Successfully Copied

नीलमको 'नपल्टाएका पन्नाहरु' सार्वजनिक

टेलिभिजन रियालिटी शो पोएट आइडलको प्रथम संस्करणका विजेता नीलम गुरुङको कविता संग्रह नपल्टाएका पन्नाहरू सार्वजनिक भएको छ ।



टेलिभिजन रियालिटी शो पोएट आइडलको प्रथम संस्करणका विजेता नीलम गुरुङको कविता संग्रह नपल्टाएका पन्नाहरू सार्वजनिक भएको छ ।
गुरुङ राष्ट्रिय परिषद् र यात्रा पब्लिसिङ हाउसले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता विचार र कलाको संयोजनसहितको अभिव्यक्तिको उच्चतम शैली भएको बताए । विचार, कला र काव्यिक चेतमा नीलम सशक्त देखिएको उनको भनाइ छ ।
कविता कृतिको समीक्षात्मक टिप्पणी गर्दै कवि छम गुरुङले नीलमका कविताहरू सशक्त हुँदाहुँदै पनि नारी स्वर र पहिचानको पक्षमा भने केही कमजोर रहेको बताए ।
अतिथि वक्ता पोएट आइडलका परिकल्पनाकार अमनप्रताप अधिकारीले आफ्नो बुबा क्षेत्रप्रताप अधिकारीले साझा प्रकाशनको नेतृत्व लिइरहँदा प्रत्येक लेखक, साहित्यकार लेखेरै बाँच्ने अवस्था सिर्जना होस् भन्ने चाहेको स्मरण गर्दै आफ्ना चाहना पनि सर्जकहरूको सिर्जनाकै भरमा जीविका चलाउन सक्ने हैसियत बन्न सकोस् भन्ने रहेको बताए ।


सिक्किमकी कवि नीलमले सिर्जनाको माध्यमबाट गाँसिएको नेपाल र नेपालीसँगको सम्बन्धले आफूलाई सधै प्रेरणा प्रदान गरेको बताइन् । नपल्टाएको पन्नामा ३५ थान कविता छन् । ती कविता महिला मुद्दा र सामाजिक विषयमा आधारित छन् । सिक्किम र काठमाडौंका दिदीबहिनीका उस्तै बोलीचालीका कारण पनि महिला मनोविज्ञान आफ्ना कवितामा समेटिएको उनले बताइन् । कार्यक्रममा पोएट आइडलका सेमिफाइनलिष्ट र फाइनलिष्ट कविहरूले पनि कविता वाचन गरेका थिए ।

 Image