निहारिकालाई खै न्याय?

 लक्ष्मी भण्डारी

श्रावण ५, २०७९ मलाई गास, बास, कपास वा सम्पत्ति चाहिएको होइन, न्याय मात्रै चाहिएको हो । मेरो बच्चाको डीएनए परीक्षण गर्ने फैसला अदालतले गर्नुपर्‍यो । अपराधीलाई सजायँ नदिलाई मलाई शान्ति मिल्दैन । २२ महिने मेरो सन्तानलाई बाबु पनि चाहिँदैन, म नै काफी छु उसका लागि, मेरो माग यत्ति हो मैले न्याय पाउनुपर्‍यो ।’ यी भनाइ महोत्तरी जलेश्वर–८ की १९ वर्षीया  सोनालीकुमारी सिंह(निहारिका राजपूत) का हुन् । केही साताअघि उनी न्यायका लागि काठमाडौंस्थित वसन्तपुरमा लामो समय आमरण अनशन बसेकी थिइन् ।

२२ महिनाको छोरासँगै अनशन बसेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउनुपरेको थियो । निहारिकाको स्वास्थ्य अवस्था बुझ्न वसन्तपुर पुगेको गृह मन्त्रालयको टोलीले अस्पताल जान आग्रह गरे पनि उनले ‘म बरु यतै मर्छु, अस्पताल जान्न’ भन्दै अस्वीकार गरेकी थिइन् ।

जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेपछि आफू गर्भवती भई छोरा जन्मिएको उनको भनाइ छ । उनका अनुसार साथीको घरमा गएका बेला शिवराजले नसालु पदार्थ मिसाएको पानी खुवाई बलात्कार गरेका हुन् । गर्भ रहँदादेखि नै न्यायका लागि महिला आयोग र अदालत धाउँदासमेत न्याय प्राप्त गर्न नसकेर अनशन बस्नुपरेको निहारिकाले बताइन् । अनशनका क्रममा उनले बच्चाको डीएनए परीक्षण हुनुपर्ने लगायतका पाँचबुँदे मागसमेत राखेकी थिइन् ।

‘गर्भावस्थामा म आफूलाई कोठाभित्र थुनेर राख्थें, आमाको भावना बोकी बलियो भएर बसें । कानुनप्रतिको विश्वासले गर्दा छोरालाई जन्म दिएँ । घर, परिवार, समाज, साथीभाइ सबैले छिःछि र दूरदूर गर्थे । बलात्कार भएपछि माइतीले साथ छोडे । म साथीको घरमा भाडामा बस्न थालें । ट्युसन पढाएर गुजारा चलाएँ । आफूसँग भएको थोरै सुन बेचें । म र मेरो पेटको बच्चालाई मार्ने धम्की आउँदा पनि म डगमगाइन, मलाई थाहा थियो यो बच्चा जन्माइन भने मैले कहिल्यै न्याय पाउने छैन, प्रमाण नष्ट हुनेछ र यो समाजले मलाई जीवनभर दोषी ठहर गर्नेछ’ निहारिकाले भनिन्, ‘मलाई न्याय चाहियो । मैले न्याय सिवाय केही खोजेकी छैन । अपराधीले सजाय पाउनुपर्‍यो, ऊ खुलेआम घुमिरहेको छ । अब पनि मैले न्याय पाइन भने यो देशमा कहिल्यै कसैले न्याय पाउँदैनन् ।’

बच्चा गर्भमा भएकाले कहिल्यै गर्भपतनको सोच दिमागमा नल्याएको उनले बताइन् । बलात्कारको सबैभन्दा ठूलो प्रमाण बच्चा भएकाले न्याय पाउने भरोसा उनलाई छ । केही सीप नलागेपछि महिलाको केसमा चरित्र हत्या गरिन्छ भन्ने कुराको उनी भुक्तभोगी हुन् । बलात्कार भएको १४ दिनमै प्रहरीमा उजुरी दिन पुगेकी थिइन् । प्रहरीकै मेडिकल रिपोर्टले उनलाई पेटभित्र तीन महिनाको गर्भ रहेको थाहा भयो ।

‘मेरो विवाह भएको भए मलाई कसैले कुमारी आमा भन्न सक्दैनथ्यो । मेरी साथी रश्मि श्रेष्ठको मिलेमतोमा उसकै दाइ शिवराज श्रेष्ठले मलाई बलात्कार गरेको हो । अपराधीले आफ्नो बयानमा भनेको छ–मैले छोएकै छैन, चिन्दिन भनेर । अब म डीएनए टेस्ट गराएर प्रमाणित गराउँछु,’उनले भनिन्, ‘बलात्कार जस्तो अपराधिक मुद्दामा जिल्लामा आदेश नदिईकनै अपराधीको पक्षमा फैसला सुनाइयो । किनभने अपराधीको राजनीतिक पहुँच छ । अहिले पनि अपराधी खुलेआम घुमिरहेको छ । बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई यसरी खुलेआम घुम्न दिने हो ?’

अपराधीमाथि छिटो भन्दा छिटो कारबाही सुरु होस् भन्ने निहारिकाको माग छ । ‘कसैले मिलापत्र गराउने चेष्टा गर्छ भने त्यो स्वयं पनि अपराधी हो,’ उनले भनिन्, ‘एउटा बलात्कारीसँग बिहे गरेर कोही केटी बस्न सक्छ ? यो त हुनै सक्दैन । मिलापत्र गरी विवाह गर्नु भनेको पटक–पटक बलात्कार गर्ने लाइसेन्स दिनु हो । उसले सजाय पाउनुपर्‍यो, मैले न्याय पाउनुपर्‍यो । मेरो छोराको बाउको नाम पनि चाहिएन मलाई । ऊ जेल जानुपर्‍यो मेरो माग यत्ति हो ।×’

यसै विषयमा राष्ट्रिय महिला आयोगले पनि बलात्कार आरोपित शिवराजको डीएनए परीक्षण गर्ने र मुद्दा छिटो टुंग्याउन पहल गर्ने प्रतिबद्धता जनाएपछि निहारिकासँगै अनशनमा बसेकी विराटनगरकी ज्यास्मिन ओझाले अनशन तोडेकी थिइन् । उनले निहारिकालाई न्याय दिलाउन विभिन्न प्रक्रियामा सक्रिय भएको जानकारी दिइन् ।

निहारिकालाई न्याय दिलाउन पहल भइरहेको र न्यायिक प्रक्रिया पूरा हुनुअघि सुरक्षित आवासमा राखिने राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । ‘डीएनए परीक्षणका लागि लेखिएको निवेदन निहारिका आफैंले पेस गर्नुपर्ने हुन्छ । यसका लागि पनि उनी प्रक्रियामा जानुपर्ने हुन्छ,’ पराजुलीले भनिन् ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले अपराधीको पक्षमा फैसला सुनाएको निहारिकाले बताइन् । उनका अनुसार भट्टराई एमालेका मान्छे हुन् । उनले भनिन्, ‘सरकार वादीका तर्फबाट वकालत गरेका धर्मअवतार कोइरालाले विपक्षीसँग मिलेर मलाई हराए । यिनीहरूको विपक्षमा कारबाहीको माग गरेकी छु । अब छिटो यिनीहरूको नाममा उजुरी हाल्दैछु ।’

आमरण अनशनका कारण निहारिका र छोराको स्वास्थ्य गम्भीर बन्दै गएपछि नायिका करिश्मा मानन्धरले छोरासहित आफ्नो घरमा लगेकी थिइन् । यही सन्दर्भलाई लिएर सामाजिक सञ्जालभरि निहारिकालाई वासस्थान होइन न्याय चाहिएको वकालत हुन थालेपछि उनले यस विषयमा मुख खोल्दै भनिन्, ‘कुनैपनि सम्बन्ध बनाउन एडप्ट नै गर्नुपर्छ भन्ने छैन, उहाँले म र मेरो बच्चालाई एडप्ट गरेको पनि होइन । करिश्मा दिदीको माया, हेरविचार र सहयोगी भावनाले हामी यहाँ आएका हौं, अहिले हामी स्वस्थ भइसकेका छौं । मलाई छोरी जस्तो ठानेर उहाँ अहिले मेरो मानसिक स्थिति बलियो बनाउनतिर लाग्नुभएको छ । मैले बास खोजेको होइन, न्याय खोजेको हो यो प्रस्ट छ । म यहाँ सधैलाई बस्नका लागि आएकी पनि होइन । मेरो भक्तपुरमा कोठा छ । स्वास्थ्य ठीक भएपछि उतै जान्छु ।’

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>