Successfully Copied

समाजसेवामा व्यक्तिको भूमिका

समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेकाहरूलाई सहयोग गर्नु हो ।


शिशिरराज पाण्डे

एउटै रहन–सहन, व्यवस्था, धर्म आदि अंगाल्ने वा एउटै ठाउँमा बस्ने मानिसहरूको समूह नै समाज हो । हरेक व्यक्तिले आ–आफ्नो घरअगाडिको सडक सफा गर्ने, आगो, डढेलो निभाउने, घाइतेको प्राथमिक उपचार गर्ने, भीडभाड हुने ठाउँमा स्वयंसेवकका रूपमा काम गर्ने, बालबालिका र बूढापाकालाई सडक पार गर्न सहयोग गर्ने काम नै समाज सेवा हो । हामी सबैले आफूले गर्न सक्ने काम स्वयं गर्न सक्नुपर्छ । भूकम्प, बाढी, पहिरो, आगलागी, हावाहुरीलगायतका प्राकृतिक प्रकोप वा आकस्मिक विपद्मा परेका मानिसलाई सहयोग गर्नुपनि समाज सेवा हो ।
त्यसैले, अरुको दुःख वा समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्नुलाई समाज सेवा भनिएको हो । समाज र व्यक्तिबीच घनिष्ट सम्बन्ध हुन्छ । यी दुई एक–अर्कामा निर्भर हुन्छन् । समाज र व्यक्तिको आवश्यकताले कानुन, सडक, अस्पतालजस्ता अति आवश्यक पूर्वाधारको व्यवस्था मिलाएको हुन्छ । यसरी मानव कल्याणको सामाजिक उद्देश्य पूरा गरेपछि नाम उच्च हुने र अरुले सामाजिक कार्यकर्ता भनेर सम्बोधन गर्ने विश्वासमा धेरै व्यक्ति सामाजिक संघसंस्था वा राजनीतिक संस्थाप्रति ऐक्यबद्धता जनाउँदै सदस्य बन्ने गरेको पाइन्छ । ती संघसंस्थाहरूमार्फत तिनीहरूले समाज सेवा गरिरहेका हुन्छन् । नागरिकहरू बलियो र जनता शिक्षित भए राष्ट्र बलियो हुन्छ । राष्ट्र बलियो भए कसैसँग झुक्नु पर्दैन ।
सामाजिक परम्परा र रीतिरिवाजमा अनावश्यक खलल नपारी शान्तपूर्वक क्रियाशील हुन पाउने परिस्थितिसिर्जना गर्नु नै सामाजिक कार्यकर्ताको जिम्मेवारी हुन्छ । संस्थागत वातावरणमा क्रमिक सामाजिक चेतनाको विकास नेपाली धर्तीको आवश्यकता र नागरिकहरूको आकांक्षा हुन्छ ।

ठूलो अपेक्षा र महत्वाकांक्षाभन्दा पनि सरल, सौम्य र सकारात्मक जीवनशैली नै नेपाली समाजको मुख्य आधार रहिआएको छ । यसलाई आत्मसात् गर्दै अघि बढ्नेहरूले नैसमाजसेवी र असल नागरिकको परिचय पाउँछन् । आफू संलग्न संस्थाको विधानअनुसार आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारमा दख्खल हुँदैन । यसले संस्थाको उद्देश्यअनुरूप अरूको योगदानको कदर गर्दै सामाजिक कार्यकर्ताका रूपमा अघि बढ्न सहयोग पुग्छ । यसो त कुनै पनि संस्थामा जो बढी क्रियाशील हुन्छन्, उनीहरूको मूल्यांकन संस्थाले मात्रै होइन समाजले पनि गरिरहेको हुन्छ ।

सामाजिक कार्यकर्ताले गर्ने प्रत्येक निर्णय पूर्णतः संस्थाको हुने भएकाले यसमा व्यक्तिगत स्वार्थ र हित गौण हुन्छन् । उनीहरूले गर्ने काम सार्वजनिक हितमा हुनैपर्छ । यस्तो अवस्थामा कुनैपनि पदमा रहेका व्यक्तिले आफ्नो निर्णय र कार्यप्रति जवाफदेही हुनु जरुरी हुन्छ । आफू क्रियाशील रहेको संस्थामा पदअनुसार राम्रो आचरण गर्नुपर्छ ।

यसका लागि हाम्रा सबै निर्णय र कार्य सम्भव भएसम्म खुला र पारदर्शी गर्न सक्नुपर्छ । संस्थाको हितका लागि गोप्य कामबाहेक आफूले गरेको कामलाई यथार्थ रूपमा सार्वजनिक गर्नुपर्छ । यसैगरी संस्थाको रक्षा गर्न जस्तोसुकै विवाद भएपनि त्यसको समाधान गर्ने दायित्व पनि उसको हुन्छ ।

समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेकाहरूलाई सहयोग गर्नु हो । यो व्यक्ति–व्यक्तिबीचआपसी सम्बन्ध कायम गरी भाइचाराको रूपमा आधारित हुन्छ । हामी सबैले आफ्नो क्षमताका आधारमा समाज सेवा गर्नुपर्छ । त्यसैले पुराणमा भनिएको छ–‘परोपकार नै सबैभन्दा ठूलो धर्म हो ।’ यसले गरिब वा असक्तहरूको आवश्यकता पूरा हुन्छ । यसबाट समाज र देशको विकास पनि हुन्छ । 

 Image