Successfully Copied

नेशनल बाथ रोग सेन्टरको वार्षिकोत्सव

रातोपुलस्थित नेशनल वाथरोग सेन्टरले आफ्नो १० औं वर्ष पूरा गरेको छ । सेन्टरले दश वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा आगामी पाँच वर्षका ६ बुँदे योजना सार्वजनिक गरेको छ ।


रातोपुलस्थित नेशनल वाथरोग सेन्टरले आफ्नो १० औं वर्ष पूरा गरेको छ । सेन्टरले दश वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा आगामी पाँच वर्षका ६ बुँदे योजना सार्वजनिक गरेको छ । पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले विगतमा भएका कामहरुका विवरण प्रस्तुत गर्दै आगामी पाँच वर्षमा गरिने ६ बुँदे कामको योजना सुनाएका हुन् । बाथ रोग सेन्टरको बिस्तारको कामलाई निरन्तरता दिँदै थप ७ वटा जिल्लामा सेवा बिस्तार गर्ने पहिलो बुँदा रहेको छ । यसैगरी बाथरोग नियन्त्रणका लागि समुदायमा जनचेतना अभिवृद्धि गर्ने रहेको छ । दक्ष जनशक्ति तयार पार्न नर्सहरुलाई बाथ रोग सम्बन्धी नर्सिङ शिक्षा तालिम शुरु गर्ने तेस्रो बुँदा रहेको छ । यसैगरी दुर्गम भेगमा बाथरोग सम्बन्धी सेवा विस्तार गर्न सम्बन्धित जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम, प्रशिक्षण दिने, स्थानीयसँग सहकार्य गर्नुका साथै रोग निदानका लागि निरिक्षण गर्ने रहेको छ ।पाँचौ बुँदामा नयाँ प्रविधिलाई आत्मसात गर्दै थर्मोग्राफी सेवा शुरुवात गर्ने रहेको छ । भौतिक संरचना बिस्तारका क्रममा हस्पिटल मोडालिटीमा अगाडि बढेको र भवन निर्माण भइरहेको छ । डेढ वर्षभित्र नयाँ भवनबाट सेवा सुरु गरिने र नेपालकै पहिलो बाथ रोग अस्पताल हुने लक्ष्य रहेको छ ।
कार्यक्रममा मन्त्री बस्नेतले बाथ रोगका विषयमा जनचेतना जगाउने काममा सेन्टरले काम अगाडि बढाउनु पर्नेमा जोड दिए । रोग लाग्नै नदिने उपायका विषयमा सबैलाई सचेत रहन समेत आग्रह गरे ।
‘खानपान र व्यायाम गरेमा धेरै रोगबाट जोगिन सकिन्छ । आहार, बिहार र शारीरिक व्यायाममा जोड दिने सके धेरै फाइदा हुन्छ,’ उनले भने । त्यसकारण दैनिक कम्तीमा एक घण्टा समय आफैंलाई दिनुपर्छ । रोग लाग्नै नदिने उपायमा जोड दिनुपर्छ ।
कार्यक्रममा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले नेपालमा ३० लाख हाराहारीमा बाथ रोगका बिरामी रहेको बताउँदै केन्द्रले गत वर्ष करिब तीन प्रतिशत बाथ रोगका बिरामीलाई सेवा दिएको जानकारी दिएँ ।


‘कुल जनसंख्याको करिब १० प्रतिशतमा बाथ रोग रहेको विश्व स्वास्थ्य संगठनको अनुमान छ । त्यो आधारमा हेर्दा नेपालमा ३० लाख नेपालीमा बाथ रोग हुनसक्ने अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘तर उपचारका लागि अझै धेरै आउन सकेका छैनन् । त्यसकारण सरकारले पनि यसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।’

बाथ रोग केन्द्रले १० वर्षमा रातोपुलसहित अन्य ८ स्थानमा सेवा बिस्तार गर्दै उपचार सेवा दिइरहेको जानकारी दिए । रातोपुल, झापाको बिर्तामोडमा, चितवन, बुटवल, दाङको तुलसीपुर, पोखरा, ललितपुर र भक्तपुरबाट सेवा दिइरहेको उनले बताए ।

 Image