधना गरे सोचेजस्तै श्रीमान् प्राप्त हुने धार्मिक विश्वास पनि छ । साधारणतया साउनमा सबैजसो हिन्दू महिला मन्दिर जान्छन् । शिवालयहरूमा पूजा गर्नेहरूको भीड अरू बेलाभन्दा बाक्लो हुन्छ । त्यसकारण मेकअप लामो समय टिक्ने हुनुपर्छ । यसकारण विशेष डे मेकअप हलुका वा लाइट हुनुपर्ने ब्युटिसियन रिना प्रधानको सुझाव छ । सामान्यत: हरेक महिला मेकअपका बारेमा धेरथोर जानकार नै हुन्छन् । यसकारण डे मेकअप गर्दा हेभी मेकअप गर्न नहुने उनको तर्क छ । दिनमा अनुहार यसै पनि उज्यालो हुन्छ । त्यसैले लामो समय टिक्ने मेकअपमा ध्यान दिनुपर्छ । क्लिन्जिङ, टोनिङ, मोस्चराइजर, प्रोटेक्सन गरेको पाँच मिनेटपछि कटनले सफा गर्नुपर्छ । त्यसपछि प्राइमर प्रयोग गर्ने, मेकअप लामो समय टिकाउन फाउन्डेसन लगाएपछि कम्प्याक्ट वा लुज पाउडर लगाउने तथा त्यसपछि आँखाको मेकअप गर्ने । आँखाको मेकअप गाढा भए ओठ म्युट गर्ने र आँखा म्युट गर्ने हो भने ओठमा गाढा मेकअप गर्नुपर्छ । साउने मेकअपमा छुटाउनै नहुने मेहन्दी हो । हातमा अरेविक मेहन्दी वा अहिलेको ट्ेरेन्डमा रहेको मेहन्दी डिजाइन गर्ने । मेकअप गर्दा आफूले कस्तो पहिरन लगाउने हो त्यसमा पनि ध्यान दिनुपर्छ । गहना, चुरापोते, केशमा लाछा, ब्याग फुटवेयरजस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ अनि मात्र मेकअप तथा पहिरनको कम्बिनेसन मिल्छ ।

 Image