Successfully Copied

विपन्न परिवारको गुनासो दसैं कसरी मनाउने ?

नेपालीहरूका लागि दसैं महँगो बन्दै गएको छ । पछिल्लो समय यो पैसा हुनेहरूको चाड बनेको छ । हुन त, दसैंमा पहिलेदेखि नै किनमेलमा बढी खर्च गर्ने चलन छँदै थियो । त्यसैले त ऋण काढेरै भए पनि दसैं मनाइन्थ्यो । अचेल सबै थोकको मूल्य आकासिएपछि धेरैका लागि दसैं

नेपालीहरूका लागि दसैं महँगो बन्दै गएको छ । पछिल्लो समय यो पैसा हुनेहरूको चाड बनेको छ । हुन त, दसैंमा पहिलेदेखि नै किनमेलमा बढी खर्च गर्ने चलन छँदै थियो । त्यसैले त ऋण काढेरै भए पनि दसैं मनाइन्थ्यो । अचेल सबै थोकको मूल्य आकासिएपछि धेरैका लागि दसैं खल्लो बन्न थालेको छ । किनभने महँगीका कारण धेरै नेपाली किनमेल गर्न सक्ने अवस्थामा छैनन् । त्यसैले उनीहरू भन्न थालेका छन्, ‘पैसा भए पो दसैं मनाउने हो । नभएपछि कसरी मनाउने ?’ यसै विषयवस्तुमा केन्द्रित भई विपन्न परिवारका सदस्यहरूको भावना र प्रतिक्रिया ‘नारी’ पत्रिकाको यो अंकमा प्रस्तुत गरिएको छ । 

 

सडकमा व्यापार गर्न थालेको १८ वर्ष भयो । पाटन मन्दिरको छेउमा फूल–माला र अमला बेच्छु । पहिले आम्दानी राम्रै थियो । चाडपर्व पनि रमाइलो गरी मनाइन्थ्यो । अचेल त्यो अवस्था छैन । व्यापार घट्दै गएको छ । यस्तो अवस्थामा पनि चाडपर्व त मनाउनै पर्‍यो । पहिले गाउँ जान्थ्यौं । यसपटक गाउँ जाने योजना छैन । यो दसैंमा बूढाबूढी एवं छोराछोरी मिली खर्च पुर्‍याउने योजनामा छौं । दसैंमा सामान्य रूपमा भए पनि माछा–मासुका मीठा परिकार बनाएर खानुपर्छ । बुहारी–नातिनातिना एवं छोरीहरू आउँछन् । उनीहरूलाई दक्षिणा दिनुपर्छ । दसैंका लागि भनेर खासै लुगा किन्ने गरेकी छैन । मैले छोरीहरूले ल्याइदिएका तथा अरुले दिएका लुगा लगाउँछु । 

– जानुका गिरी

 

– मञ्जु चौधरी 

दसैंमा मासु–भात खान्छौं । कोरोनाले गर्दा व्यापार पनि त्यति छैन । हामी थारु समुदायका भएकाले दसैं खासै मनाउँदैनौं तर पनि दसैंको वातावरण छुट्टै हुन्छ । दसैं भन्दा पनि हाम्रो जितिया, छठ पर्व विशेष रूपले मनाउँछौं । घरमा खसी, माछा एवं कुखुराका मासुका परिकार पकाउँछौं । दसैंका लागि छोराछोरीलाई कपडा किनिसकेका छौं । आफ्ना लागि भने कहिले किन्छौं, कहिले किन्दैनौं । छोराछोरीहरूले रहर गर्ने भएकाले उनीहरूका लागि नयाँ लुगा भने सधै किनिदिन्छौं । श्रीमान्–श्रीमती मिलेर दसैं खर्च जुटाउँछौं । हामी दसैंमा सप्तरी जान्छौं र दसैं उतै मनाउँछौं । गाउँमा आफन्तहरूसँग भेटघाट गरी दसैं मनाउँदा निकै रमाइलो हुन्छ । हामी गाउँमा १५ दिन बसेर काठमाडौं फर्किन्छौं । हामी १ बजेदेखि ६ बजेसम्म कुरकुरे, चाउचाउ, पानी एवं रिचार्ज कार्डलगायतका सामान बेचेर गुजारा गर्छौं । 

 

– माया तामाङ

लामो समय काभ्रेपलाञ्चोकमा बस्दै आएका थियौं । हाम्रो घर–जग्गा केही छैन । जे–जस्तो भए पनि चार जना छोराछोरीसहित त्यहाँ दसैं मनाउँदै आएका थियौं । दसैंमा खसी वा राँगाको मासु खाएर गाउँमै दसैं मनाउँथ्यौं । हामीले खर्चको हिसाब पछि गर्थ्यौं । छोराछोरीहरू बिस्तारै बढ्दै गए । पछिल्लो समय सबै आ–आफ्नो काममा व्यस्त छन् । हामी श्रीमान्–श्रीमती भने सडकमै मकै पोलेर बेच्ने गर्छौं । यो व्यापार थालेको एक वर्ष भइसक्यो । हामीसँग मनग्य आम्दानी नभएकाले दसैं महान् चाड भए पनि खल्लो लाग्छ । अब त चाडपर्वहरू नआए हुन्थ्यो जस्तो लाग्न थालेको छ । यो वर्ष दसैं यतै मनाउने योजना छ । घरमा अलिअलि सामान र लुगाफाटो पनि किन्छौं । धेरै मानिस गाउँघर गएपछि सहर त शून्य हुन्छ होला । मकै कहिले एक बोरा बिक्छ, कहिले बिक्दैन । त्यसमा पनि सडकपेटीको व्यापार भएकाले कहिलेकाहीँ नगरप्रहरीका कारण भाग्नुपर्ने हुन्छ । जे भए पनि यो दसैं घरपरिवार मिलेर जे उपलब्ध छ, त्यसैमा सन्तोष मानेर मनाउँछौं । तर, दसैंमा मात्र खानुपर्छ भन्ने सोच हाम्रो छैन । 

– सुनौना देवी शाह 

हाम्रो पाँच जनाको परिवार छ । हामी श्रीमान्–श्रीमती दुवै जना फलफूल पसल चलाएर जीविकोपार्जन गरिरहेका छौं । अचेल पहिलाको जस्तो व्यापार छैन । चाडपर्वमा फलफूल बिक्नुपर्ने हो तर सोचेजस्तो आम्दानी छैन । त्यसकारण चाडपर्व त्यति रमाइलो पनि हुँदैन । पैसा भए रमाइलो हुन्थ्यो जस्तो लाग्छ । हामी दसैंलाई त्यति महत्व दिँदैनौं । तर, छोराछोरीहरूले मनाउन खोज्छन् उनीहरूलाई खुसी त बनाउनैपर्‍यो । आफूले जे–जस्तो लगाए–खाए पनि छोराछोरीलाई मीठो खान–लगाउन दिन मन लाग्छ । उनीहरूलाई खुसी बनाउन पनि दसैं मनाउनुपर्ने हुन्छ । जमरा राखेर टीका लगाउने चलन त हाम्रोमा छैन । तर पनि नयाँ लुगा लगाएर मासुका परिकार खाई दसैं मनाउँछौं । 

 

– एन्जिला शाही 

ससुरा बाजेदेखिकै पात बेच्ने व्यवसायलाई हामीले निरन्तरता दिइरहेका छौं । हामीले नवलपरासीदेखि आउने पात र दुना–टपरी सडकमा राखेर बेच्दै आएका छौं । हामी नेवारी समुदायका भएकाले दसैंको टीका लगाउने र पूजा गर्दैनौं । दसैंअगाडि सोह्र श्राद्ध आउने भएकाले पातको व्यापार राम्रो हुन्छ । दसैंमा नेवारी परिकारहरू बनाएर खान्छौं । हाम्रो दसैं जस्तै मच्छिन्द्रनाथको जात्रा हो । दसैंमा पाहुनाहरू बोलाएर मीठा परिकार बनाई खुवाउँछौं । 

 

– आशा मगर 

सडक विभागमा काम गरेको तीन वर्ष भइसक्यो । परिवार सबै चित्लाङमा छन् । हामी श्रीमान्–श्रीमती मात्र यहाँ छौं । श्रीमान् गाडी चलाउनुहुन्छ । विगतका वर्षहरूमा सधै घर जान्थ्यौं । कोसेली बोक्दै आफन्तको घरमा पुग्दा दसैं आएझैं लाग्थ्यो । यो पाली घर जाने–नजाने निश्चित छैन । घरमा ससुरा बिरामी हुनुहुन्छ । त्यसकारण यो वर्ष घरमा दसैंको रौनक छैन । दसैंमा नयाँ–नयाँ परिकार बनाएर खान रमाइलो लाग्छ । अन्य समयको तुलनामा दसैंमा धेरै खर्च हुन्छ । खाना, कपडा, घरायसी सामानहरूमा बढी खर्च हुन्छ । कोरोनापछिका दसैंहरूमा त्यति उल्लास छैन जस्तो लाग्छ । 

 Image