Successfully Copied

रेडियो सगरमाथा २९ वर्षे यात्रामा

दक्षिण एसियाकै पहिलो स्वतन्त्र तथा सामुदायिक रेडियो, रेडियो सगरमाथा १०२.४ मेगाहर्ज २९ वर्षे यात्रामा प्रवेश गरेको छ



दक्षिण एसियाकै पहिलो स्वतन्त्र तथा सामुदायिक रेडियो, रेडियो सगरमाथा १०२.४ मेगाहर्ज २९ वर्षे यात्रामा प्रवेश गरेको छ । सही सूचना, अभिव्यक्ति स्वतन्त्रता, र सामाजिक उत्तरदायित्वमा केन्द्रित यस सामुदायिक रेडियो, रेडियो सगरमाथाले २९ औं वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्दै समाज रूपान्तरणमा खेलेको भूमिकाको गौरवपूर्वक स्मरण गरियो ।
सो अवसरमा शुभकामना सन्देशमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले २९ वर्षदेखि निरन्तर रूपमा सामाजिक न्याय, लैंगिक समानता, विधिको शासन र लोकतन्त्रको प्रवर्द्धनमा रेडियो सगरमाथाले खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमले नवीनतम सोच र प्रविधिबाट सुसूचित समाज निर्माणमा भूमिका खेल्नुपर्ने बताए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सन्देशमार्फत देशको सन्तुलित तथा दिगो आर्थिक विकासमा रेडियो सगरमाथाको भूमिका महत्वपूर्ण रहेको बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दक्षिण एसिया र नेपालको सामुदायिक सञ्चारमा रेडियो सगरमाथाले नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै सामुदायिक रेडियो प्रवर्द्धनमा सरकार सधैं सहयोगी रहने विश्वास दिलाए ।


चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देशमार्फत २९ वर्षे यात्रामा रेडियो सगरमाथाले पुर्‍याएको योगदानको प्रशंसा गरे ।
२९ औं वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सामुदायिक रेडियोहरूले डिजिटल प्रतिस्पर्धालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए । शैक्षिक जागरणमा रेडियोको भूमिका उल्लेखनीय रहेको भन्दै मन्त्री पन्तले रेडियो सगरमाथाले पुर्‍याएको योगदानको प्रशंसा समेत गरे । सो अवसरमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणमा रेडियो सगरमाथाको भूमिका उल्लेखनीय रहेको बताइन् । सगरमाथाको यात्रा र उद्देश्यबारे बोल्दै रेडियो सञ्चालक समितिका अध्यक्ष डा. घमराज लुईंटेलले रेडियो सगरमाथाले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्याय प्रवर्द्धनमा स्पष्ट दृष्टिकोणका साथ निरन्तर काम गर्दै आएको बताए । अध्यक्ष लुईंटेलले विशेषतः संकटका बेला रेडियोले खेलेको भूमिकालाई स्मरण गर्दै डिजिटल रूपान्तरणको आवश्यकतासमेत औल्याए । स्टेशन म्यानेजर उर्वसी बस्न्यातले आजको डिजिटल युगमा गलत सूचना, भ्रम र फेक न्यूजको प्रवाहबीच रेडियो सगरमाथाले सत्य, सन्तुलित र प्रमाणमा आधारित सामग्री प्रस्तुत गर्दै आएको बताइन् । कार्यक्रममा वक्ताहरूले रेडियो सगरमाथालाई अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्ने, यसले स्थापित गरेका मापदण्ड अनुकरणीय रहेको, र डिजिटल युगको चुनौतीसँग जुध्न नवप्रवर्तनशील बन्नुपर्नेमा जोड दिएका थिए ।

 Image