Successfully Copied

सहज पहिरन

दिनहुँ घुमफिरमा निस्कदा तपाईं कस्तो पहिरन रोज्नुहुन्छ ? पक्कै पनि सजिलो र आरमदायक । कतै फेसनेबल देखिने चक्करमा हामी असहज र भद्दा पहिरन लगाइरहेका त छैनौं ? फेसन भनेको बजारमा चलेका पहिरनलाई पछ्याउनु मात्र होइन, ती पहिरनलाई मिलाएर लगाउनु पनि हो ।

दिनहुँ घुमफिरमा निस्कदा तपाईं कस्तो पहिरन रोज्नुहुन्छ ? पक्कै पनि सजिलो र आरमदायक । कतै फेसनेबल देखिने चक्करमा हामी असहज र भद्दा पहिरन लगाइरहेका त छैनौं ? फेसन भनेको बजारमा चलेका पहिरनलाई पछ्याउनु मात्र होइन, ती पहिरनलाई मिलाएर लगाउनु पनि हो । त्यसैले त फेसन डिजाइनरहरू भन्छन्, ‘आफूलाई सहज लाग्ने पहिरन नै फेसन हो ।’

‘क्याजुअल’ पहिरन दैनिक लगाइने पहिरन हो, जुन आरामदायक हुन्छ । शरीरलाई ‘रिल्याक्स’ महसुस गराउँछ । दसैं–तिहार भन्नेबित्तिकै कपडा किनमेल गर्ने बेला पनि हो । हुन त नयाँ लुगा किन्न दसैं नै कुर्नुपर्छ भन्ने छैन । दसैंको टीकाको दिन प्रायः ट्रेडिसनल पहिरन नै लगाउने गरिन्छ । तर, टीका थाप्न कतै टाढा जानु छ भने ‘क्याजुअल’ पहिरन लगाउन सकिन्छ । दसैंमा लामो बिदा हुने भएकाले कतिपयले घुम्ने योजना बनाएका हुन्छन् । घुमफिरमा निस्कँदा कस्तो पहिरन रोज्ने ?

के छ नयाँ ट्रेन्ड ?

वर्षैपिच्छे बजारमा नयाँ–नयाँ पहिरन भित्रन्छन् । यसपटक कस्तो फेसन ट्रेन्डमा रहेको छ ? खासगरी पहिरनको फेसन वर्षैपिच्छे परिवर्तन हुँदैन । फेसन डिजाइन तेन्जिङ छेतेन भुटिया यसै भन्छन्, ‘हरेक सिजनमा उही परिहन शैली पुनरावृत्ति हुन्छ ।’हरेक वर्ष एकदमै नयाँ र पृथक् शैलीको फेसन चल्छ भन्ने होइन । गएको सिजनमा चलेको पहिरनमा थोरै मोडिफाई भने हुनसक्ने उनी बताउँछन् । 

फेसन ट्रेन्ड कस्तो चल्दैछ भन्ने कुरा मौसमले तय गर्छ । जसरी मौसम परिवर्तन हुन्छ, त्यसैगरी फेसन ट्रेन्ड पनि फेरिँदै जान्छ । जस्तो–जाडोमा गाढा रंगको न्यानो पहिरन, गर्मीमा उज्यालो रंगको हल्का र खुल्ला अनि वर्षामा रंगीन र वाटरप्रुफ । कतिपय फेसन ट्रेन्ड कहिल्यै पुरानो हुँदैन, जुन सदाबहार चल्छ र जुनसुकै समयमा पनि लगाउन सकिन्छ भने कतिपय ट्रेन्ड निश्चित समयसम्म चल्छ र हराउँछ । 

बजारमा चलेको फेसनलाई आफू सुहाउँदो पहिरन शैली अपनाउनुपर्ने फेसन डिजाइनर राजेश धाख्वाको सुझाव छ । उनी भन्छन्, ‘यसले फेसनेबल देखाउनुका साथै अरुभन्दा फरक देखाउँछ ।’ त्यसका साथै फेसन भनेको सहज लाग्ने र अवसर अनुकूल पनि हुनुपर्ने उनको भनाइ छ । दसैं–तिहारको मौसम भनेको न जाडो न गर्मी ठिक्कको हुन्छ । यतिबेला शरीरलाई न्यानो गराउने पहिरनको छनोट गर्नुपर्ने डिजाइनर धाख्वा बताउँछन् । त्यसैगरी घुमफिरमा निस्कँदा त्यो ठाउँको मौसम अनुकूल पहिरनको किनमेल गर्नुपर्छ । उनी भन्छन्, ‘स्टाइलिस देखिनकालागि पहिरनको संयोजनमा भने उचित ध्यान दिनुपर्छ ।’

अघिल्लो वर्षझैं यो वर्ष पनि फ्लोरल प्रिन्ट भएको पहिरन नै बजारमा देख्न सकिन्छ । 

फ्लोरल प्रिन्ट भएको स्कर्ट, टि–सर्ट, वानपिसले बजारको ठूलो हिस्सा ओगटेका छन् । केही वर्षदेखि चलेको जम्पसुटको क्रेज यो गर्मीमा पनि उत्तिकै रह्यो । घुमफिरका लागि जम्पसुट निकै आरामदायक पहिरन हुन सक्छ । बौद्धको भुमो कलेक्सनकी सञ्चालक प्रमी तामाङका अनुसार अहिलेका युवतीहरू स्टाइलिस देखिन रुचाउँछन् । उनी भन्छिन्, ‘उनीहरू बजारमा चलेको ट्रेन्डलाई एकदमै फलो गर्छन् ।’ वानपिस, म्याक्सी ड्रेस अहिलेका युवतीहरूको पहिलो रोजाइ बनेको छ । त्यसैले यसपटकको दसैंमा उनीहरूको रुचि र चाहना बुझेर त्यहीअनुसारको पहिरन ल्याउने सोच रहेको उनी बताउँछिन् । 

दसैं–तिहारको समयमा मौसम हल्का चिसो हुन थालिसकेको हुन्छ । ‘यसपटकको दसैंमा समर इन्डका साथै सेमी विन्टर पहिरनहरू चल्नेछन् ।’ माइ च्वाइस कलेक्सनका सञ्चालक माइप्रसाद श्रेष्ठ भन्छन्, ‘युवतीहरूले हाइवेस्ट पेन्टसँग हाइनेक, टिसर्ट, हुडी, कार्डिगन बढी रुचाउँछन् ।’ फेसनेबल देखिन रुचाउने भनेको टिनएजर्सहरू हुन् । उनीहरू बजारमा चलेको ट्रेन्डलाई पछ्याउँछन् । त्यसैले बजार उनीहरूप्रति बढी केन्द्रित हुने उनको बुझाइ छ । 

स्टाइलिस स्कर्ट

पछिल्लो समय फ्लोरल स्कर्ट निकै चल्तीमा छ । प्रमीका अनुसार फ्लोरलसँगै प्रिन्टेड स्कर्ट युवतीको रोजाइमा पर्‍यो । उनी भन्छिन्, ‘धेरैजसो टिनएर्जहरूमा यसको क्रेज बढी देख्न सकिन्छ ।’ स्कर्टले कुल एवं स्टाइलिस देखाउने भएकाले घुमफिरको अवसरमा यो लगाएर हिँडडुल गर्न सहज हुन्छ । यात्रामा निस्कँदा स्कर्ट बोक्न सकिन्छ । स्कर्टमा लङ र निलेन्थ स्कर्ट धेरै युवतीहरूको रोजाइमा पर्छ । स्कर्टमा धेरै थरिका डिजाइन बजारमा देख्न सकिन्छ । साइड कट, रफल स्कर्ट धेरै चल्छन् । 

फेसनेबल वानपिस 

बजारमा धेरै डिजाइन र प्रिन्टका अलग–अलग फेब्रिकका वानपिस देख्न सकिन्छ । जसलाई लगाएर फेसनेबल देख्न सकिन्छ । वानपिस पनि धेरै फ्लोरल प्रिन्ट भएको नै चल्तीमा रहेको प्रमी बताउँछिन् । उनी भन्छिन्, ‘यस्तो प्रिन्टमा लङ र साइड कट वानपिसको ट्रेन्ड बढी देख्न सकिन्छ । मिड लेन्थ, सर्ट वा म्याक्सी ड्रेस पनि ट्रेन्डमा छ ।’ कटन, सिफन, जर्जेट, लिनेन फेब्रिकका वानपिस बढी चल्तीमा भए पनि कटन र सिल्कको वानपिस धेरैले रुचाउने उनको भनाइ छ । यी फेब्रिकले गर्मीमा शीतलता प्रदान गर्नुका साथै लगाउन सजिलो हुन्छ । 

सदाबहार जिन्स

टिकाउ र सदाबहार जिन्स जुनसुकै उमेर समूहकालाई फिट हुन्छ । विगत डेढ दशकदेखि जिन्सले फेसन बजारमा कब्जा जमाइरहेको छ । जिन्स निकै आरामदायक र स्मार्ट आउटफिटमा पर्छ । जिन्सलाई लगाएर हिँड्न सजिलो हुनुका साथै स्टाइलिस लुक दिन्छ । जिन्ससँग टिसर्ट, क्रप टप वा कुर्तासँग मिलाएर लगाउन सकिन्छ । जिन्सको फेसन कहिल्यै पुरानो हुँदैन यसको डिजाइनमा भने परिवर्तन आइरहन्छ । अहिले ममी र बुटकट जिन्स चल्तीमा छ भने ब्वाइफ्रेन्ड, स्ट्रेट, स्किनी जिन्सको पनि क्रेज देख्न सकिन्छ । ६० र ७० दशकको जिन्स पुनः दोहोरिएर फेसनमा आएको छ । हाई वेस्ट जिन्ससँग क्रप टप सुहाउँछ । यसले जिन्सको लुक देखिनुका साथै स्मार्ट पनि देखिन्छ । त्यस्तै, जिन्ससँग सर्ट निकै खुल्छ । यसले स्टाइलिस देखाउँछ । नीलो जिन्ससँग सेतो सर्टको संयोजन मिलाएर लगाउन सके अझ राम्रो देखिन्छ । गाढा नीलो र कालो जिन्सको ट्रेन्ड कहिल्यै पुरानो हुँदैन । 

लुज पाइन्ट

हल्का र आरामदायक पहिरनका लागि लुज पाइन्ट उपयुक्त हुन सक्छ । त्यसका साथै पछिल्लो समय ट्रेन्डमा रहेको यस्तो पाइन्टले स्टाइलिस पनि देखाउँछ । राम्रो फेब्रिकको लुज पाइन्टले व्यक्तित्व नै बदलिदिन्छ । आजकल फ्लेयर्ड पाइन्ट ट्रेन्डमा रहेको छ । यो पाइन्ट लगाउन निकै सजिलो हुन्छ । यो सँग सर्ट, क्रप टप, नट वाला टप वा स्टाइलिस टि–सर्टसँग लगाउन सकिन्छ । इन्टरनेटमा ड्याड पाइन्टको नामले चिनिने यो पाइन्ट ८०–९० को दशकमा निकै चलेको थियो । बजारमा यो एंकल लेन्थ, फुल लेन्थ, स्टाइलिस कटजस्ता डिजाइनमा उपलब्ध हुन्छ । 

 Image