Successfully Copied

सन्तुलित जीवन

उच्च रक्तचाप, रगतमा अधिक ग्लुकोज, कोलेस्ट्रोलजस्ता कारक तत्त्वको प्रारम्भिक अवस्था पहिचान भयो भने जीवाणुबाट लाग्ने मात्र होइन,

उच्च रक्तचाप, रगतमा अधिक ग्लुकोज, कोलेस्ट्रोलजस्ता कारक तत्त्वको प्रारम्भिक अवस्था पहिचान भयो भने जीवाणुबाट लाग्ने मात्र होइन, उपचार गर्न कठिन तथा महँगो पर्ने धेरै रोगबाट जोगिन सकिन्छ । त्यसैले बिरामी नभए पनि समय-समयमा डाक्टरलाई भेट्ने, रगत जँचाउने, रक्तचाप नाप्ने आदि काम गरे आफ्नो शरीर कुन अवस्थामा छ भन्ने जानकारी हुन्छ । यद्यपि धेरैजसो मानिस बिरामी नभई डाक्टर भेट्न जरुरी मान्दैनन् र जीवनलाई जोखिममा पार्छन् ।

अमेरिकामा मात्र धूम्रपानबाट हुने रोग, उच्च रक्तचाप, मोटोपन, सुगर तथा एलडिएल कोलेस्ट्रोलको प्रारम्भिक अवस्था पहिचानबाट प्रतिवर्ष क्रमश: ४ लाख ६५ हजार, ३ लाख ९५ हजार, २ लाख १६ हजार, १ लाख ९० हजार र १ लाख १३ हजार जनाको ज्यान जोगाउन सम्भव भएको छ । उक्त तथ्यांकले धूम्रपान एवं उच्च रक्तचाप सबैभन्दा डरलाग्दो कारक भएको देखाउँछ । समाजमा मादकपदार्थ सेवनबाट पनि धेरैको ज्यान गैरहेेको छ । सन् २००१-२००५ मा अमेरिकामा प्रतिवर्ष ७९ हजार मानिसको मृत्यु अल्कोहल सेवनबाट हुने गरेको थियो । कर्सिनोजन, धूम्रपान, मद्यपान -अल्कोहल), ब्याक्टेरिया-भाइरसको इन्फेक्सन, विकिरण -सूर्यबाट आउने युभी अनि उपचार गर्दा प्रयोग हुने उपकरणबाट आउने), खानेकुरा, जेनेटिक्स आदि क्यान्सरका प्रमुख कारक तत्व हुन् । हृदय रोग वा रक्तनलीसम्बन्धी रोगका लागि उच्च कोलेस्ट्रोल, टिजी, एलडीएल, स्ट्रेस, उच्च क्यालोरीयुक्त खानेकुरा, निष्क्रिय जीवनशैली आदि कारक हुन् । धूम्रपान नगरे निकोटिनजस्ता क्यान्सरका कारक तत्त्व हाम्रो शरीरमा प्रवेश हुँदैनन् । नेसनल क्यान्सर इन्स्िटच्युटका अनुसार धूम्रपानबाट क्यान्सर मात्र होइन, हृदयरोग (हार्ट एटयाक) हुने सम्भावना पनि धूम्रपान नगर्नेहरूको तुलनामा छ गुणा बढी हुन्छ । त्यसैगरी खानपिनमा अलिकति ध्यान दिँदा अनेक समस्याबाट मुक्त हुन सकिन्छ । माछा वा आलसको बीउमा पाइने ओमेगा-३ फ्याटी एसिड भएका खानेकुरा अनि पोलिफेनोलयुक्त फलफूल, फाइबर भएका अन्न आदि सकेसम्म सानै उमेरदेखि खाने बानी बसाले हृदयरोग तथा क्यान्सरजस्ता रोगबाट जोगिन सकिन्छ ।

आफ्नो स्वास्थ्य प्रतिकूल हुने खानेकुरा कसैको अनुरोध वा आग्रहका भरमा सेवन गर्नु हुँदैन र त्यस्ता पदार्थ सेवन गर्न कसैलाई बाध्य तुल्याउनु पनि हुँदैन । अनुकूल छैन भने विनम्रतापूर्वक 'नाइँ' भन्न सक्नुपर्छ । भनिन्छ-'सानो सावधानीले ठूलो जोखिमबाट जोगाउँछ, जुन हाम्रो स्वास्थ्यमा पनि लागू हुन्छ ।'

जीवनमा सन्तुलनको धेरै ठूलो महत्त्व छ । फ्रेन्चहरू चिल्लो पदार्थ प्रशस्त खान्छन्, तर हृदयरोगविरुद्ध लड्ने पोलिफेनोल भएको रातो वाइन नियमित पिउँछन् । त्यसैले उनीहरूमा हृदयसम्बन्धी रोग कम हुन्छ । यसलाई फ्रेन्च प्याराडक्स भनिन्छ । रातो वाइनमा भएको पोलिफेनोलले चिल्लो खानेकुराको नकारात्मक असरलाई केही हदसम्म कम गरेको हुनसक्छ । रातो वाइन नपिउनेहरूले हरियो चिया अर्थात् ग्रिन टी प्रशस्त पिउँदा हुन्छ । यसरी खानेकुरामा सामञ्जस्यता राख्न सके जीवन स्वस्थ हुन्छ । शरीर स्वस्थ छ भने मात्र जिउनुको मजा लिन सकिन्छ । मानिसको सबैभन्दा ठूलो शत्रु नै रोग हो । यसको पहिचान जति चाँडो भयो, जीवन त्यति नै सुरक्षित हुन्छ ।

मानिसले पहिले आफूलाई चिन्नुपर्छ । चिन्ने काम आफ्नो शरीरबाट सुरु हुन्छ । व्यक्तिमा शरीर, मन र धनको चिनारी हुनु जरुरी छ । त्यसपछि के खाने, के नखाने, कति बेला, कुन कुरा गर्ने भनेर उचित निर्णय आफैं गर्न सकिन्छ ।

६० वर्ष कट्दा पनि मधुमेह, उच्च रक्तचापजस्ता समस्याबाट मुक्त भए उक्त व्यक्ति संसारकै सम्पन्न व्यक्तिमध्ये एक हुन्छ । यस्तो अवस्थामा आफ्नो स्वास्थ्यप्रति गर्व गर्न सकिन्छ । यो नै सबैभन्दा ठूलो कमाइ हो । ५०-६० वर्षको उमेरमा शरीरमा अनेकन परिवर्तन आउँछ, विशेष गरी हार्मोन उत्पादन र कार्यमा परिवर्तन हुन्छ । यो उमेरमा स्वास्थ्यप्रति सकेसम्म बढी सचेत रहनुपर्छ ।

रोग लाग्दा आफूलाई मात्र होइन परिवारजन, समाज अनि राष्ट्रलाई नै कष्ट हुन्छ । रोग लागेपछि पारिवारिक सम्बन्धमा परिवर्तन आउन सक्छ-विशेष गरी लोग्ने-स्वास्नीको सम्बन्धमा । सम्बन्ध टुट्न पनि सक्छ, अझ बलियो पनि हुनसक्छ । त्यसैले परिवारमा एक-अर्काको स्वास्थ्यप्रति सचेत रहनुपर्छ । हुन त मानिसको शरीर मृत्युपछि सबैभन्दा काम नलाग्ने चीज हो, तर बाँचुञ्जेल शरीरभन्दा प्यारो अरू के हुन सक्छ र ? जीवनको महत्त्व कुनै ज्ञानी-ध्यानीलाई भन्दा क्यान्सर लागेर बाँचेकाहरूलाई बढी थाहा हुन्छ । हाम्रा धर्मग्रन्थहरू भन्छन्-मानिसको देह पाउनु नै दुर्लभ छ तसर्थ सजिलै प्राप्त गर्न नसकिने चीजको हिफाजत गर्नुपर्छ । बालकले गल्ती गर्न सुहाउँछ, तर पाको उमेरकाले सुहाउँदैन । त्यसैले उमेरसँगै स्वास्थ्यप्रति बढी सचेत हुनुपर्छ ।

ऐनामा अनुहार हेरिन्छ तर आन्तरिक अनुहारका सम्बन्धमा चासो राखिँदैन । भनिन्छ, देखिनेभन्दा नदेखिने चीज अझ मूल्यवान् हुन्छ । शरीरभित्र जीवन सञ्चालन गर्ने कस्ता-कस्ता अङ्ग हुन्छन् ? सकिन्छ भने शल्यक्रिया गर्नुअघि चलिरहेको मुटु हेरौं, यो कति नाजुक छ । जस्तोसुकै कठोर मानिस पनि मुटु चलेको देखेपछि संवेदनशील हुन थाल्छ । जीवन कति संवेदनशील छ भन्ने बुझ्न मानिसको चलिरहेको मुटु हेर्नुपर्छ किनभने प्रत्येक मुटुको धड्कनमा जीवन अडिएको छ । आफू कति बलवान् छु भन्ने कुरा बुझ्न बाहिर देखिने मांसपेसी मात्र होइन, भित्री रूप पनि हेर्नुपर्छ । म के खाँदैछु, के गर्दैछु र यसले मेरो मुटुको धड्कन, मिर्गाैला र मस्तिष्कमा कस्तो असर पर्न सक्छ, सोचौं । आफूमा के-कति परिवर्तन आएको छ ? रक्तचाप, सुगर, रगतमा चिल्लो पदार्थ, स्तन -मेमोग्राम) एवं कोल्पोस्कोपीजस्ता जाँच समय-समयमा गराउनुपर्छ । स्वास्थ्य जाँच नगराउनु भनेको अँध्यारोमा बस्नुजस्तै हो, आफैंले आफूलाई धोका दिनु हो । जीवन सबैलाई प्यारो लाग्छ र यसप्रति संवेदनशील हुनु स्वाभाविक हो । हामी कसैलाई भेट्दा अभिवादनसँगै 'सन्चै हुनुहुन्छ ?' भनेर सोध्छौं । हामी ठीक त भन्छौं, तर वास्तविक अवस्था के हो हामीमध्ये धेरैले त्यसको डाक्टरी जाँच गराएका हुँदैनौं । ठीक नभए पनि ठीक भएको बहाना गर्छौं । धेरैजसो आफ्नो शारीरिकभन्दा आर्थिक अवस्थाप्रति बढी चिन्तित हुन्छौं ।

जीवनकुमार प्रसाईं

(नेपालयद्वारा प्रकाशित एवं प्रसाईद्वारा लिखित पुस्तक जीवन जिउने काइदाबाट साभार)

 Image