तनावबाट जोगियौं : महिलाहरू बढी भावुक हुन्छन्। हृदयघातबाट मर्नेहरूमा पनि महिलाहरूको संख्या नै बढी छ। फ्लोरिडामा भएको एक अध्ययनअनुसार हृदयघातबाट मृत्यु हुने पुरुषको संख्या १० प्रतिशत पाइयो भने महिलाको १५ प्रतिशत । यही सन्दर्भमा एउटा महत्वपूर्ण कुरा के अगाडि आयो भने हृदयघातका बखत महिलाहरूमा पीडाको अनुभूति भएन, जसका कारण चिकित्सकको सम्पर्कमा जान ढिलो हुने र ज्यान जोखिममा पर्ने स्थिति उत्पन्न भएको थियो। अत: महिलाहरूले सुरुदेखि नै खानपानमा सावधानी अपनाउनुपर्छ। पूर्ण निद्रा सुत्नुपर्छ र तनावबाट जोगिनुपर्छ।
भावनात्मक अत्याचार : एक शोधअनुसार महिलाहरू महिनामा ५ पटकभन्दा बढी रुन्छन् भने पुरुष एक-दुई पटक मात्र। यसको कारण महिलाहरूको भिन्न शारीरिक संरचना हो। वास्तवमा महिलाहरूमा आँसुसम्बन्धी ग्रन्थिको बनाबट फरक हुन्छ। उनीहरूका ती ग्रन्थि केही ठूला हुन्छन्। उनीहरूको शरीरमा प्रोलेक्टिन हार्मोनको लेवल पनि करिब ६० प्रतिशत माथि हुन्छ। त्यसैले महिलाहरू बढी रुन्छन् अनि आँसु बगाएर तनाव कम गर्छन्।
तनावमुक्त जीवन : वल्र्ड हेल्थ अर्गनाइजेसनको ताजा रिपोर्ट अनुसार पुरुषको तुलनामा महिलाहरू ५० प्रतिशत बढी तनावग्रस्त हुन्छन्। वल्र्ड मेन्टल हेल्थको रिपोर्टका अनुसार महिलाहरूमा तीन गुना बढी डिप्रेसन पाइन्छ। त्यसो त तनावमुक्त रहे महिलाहरू पुरुषभन्दा बढी जवान देखिन्छन्। सकारात्मक सोच विकसित गरी डिप्रेसनबाट जोगिन सकिन्छ। यसबाहेक आफ्नो वरपर घटिरहेका स-साना कुरामा खुसी खोज्ने प्रयास गर्नुपर्छ। कतिपय महिला चकलेट खाएर स्ट्रेस कम गर्छन् भने कतिपय चिया पिएर।
स्लिम हुने चाहना : कहिलेकाहीँ महिलाहरूको स्लिम हुने चाहना खतरनाक हुन सक्छ र मोटोपन, हार्टअट्याक, डाइबिटिज, ओस्टियोपोरोसिस जस्ता रोगको कारण बन्छ तर आवश्यकताभन्दा बढी स्लिम हुनु पनि उपयुक्त होइन। विशेषज्ञहरूका अनुसार अत्यन्त स्लिम हुनुको साटो थोरै हेल्दी र हड्डीमा थोरै बोसो हुनु लामो र स्वस्थ जीवनका लागि राम्रो हुन्छ। यस्ता व्यक्तिको आयु बढी हुन्छ। अन्डरवेट व्यक्तिको शरीरमा पोषणको कमी हुन्छ। यद्यपि दिनभर घरको काममा सक्रिय रहे वा लामो समय पैदल हिँडे व्यायामको कमी पूरा हुन सक्छ।
उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो
रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु नै उपयुक्त हुन्छ। यसका लागि जीवनशैली एवं आहार-विहारलाई सही र स्वस्थकर राख्नु आवश्यक छ। समय-समयमा शरीर परीक्षण गराउँदा पनि गम्भीर रोगबाट जोगिन सकिन्छ। समयमै समस्या थाहा पाउन सके स्वस्थ रहन सकिन्छ।
२० को उमेरपछि
- राम्रो हेल्थ हेबिट्स विकसित गर्नुपर्छ। पोषिलो भोजन गर्नुपर्छ। तौलमा नियन्त्रण राख्नुपर्छ। व्यायाम गर्नुपर्छ र स्मोक तथा डि्रङ्कबाट जोगिनुपर्छ।
- जनरल हेल्थका लागि ब्लडपेसर, कोलेस्ट्रोल, थाइराइड तथा ब्लड सुगर आदि जाँच गराउनुपर्छ।
- २१ वर्षपछि वर्षमा एकपटक पेल्विक र दुई वर्षमा एकपटक पेप स्मियर टेस्ट गर्नुपर्छ, यसबाट सर्वाइकल क्यान्सरका सम्बन्धमा समयमै थाहा पाउन सकिन्छ। मासिक रूपमा ब्रेस्ट जाँच स्वयं आफैले गर्नुपर्छ। तीन वर्षमा एकपटक चिकित्सकबाट ब्रेस्ट जाँच गराउनुपर्छ।
- पर्याप्त मात्रामा आइरन सेवन गर्नुपर्छ। कारण पिरियडका बेला औसत रूपमा १५-२० मिलिग्राम आइरन हरेक पटक लस हुन्छ जसले गर्दा एनिमिया हुनसक्छ।
४० को उमेरपछि
- ४० को उमेरपछि हरेक वर्ष वा एक वर्ष बिराएर मेमोग्राम गराउनुपर्छ।
- कार्डियो वेस्कुलर डिजिजबाट जोगिनुपर्छ। ब्लडपेसर, कोलेस्ट्रोल र डायबिटिजको जाँच नियमित गराउनुपर्छ। ४० को उमेरपछि महिलाहरू मेनोपजको अवस्थाबाट गुज्रन्छन्, यसबाट शरीरमा हार्मोनल परिवर्तन हुन्छ, जसका कारण ब्याक, नेक, सोल्डर पेन, सिन्ड्रोम र फाइब्रोमाइल्जिया तथा अर्ली स्पोन्डिलाइटिस आदि समस्या हुन सक्छन्। डाइबिटिजको समस्या हुने सम्भावना पनि हुन्छ। हात एवं घुँडामा पीडा र औंला सुन्निने समस्या हुन सक्छ। त्यसबाट जोगिन सन्तुलित भोजनका साथै एरोबिक एक्सरसाइजमा जोड दिनुपर्छ। कार्बोहाइड्रेटको मात्रा कम गर्नुपर्छ। ४५ वर्षको उमेरपछि अस्टियोपोरोसिसको जाँच नियमित रूपमा गराउनुपर्छ। यो उमेरमा शरीरमा मेटाबोलिज्म डिक्लाइन सुरु हुन्छ। भविष्यमा हड्डीसित जोडिएका र अन्य बिरामीको जोखिम कम होस् भन्ने हेतुले पनि क्याल्सियम रिच, फाइबर रिच वस्तुहरू तथा लो फ्याट डेरी प्रोडक्ट र ओरेन्ज जुस, सोया मिल्क, मेवा तथा हरियो तरकारी आदि नियमित सेवन गर्नुपर्छ।
५० को उमेरमा
- यो उमेरमा आर्थराइटिसको समस्या सामान्य हुन्छ। कुहिना, हात, काँध र घुँडा आदिमा फ्याक्चरको सम्भावना बढ्छ। त्यसका लागि सर्जरीको पनि आवश्यकता पर्न सक्छ।