चित्रकार डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनी भइरहेको छ । प्रदर्शनी पौष २६ देखि ३० गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहलमा सञ्चालन हुनेछ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चित्रकार हरी प्रसाद शर्मा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति वरिष्ठ कलाकार कान्छा कुमार कर्माचार्य तथा नेपाल ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख कलाकार गोविन्द डंगोललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले डा. श्रेष्ठका चित्रकला सिर्जनाबारे आफ्ना धारणा व्यक्त गर्दै उहाँको कला दृष्टि र रचनात्मकताका पक्षको प्रशंसा गरेका थिए ।
डा. सविना श्रेष्ठका चित्रकला सिर्जनामा प्रकृति, जीवन र जगतका विविध आयामहरूको चित्रण गरिएको छ । रंगहरूको सन्तुलित छनौट र मिश्रणमार्फत सिर्जित उनका चित्रहरूमा अमूर्त भावहरूको प्रभावकारी अभिव्यक्ति देख्न सकिन्छ ।
पेशा अनुसार चिकित्सक तथा आँखा रोग विशेषज्ञ प्राध्यापक समेत रहनुभएकी डा. श्रेष्ठको यो दोस्रो एकल चित्रकला प्रदर्शनी हो । डा. श्रेष्ठले यसअघि ‘भाइब्रेसन’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी आयोजना गरेकी थिइन् ।
प्रदर्शनीबाट संकलित रकम ‘प्रोफेशनल सपोर्ट सर्भिस नेपाल’ नामक गैरसरकारी संस्थामार्फत सञ्चालन गरिने सामाजिक कार्यहरूमा सहयोगका लागि प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।