Successfully Copied

'डिजिटल माध्यमबाटै स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ'

किम्बु टेककी सीईओ कार्विका थापाले डिजिटल माध्यमबाटै स्थानीय उत्पादनहरुको प्रवर्द्धन र बजार विस्तार गर्न सकिने बताएकी छन् ।

किम्बु टेककी सीईओ कार्विका थापाले डिजिटल माध्यमबाटै स्थानीय उत्पादनहरुको प्रवर्द्धन र बजार विस्तार गर्न सकिने बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रमको तेस्रो सत्र 'प्रविधिमा अब्बल, जीवनमा सबल'मा बोल्दै थापाले डिजिटल माध्यमबाट स्थानीय उत्पदन प्रवर्द्धन गर्न सकिने उदाहरणका रूपमा कान्छीमैया भण्डारीलाई लिन सकिने बताइन् । नीति निर्माण गर्दा नै डिजिटल साक्षरता र प्रविधिलाई जोड दिनुपर्ने उनको भनाइ छ । 'बंगलादेशमा राष्ट्रिय स्तरबाटै डिजिटल साक्षरता बढाउने काम गरिरहेको छ, नेपालमा पनि सरकारले ग्रामीण क्षेत्रसम्म डिजिटल साक्षरता बढाउनुपर्छ,' उनले भनिन्, 'सरकार मात्रै नभएर अन्य संघसंस्था तथा कर्पोरेट हाउसहरुले पनि यसमा सघाउनुपर्छ ।' डिजिटल साक्षरतापछि डिजिटल पहुाच वृद्धि गर्नुपर्ने आवश्यकता रहेको थापाले औंल्याइन् । 'अहिले पनि धेरैले अनलाइनमाध्यमबाटै बिजनेस गरिरहनुभएको छ । डिजिटल रुपमै कारोबार गरिरहनुभएको छ,' उनले भनिन्, 'डिजिटल पहुँचका लागि हरेक क्षेत्रमा इन्टरनेट चाहिने भएकाले ग्रामीण तहसम्म विस्तार गर्नु जरुरत छ ।'

अहिले विदेशमा पढाइने प्राविधिक विषय नेपालमै बसेर पढ्न सम्भव रहेको बताउँदै उनले सरकारले स्वदेशमै प्राविधिक विषय पढ्नका लागि प्रवर्द्धन गर्नुपर्ने बताइन् ।

'कोभिडका कारण पनि प्रविधिको प्रयोग बढेको छ, जसले हाम्रो मुलुकमा एकदमै सशक्त रुपमा डिजिटल साक्षरता बढायो । अनलाइन कक्षा, अनलाइनबाटै सामान अर्डरजस्ता गतिविधि पनि फस्टाए,' उनले भनिन् ।

 Image