Successfully Copied

तीनपुस्ते कला

चित्रकार अनिता भट्टराईले इचिङ प्रविधिमार्फत महिलाको नरम स्वभावलाई चित्रमा उतारेकी छन् ।

समाजमा विद्यमान मूल्य–मान्यताले महिलाभित्रका अपार सम्भावना र उडानलाई कुण्ठित गरेको संकेत पनि उनी आफ्नो चित्रमा पस्कने गरेकी छन् । झम्सिखेलस्थित ‘अन्डर दी फुल मुन’ शीर्षकको सामूहिक कला प्रदर्शनीमा उनका दुई चित्रले यिनै भावलाई प्रतिनिधित्व गरिरहेको देख्न सकिन्छ ।


प्रदर्शनीमा राखिएका तीन पुस्ताको सामूहिक कलालाई नजिकबाट अनुभूति गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयबाट ‘फाइन आर्ट ’मा स्नातकोत्तर गरेकी उनी वर्षौंयता कला क्षेत्रमै सक्रिय छिन् । झम्सिखेलस्थित ‘वाइडहर्स ग्यालरी’मा बुद्धजयन्तीको अवसर पारेर आयोजना गरिएको प्रदर्शनीमा उनीसंगै थुप्रै कलाकारका चित्रहरू दर्शकले अवलोकन गर्न सक्छन् ।


कलाकार सुष्मा राजभण्डारीका गणेशका चित्रहरू प्रदर्शनीको अर्को आकर्षण बनेको छ । गणेशकै चित्रबाट यो क्षेत्रमा प्रवेश गरेकी उनले गणेशका थुप्रै आयामहरूलाई आफ्नो कलामार्फत प्रस्फुटन गरेकी छन् । प्रदर्शनीमा तीन पुस्ताका कलाकारका चित्रहरूलाई एउटै मञ्चमा राखेर सामूहिकता र रूपान्तरणको बेजोडको सन्देश पनि दिन खोजिएको छ ।

प्रदर्शनीमा पाका कलाकार किरण मानन्धर, विपिनकुमार घिमिरे, गोविन्दलाल डंगोल, विजय थापा, गौरवरत्न तुलाधर, सुस्मिता कुनुवारलगायतका चित्रहरू हेर्न सकिन्छ । प्रदर्शनी २६ मार्च सम्म हुनेछ ।

 Image