Successfully Copied

वर्षामा मेकअप

मेकअप नारीको महत्वपूर्ण गहना हो । त्यसैले व्यक्तित्वलाई कायम राख्न मेकअपमा सचेत हुनुपर्छ ।

मेकअप नारीको महत्वपूर्ण गहना हो । त्यसैले व्यक्तित्वलाई कायम राख्न मेकअपमा सचेत हुनुपर्छ । मानिसको नजर सबैभन्दा बढी अनुहारमै जान्छ । धेरैले शरीरका अन्य भागको तुलनामा अनुहारलाई बढी ध्यान दिन्छन् । अनुहारको सुन्दरता कायम राख्न विभिन्न किसिमका सौन्दर्य प्रसाधन प्रयोग गरिन्छ यद्यपि सम्पूर्ण ध्यान अनुहारमै मात्र केन्द्रित गरेर पनि हुँदैन । छालाको सौन्दर्यमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्छ । छाला निकै संवेदनशील हुन्छ । छालामा कुनै पनि रोग तथा समस्या देखापरेको खण्डमा मानिसको व्यक्तित्व नै खराब देखिन्छ । छाला नै नराम्रो देखिएपछि मानिसको सौन्दर्यमा ह्रास आउँछ । त्यसैले मौसमअनुसार फरक ढंगले अनुुहारको छालाको हेरचाह गर्नुपर्छ । आफ्नो सौन्दर्य कायम राख्न अहिले बजारमा विभिन्न प्रकारका सौन्दर्य प्रसाधन उपलब्ध छन् । मौसमी मेकअपका लागि भनेअनुसारका सामान बजारमा उपलब्ध हुने भएकाले महिलाहरू मेकअपमा सचेत भएका छन् । मुख्यत: सिजनल मेकअपमा ध्यान दिनुपर्छ । मौसमअनुसारको मेकअपमा ध्यान दिने हो भने सौन्दर्यमा कमी नआउने ब्युटिसियनहरू बताउँछन् । बजारमा अनुहारको स्वरूप तथा छालाको प्रकारअनुसार विभिन्न ब्रान्डका सौन्दर्य प्रसाधन सजिलै प्राप्त गर्न सकिन्छ ।

वर्षामा पानीले असर नगर्ने मेकअप गर्नुपर्छ । आफ्नो छालालाई सुहाउँदो मेकअप गर्न सौन्दर्य प्रसाधनमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्छ । वर्षामा हुने पार्टी तथा विशेष समारोहमा गरिने मेकअप पनि अन्य मौसममा गरिने मेकअपभन्दा फरक हुन्छ । पहिरनमा पनि सुट हुनेगरी मेकअप गर्नु जरुरी हुन्छ । यस्ता कुरामा ध्यान दिने हो भने मेकअप स्वस्थकर पनि देखिन्छ । सौन्दर्यलाई मध्यनजर गरी बजारमा व्यावसायिक हिसाबले विभिन्न प्रकारका आधुनिक तथा प्राविधिक पार्लरहरू पनि सञ्चालनमा आएका छन् जहाँ अनुहारको स्वरूपअनुसार उत्कृष्ट मेकअप गर्न सकिन्छ ।

सिवानी ब्युटिपार्लर तथा ट्ेरनिङ सेन्टर बुद्धनगरकी ब्युटिसियन सिवानी निरौला वर्षाको मेकअप अन्य मौसमसरह नगर्न आग्रह गर्छिन् । वर्षामा पानी परिरहने भएकाले मेकअप पानीले नबगाउने अर्थात् नबिगार्ने हुनुपर्ने उनको सुझाव छ । मेकअप गर्नुअघि क्लिन्जिङ गर्नुपर्छ । अनुहारको क्रिम तथा फाउन्डेसन पनि वाटर प्रुफ नै हुनुपर्छ । कलर मोइस्चराइजर पानीमा पनि टिकाउ हुन्छ । ओठमा मिन्ट लिपिस्टिक अर्थात् लिप ग्लस लगाउँदा पानीले असर नगर्ने ब्युटिसियन निरौला बताउँछिन् ।

पुल्चोक नटोलस्थित पियोर स्टाइलिस्टकी ब्युटिसियन रिना अवाले झरीका बेलामा हेभी मेकअप गर्न नहुने बताउँछिन् । मस्करा, आइस्याडो तथा लिपलाइनर पनि वाटर प्रुफ नै प्रयोग गर्दा पानीले मेकअपमा कुनै असर गर्दैन । वाइन्ड प्रुफवाला लाइट मेकअप पानीले पनि नबगाउने अवालेले बताइन् । झरीमा दिनभर भागदौडमा व्यस्त हुनेहरूका लागि वाटरप्रुफ मेकअप नै टिकाउ हुने उनको तर्क छ ।

सुख्खा छाला हुनेहरूले वर्षाका बेला स्किन टोनर प्रयोग गर्न सक्ने ब्युटिसियन गोमा खत्रीले बताइन् । चिल्लो छालामा हलुका पाउडरको बेसमा मेकअप गर्दा पानीले असर नगर्ने आइटीसी ब्युटिपार्लरकी खत्री बताउँछिन् । उनले सेतो तथा लाइट कलरका सौन्दर्य प्रसाधन प्रयोग नगर्न सल्लाह दिइन् । पिंक, पिच तथा ब्राउन वर्षाका लागि उपयुक्त मानिन्छन् । आइलाइनर, आइस्याडो, ग्लज आदि झरीमा सुट हुने अवालेले बताइन् । झरीलाई फिट हुने मेकअप गर्ने हो भने पानीले लतपत नपार्ने खत्रीको दाबी छ । समयअनुसार मेकअप विधि पनि परिस्कृत हुँदै गएको छ । स्तरीय तथा प्राविधिक हिसाबले पनि सौन्दर्य प्रसाधनको उत्पादन भैरहेकाले आफ्नो अनुहारको छालालाई फिट हुने सामान प्रयोग गर्नुपर्ने ब्युटिसियन खत्रीले बताइन् ।

वर्षायाममा गर्मी पनि हुने भएकाले अनुहार तथा छालाबाट पसिना आउँछ । त्यसैले सामान्य मेकअपमा हिँड्न उचित हुने न्यूरोड विशाल बजार नजिक रहेको इगल आइज ब्युटिसियन रेसु ढकाल बताउँछिन् । यो मौसममा केश छोड्नुभन्दा कर्ली जुरो बनाउनु उचित हुन्छ । वर्षामा छालालाई जोगाउन पर्याप्त मोइस्चराइजर भएको सन ब्लक प्रयोग गर्न उपयुक्त हुने ढकालले बताइन् । रेसु भन्छिन्, चिल्लो अनुहार हुनेहरूले बेलुका सुत्नुअघि बेसनको पिठोले अनुहार धुनु उपयुक्त हुन्छ । यसले पिम्पल आउन केही हदसम्म रोक्न सक्छ । पार्टीमा जाँदा पहिले क्लिन्जिङ गरी सनस्किन लगाउनुपर्छ । त्यसपछि कम्प्याक्ट पाउडर हलुका टचअपमा गर्नुपर्छ । आजभोलि स्मोकी ब्राउन आइस्याडोको ट्रेन्ड छ । त्यसपछि ब्राउन आइस्याडो लगाउने अनि त्यसमाथि आइलाइनर प्रयोग गर्ने । त्यसपछि मस्करा लगाउने । लिपिस्टिक लगाउनुअघि हलुका फाउन्डेसन प्रयोग गर्दा पानीले बगाउँदैन र लामो समयसम्म टिक्छ ।

पछिल्लो समयमा सौन्दर्यलाई पहिचानसँग जोडेर हेर्न थालिएको छ । बौद्धिक क्षमतासँगै सौन्दर्यमा ध्यान दिने मानिस व्यक्तित्वमा धनी ठहरिन्छ । सौन्दर्य स्वास्थ्यको दृष्टिले पनि सकारात्मक हुन्छ । सौन्दर्य मानिसको गहना भएकाले जो आफ्नो सौन्दर्यमा सजग हुन्छन् उनीहरूको अलग पहिचान हुन्छ । सजगता अपनाए सुन्दरतामा पनि निखार आउँछ । फलस्वरूप स्वास्थ्य पनि राम्रो रहन्छ ।

 

 Image