Successfully Copied


मेष
आर्थिक क्रियाकलापमा संलग्न रहनुपर्ला । आत्मीयजनसित भेटघाट गर्ने मौका जुट्नेछ । काम गर्ने पराक्रम बढ्नेछ । कसैकसैलाई यो महिनामा सन्तानलाभ हुनेछ । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि माया र सद्भाव यथावतै रहनेछ । नयाँ एवं पुराना साथीसित भेटघाटको मौका जुट्नेछ । प्रतिस्पर्धात्मक काममा सफल भइनेछ । केही बोल्दा र व्यावहारिक काम गर्दा भने सजगता अपनाउनुपर्नेछ । सकेसम्म कसैसित ठट्टा नगरेकै उत्तम हुनेछ ।

वृष
कतै घुमघाम गर्न जाने मौका मिल्न सक्छ । नयाँ ठाउँमा जागिरको प्रतिस्थापन हुनसक्छ । केही विद्यार्थीहरूले अध्ययनका निम्ति वैदेशिक यात्रा गर्नुपर्ने हुन सक्छ । मनमा भएको तनाव हटेर तन स्वस्थ रहनेछ । योजनानुसार काम गर्न पाउँदा मन प्रसन्न रहनेछ । आफ्नै प्रभुत्वमा सबै काम सम्पन्न हुनेछन् । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुन सक्छ । काम विशेषले टाढा भएका आत्मीयजनसित भेटघाट हुनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ ।
मिथुन
पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तानको खुसीका निमित्त कुनै कुरामा खर्च होला । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ । आर्थिक लेनदेन एवं सेयर कारोबार गर्दा सजग रहनुपर्नेछ । कतिपय काममा अपेक्षित सफलता मिल्नेछ भने कुनै कामले अनावश्यक तनाव दिन सक्छ । सकारात्मक सोचमा रही आफूलाई प्रस्तुत गर्नुपर्ने बेला छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । एक–अर्काको कुरा बुझी काम गर्ने प्रयास हुनेछ । टाउको एवं आँखा दुख्ने योग रहेकाले झिनामसिना काम गर्दा सजग रहनुपर्नेछ । स्वास्थ्य, खानपान र रहनसहनका काममा पनि ध्यान दिनुपर्ने बेला छ ।
कर्कट
कसैकसैको यो महिनामा वैदेशिक यात्रा हुन सक्छ । विभिन्न कामले गर्दा निकै व्यस्त रहनुपर्ला । आफ्नो कार्यक्षेत्रमा अपेक्षित सफलता मिल्नेछ । इच्छानुसारका काममा समय दिन पाइनेछ । आफ्ना लागि विभिन्न कुराको किनमेल हुनेछ । कतैबाट कुनै आकस्मिक उपहार पाइन सक्छ । सहयोगी हात पछि हट्दा आफैंलाई कामको भार पर्न सक्छ । अनपेक्षित रही कामको वर्गीकरण गर्दै समयको तालमेल मिलाउँदासजिलो हुनेछ । आफ्नो स्वास्थ्य र खानपानको ख्याल गर्नुपर्नेछ ।स्वास्थ्यमा कुनै असहजता भए हेल्चेक्र्याइँ नगर्नु नै उत्तम रहनेछ ।
सिंह
सकारात्मक सोच र लगनले काम गर्दा सफलता मिल्नेछ । सहयोगी हात पछि हट्न सक्छन् । अनपेक्षित रहँदै आफ्नो काम आफै गर्नु उचित हुनेछ । झिनामसिना कुराबाट तर्किनसके मन शान्त रहला । महिनाको उत्तरार्द्ध तपाईं अनुकूल बन्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । व्यक्तिगत क्रियाकलापका काममा समय दिन पाइनेछ । आफ्नो इच्छानुसार समयलाई तह लगाउने प्रयास हुन सक्छ । मनपरेको खाद्यान्न, परिकार, पहिरन आदिका क्षेत्रमा मन रम्न सक्छ । मनोरञ्जनात्मक काममा सहभागी हुने मौका मिल्न सक्छ । सामुन्नेको व्यक्तिको कुरा बुझेर तदनुरूप व्यावहारिक हुनसके सम्भावित विवाद टर्न सक्छ । सकैसँग बोल्दा सचेत रहनुपर्ने बेला छ ।
कन्या
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । सुनियोजित ढंगले सबै कुरा मिल्दै जानेछन् । धार्मिक कार्यमा अभिरुचि बढ्नेछ । कतै घुमघाम गर्न जाने मौका जुट्न सक्छ । कतै कसैलाई आफ्नो कार्यक्षेत्रबाट राम्रो मान–सम्मान मिल्न सक्छ । न्यायिक एवं प्रतिस्पर्धात्मक कार्यमा सफल भइनेछ । साथीसित रमाइलो जमघट हुनेछ । व्यक्तिगत खुसीका लागि पनि केही खर्च गरिनेछ । आकस्मिक कुराको लाभ होला । सहयोगी मन भएकाहरू एकाएक तर्किन सक्छन् । सकेसम्म कसैको भर नपरी आफ्नो काममा तल्लीन रहनुपर्ने बेला छ । समय र कामको उचित व्यवस्थापन गर्न सके आफैलाई सहज होला ।
तुला
मुद्दामामिला एवं प्रतिस्पर्धात्मक काममा तपाईंको विजय हुनेछ । बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । रोकिएका कामले गति लिन थाल्नेछन् । शत्रुहरू आफै तर्किंदै जानेछन् । रिस गर्नेहरू पनि प्रशंसाको पुल बाँध्न तम्तयार रहनेछन् । तथापि महिनाको पूर्वार्द्धको समयमा बोली र व्यवहारमा सजग रहनुपर्ने अवस्था छ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । सन्तानबाट अपेक्षित सुख–सन्तोष मिल्नेछ । आर्थिक क्रियाकलापका काममा संलग्न रहनुपर्नेछ । कतैबाट तपार्इंको कार्य र योग्यताको कदर हुन सक्छ । कसैकसैलाई नयाँ रोजगारी मिल्न सक्छ भने कसैको तलबमा बढोत्तरी हुन सक्छ ।
वृश्चिक
धार्मिक क्षेत्रमा अभिरुचि बढ्नेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । अनावश्यक खर्चको योग भएकाले आर्थिक क्रियाकलापका काममा सजग रहनुपर्ने अवस्था छ । कुनै कुराले मनमा अलमलको स्थिति सिर्जना होला । समय र परिस्थितिको तादात्म्य मिलाउन सके सबै काममा सहजता हुनेछ । आफ्नो स्वास्थ्य, व्यायाम र खानपानप्रति सजग रहनुपर्नेछ । महिनाको पूर्वार्द्धको समय कुनै काममा अपजस पाइन सक्छ । कुराकानी गर्दा आफ्नो विनम्रपनलाई कायम राख्नसके अनावश्यक विवाद टर्न सक्छ ।
धनु
पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै नयाँ ठाउँमा घुम्न जाने मौका मिल्न सक्छ । घरमा नयाँ सदस्यको आगमन हुन सक्छ । भाउजू, बुहारी, दिदी, बहिनीसित रमाइलो भेटघाट गर्ने अवसर जुट्न सक्छ । कुनै नयाँ काममा हात हाल्नुअघि राम्ररी सोचविचार गर्नुपर्ने बेला छ । प्रायःजसो सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । धार्मिक काममा मन आकृष्ट रहनेछ । कसैकसैको लहैलहैमा कुनै पनि काम नगरेकै उत्तम रहनेछ । कुनै कुराको पनि अनावश्यक बोझ नबोकेकै राम्रो रहनेछ । जसरी आफ्नो मन शान्त रहन्छ, त्यतैतिर जोड दिए मन सन्तुष्ट रहला ।
मकर
योजनानुसार सबै काममा सफलता मिल्दै जानेछ । कुनै विशेष काममा सफल भइनेछ । सन्तान सुख मिल्नेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । मनमा भएको तनाव हट्दा काम गर्ने पराक्रम बढ्नेछ । मन उत्साही र तन जाँगरिलो बन्दा शरीर स्वस्थ रहनेछ । मनले पनि प्रसन्नताको आभास गर्नेछ । पारिवारिक स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ । खानपानमा सजग रहनुपर्नेछ । स–साना हेल्चेक्र्याइँले पनि अनावश्यक दुःख दिन सक्छ । कुनै पनि कुरामा नहतारिनु नै उचित हुनेछ ।
कुम्भ
मनको बोझ हटेर जानेछ । हरेक काममा मन उत्साही बन्नुका साथै तन पनि जागरुक रहनेछ । स्वास्थ्यस्थिति पनि आफू अनुकूल बन्दा सबै काममा सहजता हुनेछ । प्रसन्न चित्तले गर्दा हरेक काम गर्दा मन रमाउनेछ । कसैले केही कुरा गरे भने पनि मनले खासै वास्ता गर्ने छैन । आफ्नै काममा दत्तचित्त भई मन लागिपर्नेछ । कुनै कुराले गर्दा मनमा बेलाबेलामा दोधार हुन सक्छ । आफ्नै सुझबुझले आफैले आफैलाई सम्झाउन खोजिनेछ । सकेसम्म समयानुकूल रहँदै सबै काम फत्ते गर्ने प्रयास गरिनेछ । कसैले तपाईंको विचार बुझ्न मन चोर्ने प्रयास गर्न सक्छन् । अञ्जान व्यक्तिसित कुराकानी गर्दा सजग रहनुपर्ने छ । आर्थिक काम गर्दा पनि सजग रहनुपर्ला ।
मीन
काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । आ–आफ्नो तर्फबाट सबैले सक्दो सहयोग प्रदान गर्नेछन् । व्यक्तिगत काम एवं खुसीका लागि केही किनमेल गरिनेछ । विभिन्न कुराले गर्दा यो महिना तपाईं अनुकूल रहनेछ । योजनानुरूप सबै कुरा अपेक्षित ढंगले सम्पन्न हुँदै जानेछन् । दाम्पत्य जीवनमा एक–अर्काकोसाथ र सहयोग मिल्नेछ । सन्तानको कुरालाई लिएर बेलाबेलामा मनमा कुरा खेल्न सक्छ । तथापि जुझारु हुँदै समयसित साक्षात्कार गर्ने प्रयास हुनेछ । आफ्नै सुझबुझले सबै कुरालाई समयानुसार तह लगाउन खोजिनेछ ।

 Image