Successfully Copied

सोह्र शृंगारमा मेहन्दी

साउनलाई प्रकृतिको सौन्दर्य महिना भनेर चिनिन्छ । यो महिनामा चारैतिर हरियाली छाएको हुन्छ । विभिन्न शास्त्रमा पनि साउनलाई पवित्र महिनाका रूपमा चित्रण गरेको पाइन्छ । साउनमा व्रत, पूजापाठ बढी हुनुका साथै मेहन्दी लगाउने चलन पनि छ ।

साउनलाई प्रकृतिको सौन्दर्य महिना भनेर चिनिन्छ । यो महिनामा चारैतिर हरियाली छाएको हुन्छ । विभिन्न शास्त्रमा पनि साउनलाई पवित्र महिनाका रूपमा चित्रण गरेको पाइन्छ । साउनमा व्रत, पूजापाठ बढी हुनुका साथै मेहन्दी लगाउने चलन पनि छ । महिलाहरू यो महिनामा सोह्र शृंगारसहित साजसज्जा गर्छन् । प्रायः महिलाको हातमा मेहन्दी देख्न सकिन्छ । मैतीदेवीकी कृतिका शर्मा साउन सुरु हुनेबित्तिकै हातमा मेहन्दी लगाउँछिन् । उनलाई यतिबेला हातमा मेहन्दी लगाउँदा ‘फेस्टिभ’ महसुस हुन्छ । काठमाडौं चाबहिलकी सोना केसीको मान्यता पनि कृतिकाको जस्तै छ । सोह्र शृंगारमा पर्ने मेहन्दीविना कुनैपनि रीतिरिवाज अधूरो मानिन्छ । विवाहमा मेहन्दी अनिवार्य हुन्छ ।

कुलदीपकुमार वार्ष्णेय

 

औषधीय गुण

मेहन्दीमा धेरै प्रकारको औषधीय गुण पाइन्छ । वर्षाको महिना भएकाले यो समय धेरै प्रकारका रोग फैलने सम्भावना रहन्छ । शरीरलाई शीतलता प्रदान गर्न मेहन्दीले सहयोग गर्छ । टाउको दुख्ने समस्याका साथै तनाव र थकानबाट यसले छुटकारा दिन्छ ।मेहन्दीले कतिपय छाला रोग हुनबाट पनि बचाउँछ । यसमा छालालाई ओसिलो बनाइराख्ने गुण हुन्छ । नङमा मेहन्दी लगाउनाले चाँडै नङ बढ्छ । यसमा घाउ निको बनाउने गुण पनि हुन्छ । त्यसैले काटेको वा पोलेको ठाउँमा मेहन्दीको पात पिसेर लेप बनाई लगाए घाउ चाँडै निको हुन्छ । त्यस्तै, मेहन्दीले केशलाई नरम, चम्किलो र चायाँमुक्त पनि बनाउँछ ।

थरि–थरिका डिजाइन

मेहन्दी एक आर्ट हो । राम्रो डिजाइनको मेहन्दीले हात–खुट्टाको सौन्दर्य निखार्छ । परिवर्तनशील समयसँगै मेहन्दीको डिजाइनमा पनि फेरबदल भइरन्छ ।

अरेबिक डिजाइन

पछिल्लो समय युवतीहरूमाझ अरेबिक मेहन्दीको डिजाइन प्रचतिल छ । यो डिजाइन आधुनिकसँगै ‘युनिक’ पनि देखिन्छ । यो डिजाइन ‘ज्यामेट्रिकल प्याट्रन’सँगै फूलका कलाकृतिले सजाइन्छ । औंठी वा ब्रासलेट जस्तै देखिने गरी औंला र हातमा डिजाइन बनाइन्छ । सामान्य तर स्टाइलिस लुकका लागि यो डिजाइन बनाउन सकिन्छ । अरेबिक विभिन्न डिजाइनको बनाउन सकिन्छ ।

इन्डो अरेबिक

यो डिजाइनमा बाहिरको लाइन बाक्लो र भित्रको बुट्टा पातलो हुन्छ ।

रोचिरा अरेबिक

यो डिजाइन मसिनो तरिकाले लगाइन्छ । यो डिजाइन बनाउँदा एकदमै मेहनत चाहिन्छ । यसको बाहिरी तथा भित्री दुवै लाइन मसिनो नै हुन्छ ।

आर्ची अरेबिक

यो डिजाइन फूल र पातले भरिएको हुन्छ ।

पन्भी अरेबिक

यो डिजाइनमा फूल वा पात दुवैमा ‘चेक’ डिजाइन गरिएको हुन्छ । साथै यो डिजाइन माथितिरबाट आएर एक लाइन कान्छीऔंला र अर्को लाइन चोरऔंलातिर जान्छ ।

मेहन्दी बनाउने तरिका

दुई सय ग्राम पानीमा एक चम्चा चियापत्ती, एक चौथाइ कफी, एक चौथाइ चिनी र कागती मिसाएर मज्जाले उमाल्ने । सेलाएपछि मेहन्दीको धूलोमा हाल्ने र दुई घण्टासम्म भिजाएर राख्ने । त्यसपछि चाल्नीको सहायताले छान्ने र कोनमा भर्ने । यसरी बनाएको मेहन्दी गाढा र राम्रो रंगको बस्छ र लामोसमय टिक्छ ।

मेहन्दी लगाउनुअघि हातमा मेहन्दीको तेल लगाउनुपर्छ । हातमा लगाएको तेल दुई घण्टासम्म सुक्न दिएपछि मेहन्दी लगाउनुपर्छ । मेहन्दी सुक्न थालेपछि चिनी र कागतीको मिश्रण लगाउनुपर्छ । दुई वटा कागतीमा आधा चम्चाभन्दा कम चिनी मिसाएर मिश्रण बनाउनुपर्छ । त्यसको आधा घण्टापछि तोरीको तेल लगाएर १० मिनेट राखी उप्काउनुपर्छ । त्यसपछि ९–१० वटा ल्वाङ आगोमा राखेर माथिबाट धूवाँले सेक्नुपर्छ ।

(कुराकानीमा आधारित)

 

 Image