क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले अध्यक्ष रामकला खड्काको नेतृत्वमा नयाँ कार्यसमीति चयन गरेको छ । अध्यक्ष खड्का हाल अन्नपूर्ण पोस्ट दैनिकमा समाचार संयोजक छन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दीपा आलेलाई चयन गरेको छ । त्यसैगरी विशेष सदस्यमा संगीता लामा, सदस्यहरूमा अमिका राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का र लक्ष्मी बस्नेत चयन भएका छन् ।
राजधानीमा आयोजित संस्थाको १२औं साधारणसभा तथा सातौं अधिवेशनले सर्वसम्मतीबाट नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ) प्रमुख अतिथि थिइन् । उनले पत्रकारले राजनीतिक दबाब र प्रभावबाट टाढा रहेर निष्पक्ष रुपमा पत्रकारिता गर्नुपर्ने बताइन् । पत्रकारिता क्षेत्रमा मात्र नभई महिलालाई राजनीति, सामाजिकलगायतका क्षेत्रमा चुनौती भएकाले आफूले मन्त्रालयमार्फत महिलाको विकासमा काम गर्ने बताइन् ।
कार्यक्रममा न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्ष संगीता खड्काले क्रियाशील पत्रकार महिलालगायतका संस्थाले पत्रकारिता क्षेत्रमा धेरै अब्बल महिला नेतृत्व जन्माउन योगदान पुर्याएको बताइन् । नेपाल पत्रकार महासंघकी सचिव सिर्जना अर्यालले डब्लुडब्लुजेले पत्रकार महिलाको क्षमता विकास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निभाएको धारणा राखिन् ।
कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुप(म्याग)की कार्यकारी अध्यक्ष बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा, सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेबा, डब्लुडब्लुजेकी पूर्व अध्यक्ष शुभेच्छा बिन्दु तुलाधरले अधिवेशनको सफलताको शुभकामना दिए ।
सन् २००६ मा स्थापना भएको डब्लुडब्लुजेले सोही वर्ष पोखरामा पत्रकार महिलाको राष्ट्रिय भेला आयोजना गरेको थियो । त्यसैगरि दक्षिण एशियाली पत्रकार महिलाको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको संस्थाले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हकहित तथा दक्षता अभिवृद्धिमा काम गर्दै आएको छ । संस्थाले पत्रकार महिलाको अवस्था बुझ्न समाचार कक्षमा महिला नामक अध्ययन पनि गरेको थियो । संस्थाको हाल ४८ जिल्लामा शाखा रहेका छन् ।