Successfully Copied

‘नारी उत्सव २०८१’ हुँदै

मोरङ उद्योग व्यापार संघ महिला उद्यमी समीतिको संयुक्त आयोजनामा हरितालिका तीजको अवसर पारेर भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गरिदैछ ।


कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजना गर्न लागिएको ३ दिने उत्सवमा महिलाहरुले तयार पारेका घरायसी उत्पादनलाई बजारीकरण गरिनेछ । सबै प्रकारका स्थानीय औद्योगिक/व्यावसायिक उत्पादनहरु समेत प्रदर्शन गर्ने अवसर प्रदान गर्दै स्थानीय बजारको प्रवर्द्धनका लागि जोड दिने, निर्यातयोग्य वस्तुहरुको पहिचान गरी अवसर श्रृजना गर्न मद्दत पुर्‍याउने, उत्पादनकर्ता र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्ने लगायतका गतिविधिहरु गराई स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याइनेछ । साथै उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रहरुमा संलग्न महिला उद्यमीहरुको प्रवर्द्धन एवं उत्थान गरिने योजना रहेको आयोजकको भनाई छ ।
बिहान १० बजेदेखि बेलुकी ८ बजे सम्म विराटनगरको सिटी पार्टी प्यालेस एण्ड रिसोर्टमा आयोजना गरिने यस नारी उत्सवमा निःशुल्क प्रवेश व्यवस्था रहने छ । उत्पादनहरु प्रदर्शनीका लागि एसी र नन एसी गरी करिब ६० वटा स्टल रहनेछन् । यसैगरी उत्सवमा अठार वर्ष माथिका महिलाका लागि ‘तीज क्वीन २०८१’ प्रतियोगिता आयोजना हुनेछ । प्रत्येक दिन बेलुका विभिन्न स्थानीय कलाकारबाट सांगीतिक कार्यक्रम आयोजना गरिने छन् । उत्सवको समुद्घाटन समारोहमा मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसी र मिस नेपाल अर्थ सुमना केसीलाई विशेष अतिथिका रुपमा सहभागी हुनेछन् ।

 Image