Successfully Copied

स्टाइलिस हाई हिल 

हाई हिलले पीडासँगै खुसी पनि दिन्छ ।’ यो भनाइ चर्चित फुटवेयर डिजाइनर क्रिश्चियन लाउबाउटिनको हो । उनी एक प्रतिभाशाली डिजाइनर थिए । उनले फुटवेयरको दुनियाँमा ‘हाई हिल’ को नयाँ आविष्कार गरेका थिए । 

 हाई हिलले पीडासँगै खुसी पनि दिन्छ ।’ यो भनाइ चर्चित फुटवेयर डिजाइनर क्रिश्चियन लाउबाउटिनको हो । उनी एक प्रतिभाशाली डिजाइनर थिए । उनले फुटवेयरको दुनियाँमा ‘हाई हिल’ को नयाँ आविष्कार गरेका थिए । 

जुत्ताको मुख्य उद्देश्य भनेको खुट्टालाई सुरक्षा र आराम दिनु हो । समय बित्दै जाँदा जुत्ता यतिमै मात्र सीमित रहेन । जुत्तालाई फेसनसँग जोडिन थालियो । पछिल्लो समयको स्टाइलिस एवं फेसनेबल दुनियाँ ‘हाई हिल’ विना अधूरो छ । यसले व्यक्तित्वलाई आकर्षक बनाउन सहयोग गर्छ । उचाइ कम भएका युवतीहरूका लागि त ‘हाई हिल’ वरदान साबित भएको छ । हिलले ग्ल्यामर लुक्स दिनुका साथै खुट्टाको सौन्दर्य बढाउँछ । सही प्रकारको जुत्ताको छनोटले युवतीहरूको आत्मविश्वास पनि बढाउँछ । 

नेपाली बजारमा विभिन्न ब्रान्डका ‘हाई हिल’ पाइन्छन् । चिनियाँ, थाइल्यान्ड, कोरियाली, भारतीय आदि ब्रान्डका जुत्ता धेरै रुचाइन्छ । काठमाडौंस्थित कोटेश्वरकी शारदा केसी विदेशी ब्रान्डका हिल खरिद गर्ने बताउँछिन् । नेपाली ब्रान्डको हिल भनेजस्तो नपाउने र डिजाइन राम्रो नहुने उनको अनुभव छ । उनी भन्छिन्, ‘विदेशी हिल टिकाउ हुनुका साथै सहज पनि हुन्छ ।’ न्यूरोडमा एक दशकदेखि जुत्ता–चप्पलको व्यापार गर्दै आएका देवकुमार श्रेष्ठ पछिल्लो समय ‘हाई हिल’ को व्यापार राम्रो भएको बताउँछन् । उनी भन्छन्, ‘अहिलेको फेसनेबल पुस्ता जुत्ता पहिरनअनुसार मिलाएर लगाउँछ ।’ एकताका कालो वा सेतो रंगको हिल मात्र धेरै बिक्री हुने गरेको थियो । पछिल्लो समय विभिन्न रंगमा हिल खोज्नेहरू आउन थालेका छन् । यो पुस्ता फेसन कन्सस मात्रै नभएर ब्रान्डप्रति पनि सचेत छ । उनी भन्छन्, ‘विदेशी ब्रान्ड अहिले बढी रुचाउँछन् ।’ नेपाली बजारमा ९० प्रतिशत जुत्ता–चप्पल स्वदेशी उत्पादन भएको ‘विएफ डियर हिल’ का प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । उनी भन्छन्, ‘तर नेपाली भनेर ब्रान्डिङ गरिँदैन ।’ स्वदेशी ब्रान्डप्रति ग्राहकको विश्वास अझै नभएका कारण यस्तो भएको उनी गुनासो गर्छन् । धेरै प्रकारको डिजाइनमा अहिले नेपाली ब्रान्ड आत्मनिर्भर भइसकेको छ भने कतिपय विदेशी ब्रान्डलाई स्वदेशी ब्रान्डले विस्थापित गरिसकेको छ । 

फेसनमा ‘हाई हिल’

अभिनेतृ मिरुना मगर ‘हाई हिल’ की सौखिन हुन् । उनलाई ‘हाई हिल’ एकदमै मनपर्छ । ‘हाई हिलमा म राम्री देखिन्छु जस्तो लाग्छ, त्यसैले कतै राम्री भएर निस्कनुपरे हाई हिल नै लगाउँछु’ उनले भनिन् । ‘हाई हिल’ ले स्टाइलिस देखिने उनी बताउँछिन् । त्यस्तै, ‘मिस नेपाल’ अनुष्का श्रेष्ठ हिल भएको जुत्ता बढी किन्छिन् । उनी भन्छिन्, ‘म हिल जुत्ता बढी लगाउँछु ।’ उनीसँग कालो र क्रिम रंगको ‘हाई हिल’ बढी छ । यी दुई रंग जुनसुकै पहिरनसँग मिलाएर लगाउन सकिने उनको भनाइ छ ।

कुनै बेला सेलिब्रेटीहरूले मात्र लगाउने ‘हाई हिल’ अहिले हरेक युवतीहरूमाझ लोकप्रिय बन्दै गएको छ । स्टाइलिस देखिनका लागि आकर्षक पहिरन र मेकअपले मात्र पुग्दैन । त्यो सँगै ‘हाई हिल’ को संयोजन जरुरी हुन्छ । पछिल्लो समय रंगीन, फ्लोरल ‘हाई हिल’ ट्रेन्डमा छ । स्कर्ट, जिन्स, वान पिस आदि समर स्टाइलिस आउटफिटसँग ‘हाई हिल’ निकै सुहाउँछ । ‘हाई हिल’ ले महिलाहरूको व्यक्तित्व बढाउँछ । हिँडाइको चाल मिलाउँछ । यसको छनोट गर्दा सहजतालाई ध्यानमा राख्नुपर्छ । 

सामान्यतया हिल दुईदेखि पाँच इन्च अर्थात् ५.१ देखि १२.७ सेमीसम्मको हुन्छ । यसलाई तीन तहमा विभाजन गरिएको छ–लो हिल्स, मिड हिल्स र हाई हिल्स । 

‘हाई हिल’ र स्वास्थ्य

‘हाई हिल’ जति आकर्षक देखिन्छ यसलाई लगाएर हिँड्न त्यति नै मुस्किल हुन्छ । लामो समय हिल लगाइरहनाले खुट्टा दुख्छ । ‘हाई हिल’ लगाउनु स्वास्थ्यका लागि खतरनाक मानिन्छ । यो खुट्टाका लागि आरामदायक जुत्ता होइन । यो लगाउँदा घुँडा, ढाड, कम्मर, खुट्टामा असर गर्नुका साथै दिमागमा पनि नकारात्मक प्रभाव पार्ने बताइन्छ । ‘द स्पाइन हेल्थ इन्स्च्यिुट’ का अनुसार ‘हाई हिल’ लगाउनाले मेरुदण्ड, घुँडामा नराम्रो असर पार्छ । त्यस्तै, ‘द सोसाइटी अफ चिरोपोडिस्टस् एण्ड पोडिएट्रिस्ट्स’ ले गरेको एक अध्ययनले ‘हाई हिल’ को प्रयोगले बाथ रोगको खतरा बढ्ने देखाएको छ । अध्ययनअनुसार हिँड्दा वा उभिँदा शरीरको सन्तुलन सही हुन आवश्यक हुन्छ, जुन ‘हाई हिल’ को प्रयोगले बिग्रन्छ । घुँडामा अतिरिक्त दबाब, पैताला र खुट्टाको पञ्जामा पनि दबाब पर्न जान्छ । 

सही आकार खरिद

जुत्ताको सही छनोट गर्न सकिएन भने सहज महसुस गर्न सकिँदैन । सहजताका लागि जुत्ताको सही आकार हुन जरुरी हुन्छ । नत्र खुट्टामा घाउ हुने सम्भावना रहन्छ । मनपरेको जुत्ता खरिद गर्ने समयमा हामी सहजताका कुरामा ध्यान दिँदैनौं र पछि गएर समस्या भोग्नुपर्ने हुन्छ । खुट्टाको साइज भन्दा सानो आकारको जुत्ताले हिँडाइको चाल बदलिदिन्छ, जसकारण व्यक्तित्व नै बिग्रन सक्छ । त्यस्तै, खुट्टाको साइज भन्दा ठूलो जुत्ताले पनि असहज महसुस गराउँछ । 

धेरै अग्लो जुत्ता लगाउनुको साटो तीन इन्च वा त्यसभन्दा कम हिल भएको जुत्ता छनोट गर्न सकिन्छ । धेरै अग्लो जुत्ताले खुट्टामा दबाब दिन्छ र खुट्टा दुख्छ । जुत्ताको छनोट गर्दा एकछिन लगाएर हिँड्नुपर्छ जसले जुत्ता कत्तिको सहज छ भन्ने कुराको निर्क्योल गर्न सकिन्छ । 

स्टिलटोज हिल

यो एकदमै पालतो वा पोइन्टेड हुन्छ । यसको हिल निकै अग्लो हुन्छ । यसको उचाइ छ इन्च वा त्यसभन्दा पनि अग्लो हुन्छ । पार्टी वा विशेष कार्यक्रममा जाँदा यो हिल लगाउन सकिन्छ । यसले व्यक्तित्व थप आकर्षक देखाउँछ । यसलाई धेरै लामो समयसम्म लगाउन भने सकिँदैन । साथै यो हिल निकै सावधानीपूर्वक लगाउनुपर्छ । थोरै सन्तुलन बिग्रिएमा लड्न सकिन्छ । 

पम्प्स

यो स्टिलटोज हिलको तुलनामा उचाइ केही कम हुन्छ । साथै हिँड्न पनि केही सहज हुन्छ । पहिलो पटक यो हिल लगाउँदा कालो वा न्युड रंगको रोज्न सकिन्छ ताकि जुनसुकै पहिरनसँग पनि मिलाएर लगाउन सकियोस् । 

ब्लक हिल

ब्लक हिल थोरै चौडा आकारको हुन्छ । यसको उचाइ पनि धेरै हुँदैन । यो हिल जुनसुकै बेला लगाएर हिँड्न सकिन्छ । यसले शरीरलाई सन्तुलनमा राख्छ । यो एकदमै सजिलो हिलमा पर्छ । 

प्लेटफर्म हिल

यो हिल उचाइ र सहजता दुवैका लागि उपयुक्त हुन्छ । हिल लगाउन जरुरी हुने र हिँड्न वा दिनभरि लगाएर बस्न पर्नेहरूका लागि यो हिल लगाउन सक्छन् । यसको हिल बराबरी हुन्छ । वेस्टर्न वा परम्परागत जुनसुकै पहिरनमा यो हिल निकै सुहाउँछ । 

एस्पाड्रिल्स

स्टाइलिस र आरामदायक हिलका लागि यो उपयुक्त हुन्छ । यो फ्ल्याट र हिल दुवैमा पाइन्छ । आफ्नो रुचिअनुसार यसको छनोट गर्न सकिन्छ । 

स्ट्रेपी हिल

यो हिल सेलिब्रेटीहरूमाझ लोकप्रिय छ । त्यसकारण यसको फेसन चलिरहन्छ । यो हिल लामो पहिरनभन्दा छोटो पहिरनमा बढी सुहाउँछ । सर्ट जिन्स, सर्ट स्कर्ट, वानपिस, जम्पसुटमा लगाउन सकिन्छ । यसले खुट्टालाई आकर्षक देखाउँछ । 

किटन हिल

यसको हिल निकै सानो हुन्छ र सहज हुन्छ । अग्ला मानिसहरूले यसको प्रयोग गर्न सक्छन् । यो हिल दिनभरि लगाएर हिँड्न सकिन्छ । दिनभर लगाउने हिल चाहिएको भए किटन हिल उपयुक्त हुन्छ । यो दिनभर लगाए पनि असहज हुँदैन र खुट्टा पनि दुखाउँदैन । 

वेज हिल

क्याजुअल पहिरनमा मल्टिकलर वेज हिल आकर्षक देखिन्छ । हाई हिल लगाउन नसक्नेले यो हिल लगाउन सक्छन् । यो लगाउन एकदमै सजिलो हुन्छ । कुर्तामा यो हिल सुहाउँछ । 

एक्रोलिक हिल

यो हिल धेरैजसो बेहुलीहरूले लगाउँछन् । पार्टीमा जानेहरूले पनि यो हिल लगाउन सक्छन् । यसको हिल काँचको जस्तो देखिने भएकाले यसको लुक्स एकदमै आकर्षक देखिन्छ । 

ध्यान राखौं

- पहिलो पटक हिल लगाउँदै हुनुहुन्छ भने धेरै अग्लोको साटो ठिक्कको लगाउनुपर्छ । 

- लामो समयसम्म ‘हाई हिल’ लगाउनबाट बच्नुपर्छ । 

- हाई हिल’ लगाउनुपूर्व र लगाएपछि खुट्टाको मांसपेशीसँग जोडिएको व्यायाम गर्नुपर्छ । 

- जहिले पनि गुणस्तरीय ब्रान्डको जुत्ता खरिद गर्नुपर्छ । 

- धेरै अग्लो जुत्ता लगाउनुहुँदैन ।

- खुट्टामा टेलकम पाउडरको प्रयोग गरे ‘हाई हिल’ आरामदायक हुन्छ । 

- ‘हाई हिल’ को छनोट गर्दा सही साइजको गर्नुपर्छ । आफ्नो खुट्टाको आकारसँग मिल्ने जुत्ता खरिद गर्नुपर्छ । 

- ‘हाई हिल’ लगाउँदा डबल टेपको प्रयोग गर्न सकिन्छ । यसले छाला जाने वा घाउ हुने सम्भावना कम गराउँछ । 

- दिनहुँ ‘हाई हिल’ लगाउनुको सट्टा दिन बिराउँदै लगाउनुपर्छ ।

 Image