Successfully Copied

भारत घुमघाम

भारतको उत्तर प्रदेशलाई केन्द्र बनाएर ताजमहलदेखि वाराणसीसम्मको यात्रा तय गर्न सकिन्छ ।

आगरादेखि वाराणसीसम्म

भारतको उत्तर प्रदेशलाई केन्द्र बनाएर ताजमहलदेखि वाराणसीसम्मको यात्रा तय गर्न सकिन्छ । यसबीच पनि थुप्रै पर्यटकीय गन्तव्य फेला पर्छन् ।

यात्रा आगराबाटै थालौं । आगराको प्रसंग आउनासाथ धेरैले ताजमहल सम्झन्छन् । यद्यपि आगरा आफैले पर्यटक लोभ्याउने सामथ्र्य राख्छ । यमुना नदीको तटमा अवस्थित आगरा सहर खासगरी ऐतिहासिक स्मारकहरूका लागि प्रसिद्ध छ । मुगल शासनकै क्रममा निर्माण गरिएका सुन्दर स्मारकले आगरालाई आकर्षक बनाएको छ । यहाँको हस्तशिल्प एवं सिंगमरमरमा कुँदिएका सुन्दर आकृतिले पर्यटकको मन तान्छ ।

आगरामा थुप्रै दर्शनीय स्थल छन् । जस्तो कि, ताजमहल । दिल्लीका सम्राट शाहजहाँले महारानी मुमताजका लागि निर्माण गरिदिएको ताजमहल मानवनिर्मित विश्वकै सातौं आश्चर्यमध्ये एक हो । शुक्रबारका दिन भने ताजमहल बन्द हुन्छ ।

धार्मिक पर्यटनमा रमाउनेहरू वाराणसी पुगे हुन्छ । गंगा नदीको तटमा अवस्थित वाराणसीलाई हिन्दू धर्ममा सर्वाधिक पवित्र सहर मानिन्छ । यो संसारकै प्राचीनतम् सहरमध्ये एक हो । वाराणसी हजारौं वर्षदेखि भारतको सांस्कृतिक एवं धार्मिक केन्द्रका रूपमा रहँदै आएको छ । काशी विश्वनाथ मन्दिर, दुर्गा मन्दिर, संकटमोचन मन्दिर, व्यास मन्दिर आदि थुप्रै मठ-मन्दिरले वाराणसी पुग्ने जोकसैको मन लोभ्याउँछ ।

भारतको महत्वपूर्ण नृत्य कलामध्ये एक 'कत्थक' यहीँवाट सुरु भएको थियो । बनारस आफ्नो मौलिक संस्कृति, संगीत एवं नृत्यका लागि कहलिएको छ । यहाँ हिन्दू तथा मुगल संस्कृतिको संमिश्रण पाइन्छ, जुन यहाँका स्मारक र व्यञ्जनमा पनि प्रस्ट झल्कन्छ । बनारसका कबाब, दम बिरयानी, चाट, समोसा, पकौडाजस्ता व्यञ्जनले पर्यटकको जिब्रो सहजै लोभ्याउँछन् ।

नयाँदिल्ली

उत्तर प्रदेशकै यात्रामा नयाँ दिल्लीको फन्को लगाउन सकिन्छ । नयाँदिल्ली भारतको राजधानी मात्र नभएर घुम्न लायक गन्तव्य पनि हो । त्यसो त भारतकै तेस्रो ठूलो र प्राचीन सहर हो यो । यमुना नदीको किनारमा अवस्थित यो सहरले गौरवशाली पौराणिक इतिहास बोकेको छ ।

पुरातात्विक महत्वको यो सहरमा पुराना किल्ला, लाल किल्ला, लौह स्तम्भजस्ता थुप्रै प्राचीन कला अवलोकन गर्न पाइन्छ । लगभग सबै धर्मको प्रसिद्ध धार्मिक स्थलले यसलाई थप आकर्षक बनाएको छ । इन्डिया गेट, जामा मस्जिद, मुगल उद्यान, गार्डन अफ फाइभ सेन्सिस आदिले नयाँ दिल्लीको पर्यटकीय गरिमालाई उँचो बनाएका छन् ।

चारधाम हुँदै नैनीताल

धार्मिक क्षेत्रको अवलोकनमा रुचि भएकाहरूले भारतको उत्तराखण्डलाई केन्द्र बनाएर यात्रा गर्न सक्छन् । पाठपूजादेखि ट्रेकिङसम्मको आनन्द उठाउन पनि उक्त क्षेत्र उपयुक्त रोजाइ हुन सक्छ । यो यात्रामा यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथजस्ता तीर्थस्थलको फन्को लगाउन सकिन्छ ।

यमुनोत्री समुद्री सतहबाट १० हजार फिट उचाइमा उत्तराञ्चलको गढवाल मण्डलको हिमालय ऋंखलामा अवस्थित छ । यहाँको सप्तऋषि कुण्ड सरोवरबाट यमुना नदी निस्कन्छ । यमुनोत्रीको यात्रापछि गंगोत्रीको दर्शन गर्नुपर्छ । स्वर्गबाट गंगाको अवतरण यही भूमिमा भएको धार्मिक विश्वास छ । त्यसैले यसलाई गंगोत्री भनिएको हो ।

केदारनाथ धाम भगवान् शिवजीप्रति समर्पित छ । महाभारतको युद्धपछि पाण्डवले यहाँ आएर मन्दिर बनाएको कथन छ । यो भगवान् शिवको बार ज्योतिर्लिङ्गमध्ये एक हो । बद्रीनाथ धाम उत्तराखण्डको ऋषि गंगा र अलकनन्दाको संगममा अवस्थित छ । बद्रीनाथको महिमा स्कन्द पुराण एवं महाभारतहरूमा समेत उल्लेख छ ।

उत्तराखण्डको अर्को आकर्षण हो, नैनीताल । यसको अनुपम सौन्दर्यले पर्यटकलाई लठ्ठ बनाइदिन्छ । यहाँ नौकाविहारदेखि फिसिङसम्मको आनन्द उठाउन सकिन्छ । त्यसबाहेक त्यहाँ स्नो भ्यू, रोपवे, सात तालजस्ता थुप्रै सुन्दर स्थान घुम्न सकिन्छ ।

नैनीताल पर्वतीय ट्रेकिङ, पर्वतारोहण, स्किइङ, रिभर र्‍याफ्टिङ आदिका लागि आदर्श स्थान हो । यहाँ वाइकिङ, प्याराग्लाइडिङ  तथा क्याम्पिङको पनि आनन्द लिन सकिन्छ ।

जम्मु कश्मीरको यात्रा

हिमालयको काखमा अवस्थित जम्मु कश्मीर प्राकृतिक सौन्दर्यको अनुपम नमुना हो । भारतकै प्रमुख पर्यटकीय गन्तव्य मानिने यो क्षेत्रमा हिमाली जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न पाइन्छ । सफा नीलो पानी, पहाड, ताल एवं स्वच्छ जलवायु यहाँका आकर्षण हुन् । प्राकृतिक बगैंचा, संग्रहालय तथा मठ-मन्दिरले जम्मु कश्मीरको पर्यटन विकासमा थप टेवा पुर्‍याएका छन् ।

महाराष्ट्र, गोवा र गुजरात

समुद्री सौन्दर्य हेर्न नेपालीहरू गोवा पुग्ने गरेका छन् । गोवा आफैमा आकर्षक गन्तव्य हो । यद्यपि गोवा पुगेपछि राजस्थान र महाराष्ट्रको फन्को लगाउन सकिन्छ ।

अद्वितीय प्राकृतिक सौन्दर्य, प्राचीन धरोहर एवं सांस्कृतिक विविधतालाई समेटेको सानो तर सुन्दर सहर गोवा समुद्री तटमा अवस्थित छ । सुन्दर समुद्री किनारका लागि विश्वमै प्रसिद्ध यो सहरलाई भव्य क्यागेडि्रल चर्च, प्राचीन एवं विशाल गिर्जाघर आदिले पनि चिनाएका छन् । पणजी गोवाको मुख्य केन्द्र हो । यहाँबाट कम खर्चमा गोवाका सवै दर्शनीय स्थल अवलोकन गर्न सकिन्छ । मायम झिलमा नौकाविहार गर्नुको आनन्द बेग्लै हुन्छ । गोवाको मुख्य आम्दानी पर्यटन नै हो ।

गोवामा सि-फुड, परम्परागत एवं कन्टिनेन्टल परिकारका साथमा बियर पिउनुको छुट्टै आनन्द छ । क्याडोलिमका गल्लीहरूमा पैदल यात्राको छुट्टै आनन्द उठाउन सकिन्छ । त्यसो त दुई पाङ्गे्र सवारी साधन भाडामा लिएर पनि गोवाको यात्रा गर्न सकिन्छ । समुद्री किनारमा रहेको कुनै कोठा भाडामा लिएर पनि गोवाको सौन्दर्यसँग साक्षात्कार गर्न पाइन्छ ।

गोवा पुगेपछि महाराष्ट्रसम्मको यात्रा तय गर्न सकिन्छ । विभिन्न पहाड, सुन्दर समुद्री तट, घना जंगल, ऐतिहासिक किल्ला एवं प्राचीन धार्मिक स्थलको विविधताले ओतप्रोत छ-महाराष्ट्र । गोदावरी नदी किनारस्थित नासिक महाराष्ट्रको महत्वपूर्ण पर्यटकीय एवं धार्मिक स्थल हो । यहाँ राम, सीता र लक्ष्मणले आफ्नो वनवासको धेरै समय व्यतीत गरेका  थिए । पञ्चवटी सीता गुफा तथा रामकुञ्जजस्ता रामायणकालीन स्थल छन्-त्यहाँ । नासिकको शिरडी साई बाबाधाम अर्को दर्शनीय स्थल हो । उक्त क्षेत्रको यात्राका क्रममा भगवान् रजनीशको प्रसिद्ध ओशो आश्रम समेत अवलोकन गर्न सकिन्छ ।

बहुरंगी संस्कृति एवं समृद्ध विरासतको भूमि हो-गुजरात । गुजरातको आर्थिक राजधानी अहमदावादबाट महात्मा गान्धीको अहिंसात्मक आन्दोलन प्रारम्भ भएको थियो । महात्मा गान्धीले अहमदावादको सावरमती आश्रमबाट उक्त दौड सुरु गरेका थिए । आज अहमदावाद महत्वपूर्ण औद्योगिक एवं शिक्षण केन्द्रका रूपमा विकसित भैसकेको छ । लोकप्रिय गुजराती संस्कार, मकर संक्रान्ति, नवरात्रिको रंगीन उत्सवको चमक-दमकले अहमदावादलाई पर्यटकको आकर्षणको केन्द्र बनाएको छ । अहमदावादमा सावरमती आश्रम, साइन्स सिटी तथा प्रसिद्ध विष्णुदेवी मन्दिरजस्ता दर्शनीय स्थलको भ्रमण गर्न सकिन्छ । उक्त क्षेत्रको भ्रमणका क्रममा राजस्थानसम्मको यात्रा तय गर्न सकिन्छ । ऊँटमा चढेर राजसी सवारीको मज्जा लिन राजस्थान टेक्नैपर्छ ।

दार्जीलिङ हुँदै सिक्किम

दार्जीलिङलाई केन्द्र बनाएर भ्रमण गर्ने हो भने सिक्किम, कालिम्पोङ, मेघालय तथा आसामको फन्को लगाउन सकिन्छ । नेपाली मूलका मानिसहरूको बाक्लो बसोबास रहेको उक्त क्षेत्र भाषा एवं संस्कृतिका हिसाबले पनि नेपालसँग निकट छ ।

'हिमालकी रानी' को उपमा पाएको दार्जीलिङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । सेताम्मे हिमऋंखलाको पृष्ठभूमिमा चिया बगानसँगै लमतन्न परेको पहाडी सहर दार्जीलिङले जोकसैको मन लोभ्याउन सक्छ । दार्जीलिङमा प्रशस्तै दर्शनीय स्थल छन् । खासगरी अंग्रेज शासनका क्रममा निर्माण भएका संरचनाले पर्यटकको ध्यान सजिलै खिच्छन् । त्यसबाहेक विश्व सम्पदा सूचीमा सूचीकृत सानो रेल दार्जीलिङको खास आकर्षण हो । त्यसो त दार्जीलिङ आसपासका मिरिक तथा कालिम्पोङ पनि घुम्नैपर्ने स्थान हुन् । दार्जीलिङसँगै सिक्किमको यात्रा तय गर्न सकिन्छ । त्यस्तै नागाल्यान्ड, मेघालय पनि दार्जीलिङदेखि नजिकका गन्तव्य हुन् ।

उक्त क्षेत्रको भ्रमणका क्रममा उडिसासम्मको यात्रा गर्न सकिन्छ । उडिसाका मन्दिर वास्तु एवं शिल्पको दृष्टिले महत्वपूर्ण मानिन्छन् । त्यहाँको प्रमुख आकर्षण जगन्नाथ पुरी, भुवनेश्वर, कोर्णक आदि सहर हुन् । त्यस्तै लिङ्गराज, मुक्तेश्वर, राजारानी मन्दिरलगायत बौद्ध स्मारक एवं जैन स्मारक पनि भ्रमण गर्न लायक छन् । भारतको पूर्वमा अवस्थित भुवनेश्वर उडिसाको राजधानी हो । प्राचीन कालमा यसलाई कलिङ्ग तथा उत्कल नामले चिनिन्थ्यो जुन अहिले ऐतिहासिक धरोहरका रूपमा विख्यात छ ।

केरला र कर्नाटकको यात्रा

आयुर्वेदिक उपचारका सम्बन्धमा चासो राख्नेहरूले केरलाको भ्रमण गर्नुपर्छ । केरला भारतको एकमात्र त्यस्तो राज्य हो जहाँ देश-विदेशका मानिसहरू आयुर्वेदिक उपचारका लागि पुग्ने गरेका छन् । त्यसो त केरलाका समुद्री तट एवं मनोरम प्राकृतिक दृश्यले पनि पर्यटकको ध्यान उत्तिकै खिचेका छन् । कोवलमबीच केरलाको सुन्दर समुद्री तटमध्येको एक हो । त्यहाँ अर्धचन्द्र आकारका तीनवटा सुन्दर समुद्री तट छन् । केरलास्थित नेसनल पार्कमा दुर्लभ वन्यजन्तुले आश्रय लिएका छन् ।

 केरलाबाट कर्नाटक नजिक छ । अरबियन समुद्रको किनारमा रहेको कर्नाटक साहसी पर्यटनका लागि महत्वपूर्ण मानिन्छ । यो स्थान इन्फरमेसन टेक्नोलोजीका लागि पनि प्रसिद्ध छ । कर्नाटक कफी तथा रक्तचन्दन उत्पादनका लागि विश्वविख्यात छ । लालवाग, झरना, लोटल पुल, विश्वका पुराना रुख तथा प्राचीन राजदरबार त्यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन् । कर्नाटकको राजधानी बेंगलोर हो । पराम्परागत द्रविड एवं आधुनिक वास्तुकलाको बेजोड मेलको उत्कृष्ट नमुना हो-बेंगलोर सहर, जसलाई हिजोआज बेंगलुरु भनिन्छ ।

 

 Image