सरस्वती ढुंगाना
पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म काठमाडौंको पूर्वतिर रहेको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वको साँखु नगरमा एक महिने शालीनदी मेला लाग्छ । स्वस्थानीको महिमा र तीर्थका सम्बन्धमा स्कन्दपुराणमा पनि विशेष रूपमा उल्लेख गरिएको छ । यो मेलामा व्रतालुहरूले हात–गोडाका नङ काटी, शुद्ध भई एकचित्त भई मध्याह्न कालमा श्रीस्वस्थानी र महादेवको पूजा गरी साँझपख स्वस्थानीको महिमा सुन्ने र सुनाउने चलन छ । यो क्रम माघशुक्ल पूर्णिमासम्म चल्छ । यही व्रतका प्रभावले हिमालय पर्वतकी पुत्रीले महादेवलाई पतिका रूपमा प्राप्त गरेकी थिइन् भने गोमा ब्राह्मणीका छोरा नवराज लावण्य देशका राजा भएका थिए ।
स्कन्द पुराणको स्वस्थानी माहात्म्यसँग जोडिएको साँखु नगरको सभ्यता धेरै पुरानो छ । इतिहासमा उल्लेख भएअनुसार यहाँ शंखदेवको राज्य थियो । देवमाला वंशावलीमा उल्लेख भएअनुसार शंखदेव वा शंकरदेव राजाले दाहिने शंखको आकारमा यो सहरको निर्माण गरी बज्रयोगिनी माईलाई चढाएको र त्यतिबेला एकहजार घर बनाएर नगर बसाएको अभिलेखमा पाइन्छ । सम्वत् ५३३ को शिलालेख सा“खुमा फेला परेका कारण यो नगरलाई प्राचीन मानव सभ्यताको नगर हो भन्न सकिन्छ । शंखको जस्तै आकार भएका कारण यसलाई साकेतु भनियो र हाल साँखुका नामले परिचित हुन पुग्यो ।
यो नगरको स्वरूप शंखको भएकाले यसलाई साकेतु भनिएको हुनसक्छ । शंखरापुर, साँखु, शंकरापुर, सक्वः जे नामले चिनिए पनि श्रीस्वस्थानी माहात्म्यमा भने यसलाई लावण्य देशका रूपमा उल्लेख गरिएको पाइन्छ । शालीनदीको किनारामा रहेको साँखु नगरको उत्तरमा बज्रयोगिनीको मन्दिर छ । यो मन्दिरलाई हिन्दू र बौद्ध दुवैको साझा तीर्थका रूपमा लिइन्छ । साँखुको उत्तरी ढोकाबाट वज्रयोगिनीको मन्दिर पुग्न सकिन्छ । यो मन्दिर वरिपरि महादेव, हनुमान, गणेश, नारायण आदिका स–साना मूर्तिहरू छन् । बज्रयोगिनी मन्दिर वरिपरिको जंगललाई गुमविहार भनिन्छ । जसको निर्माण सत्रौं शताब्दीमा भएको पाइन्छ । मणिशैल महावदान ग्रन्थमा उल्लेख भएअनुसार कलिगत सम्वत् १८०१ मा बज्रयोगिनी देवीको जात्रा गर्न आठ दिन साँखुमा विराजमान हुने भविष्यवाणी भएकोले देवीकै आज्ञाबमोजिम जोगदेव वज्राचार्यले शङ्खरापुर निर्माण गरी उक्त समयमै महानगरका रूपमा स्थापना गरेका कारण यसलाई शंखरापुर भनिएको हो ।
साँखु नगरमा प्रारम्भमा आठवटा प्रवेशद्वार थिए । हाल चारवटा मात्र छन् । यी चारवटा ढोकाका आफ्नै विशेषता रहेको पाइन्छ । नयाँ दुलही भिœयाउने, छोरीचेली विवाह गरी बिदाइ गर्ने, बज्रयोगिनीको रथयात्रा गर्ने वा धर्मकर्म गर्ने, नगरका मृतकको दाहसंस्कार गर्न लगिने विशेषता बोकेका चार वटा ढोका छन् । जसको आफ्नै महत्व र विशेषता परापूर्वदेखि नै रहिआएको हुँदा यो नगरलाई प्राचीन परम्पराको अनुपम नगरीका रूपमा लिन सकिन्छ । त्यसैले यो नगरको सभ्यतालाई निकै पुरानो सभ्यता मान्न सकिन्छ ।
यही प्राचीन साँखु नगरको पूर्व दिशामा शालीनदी बग्छिन् । जुन मेलालाई स्वस्थानी मेला पनि भनिन्छ र उक्त मेला भर्न, स्नान एवं पूजापाठ गर्न टाढाटाढाबाट थुप्रै भक्तजन आउ“छन् । शालीनादीको पावन भूमिमा नर्वदेश्वर महादेव, गणेश, हनुमान, विष्णु, भैरव, नवराज, चन्द्रावती, डोलेहरूका मन्दिर तथा अन्य स–साना मूूर्तिहरू पनि छन् । मेलाको पहिलो दिन वा पौषशुक्ल पूर्णिमाको अघिल्लो दिन विश्वम्भर नारायणको वैदिक तवरले पूजा, अर्चना एवं हवन गरिन्छ । त्यसको भोलिपल्ट शालीनदीमा श्रीस्वस्थानीको मेला सुरु हुन्छ । जुन पौराणिक विषयलाई स्कन्द पुराणको केदारखण्डको माघ माहात्म्यका रूपमा प्रस्तुत गरिएको छ । यो व्रतको व्रतविधि अन्य व्रतको भन्दा पृथक् छ ।
स्वस्थानी माहात्म्यलाई हिन्दूहरू महत्वपूर्ण धार्मिक ग्रन्थका रूपमा लिन्छन् । यही व्रतका प्रभावले आरोग्य, सुस्वास्थ्य, उन्नति, सफलता मिल्ने विश्वास हिन्दू समाजमा अझै पनि चलिआएको पाइन्छ । स्वस्थानी साक्षात् देवीकी स्वरूप हुन् । जसको पूजा–अर्चना गर्नु देवीशक्ति, नारीशक्ति, मातृशक्तिको सम्मान गर्नु हो । हामीलाई थाहा नै छ स्वस्थानी व्रतकथामा विभिन्न उपकथा पाइन्छन् । ती सबैले हामीलाई असत्बाट सत्मार्गमा लाग्न प्रेरित गर्दछन् । मानव जीवनलाई सार्थक बनाउन हाम्रा पौराणिक ग्रन्थले अमूल्य मार्गदर्शन प्रदान गरेकाले यस्ता ग्रन्थलाई अनुपम ग्रन्थ मानिन्छ भने यससँग सम्बन्धित व्रत, पूजापाठ एवं मेलालाई जीवन्त सम्पदाका रूपमा लिन सकिन्छ ।
यसैगरी यो नगरका महिला र पुरुष एक महिनासम्म माधवनारायणको व्रत बस्ने चलन छ । यस व्रतलाई कठिन व्रत भनिए पनि यस नगरका थुप्रै महिला र पुरुषले यो व्रत बस्ने गरेको पाइन्छ । यसरी व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ । साँखुमा प्रत्येक महिना एउटा न एउटा जात्रा हुन्छ । लिच्छविकालीन मूर्ति, शिलालेख, ढुंगेधारा, विहार, मूर्ति, चित्रकला आदिले सजिएको सा“खु कला र संस्कृतिको जीवन्त नगर हो । नेपाल सरकारले साँखु नगरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्नका लागि विशेष पहल गर्नुपर्ने देखिन्छ । जसका लागि यस नगरको प्राचीन सभ्यता र महत्वलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गर्नुपर्ने देखिन्छ । साँखु नगर विश्वसम्पदा सूचीमा सूचीकृत हुन सक्ने विभिन्न आधार भएर पनि त्यस अवसरबाट यो धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक नगर उपेक्षित देखिन्छ । त्यसैले यो ठाउ“को व्यापक रूपमा प्रचार–प्रसार गर्दै एउटा मुख्य गन्तव्यका रूपमा विकसित गर्नुपर्ने आवश्यकता देखिन्छ ।