Successfully Copied

रुविना श्रेत्री (कप्तान, नेपाली महिला क्रिकेट टिम)

टिम लिडरको हैसियतले धेरै कुरा फेस गर्नुपर्ने हुन्छ । मेरो नेतृत्वमा जसरी भएपनि नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउनुछ ।

केमा व्यस्त हुनुहुन्छ ?

तालिम र क्याम्पमै व्यस्त छु ।

नेपाली महिला क्रिकेटको इतिहासमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय ट्वान्टी २० गेमको अनुभव सुनाइदिनुस् न ?

खेल निकै ऐतिहासिक साबित भयो । त्यसअघि नेपालमा अन्तर्राष्ट्रिय खेल खेल्न पाइँदैन कि भन्ने डर हुन्थ्यो । हामीले क्रिकेट एसोसियसनसँग कुरा गर्‍यौं । उहाँहरूले सकारात्मक रूपमा लिनुभयो र नेपालमा अन्तर्राष्ट्रिय गेमको आयोजना गरिदिनुभयो । धेरै कुरा सिक्नुपर्ने बाँकी रहेछ । उक्त गेमबाट ती कुराहरू सिकियो ।

घरेलु मैदानमै अघिल्ला तीन गेम लगातार हार्दा कस्तो अनुभूति भयो ?

पहिलो पटक तीन वटा प्रतियोगिता हार्दा साह्रै नराम्रो लाग्यो । पहिलो पटक निकै प्रेसर थियो । गेमकै दौरानमा क्रमशः सिक्दै गयौं, धेरैको राम्रो सपोर्ट पायौं । पाँच वटा गेममध्ये अन्तिमका दुई गेम लगातार जित्यौं ।

टिम व्यवस्थापन कसरी गर्नुहुन्छ ?

टिम लिडरको हैसियतले धेरै कुरा फेस गर्नुपर्ने हुन्छ । मेरो नेतृत्वमा जसरी भएपनि नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउनुछ । टिममा एक–आपसमा राम्रो सहकार्य छ । ‘म’ भन्दा पनि ‘हामी नेपाली’ भनेर अन्तर्राष्ट्रिय स्पर्धामा उत्रिन्छौं ।

टिमभित्र मतभेद भइहाल्यो भने कसरी सुल्झाउनुहुन्छ ?

नेतृत्व गर्ने मानिस आफू सानो बन्नुपर्छ । जुनियरहरूलाई गाइड गर्न अलि गाह्रो हुन्छ । सिनियरहरू सबैलाई एक–एक वटा जिम्मेवारी दिइएको छ । सबैजना समझदार हुनुहुन्छ । त्यसैले मतभेद हुँदैन ।

महिलाका लागि नेतृत्व सम्हाल्न कत्तिको चुनौतीपूर्ण छ ?

आफ्नो क्षमतामा विश्वास गर्दै अगाडि बढ्ने हो भने खासै चुनौती देख्दिन म ।

नेपाली महिला क्रिकेट खेलाडीको सम्मान र जीवनस्तर उकास्न केको आवश्यकता देख्नुहुन्छ ?

अवसर, तालिम र एक्सपोजर ।

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सरकारले के गर्नुपर्छ ?

सरकारले धेरै अन्तर्राष्ट्रिय गेममा एक्सपोजरका लागि पहल गर्नुपर्छ । क्रिकेटका लागि सरकारबाट बजेट निकासा हुनुपर्छ ।

क्रिकेटबाहेक अरू के गर्नुहुन्छ र केमा रुचि छ ?

पढाइ छाडेर क्रिकेट रोजें । मेरो तन, मन र कर्म यसैमा केन्द्रित छ ।

तपाईंको प्रेरणाको स्रोत ?

मेरी मम्मी ।

क्रिकेटमा प्रवेश गर्न चाहने नयाँ पुस्ताका लागि केही सुझाव छ कि ?

रहरले मात्र होइन विशेष उद्देश्य लिएर आउनुस् भन्न चाहन्छु ।

 

 Image