मलाई सधैं आफू नगएको ठाउँमा घुम्न जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । कुनै पनि नयाँ ठाउँमा पुग्दा मेरो मन–मस्तिष्क त्यसै उत्साहित हुन्छ । कामको सिलसिलामा नेपालका धेरै भू–भाग पुगियो । मैले आफन्त एवं साथीहरूले घुम्न बोलाउँदा विदेशका थुप्रै स्थान पुग्ने अवसर पाएकी छु । जतिपटक विदेशी भूमि पुगेर रमाए पनि अन्तत: मलाई नेपालकै प्रकृतिले लोभ्याउँछ । नेपालकै रमणिय ठाउँहरू घुम्न मन लाग्छ । बाल्यकालमा गएका ठाउँमा पुन: एकपटक जाने रहर लाग्छ र गैरहन्छु पनि । ती ठाउँहरू पहिले कस्ता थिए र अहिले कस्ता भए तुलना गर्न उत्तिकै रमाइलो हुन्छ ।
यद्यपि त्यो उत्सुकता विदेशको घुमघाममा पटक्कै हुँदैन । विदेशका नयाँ–नयाँ ठाउँ, टेक्नोलोजी तथा मानवबस्तीहरू विकासको मामिलामा धेरै अगाडि देखिन्छन् । मलाई नेपाल र विदेशको यात्रामा फरक लाग्ने मुख्य पक्ष भनेकै उताको मेटालिटिक्स हो । घुम्यो, मीठो खायो त्यही हो । जति पनि विदेशको यात्रा गरें धेरैजसो मानिसहरूले नै बनाएका देशहरू पुगें त्यो हेरेर म मनमनै हामीलाई प्रकृतिले नै यति धेरै उपहार दिएको छ भनेर सोच्छु ।
मलाई विदेशमा पनि टर्की घुम्दा अलि बढी रमाइलो लाग्यो । टर्की जाने कुरा हुँदा म त्यति रमाएकी थिइन । मुस्लिम देश हो, खासै केही छैन होला भन्ने सोच थियो तर यात्रा ठीक उल्टो भयो । मेरा लागि टर्कीको यात्रा अविस्मरणीय नै रह्यो । टर्कीका दरबारहरू हेरेपछि हामीले घमण्ड गर्ने ठाउँ प्रकृति मात्र रहेछ भन्ने लाग्यो । त्यहाँ मानिसले परिश्रम, पैसा र कल्पनाले बनाएका धेरै रमणीय स्थानहरू हेर्दा हामी पनि परिश्रम गर्न अघि बढ्नुपर्छ भन्ने सन्देश मिल्छ । टर्कीमा मानिसले बनाएका दरबार, फर्निचर एवं मूर्तिहरू उत्तिकै आकर्षक छन् । त्यहाँको पानीको कलरले मेरो मन छोयो । म जाँदा टर्कीको समुद्रमा धेरै वर्षपछि टकोस ब्लु कलर देखिएको थियो जुन अति नै सुन्दर र रोमाञ्चक थियो । म त्यो पानीको आनन्द लिन ३–४ घन्टा जहाजमै घुमिरहन्थें ।
धेरै रमणीय स्थलहरू घुमियो तर मीठो र स्मरणीय भ्रमण गरेको सहर इस्तानबुल रह्यो । इस्तानबुल टर्कीको सबैभन्दा ठूलो सहर हो । टर्कीको ९५ प्रतिशत भूमि एसिया तथा ५ प्रतिशत भूमि युरोप महादेशमा परे पनि यो युरोपियन महादेशमा छ भन्ने मानिन्छ । इस्तानबुल सहर पनि यूरोप र एसिया दुवै महादेशमा फैलिएको छ र त्यसलाई बीचको बोस्फोरस क्यानलले छुट्टाएको छ । बोस्फोरस करिब १ सय किलो मिटर चौडा छ । यसले उत्तरमा कालो सागर तथा दक्षिणमा मेडिटरानियन भूमध्यसागरलाई जोड्छ । कालो सागर वरपर अवस्थित रसिया, जर्जिया, रुमानिया, बुल्गेरिया, युक्रेन आदि राष्ट्रका सम्पूर्ण जहाज यही बोस्फोरसमार्फत विश्वभरि संचालन हुन्छन् ।
झन्डै २० किलो मिटर लामो यो बोस्फोरसको दुवै किनारामा अवस्थित अनगिन्ती रेस्टुराँ, होटल तथा निजी आवासीय भवनहरूले पर्यटकहरूलाई आकर्षित गर्छन् । झन्डै १ करोड २० लाख जनसंख्या भएको इस्तानबुल सहरमा वार्षिक डेढ करोडभन्दा बढी पर्यटक घुम्न आउँछन् । यहाँ शताब्दियौं पुराना विश्वप्रसिद्ध मस्जिदहरू हेर्न पाइन्छ । जसमध्ये ब्लु मस्जिद तथा हाजिया सोफियाको भ्रमण दैनिक दसौं हजार पर्यटकले गर्छन् । त्यस्तै सन् १९२३ सम्म शासन चलाउने अटोमन टुर्क साम्राज्यका दरबारहरू, डोल्माब्याहच प्यालेस तथा टोपकाडी प्यालेस हेर्न पनि उत्तिकै भीड लाग्छ । विश्वकै सोर्हौं ठूलो अर्थतन्त्र भएको मुलुक टर्कीमा पर्यटन व्यवसायको ठूलो देन छ ।
लामो इतिहास बोकेको टर्कीले साम्राज्यवादी मुलुकका रूपमा विश्वका थुप्रै देशमा राज्य गथ्र्यो । सन् १९२३ पछि गणतन्त्रमा परिवर्तन भएको टर्कीलाई एउटा आधुनिक मुस्लिम राष्ट्रको नमुनाका रूपमा प्रस्तुत गर्न सकिन्छ । यहाँ बुर्का लगाएका महिला फेला पार्न गार्हो छ । मुस्लिम राज्य भएर पनि यहाँका महिलाहरू मिनी स्कर्टमा भेटिन्छन् । त्यहाँका युवतीहरू अग्ला, फेयर स्किन, टलक्क टल्किने आँखा, ब्लन्ड कलरको केशले गर्दा निकै आकर्षक देखिन्छन् । यस्तै टर्कीलाई बेली डान्सरहरूको देशका रूपमा पनि चिन्न सकिन्छ । यहाँ बेली डान्स प्रस्तुत हुने थुप्रै ठाउँ छन् । इस्तानबुलको टाक्सिम चोकमा हजारौं मानिस कुनै पनि समय किनमेल गर्न, खान, घुम्न तथा रमाउन निस्कन्छन् । त्यहाँ अनगिन्ती रेस्टुराँ एवं ब्रान्डेड पसल छन् । टर्कीको प्रख्यात टर्किस डिलायट मिठाईंहरूसहित डोनेर कबाब ख्वाउन सयौं रेस्टुराँ हरदम तम्तयार रहन्छ ।
ओरेन्टल एक्सप्रेस रेलको पश्चिमी स्टेशन हेर्न लायकको छ भने प्रख्यात लेखिका agatha chrietie मर्डर अन ओरेन्टल एक्सप्रेस लेख्दा बसेको घर समेत त्यहाँ अवलोकन गर्न सकिन्छ जुन घर हेर्न पर्यटकहरू उत्सुक रहन्छन् । समग्रमा टर्कीलाई मैले एउटा आधुनिक तथा ऐतिहासिक कला, संस्कृति तथा समाजको संमिश्रण अनुभव गर्ने राष्ट्रका रूपमा पाएँ । टर्कीको यात्रापछि हामी पनि जागरुक भै परिश्रमले आफ्नो देशको सुन्दरतालाई कायम गर्न लाग्नुपर्छ भन्ने महसुस भयो ।
डाइरेक्टर, आइडियल सप तथा जीजी मचान ग्रुप अफ कम्पनी