Successfully Copied

पुलिसलाई भलिबल उपाधि

नेपाल पुलिस क्लबले ‘प्रथम बाग्मती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल’ प्रतियोगिता जितेको छ ।

नेपाल पुलिस क्लबले ‘प्रथम बाग्मती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल’ प्रतियोगिता जितेको छ । फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलको पहिलो सेटमा २५–१६ को जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको पुलिस क्लबले दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ र ट्रफी हात पार्‍यो । दोस्रो भएको एपीएफले २ लाख ५० हजार रुपैयाँ, तेस्रो भएको न्यू डायमन्ड स्पोर्ट्स क्लबले १ लाख २५ हजार तथा चौथो भएको परोपकार आदर्श माध्यमिक विद्यालयले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी कोपिला राना प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले २५ हजार रुपैंयाँ प्राप्त गरिन् । यस्तै, व्यक्तिगत विधातर्फको उत्कृष्ट ब्लकर एपीएफकी उषा बिस्ट, पुलिसकी कमला पुन सेटर, कोपिला उप्रेती सर्भर, एपीएफकी रेश्मा भण्डारी स्पाइकर, डायमन्डकी एन्जिला प्रधान लिब्रो र पुलिसका रूपेश बिष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । विधातर्फका उत्कृष्ट सबैले १० हजार रुपैंयाँ प्राप्त गरे । उदीयमान खेलाडी चुनिएकी डायमन्डकी स्पाइकर सलिना बुढा मगरले २० हजार रुपैयाँ प्राप्त गरिन् । न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माणको सहयोगार्थ प्रतियोगिता गराइएकाले विजेताहरूले प्राप्त पुरस्कार रकमको २० प्रतिशत न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई बुझाउनेछन् । 

तस्बिर : केशव थापा

 Image