Successfully Copied

टापुको सौन्दर्य

भ्रमणको अविस्मरणीय क्षण संगाल्न, प्रकृतिको अनुपम सौन्दर्यसँग साक्षात्कार गर्न तथा आनन्दपूर्ण भावदशामा आफैलाई बिर्सदै प्रियजनसँग मिठासपूर्ण समय बिताउन नचाहने सायदै कोही होलान् । त्यसो हो भने अनुपम सौन्दर्यले भरिपूर्ण संसारका केही प्रसिद्ध टापु तपाईंको स्वागत गर्न आतुर छन् ।

भ्रमणको अविस्मरणीय क्षण संगाल्न, प्रकृतिको अनुपम सौन्दर्यसँग साक्षात्कार गर्न तथा आनन्दपूर्ण भावदशामा आफैलाई बिर्सदै प्रियजनसँग मिठासपूर्ण समय बिताउन नचाहने सायदै कोही होलान् । त्यसो हो भने अनुपम सौन्दर्यले भरिपूर्ण संसारका केही प्रसिद्ध टापु तपाईंको स्वागत गर्न आतुर छन् । यी टापुका अत्यन्त सुन्दर एवं रोमाञ्चक दृश्यले प्रेमिल मनहरूलाई अझ निकट हुने अवसर जुराउने निश्चित छ ।

 

फिजी

फिजी टापुहरूले बनेको एउटा छुट्टै राष्ट्र हो । समुद्रको हरियो–नीलो पानी तथा चम्किलो सुनौलो बालुवायुक्त फिजीले पर्यटकलाई सहजै आफूतर्फ आकर्षित गर्छ । जीवनसाथीसँग फिजीको भ्रमर्ण गर्न जानु आफैंमा रोमान्टिक हुन्छ । सुनमा सुगन्ध भनिएझैं फिजीस्थित विश्वस्तरीय रिसोर्टहरू आगन्तुकको मुड बदल्न माहिर छन् । स्थानीय पेय पदार्थ कावा पिएपछि त अझ भ्रमणको मज्जा नै बेग्लै हुन्छ । पोर्ट देरानु मरिना, गार्डेन अफ स्लिपिङ जायन्ट्स, फायरवाकिङ सेरेमनी, फिजी म्युजियम, कोरल टोस्ट, द यसाबस आदि फिजीका पुग्नैपर्ने गन्तव्य हुन् । फिजीको नजी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि स्थानीय स्तरमा संचालित सवारी साधनमार्फत त्यहाँका विभिन्न टापुको भ्रमण गर्न सकिन्छ ।

बोरा बोरा

प्रशान्तमहासागरमा १९ दशमलव ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बोरा बोरा विश्वकै सुन्दरतम टापुहरूमध्ये एक हो । विश्वका धेरै मानिस जीवनमा एकपटक यहाँको प्राकृतिक सौन्दर्यको साक्षी बन्न लालायित हुन्छन् । यहाँका खुला नीलो आकाश, मनोरम दृश्य तथा सुविधासम्पन्न रिसोर्टहरू पर्यटकलाई उत्कृष्ट सेवा प्रदान गर्न हमेसा तम्तयार छन् । यो टापु जीवनसाथी वा प्रेमी–प्रेमिकासँगको मधुर मिलनका लागि सर्वोत्कृष्ट मानिन्छ । हरिया झाडीहरूले घेरिएको समुद्रको नीलो पानीले पर्यटकहरूलाई बारम्बार यहाँ आउन प्रेरित गर्छ । स्कुवा डाइभिङका लागि पनि यो टापु विश्वभर प्रसिद्ध छ । बोरा बोराको भ्रमणका क्रममा स्थानीय परिकार नरिवलको दूध तथा कागतीको रस हालेर तयार पारिएको माही–माही फिसको अलौकिक स्वाद लिन चुक्नुहुँदैन । मोटु म्युट त्यहाँको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो, जहाँ ओर्लिएपछि स्थानीय सवारी साधन चढेर टापुको जुनसुकै कुनामा सजिलै पुग्न सकिन्छ ।

 

सेन्टोरिनी

ग्रिसका अनेकौं टापुमध्ये एक हो–सेन्टोरिनी । ग्रिसबाट दुई सय किलोमिटर टाढा समुद्रको बीचमा अवस्थित सेन्टोरिनी टापु प्राकृतिक सुन्दरताका दृष्टिले विश्वप्रसिद्ध छ । जीवनसाथीलाई विशेष अनुभव गराउने चाहना छ भने यो टापु पुग्नुको विकल्प छैनभन्दा फरक पर्दैन । अक्रोटिरी, थेरेसिया, एनिसिएन्ट थिरा, रेड बीच, अमोडी वे, सेन्टोरिनी क्याल्डेरा, निया कामेनी, आर्कियोलोजिकल म्युजियम अफ थिरा, म्युजियम अफ प्रिहिस्टोरिक थिरा आदि सेन्टोरिनीका पुग्नैपर्ने गन्तव्य हुन् । यसबाहेक त्यहाँको रातो तथा कालो बालुवाले पनि थुपै्र पर्यटकलाई लोभ्याउँछ । ग्रिस हुँदै सेन्टोरिनी पुग्न सकिन्छ । जुनसुकै समयमा पुग्न सकिने भए पनि जूनदेखि सेप्टेम्रसम्मको अवधि यो टापु भ्रमणका लागि सर्वोत्तम समय मानिन्छ ।

माल्दिभ्स

माल्दिभ्सबाट चम्किलो नीलो पानीमा अस्ताउँदो सूर्यको विशेष दृश्य अवलोकन गर्न सकिन्छ । आफ्नो यात्रालाई अविस्मरणीय तथा रोमान्टिक बनाउन चाहने व्यक्तिले एकपटक पुग्नैपर्ने देश हो–माल्दिभ्स । हिन्दमहासागरमा २ सय ९८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको माल्दिभ्स टापु नै टापुको देश हो । सार्क सदस्यमध्ये एक भएकाले माल्दिभ्स जान केही सहजता पनि छ । माल्दिभ्सको माले अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि स्थानीय सवारी साधनको सहायताले अन्य टापुहरूसम्म पुग्न सकिन्छ । माल्दिभ्स भ्रमणलाई स्थानीय माछाको तरकारीसँग खाइने भातले अझ स्वादिलो बनाउँछ ।

 Image