Successfully Copied

गरौं निस्फिक्री भ्रमण

नेपालीहरूको आयस्रोत बढ्दै गएको र ट्राभल एजेन्सीहरूको आकर्षक प्याकेजका कारण आउटबाउन्डमा नेपालीहरूको आकर्षण बढ्ने क्रमसँगै नेपालमा आउटबाउन्ड गराउने ट्राभल एजेन्सीहरूको संख्या समेत बढ्दै गएको छ । हाल डेढ दर्जनभन्दा बढी एजेन्सीले यस्तो सेवा उपलब्ध गराउँदै आएका छन् । यी ट्राभल एजेन्सीले विशेष सहुलियत

केही वर्षअघिसम्म नेपालीहरू पनि पर्यटनमा जान्छन् र भन्ने थियो । घुमफिरकै उद्देश्यले देश–विदेश घुम्नु त परको कुरा कामै परे पनि यात्रामा निस्कन हिच्किचाउनेहरू प्रशस्तै भेटिन्थे । छुट्टी मनाउने भन्ने चलन नै थिएन । अहिले स्थिति परिवर्तन भएको छ । अहिले नेपालमा विदेशी पर्यटक आउने मात्र नभएर नेपाली पनि पर्यटक बनेर विदेश घुम्न जाने क्रम बढिरहेको छ । नेपालीहरू विदेश घुम्न जानुलाई आउटबाउन्ड टुर भन्ने गरिएको छ । पहिले पोखरा जानुपर्दा पनि महाभारत मान्नेहरू अहिले युरोपको सयर गर्न थालेका छन् । नेपालीहरू पर्यटकका रूपमा मलेसिया, थाइल्यान्ड, यूएई, सिंगापुर, भूटानसहित युरोप तथा अमेरिकासम्म पुग्ने गरेका छन् ।

वार्षिक करिब ५० हजार नेपालीले विदेश भ्रमण गर्दा गर्ने खर्च आर्थिक वर्ष २०७२/७३ मा ५६ अर्ब ४१ करोड रुपैयाँ थियो जुन रकम नेपालीले विदेश घुम्न खर्च जाँदा नेपाल राष्ट्र बैंकबाट लिएको डलर सटहीको सुविधा मात्र हो । यस्तो सुविधाबाट वर्ष ०७१/७२ मा ५३ अर्ब १९ करोड रुपैयाँ खर्च भएको उल्लेख छ । नेपालीहरूले घुमेर खर्च गर्ने यो रकम टिकट र भिसाबाहेकको हो । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार सन् २०१२ मा ३९ हजार, २०१३ मा ३२ हजार, सन् २०१४ मा ३७ हजार तथा २०१६ मा ५० हजार नेपाली पर्यटकका रूपमा नेपालबाहिर गएको तथ्यांक छ । यसबाट के देखिन्छ भने भ्रमणमा जाने नेपालीहरूको संख्या बढ्दो क्रममा छ ।

नेपालबाहिर घुम्न जानेहरूलाई लक्षित गरेर ट्राभल एजेन्सीहरूले टुर प्याकेज तयार पार्नु तथा विदेशी वायुसेवाले सस्तोमा हवाई टिकट उपलब्ध गराउनुले आउटबाउन्ड टुरमा नेपालीहरूको पहुँच बढिरहेको कुरा प्रमाणित हुन्छ । ट्राभल एजेन्सीहरूका अनुसार अहिले नेपालीहरूको खर्च गर्ने क्षमता बढ्दै जानुका साथै आउटबाउन्ड टुरको प्याकेज बेच्ने एजेन्सीहरूको कारोबारसमेत उल्लेख्य रूपमा वृद्धि भैरहेको छ ।

नेपालीहरूको आयस्रोत बढ्दै गएको र ट्राभल एजेन्सीहरूको आकर्षक प्याकेजका कारण आउटबाउन्डमा नेपालीहरूको आकर्षण बढ्ने क्रमसँगै नेपालमा आउटबाउन्ड गराउने ट्राभल एजेन्सीहरूको संख्या समेत बढ्दै गएको छ । हाल डेढ दर्जनभन्दा बढी एजेन्सीले यस्तो सेवा उपलब्ध गराउँदै आएका छन् । यी ट्राभल एजेन्सीले विशेष सहुलियत मूल्यका प्याकेज टुरको व्यवस्था मिलाएका छन् ।

उहिले पैसा भएर पनि माध्यम थाहा नपाउँदा इच्छा लागेको ठाउँ घुम्नबाट वञ्चित हुनेहरू अहिले ट्राभल एजेन्सीले विभिन्न ठाउँ र मुलुकका लागि संचालन गरेको प्याकेज टुरमा रमाउन थालेका छन् । पहिले विदेश जाने नाममा छिमेकी मुलुक भारतसम्म पुग्ने नेपालीहरू आज प्याकेज टुरमार्फत युरोप–अमेरिका तथा विभिन्न एसियाली मुलुकहरूको सयर गर्न थालेका छन् । ट्राभल व्यवसायीहरूले उपलब्ध गराउने प्याकेजका कारण नेपालबाट दुबई, इजिप्ट, मलेसिया, मरिसस, थाइल्यान्ड, चीन, टर्की, सिंगापुर, मलेसिया, थाइल्यान्ड, अमेरिका आदि मुलुकको भ्रमण सहज भएको व्यवसायीहरूको भनाइ छ । नेपालमा उडान गरिरहेका विभिन्न विदेशी वायुसेवाले टिकटमा मात्र १ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको अनुमान छ ।

ट्राभल एजेन्सीहरूले उपलब्ध गराउने प्याकेज टुरभित्र खाने–बस्नेलगायत घुम्ने लोकेसनसम्मको व्यवस्था गरिने हुँदा कहाँ बस्ने, के खाने, कहाँ घुम्न जाने, टिकट कहाँ, कसरी र कति मूल्यमा किन्ने जस्ता झन्झटबाट मुक्त भइन्छ । त्यसैले त हिजोआज थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया, दुबई आदि ठाउँमा मध्यम वर्गीय नेपालीहरू पनि पुग्न थालेका छन् । कतिपय नेपाली ट्राभल एजेन्सीको सहयोग नलिई भ्रमण गर्छन् । यसरी अहिले नेपालीहरूमा घुमौं–फिरौं तथा संसारलाई अलिकति भए पनि बुझौं भन्ने भावना जागृत भैसकेको छ ।

भारतीय गन्तव्य

छिमेकी मुलुक भारत निकै विशाल छ । भौगोलिक विशालतासँगै यसका सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक विशेषता पनि उत्तिकै छन् । छिमेकीका नाताले आधुनिकताको मार्गमा द्रुतगतिले लम्किरहेको भारत भ्रमणमा गएर एउटा रमाइलो अनुभव गर्न सकिन्छ । काश्मिरदेखि कन्याकुमारीसम्म अनि राजस्थान, पञ्जावदेखि उत्तरपूर्वी मेघालय, अरुणाचलसम्म विशाल भूभागमा फैलिएको भारतमा पर्यटकलाई आकर्षित गर्ने सैकडौं गन्तव्य छन् । आफ्नो रुचिअनुसार ती मध्ये उपयुक्त स्थानको भ्रमण गर्न सकिन्छ ।

भारतका चर्चित प्याकेज टुर

गोल्डेन ट्रयाङ्गल टुर

अवधि : ६ दिन ।

कहाँदेखि कहाँसम्म : दिल्ली, सिकन्दरावाद, आगरा, फतेहपुर सिकरी, जयपुर हुँदै पुन: दिल्ली ।

यो नेपालका ट्राभल एजेन्सीहरूले सबैभन्दा बढी घुमाउने रुट हो । छोटोमीठो भारत यात्रामा जान चाहनेहरूका लागि यो भ्रमण उपयुक्त हुनसक्छ ।

दिल्ली : भारतका सबैभन्दा ठूला सहरमध्ये एक अर्थात् भारतका ४ महानगरमध्ये एक दिल्ली प्राचीन एवं आधुनिक जीवनशैलीको अद्भुत संयोजन हो, जुन सहरलाई अहिले विकासको मार्गमा फड्को मारिरहेको भारतीय राजधानी हुने गौरव प्राप्त छ । दिल्ली भारतको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको सहर पनि हो । दिल्लीमा भारतको इतिहास, संस्कृति एवं आश्चर्यलाग्दा कुराहरू फेला पर्छन् । दिल्लीमा निर्मित कतिपय स्मारक एवं पर्यटकीय स्थलले प्राचीन कालको सम्झना गराउँछन् । दिल्लीस्थित कुतुब मिनार, लालकिल्ला, इन्डिया गेट, लोटस मन्दिर तथा अक्षरधाम मन्दिर वास्तुकलाका उत्कृष्ट नमुना मानिन्छन् । यसैगरी यो भारतीय राजधानीमा संसद् भवन, राष्ट्रपति भवन, राजघाट, चाँदनी चोक, कनाँट प्लेस तथा अन्य थुप्रै दर्शनीय स्थल छन् ।

सिकन्दरावाद : सिकन्दरावाद आगराबाट चार किलोमिटरको दूरीमा छ । यहाँको सबैभन्दा दर्शनीय स्थल हो अकबरको मकबरा (समाधि) । यसको निर्माण अकबर स्वयंले सुरु गराएका थिए जसलाई पूरा गर्न नपाउँदै उनको मृत्यु भएपछि उनका पुत्र जहाँगिरले त्यसलाई पूरा गराए । यो मकबरालाई हिन्दू, बौद्ध, इस्लाम, इसाई एवं जैन कलाको सर्वाेत्तम मिश्रण मानिन्छ । सिकन्दरावादको नाम सिकन्दर लोधीको नाममा राखिएको हो । मकबराबाहेक यहाँ मिनार, बगैंचा, बरादी महल आदि आकर्षक स्थलहरू पनि छन् ।

आगरा : भारतको राजधानी दिल्लीबाट २ सय किलोमिटर टाढा उत्तर प्रदेशको चर्चित सहर आगरा ताजमहलका कारण प्रसिद्ध छ । ताजमहलका साथै आगराको किल्ला तथा फतेहपुर सिकरीजस्ता युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत तीनवटा धरोहरका साथ सगर्व उभिएको आगरा भारत जाने जुनसुकै पर्यटकको रोजाइमा पर्ने क्षेत्र हो । आगराको इतिहास एघारौं शताब्दीतिर प्रारम्भ हुन्छ ।

फतेहपुर सिकरी : सन् १५७१ देखि १५८३ का बीचमा मुगल सम्राट् अकबरद्वारा निर्मित फतेहपुर सिकरी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । उत्तर प्रदेशको आगरासँगैको यो स्थल मुगल संस्कृति एवं सभ्यताको प्रतीक पनि हो ।

जयपुर : जयपुर भारतको पुराना सहरमध्ये एक हो जुन पिंक सिटीका नामले चर्चित छ । राजस्थान राज्यको राजधानी जयपुर अद्र्धमरुभूमि क्षेत्रमा पर्छ । भनिन्छ, यो सुन्दर सहरलाई अम्बेरका महाराज सवाई जयसिंह द्वितीयले बंगालका वास्तुकार विद्याधर भट्टाचार्यको सहयोगमा निर्माण गरेका हुन् ।

बेस्ट अफ राजस्थान टुर

अवधि : १४ दिन ।

कहाँदेखि कहाँसम्म : दिल्ली, आगरा, जयपुर, उदयपुर, जोधपुर, जैसलमेर, बिकानेर, माडवा हुँदै पुन: दिल्ली ।

उदयपुर : उदयपुर पहिले मेवाड नामले परिचित थियो । यसलाई तलाउको सहर पनि भनिन्छ । उदयपुरलाई उत्तरी भारतको सबैभन्दा आकर्षक पर्यटकीय सहर मानिन्छ । तलाउ र मरुभूमिको अनौठो संगमस्थलका रूपमा परिचित उदयपुर राजस्थानको अरावली पर्वतसँगै छ । यहाँका प्रमुख पर्यटकीय स्थल सिटी व्यालेस कम्प्लेक्स, सिटी प्यालेस संग्रहालय, काँच ग्यालरी, विन्टेज कार, बगोरको हबेली, आहर, नागदा, एकलिंग, हल्दीघाटी, नाथद्वारा, कक्रोली, राजसमन्द तलाउ आदि हुन् ।

जोधपुर : जोधपुर राजस्थान राज्यको दोस्रो ठूलो सहर हो । यहाँका दर्शनीय स्थल मेहरानगढको किल्ला, जसवन्त थडा, उम्मेद भवन प्यालेस, गिरडी कोट एवं सरदार मार्केट, राजकीय संग्रहालय, अरना झरना मरु संग्रहालय आदि हुन् । यसबाहेक जोधपुर वरपरका बालसमन्द ताल, मन्डोर गार्डेन, महामन्दिर, कायलाना ताल, ओसियाँ, धवा, रोहट किल्ला, लुनी किल्ला आदि पनि दर्शनीय छन् ।

जैसलमेर : पश्चिमी राजस्थानस्थित जैसलमेर अनुपम वास्तुशिल्प, मधुर लोकसंगीत, विपुल सांस्कृतिक एवं ऐतिहासिक विरासतयुक्त सहर हो जुन स्वर्ण नगरीका रूपमा चर्चित छ । सम्पूर्ण सहर पहेंलो पत्थरबाट निर्माण हुनु यहाँको विशेषता हो । जैसलमेर थार मरुभूमिमा उँटको सवारीका लागि पनि प्रसिद्ध छ । अमर सागर, जैसलमेर किल्ला, नाचना हवेली, गडसिसर तलाउ, जैन मन्दिर आदि यहाँका प्रमुख पर्यटकीय स्थल हुन् ।

बिकानेर : प्राचीन कालमा जांगल देशका नामले परिचित बिकानेर राजस्थानको सुन्दर सहर हो । ज्योतिष एवं तान्त्रिकहरूको भूमिका रूपमा समेत चिनिने बिकानेर कोलायत, मुकाम, देशनोक, नागिनी जी, सिसा भैरुजस्ता मेलाका कारण पनि चर्चित छ । बिकानेर रातो पत्थरबाट निर्मित भव्य संरचनाका लागि प्रसिद्ध छ ।

माण्डवा : महाराष्ट्रस्थित माण्डवाको नाम चर्चित पौराणिक ऋषि माण्डव्यका नाममा राखिएको मानिन्छ । यहाँ माण्डव्य ऋषिको पुरातन मन्दिरका साथै भव्य शिव मन्दिर पनि छ ।

केरल टुर (ब्याकवाटर, हाउसबोट)

अवधि : १० दिन ।

कहाँदेखि कहाँसम्म : कोच्चीबाट मन्नार, देक्काडी, कुमाराकोम, अलेप्पी, कोवलम, कन्याकुमारी हुँदै त्रिवेन्द्रमसम्म ।

कोच्ची : कोच्चीलाई कोचिन भनि भनिन्छ । भारतीय राज्य केरलाको समुद्री तटस्थित बन्दरगाहयुक्त सहर कोच्ची एर्नाकुलम जिल्लामा पर्छ । चौधौं शताब्दीताका कोच्ची मसला व्यापारको केन्द्र थियो र यसलाई अरब सागरकी रानी भनिन्थ्यो । यहाँका प्रमुख पर्यटकीय स्थल डच महल, बोलघाट्टी महल, हिल महल, बेशन बंगला, मरिन ड्राइव, चेराई बीच, सेन्ट फ्रान्सिस चर्च, इडापल्लीस्थित संग्रहालय, पल्लिपुरम किल्ला, परीक्षित थम्पुरान संग्रहालय, कान्जिरामट्टम मस्जिद तथा शंकराचार्यको जन्मभूमि कालाडी हुन् ।

मन्नार : भारत र श्रीलंकाबीचको कम गहिराइयुक्त मन्नारको खाडीस्थित भारतीय भूभाग मन्नार प्रसिद्ध पर्यटकीय स्थल पनि हो । तमिलनाडु राज्यको रामनाथपुरम जिल्लास्थित मन्नारमा १९ वटा स–साना टापुमा फैलिएका समुद्री राष्ट्रिय उद्यान छन् जुन पर्यटकहरूबीच आकर्षणको केन्द्र बनेका छन् ।

कुमाराकोम : कुमाराकोम साना एवं सुन्दर टापुहरूको समूह हो । यो केरलाको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थल पनि हो । केरलाको सबैभन्दा ठूलो ताजा पानीको ताल बेम्बानाडको किनारमा अवस्थित कुमाराकोमले आफ्नो प्राचीन एवं मोहक सौन्दर्य मार्फत विश्वभरका पर्यटकलाई आकर्षित गरिरहेको छ । यहाँ सञ्चालन हुने हाउसबोटले यसलाई अन्य पर्यटन स्थलभन्दा विशेष बनाउँछ । कुमाराकोममा उपलब्ध हुने विशिष्ट परिकारहरू तथा फरक संस्कृतिले यसको महत्वलाई थप उजागर गर्छन् । यहाँका प्रमुख पर्यटन स्थल बेम्वानाट ताल, अरुविक्कुझी झरना, कुमाराकोम ड्याम, कुमाराकोम समुद्री तट, बे आइल्यान्ड ड्रिफ्टउड संग्रहालय, जामा मस्जिद, थिरुनक्कारा महादेव मन्दिर, एट्टुमान्नुर महादेव मन्दिर, सेन्ट मेरी चर्च तथा वाइकोम महादेव मन्दिर हुन् ।

अलेप्पी : केरलास्थित अलेप्पीलाई पूर्वको भेनिस समेत भनिन्छ । नरिवलको जंगलका बीचमा मन्द गतिमा बग्ने जमेको पानीमा सुस्त गतिले डुँगा विहार गर्नु यहाँको अद्वितीय विशेषता हो । कुमाराकोममाझैं यहाँ पनि हाउस बोटको आनन्द लिन सकिन्छ । यहाँका आकर्षणमा अलेप्पी बिच, मुल्लकल भगवती मन्दिर, मन्नारसरला मन्दिर, अलाप्पुझा सीएसआई क्राइस्ट चर्च, नेहरू ट्रफी नौका दौड आदि प्रमुख छन् ।

कोवलम : केरलाको राजधानी तिरुवनन्तपुरमबाट नजिकै पर्ने कोवलम आकर्षक पर्यटकीय गन्तव्य हो । मलयालम भाषामा कोवलमको अर्थ हुन्छ, नरिवलका रुखहरूको समूह । कश्मिरलाई धर्तीको स्वर्ग भनिएझैं कोवलमलाई दक्षिणको स्वर्ग भनिन्छ । यहाँका प्रमुख आकर्षण लाइट हाउस बीच, हवाह बीच, अशोका बीच आदि हुन् ।

कन्याकुमारी : कन्याकुमारी तमिलनाडु राज्यको सुदूर दक्षिणी तटस्थित आकर्षक सहर हो । यो हिन्द महासागर, बंगालको खाडी तथा अरब सागरको संगमस्थल पनि हो । कन्याकुमारी प्राचीन समयदेखि नै कला, संस्कृति एवं सभ्यताको प्रतीकका रूपमा रहिआएको छ । यहाँबाट अपार समुद्रमा देखिने सूर्योदय एवं सूर्यास्तको दृश्य निक्कै रोमाञ्चक हुन्छ । यहाँका दर्शनीय स्थल कन्याकुमारी अम्मन मन्दिर, गान्धी स्मारक, तिरुवल्लुवर मूर्ति, विवेकानन्द रक मेमोरियल, सुचिन्द्रम, नागराज मन्दिर, पदमानभापुरम महल, कोरटालम झरना, तिरूचेन्दूर, उदयगिरी किल्ला आदि हुन् ।

त्रिवेन्द्रम : त्रिवेन्द्रमलाई तिरुवनन्तपुरम् पनि भनिन्छ, यो केरलाको राजधानी सहर हो । यहाँका प्रमुख आकर्षण श्री पद्मनाभस्वामी मन्दिर, तिरुवनन्तपुरम् बेधशाला, चिडियाघर, वाइजिनजाम, कनककुन्नु महल, नेपियर संग्रहालय, चाचा नेहरू बाल संग्रहालय तथा शंखुमुखम बीच हुन् । अगस्त्यकूडम एवं नेय्यर वन्यजन्तु आरक्ष तथा नेय्यर बाँध पनि यहाँबाट नजिकैको दूरीमा छन् भने कोवलम पनि नजिकै छ ।

सेन्ट्रल इन्डिया टुर

अवधि : ११ दिन ।

कहाँदेखि कहाँसम्म : दिल्ली, जयपुर, आगरा, झाँसी, ओरछा, खजुराहो, बनारस हुँदै पुन: दिल्ली ।

झाँसी : उत्तर प्रदेश एवं मध्यप्रदेशको सीमामा अवस्थित उत्तर प्रदेशको बुन्देलखण्डअन्तर्गतको चर्चित सहर हो झाँसी । झाँसीस्थित किल्ला, रानी महल, संग्रहालय, महालक्ष्मी मन्दिर, गंगाधर रावको छतरी, गणेश मन्दिर आदि दर्शनीय छन् । झाँसीवरपर पनि देवगढ, शिवपुरी, सुकमा–डुकमा बाँध आदि दर्शनीय स्थल मानिन्छन् । ओरछा झाँसीबाट १८ किलोमिटर टाढा छ भने खजुराहो १ सय ७८ किलोमिटर टाढा पर्छ ।

ओरछा : बुन्देलखण्डस्थित ओरछाका प्रमुख पर्यटकीय स्थल जहाँगिर महल, राज महल, रामराजा मन्दिर, राय प्रवीन महल, लक्ष्मीनारायण मन्दिर, चतुर्भुज मन्दिर, फूलबाग, सुन्दर महल आदि हुन् ।

खजुराहो : खजुराहो मध्यप्रदेशको बुन्देलखण्ड क्षेत्रमा पर्ने रमणीय स्थल हो जुन विन्ध्य पर्वतमालाको पृष्ठभूमिमा अवस्थित छ । प्रसिद्ध खजुराहो मन्दिरकै कारण यो स्थल विश्वभर प्रसिद्ध छ । पत्थरमा कुँदिएका कामक्रीडारत अद्वितीय नग्न मूर्तिहरूका कारण खजुराहोले सारा विश्वको ध्यान आकृष्ट गरिरहेको छ । समय–समयमा विवादित बनेका र नष्ट हुनबाट जोगिँदै आएका यहाँका मूर्तिहरू आध्यात्मिक तथा भौतिकवादी दुवैका लागि आ–आफ्नै प्रकारले महत्वपूर्ण मानिन्छन् ।

बनारस : यो सहर वाराणसी एवं काशीका नामले समेत प्रसिद्ध छ । बनारस विश्वकै प्राचीन एवं निरन्तर अग्रगामी सहरका रूपमा परिचित छ । यसलाई हिन्दूहरूले शिवको नगर मान्दछन् । हिन्दू धर्मका पवित्र सहरमध्ये एक वाराणसी नेपालीहरूका लागि सुपरिचित गन्तव्य पनि हो । कुनैबेला नेपालीहरूका लागि अध्ययनको एक मात्र विकल्प थियो बनारस ।

साउथ इन्डिया टेम्पल टुर

अवधि : ८ दिन ।

कहाँदेखि कहाँसम्म : चेन्नई, कान्चिपुरम, महाबलिपुरम, पोन्डिचेरी, तान्जोर, त्रिचाई, मदुराई हुँदै पुन: चेन्नई ।

चेन्नई : तमिलनाडु राज्यको सुन्दर सहर चेन्नई पर्यटकीय आकर्षक बोकेको सहर हो । यहाँको पार्थसारथी एवं कपिलेश्वर मन्दिर तेर्‍हौं शताब्दमिा निर्मित द्रविड वास्तुकलाका उत्कृष्ट नमुना हुन् । यहाँको भ्रमणमा पर्यटकले हरेक पाइलामा फरक अनुभव गर्नसक्छन् । चेन्नईस्थित ममल्लापुरम मन्दिरहरूको यात्रा सुरु गर्ने अत्युत्तम स्थल हो भने त्यसपछि कांचीपुरम, चिदंबरम, भरतनाट्यमको जन्मस्थल तंजापुर, तिरुचिरिपल्ली एवं रामेश्वरम् हुन् । चेन्नईका भ्रमणयोग्य स्थलमा मद्रास संग्रहालय, विवेकानन्द हाउस, युद्ध स्मारक, कट्टुबाबा मस्जिद, कांडास्वामी मन्दिर, कपिलेश्वर मन्दिर, ड्यास अन स्प्ल्यास, अरीनगर अन्ना प्राणी उद्यान, सेन्ट थोमस माउन्ट, कोवलंग बिच, एमजीएम डिज्नी वल्र्ड आदि प्रमुख छन् । यसैगरी अयप्पा मन्दिर, वीजीपी युनिभर्सल किंगडम, सेन्ट जर्ज किल्ला, महालिंगापुरम श्री अयप्पा मन्दिर, वेलनकल्ली चर्च, मरिना बिच, गोल्डेन बिच, पार्थसारथी मन्दिर, वाडापलानी मन्दिर आदि पनि यहाँका महत्वपूर्ण आकर्षण हुन् । चेन्नई पुगिसकेपछि आसपासका येलागिरि पहाड (३–४ घन्टाको दूरी), तिरुपति (१ सय ५२ किलोमिटर टाढा), सदरस (६९ किलोमिटर टाढा) पनि पुग्नु उपयुक्त हुन्छ ।

कान्चीपुरम : कान्ची पनि भनिने कान्चीपुरम तमिलनाडु राज्यस्थित पलार नदीको किनारमा अवस्थित छ । यो सहर रेशमी साडी तथा मन्दिरहरूका लागि प्रसिद्ध छ । वरदराज पेरुम्मल मन्दिर, एकाम्बरनाथ मन्दिर, कामाक्षी अम्मा मन्दिर, कुमारकोट्टम, कच्छपेश्वर, कैलाशनाथ मन्दिर आदि यहाँका प्रसिद्ध मन्दिर हुन् । त्यस बाहेक वेदानथंगल एवं किरिकिरी पक्षी अभयारण्य पनि यहाँका प्रमुख पर्यटकीय स्थल मानिन्छन् ।

महाबलीपुरम : कोरोमण्डल समुद्र तटस्थित महाबलीपुरम सहर एउटा प्राचीन बन्दरगाह हो । यो सहर चेन्नईबाट ६० किलोमिटरको दूरीमा छ । यहाँ प्राचीन पल्लव साम्राज्यका ऐतिहासिक स्मारकहरू देख्न सकिन्छ । यहाँका बढीजसो मन्दिर काटेर बनाइएको गुफा आकारका छन् । यो सहरको सबैभन्दा ठूलो आकर्षण सुन्दर एवं सफा समुद्री तट हो जहाँ माछा मार्ने तथा डुँगा चढ्नेजस्ता गतिविधि गर्न सकिन्छ ।

पोन्डिचेरी : पुडुच्चेरी पनि भनिने पोन्डिचेरी भारतको दक्षिणपूर्वी कोरोमण्डल तटीय क्षेत्रमा पर्छ । केन्द्रशासित यो प्रदेश अगस्त्य ऋषिको वासस्थानका रूपमा प्राचीन कालदेखि नै चर्चित छ र यो कुनै जमानामा फ्रेन्च साम्राज्यको हिस्सा थियो । पोन्डिचेरीका भ्रमण गर्नैपर्ने स्थलहरूमा पोन्डिचेरी म्युजियम, समुद्री तट, मन्दिरहरू, फ्रेन्च पोर्ट लुइस, आयी मण्डपम, अरविन्दो आश्रम, ब्याक वाटर लेक्स एवं गार्डेन, लाइट हाउस, गवर्नमेन्ट पार्क, डुप्लिक्स, फ्रेन्च वार मेमोरियल आदि प्रमुख छन् ।

मदुराई : तमिलनाडुको मदुराई सहर मिनाक्षी अम्मन मन्दिरका कारण प्रसिद्ध छ । माता पार्वतीप्रति समर्पित यो मन्दिर विश्वका सात आश्चर्यमा समेत समावेश छ ।

हिमाञ्चल टुर

अवधि : ७ दिन ।

कहाँदेखि कहाँसम्म : दिल्ली, सिमला, मनाली, धर्मशाला, डलहौजी हुँदै पुन: दिल्ली ।

सिमला : हिमाञ्चल प्रदेशको राजधानी सिमलालाई हिल स्टेसनहरूको रानी पनि भनिन्छ । हिमाच्छादित पर्वत, मनोरम तलाउ, मनमोहक हरियाली तथा सुखद् हावापानीको संगमस्थल सिमला नेपाली पर्यटकहरूको पहिलो रोजाइमै पर्ने ठाउँ हो । सिमलामा घुम्नैपर्ने पर्यटकीय स्थलहरूमा समर हिल्स, जाखु हिल, दि स्क्यान्डल प्वाइन्ट, अन्नान्दाले, चडविक फल, कुफरी, चेल, दरानघाटी आरक्ष, तारादेवी मन्दिर, दि सिमला स्टेट म्युजियम आदि प्रमुख छन् ।

मनाली : मनाली हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा पर्छ । समुद्री सतहबाट १ हजार ९ सय ५० मिटरको उचाइमा अवस्थित मनाली भारतीय हिल स्टेसनमध्ये एउटा प्रमुख पर्यटकीय गन्तव्य हो । हिमाञ्चल प्रदेशको राजधानी सिमलाबाट २ सय ५० किलोमिटर टाढा पर्ने मनाली प्राकृतिक सौन्दर्यपारखीहरूका लागि अत्युत्तम गन्तव्य बनेको पाइन्छ ।

धर्मशाला : धर्मशाला हिमाञ्चल प्रदेशको एउटा प्रमुख पर्यटकीय स्थल हो । धर्मशाला दिल्लीबाट ५ सय १४, मनालीबाट २ सय ५२ तथा सिमलाबाट ३ सय २२ किलोमिटर टाढा पर्छ । यसलाई काँगडा घाँटीको प्रवेशद्वार मानिन्छ । तल्लो धर्मशाला एवं माथिल्लो धर्मशाला गरी दुई खण्डमा विभाजित यो सहरको तल्लो भाग व्यावसयिक केन्द्र हो भने माथिल्लो औपनिवेशिक जीवनशैलीका लागि परिचित छ । यो स्थान तिब्बती संस्कार एवं संस्कृति जान्न चाहनेहरूका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य बन्नसक्छ । धर्मशालाका प्रमुख पर्यटकीय स्थलमा ज्वालामुखी मन्दिर, ब्रजेश्वरी मन्दिर, चामुण्डा मन्दिर, सेन्ट जोन चर्च, युद्ध स्मारक, कोतवाली बजार, काँगडा आर्ट म्युजियम आदि प्रमुख छन् ।

नर्थइस्ट टुर

अवधि : ६ दिन ।

कहाँदेखि कहाँसम्म : सिक्किम,

गान्तोक, दार्जीलिङ ।

सिक्किम : कञ्चनजंघाको काखमा अवस्थित भारतको दोस्रो सानो राज्य सिक्किम स्वर्गभन्दा कम छैन । यहाँका हिउँले ढाकिएका पर्वत शृंखला, पारदर्शी तलाउ, घना जंगल एवं शान्त वातावरणले पर्यटकहरूलाई अविस्मरणीय अनुभूति प्रदान गर्छन् । सिक्किम प्रदेश चार जिल्लामा विभाजित छ । पूर्व सिक्किम, पश्चिम सिक्किम, उत्तर सिक्किम एवं दक्षिण सिक्किम । जहाँ क्रमश: गान्तोक, गिनिग, मगान तथा नाम्ची चर्चित छन् ।

समुद्री सतहबाट ५ हजार ८ सय फिटको उचाइमा अवस्थित गान्तोक सहर सिक्किमको राजधानी तथा सबैभन्दा लोकप्रिय हिल स्टेशन हो । सिक्किमको उत्तरी सीमा तिब्बत, पूर्वी सीमा भूटान, पश्चिमी सीमा नेपाल तथा दक्षिणी सीमा बंगालसँग जोडिएको छ । लगभग ६० हजार जनसंख्या भएको गान्तोक सहरमा आधुनिक एवं प्राकृतिक सौन्दर्यको मिश्रण देख्न सकिन्छ । गान्तोकको आर्किड सेन्चुरीमा आर्किडका ४ सय ५४ दुर्लभ प्रजाति फेला पार्न सकिन्छ । गान्तोक एवं त्यस वरिपरिका दर्शनीय स्थलहरू तासिलिङ, जवाहरलाल नेहरू बोटानिकल गार्डेन, रिज पार्क, ह्वाइट हल कम्प्लेक्स, वाटर गार्डेन, गणेश टक, हरिण पार्क, हनुमान टक टेम्पल, रुमटेक धर्मचक्र सेन्टर, नथुला पास, पेलिङ आदि हुन् ।

पश्चिमी सिक्किम मठहरूको गढ हो भने गिनिग यसको हेडक्वार्टर । उक्त क्षेत्र प्राचीन सभ्यता एवं संस्कृतिप्रति रुचि हुनेहरूका लागि उपयुक्त गन्तव्य पनि हो । गिनिगको शाब्दिक अर्थ राजाको बगैंचा हो । यस वरपरका अन्य दर्शनीय स्थलमा पेमयाङ मठ देताम, सोबरा, बेर्से आदि पर्छन् । उत्तरी सिक्किममा सिक्किमको सांस्कृतिक विविधताको झलक देख्न सकिन्छ । यहाँको कणकणमा इतिहास र धर्मको आभास पाइन्छ जसको केन्द्र हो मगान । यसबाहेक लाचुङ मठ काबी, फ्रोडोङ, यन्धाङ आदि यहाँका दर्शनीय स्थल हुन् ।

हिउँले ढाकिएका पहाड, हरिया जंगल, चियाका सुन्दर बगान एवं सदियौं पुराना आकर्षक भवनहरूले दक्षिणी सिक्किमको सुन्दरता बढाएका छन् जसको केन्द्र हो–नम्ची । यो सहर पर्यटकहरूमाझ निकै लोकप्रिय छ । यहाँबाट कञ्चनजंघा हिमशिखरको अनुपम सौन्दर्य अवलोकन गर्न सकिन्छ । यसका साथै यहाँका मठहरूले पनि सबैलाई आकर्षित गर्छन् । नम्चीका अन्य दर्शनीय स्थलमा रावंगला, मेनाम वाइल्ड सेन्चुरी, टेमी चिया बगान, बुद्ध पार्क आदि छन् ।

दार्जीलिङ : दार्जीलिङ भारतको पश्चिम बंगाल राज्यस्थित एउटा सानो सहर हो जसलाई भारतमा बेलायती शासनका बेला अनुकूल मौसमको कारणले हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्सहरू ग्रीष्म ऋतुको गर्मीबाट छुटकारा पाउन दार्जीलिङ आउँथे । दार्जीलिङ अन्तर्राष्ट्रिय स्तरमा चियाका लागि प्रसिद्ध छ भने यहाँको हिमालयन रेल्वे युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । यहाँका मुख्य आकर्षण शाक्य मठ, द्रुक–थम्बटेन–सांग–चोलिंग मठ, माकडोग मठ, जापानी मन्दिर (पिस पैगोडा), टाइगर हिल, घुम मठ (जेलुग्पा), भूटिया (बस्ती) मठ, तेन्जिग्स लेगेसी, जैविक उद्यान, खेलौना रेल अर्थात् टोए ट्रेन, चिया बगान आदि हुन् । भारतको नर्थइस्ट क्षेत्रमा जान मार्चदेखि जून तथा सेप्टेम्बरदेखि डिसेम्बरको समय उपयुक्त हुन्छ ।

अन्य चर्चित पर्यटकीय स्थल

काश्मिर : काश्मिर भारतीय उपमहाद्वीपको उत्तरमा पर्ने क्षेत्र हो । काश्मीर भन्नाले प्राचीन समयमा कश्मीर उपत्यका बुझिन्थ्यो । आजको समयमा यसको अर्थ जम्मू र कश्मीर राज्य (खण्ड : जम्मू, कश्मीर र लद्दाख), पाकिस्तानको आजाद कश्मीर र गिल्गिट (बाल्टिस्तान र चीनको अक्साई चीन बुझिन्छ । काश्मिरलाई धर्तीको स्वर्ग भनिन्छ । यसैबाट यहाँको अवर्णनीय प्राकृतिक सौन्दर्यको अनुमान लगाउन सकिन्छ । यो पर्यटकहरूका लागि अति रमाइलो स्थान भए पनि अहिले अशान्तिका कारण यो क्षेत्रको भ्रमण गर्नुअघि पर्याप्त विचार गर्नुपर्ने अवस्था छ ।

अजन्ता केभ्स : अजन्ता केभ्स महाराष्ट्र राज्यको औरंगावाद जिल्लामा अवस्थित छ । अजन्ता र एलोराको गुफाबीचको दूरी त्यति छैन र यी दुवै महत्वपूर्ण ऐतिहासिक स्थल हुन् । अजन्ताका गुफाहरू लगभग ईसापूर्व २०० सालमा बनेका हुन् । यहाँका गुफामा हिन्दू, बौद्ध तथा जैन धर्मसम्बन्धी चित्र, मूर्ति एवं अन्य कलाकृति हेर्न सकिन्छ । यो गुफा युनेस्कोको विश्व सम्पदा स्थलमा सूचीकृत छ ।

एलोरा : महाराष्ट्र राज्यको औरंगावाद जिल्लाबाट ३० किलोमिटर टाढा पर्ने एलोराको गुफा युनेस्कोको विश्व सम्पदा स्थलमा सूचीकृत छ । मान्यताअनुसार यहाँको गुफा राशत्राकुता राजवंशले बनाएका हुन् । यो गुफामा ३ भाग छन् जसमा ३४ वटा गुफा छन् । यी तीनवटै भाग हिन्दू, बौद्ध तथा जैन धर्मका लागि बनाइएका हुन् ।

भीमबेटका : युनेस्कोको विश्व सम्पदा स्थलमा सूचीकृत भीमबेटका मध्यप्रदेशको रायसेन जिल्लामा अवस्थित छ । महाभारतका पात्र भीमसँग सम्बन्धित यो गुफा भारतका प्राचीन गुफाहरूमध्ये एक हो ।

देहरादून : दून भ्यालीका रूपमा लोकप्रिय देहरादून उत्तराखण्ड राज्यको राजधानी हो । समुद्री सतहभन्दा २ हजार १ सय मिटरको उचाइमा अवस्थित देहरादून शिवालिक पर्वतमालाको फेदमा छ । यसको पूर्वमा गंगा तथा पश्चिममा यमुना नदी बग्छन् । यो नेपाली पर्यटकहरूका बीच लोकप्रिय स्थल मानिन्छ ।

एलिफेन्टा : मुम्बई नजिकै सागरको फ्रन्ट खाडीस्थित एलिफेन्टा टापुमा पर्ने यो स्थल गुफाहरूका कारण प्रसिद्ध छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो स्थानको नामकरण पोर्चुगिजहरूले

गरेको मानिन्छ ।

हरिद्वार : हरिद्वारको शाब्दिक अर्थ हुन्छ–भगवान्सम्म पुग्ने बाटो । उत्तराखण्ड राज्यको पहाडी भागमा अवस्थित हरिद्वार हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल पनि हो । यो सहर भारतका सात पवित्र सहर (सप्त पुरी) मध्ये एक हो । उत्तराखण्डका अन्य तीन प्रसिद्ध धार्मिक स्थल ह्षीकेश, केदारनाथ एवं बद्रीनाथ जाने प्रवेशद्वार पनि हरिद्वार नै हो ।

लेह : लेह सहर इन्डस नदी किनारमा कराकोरम एवं हिमालय पर्वत शृंखलाका बीचमा अवस्थित छ । यहाँको प्राकृतिक सौन्दर्यले बार्‍है महिना देशी–विदेशी पर्यटकहरूलाई आफूतर्फ आकर्षित गरिरहेको छ । यो सहरमा ठूलो संख्यामा मस्जिद एवं बौद्ध स्मारक छन् जुन सोर्‍हौं तथा सत्रौं शाताब्दीमा निर्माण गरिएका हुन् ।

मुम्बई : मुम्बईलाई सपनाको सहर मानिन्छ जुन फेसन, आकर्षक जीवनशैली, बलिउड एवं प्रसिद्ध सिने कलाकारहरूको निवासस्थलका रूपमा प्रसिद्ध छ । मुम्बई बहुरंगी मानव भीडलाई समाहित गरेर विभिन्न आस्थाकेन्द्र एवं विभिन्न व्यञ्जनहरूमार्फत हरेक वर्ग र तहतप्कालाई स्वागत गर्न सदैव आतुर पाइन्छ । भारतीय आधुनिकताको चमकदमकसँगै विश्वकै ध्यान तान्न सफल मुम्बई पर्यटकले एकपटक पुग्नैपर्ने प्रमुख भारतीय सहर हो ।

पुणे : संस्कृति, परम्परा, औद्योगिकी एवं इतिहासजस्ता भारतीय शानलाई एउटै थलोमा अवलोकन गर्ने इच्छा छ भने पुणे गए पुग्छ । महाराष्ट्र राज्यको अर्को ठूलो सहर पुणे हरेक सुखसुविधाले भरिपूर्ण छ । यो सहरलाई भारतमा सदाचारको सहर पनि भनिन्छ । भारतीयहरूले गर्व गर्ने यो सहरको भ्रमण गरेर पर्यटकहरूले एउटा नयाँ अनुभव सँगाल्न सक्छन् ।

गोवा : भारतको पश्चिमी कोंकण तटीय राज्य गोवालाई पर्यटकहरूको स्वर्ग भनिन्छ । यहाँका प्रमुख पर्यटन स्थलमा कोलवा, कालंगुट, वेंटागोर, बागा, हर्मल, अंजना र मीरामार तट, बेसिलिका अफ बोम जीसस, सेन्ट केथोड्रल चर्च, कावलेन, मारडोल, मंगुएसी, बंदोरा मन्दिर, अगुवाडा, तेरेखोल, चपोरा, दूधसागर, हरवालेम झरना एवं मायेम लेक रिसोर्ट हुन् । यहाँको प्राकृतिक सुन्दरता पनि अद्वितीय छ

ऊटी : कर्नाटक राज्यको सीमास्थित तलिनाडु राज्यको एक सुन्दर सहर ऊटीलाई उटकमण्डलम पनि भनिन्छ । यो भारतको सुन्दर हिल स्टेसनमध्ये एक हो । यहाँका प्रमुख पर्यटकीय स्थलहरू वनस्पति उद्यान, ऊटी ताल, डोडाबेट्टा टाकुरो, मदुमलाई वन्यजन्तु आरक्ष, कोटागिरि तथा कलहट्टी झरना हुन् ।

नन्दादेवी र भ्याली अफ फ्लावर : नन्दादेवी राष्ट्रिय पार्क एउटा लोकप्रिय पर्यटनस्थल हो जुन जोशीमठबाट करिब २४ किलोमिटरको दूरीमा अवस्थित छ । ६ सय ३० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो पार्क नन्दादेवी पर्वतले घेरिएको छ । नन्दादेवी पर्वत भारतको दोस्रो अग्लो पर्वत शृंखला हो । यहाँको भ्याली अफ फ्लावरको यात्रा गर्दा स्वर्ग पुगेको अनुभूति हुन्छ ।

साँची स्तूप : मध्यप्रदेशको भोपाल सहरबाट ४६ किलोमिटरको दूरीमा अवस्थित साँची स्तूप प्रसिद्ध पर्यटकीय स्थल हो । यहाँ ३ वटा स्तूप छन् । यो भारतकै सर्वाधिक संरक्षित स्तूपमध्ये एक हो । पहिलो साँची स्तूपको निर्माण तेस्रो शताब्दीमा भएको थियो जसको उचाइ लगभग साढे १६ मिटर तथा व्यास ३६ दशमलव ५ मिटर छ ।

 Image