Successfully Copied

चचहुईं... फन पार्क

विदेशमा बालबालिकाहरूको मनोरञ्जन एवं खेलका लागि ठाउँठाउँमा फन पार्कहरू उपलब्ध हुन्छन् तर नेपालमा अझै पनि युवालक्षित रेस्टुराँ

विदेशमा बालबालिकाहरूको मनोरञ्जन एवं खेलका लागि ठाउँठाउँमा फन पार्कहरू उपलब्ध हुन्छन् तर नेपालमा अझै पनि युवालक्षित रेस्टुराँ, घुम्ने पार्क आदि धेरै बने पनि साना नानीहरूलाई मध्यनजर गरी त्यस्ता पार्क निर्माण भएको पाइँदैन। काठमाडौंको भृकुटीमण्डप धेरै समय बालबालिकाहरूलाई मनोरञ्जन दिने एउटै  पार्कका रूपमा रह्यो। यद्यपि उक्त ठाउँ पनि युवाहरूको डेटिङ स्पटका रूपमा विकसित भैरहेको छ। केही समयअघिदेखि भक्तपुरको पलाँसेमा काठमाडौं फन पार्क सञ्चालनमा आएको छ तर त्यो एक मात्र पार्क बालबालिकाहरूका लागि पर्याप्त छैन।

काठमाडौं बाहिर त यस्ता फन पार्क छँदै छैनन् भन्दा पनि हुन्छ। यही सन्दर्भमा विदेशमा धेरै वर्ष बसेर अहिले त्रिभुवन विश्वविद्यालयमा पढाइरहेका डा. दिनेश प्रसाईंले पोखरास्थित आफ्नो निजी जग्गामा चिल्ड्रेन फन पार्क बनाउने सोच बनाए। नेपालमा बालबालिकाहरूलाई लक्षित गरेर बनाइएका मनोरञ्जनस्थल नदेखेपछि उनी जोस्सिएका हुन्। फलस्वरूप पोखराको एयरपोर्ट र इन्टरनेसनल माउन्टेन म्युजियमको बीचमा १८ रोपनी जग्गामा चचहुईं फन पार्क निर्माण भएको छ। त्यहाँ फन पार्कका साथमा रिसोर्ट पनि छ। उक्त रिसोर्टलाई बालबालिकाहरूको रुचिअनुरूप सजाइएको छ। त्यहाँ १० वर्षमुनिका बालबालिकाहरूका लागि स्प्लास पुल तथा फाउन्टेन पनि छ। २ वर्षका बालबालिकालाई समेत उपयुक्त हुने किड्स पुल छ। जोय ट्रेन छ, जुन १ सय ८० मिटर परिधिमा घुम्छ। यो रिसोर्टमा थ्रीडी मुभी थिएटर, अर्किड गेम, ब्याट्री कार, फ्लाइङ चेयर, मेरी गो राउन्ड, वी राइड, फेरिस वहिल, बन्जी ट्रेपोलियन, थ्रीडी स्पेस लुप, मसाज चेयर आदि खेलहरू उपलब्ध छन्। यहाँ बालबालिकाहरूका लागि रमाइलो खालको एउटा डिस्को थेक पनि छ। डेढ वर्षअघि खुलेको यो पार्कमा रिसोर्टको व्यवस्था भने केही महिनाअघि मात्र भएको हो। ३० रुपैयाँ तिरेर पार्कमा छिरेपछि आफ्नो बजेट तथा रुचिअनुसारका खेल खेल्न सकिन्छ भने पोखरा बाहिरबाट बालबालिकाहरूसँग आएकाहरूलाई पनि होटल, लज वा रिसोर्ट खोज्ने झन्झटबाट मुक्ति मिलेको छ।

रिसोर्टमा राति दन्त्यकथामा वर्णन हुनेजस्तो कल्पनाको वातावरण निर्माण गरिन्छ। त्यहाँबाट हिमाल पनि राम्रोसँग देख्न सकिन्छ। रिसोर्टका मेच, टेबुलहरू पनि बालबालिकाकै रुचिअनुसार निर्माण भएका छन्। डेढ वर्षमा १ लाखभन्दा बढी बालबालिकाले खेलको मज्जा लिइसकेको चचहुईं फन पार्क रिसोर्टमा बस्ने हो भने एउटा परिवार अर्थात् श्रीमान्-श्रीमती तथा २ बालबालिकाका लागि जम्मा १० हजार रुपैयाँ शुल्क लाग्छ। त्यसमा सबैलाई गरेर ४ वटा डिनर, ४ वटा ब्रेक फास्ट, एउटा पारिवारिक कोठा तथा ३ हजार ५ सय बराबरको विविध खेलको टिकट उपलब्ध हुन्छ।

 Image