Successfully Copied

मातृत्व अनुभूति

यो संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो–आमा । आमा शब्दलाई कुनै परिभाषाको आवश्यकता पर्दैन । किनभने यो शब्दमा अनुभूति समाहित छ । आमा प्रेम, त्याग र सेवाकी प्रतिमूर्ति हुन्, ईश्वरकी प्रतिरूप पनि हुन् ।

यो संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो–आमा । आमा शब्दलाई कुनै परिभाषाको आवश्यकता पर्दैन । किनभने यो शब्दमा अनुभूति समाहित छ । आमा प्रेम, त्याग र सेवाकी प्रतिमूर्ति हुन्, ईश्वरकी प्रतिरूप पनि हुन् । आमाको महत्व र महिमा अपरम्पार छ । ‘आमाको मुख हेर्ने’ सन्दर्भ पारी हामीले केही आमाका अनुभवलाई यहाँ समेट्ने जमर्को गरेका छौं ।

 

ऋचा शर्मा, आमा

आभ्यान राणा, छोरा

 ‘मातृत्व प्रेम निसर्त–निःस्वार्थ हुन्छ । यसले हरेक कुरालाई दोस्रो स्थानमा राखेर सुखानुभूति दिन्छ’ अभिनेतृ ऋचा शर्माको यो भनाइले मातृत्वको गहिराइ र फराकिलो क्षितिजलाई चित्रण गर्न काफी छ । उनी सात महिने छोराकी आमा हुन् । ‘म आमालाई महसुस मात्रै गर्न सक्छु । आमा गुमाएलगत्तै आफैं आमा बनेकी मैले त्यसपछि मातृत्वको महत्व झनै बढेको अनुभूति गरेकी छु’ऋचाले भनिन्, ‘आमा भइसकेपछि सन्तानका लागि आफ्नो रोग, भोक, प्यास, निद्राको समेत पर्वाह नहुने रहेछ । मलाई संसारमा कुनै आठौं आश्चर्य हुन्छ भने मातृत्व नै हो जस्तो लाग्यो ।’ 

अहिले ऋचाको दिनचर्या, प्राथमिकता र रुचि फेरिएको छ । हरेक काम गर्दा बच्चालाई सहज हुन्छ/हुँदैन भन्नेमा उनी सजग छिन् । आमा बन्नु युद्ध जित्नुजस्तै रहेको ठम्याइ उनको छ । ऋचालाई आफ्नो सन्तान बहादुर तर दयालु र अरुको सुख–दुःख बुझ्ने भइदियोस् भन्ने लाग्छ । 

‘जीवनका ३२ वर्ष आमासँग बिताएँ, हरेक दिनलाई मदर्स डेका रूपमा सेलिब्रेट गरें । उहाँका प्रत्येक इच्छाहरूलाई आफ्नो बनाएँ । आमा परलोक भएकै वर्ष मेरो बच्चा पेटमा आयो । ऊ आउँदै छ भनेर मन बुझाएँ । जब मेरो छोरा यो धर्तीमा आयो आमा भुल्ने प्रयास गरें’ आमाको मुख हेर्ने दिन स्मरण गर्दै ऋचाले भनिन्, ‘मलाई दुःख यही कुरामा छ कि मेरो बच्चालाई लिएर आमाको मुख हेर्न जान पाइन । यो वर्षको मदर्स डे जीवनकै विशेष हुनेछ । त्यति हुँदाहुँदै पनि मेरो सन्तानले एकपटक फेरि मेरो घाउलाई कोट्याउनेछ अनि त्यो दिन अत्यन्तै भावुक बन्नेछ ।’ ऋचालाई आमा जानु र छोरा आउनुले आफ्नी आमा फर्किएर आएको महसुस गराएको छ । ‘पहिला सन्तान आउँछ, अनि मात्रै आमा’ भन्ने भनाइ छोराको आगमनपछि जीवनमा चरितार्थ भएको उनलाई लागेको छ । 

ऋचाको भाग्यले आमाजस्तै सासू मिलेकी छिन् । विवाहपछिका ‘मदर्स डे’ उनले सासूसँग मनाएकी छन् । यसले दुईबीचको माया, प्रेम, सद्भाव, अपनत्व र विश्वास झनै बढेको उनको भनाइ छ । सामाजिक सञ्जालमा आमाको मुख हेर्ने दिन छताछुल्ल हुने प्रसंग कोट्याउँदै ऋचाले भनिन्, ‘सामाजिक सञ्जालका लागि अहिले हामी जे पनि गर्न तयार हुन्छौं, जुन कुरा आफ्नाका लागि वास्तविक जीवनमा गर्दैनौं । म मेरो सन्तानलाई यस्तो शिक्षा दिन सकूँ उसले हरेक कुरा पहिलो पटक मसँग सेयर गरोस् । जुन सिकाइ म घरैबाट सुरु गर्न चाहन्छु । ‘मदर्स डे’ मा एकदिन सामाजिक सञ्जालभरि आमाको तस्बिर राखेर अनेकौं सन्देश दिएको पाइन्छ । यसलाई वास्तविक जीवनमा सधैं लागू गरौं ताकि हरेक दिन यो दिवस विशेष बनोस् । हरेक दिन हामी आमालाई खुसी राख्न र आमाप्रतिको कर्तव्य पूरा गर्न सकौं ।’

सुकुमाया तामाङ शेर्पा, आमा

    सांगे शेर्पा, छोरा

पहिलो सन्तानको आमा बन्दा अद्भूत र अकल्पनीय अनुभव भएको तामाङ चलचित्र निर्मातृ, निर्देशक तथा नायिका सुकुमाया तामाङले बताइन् । ‘त्यस्तो खुसी र सुखानुभूति मेरो जीवनकालमा कहिल्यै गरेकै थिइन, यद्यपि त्यो प्रसव पीडा र दुखाइ त थियो नै’ उनले भनिन्, ‘बच्चा देखेपछि सारा चिन्ता, ताप र सन्ताप, पीडा र दुखाइ बिर्सिएँ । प्रसव बिर्साउने खुसी प्राप्त भयो ।’ आमाले आफ्ना सन्तानका लागि कुनै सम्झौता नगर्ने सुकुमायाको भनाइ छ । सँगसँगै सन्तानप्रतिको दायित्व र कर्तव्य थपिने पनि उनले बोध गरेकी छन् । 

छोरा साङ्गेको आगमनपछि आफ्नो जीवनमा खुसी थपिएको बताउने सुकुलाई त्यसपछि आफू अत्यन्तै बलियो र शक्तिशाली बनेको महसुस भएको छ । तर, भावनात्मक रूपमा भने उनी अलि कोमल भएको यथार्थ स्वीकार गर्छिन् । ‘छोरा जन्मिएपछि मेरी आमाप्रतिको माया–प्रेम र सद्भाव झनै बढेको छ’ उनले आफ्नो अनुभव साटिन्, ‘आफू आमा भएर हेर्दा सन्तानका लागि आमाले के सम्म गर्दारहेछन् भन्ने थाहा हुँदो रहेछ ।×’ आजकल सुकुमाया बच्चालाई के खुवायो भने सप्रिन्छ, के लाउन दिए राम्रो देखिन्छ अनि के कुराले उसको शरीर र स्वास्थ्य राम्रो रहन्छ भन्ने ध्याउन्नमै हुन्छिन् । 

उनकै शब्दमा आगामी ‘मदर्स डे’ आफ्ना लागि विशेष बन्ने जस्तो लाग्छ । आफ्नो शरीरबाट छुट्टिएको अर्को मानव आफ्नै आँखाअगाडि राखेर ‘मदर्स डे’ मनाउन पाउँदा कस्तो अनुभूति हुन्छ होला भनेर उनी कल्पना गर्छिन् । ‘उसको मुखबाट ‘ह्याप्पी मदर्स डे’ भनेको सुन्ने दिनका लागि आतुर छु । उसमा आमाको महत्व बुझ्न सक्ने क्षमता वृद्धि होस् । हरेक प्राणीप्रति दयालु र एक असल मानव बनोस् । उसलाई बनाउनका लागि म जस्तोसुकै दुःख गर्न पनि तयार छु’ सुकुमायाले भनिन् । 

साङ्गेलाई देख्दा सारा दुःख बिर्सिन्छु भन्ने सुकु सन्तानबाट आमाहरू उनीहरूको खुसी चाहन्छन् भन्ने सन्देश दिन चाहेको बताइन् । ‘एकदिन करले होइन हरेक दिन रहर र खुसीका साथ मदर्स डे मनाइनुपर्छ’ उनले भनिन्, ‘सेलिब्रेसन भनेकै खुसी हो । हरेक दिन आमाप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गरौं । आमा बाँचुन्जेल आफू सक्दो माया, स्नेह, प्रेम र सद्भाव प्रदान गरौं । आमाको महत्व बुझेर यसको सम्मान गरौं । हामी यो संसारमा रहुन्जेलका हरेक दिन मदर्स डे बनून् ।’

 

शीतल मोक्तान, आमा

श्रमशील विक्रम मोक्तान के.सी., छोरा

गायिका शीतल मोक्तान भन्छिन्, ‘मातृत्व भनेको सिकाइ र अद्भूत यात्राको सुरुवात हो । एउटा मानवलाई यो धर्तीमा ल्याएर असल व्यक्ति बनाउने जिम्मेवारीको थालनीजस्तो लाग्यो मलाई ।’ शीतलको अहिलेसम्मको बुझाइमा निसर्त, निश्चल र निर्मल प्रेम मातृत्व हो । सन्तानका अगाडि हरेक कुरा फिक्का लाग्नु मातृत्वको प्रभाव हो । नौं महिनासम्मको कठिन यात्रा र त्यो पीडा सन्तानको मुख हेरेपछि भुलिँदो रहेछ । 

सन्तान आगमनको पहिलो क्षण स्मरण गर्दै शीतलले भनिन्, ‘हाम्रो म्यारिज एनिभर्सरीकै दिन छोरा जन्मिएको हो । बच्चा रोयो, त्यतिबेला मेरै बच्चा हो कि क्या हो भन्ने लाग्यो । अरुको बच्चा पो हो कि जस्तो पनि भ्रम भयो । उसको रुवाइको आवाजले नै मैले ठम्म्याइहालें मेरै बच्चा हो भनेर फेरि तुरुन्तै जब उसलाई देखें त्यो खुसी म शब्दमा व्यक्त गर्न सक्दिन ।’ 

आफ्नो सन्तान असल र राम्रो मान्छे बनोस् भन्ने शीतललाई लागेको छ । यो प्रतिस्पर्धात्मक संसारमा आफूले चाहेको काम गरेर सम्मान र खुसीका साथ ऊ आफ्नो जीवन बिताउन सकोस् भन्ने उनको चाहना छ । 

सन्तान के हो त ? भन्ने सवालमा शीतलले भनिन्, ‘मेरो संसार, मेरो माया, मेरो वंश सबैकुरा उही नै हो । उसलाई माया गरेर संस्कारी र इमान्दार बनाउँदै हुर्काउने विचार छ । हामीले सिकेका राम्रा संस्कारहरू उसलाई पनि सिकाउँदै जानेछौं ।’ 

यसपटकको ‘मदर्स डे’ एकदमै विशेष हुन्छ भन्ने उनलाई लागेको छ । आफ्नी आमा र छोरासँगै हुँदा कति खुसी लाग्छ होला–उनी कल्पना गरिरहेकी छन् । 

उनले भनिन्, ‘सन्तानका हरेक कुरा माया लाग्दा हुने रहेछन् । आमाले बच्चा खोज्छ, बच्चाले जहिले पनि आमा खोज्छ त्यो अत्यन्तै विशेष हुँदोरहेछ ।’ 

चन्द्रिमा कार्की, आमा

रिभान बस्नेत, छोरा

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. चन्द्रिमा कार्की गर्भावस्थामा समेत काममै केन्द्रित थिइन् । हरेक समय बिरामीको परीक्षण गर्दा आफ्नै स्वास्थ्य चुनौती मोलेर नौ महिना पार गरेको उनी बताउँछिन् । ‘आमा बनेपछि बच्चा मूल प्राथमिकतामा परेको छ । काम र समय व्यवस्थापनको तालिका बदलिएको छ । हरेक क्षण बच्चाको हुर्काइ–बढाइ र परिवर्तनसँगै यसैमा रमाइरहेकी छु’ चन्द्रिमाले भनिन्, ‘आमा हुनु भनेको ठूलो कुरा रहेछ । गाह्रो पनि हो तर जीवनका लागि अत्यावश्यक पनि । कठिन यात्रापछि प्राप्त हुने प्रेम रहेछ वात्सल्य ।’ 

बच्चा जन्मिनेबित्तिकै माया लाग्ने भन्दा पनि क्रमिक रूपमा माया बढ्दै जाँदोरहेछ भन्ने अनुभव संगालिरहेकी चन्द्रिमा हाल आफू सन्तान सुखानुभूतिमा डुबिरहेको बताउँछिन् । 

‘आमा भनेको के हो भनेर सोध्यो भने उत्तर सहज होला तर सन्तान के हो भन्ने प्रश्नको उत्तर उत्ति नै गाह्रो छ’ उनले अनुभव साटिन्, ‘सन्तानले परिवारलाई पूर्ण बनाइदिँदो रहेछ । यो धर्तीमा आफू मरेपछि पनि आफ्नो अस्तित्व बाँकी छोड्नका लागि सन्तान चाहिने रहेछ ।’ 

सन्तानसँग आमाबुवाको कुनै अपेक्षा नहुने र स्वार्थरहित प्रेमले हरक्षण उनीहरूलाई पूर्ण महसुस गराउने चन्द्रिमाको तर्क छ । वात्सल्यमा जति मिठास छ अभिभावकत्व बहन गर्ने कुरामा उत्ति नै ठूलो जिम्मेवारी भएको बताउने उनी अभिभावकको कर्तव्य भनेको सही/गलत के हो, सिकाइदिने र उसको विकासमा आफूले जानेका कुरा गर्ने र व्यावहारिक रूपमा लागू गरिदिनु हो । 

‘आमाको महिमा र महत्व वर्णन गरिसाध्य छैन । आमा सृष्टिकर्ता मात्र नभएर ममताकी खानी हुन् । जन्मिएदेखि अहिलेसम्मका ‘मदर्स डे’ मेरी आमासँग मनाएँ । अब आमा र छोरा दुवैसँग मनाउने छु । जुन मेरा लागि अत्यन्तै खुसीको कुरा हो ।’ आमाको मुख हेर्ने दिनको महत्व दर्शाउँदै चन्द्रिमाले भनिन्, ‘मेरो छोराले आमाको मुख हेर्ने दिनको शुभकामनामा आफ्नै बोलीमार्फत दिएको सुन्ने मन छ ।’ 

संसारका हरेक आमा महान् भएको बताउँदै आमाको सम्मान गर्नु प्रत्येक सन्तानको कर्तव्य रहेको र वर्षका हरेक दिन यो सम्मानलाई कायमै राख्न पनि उनले सुझाइन् । 

 

दीपा पन्त, आमा

सुप्रसन्ना खतिवडा, छोरी

शिक्षिका तथा एरोबिक्स इन्स्ट्रक्टर दीपा पन्तलाई मातृत्वको परिभाषा शब्दमा वर्णन गर्न असम्भव छ भन्ने लाग्छ । उनी आफू आमा बनेपछि मातृत्वबिना संसार नचल्ने अनुभव गरिरहेको बताउँछिन् । पहिले आफूमा आमा भनेको खाना बनाएर दिने, कहिलेकाहीँ कुनै आवश्यकता बुझिदिने जस्ता साधारण तरिकाको बुझाइ रहेको र अहिले आएर यसको महत्व र गहन अर्थ अनुभूति गरिरहेको पनि उनले प्रस्ट पारिन् । 

दीपाले भनिन्, ‘शरीर काटेर, मुटु चुँडालेर आफ्नै शरीरबाट निकालेको सन्तानका अगाडि सबैकुरा फिक्का लाग्दो रहेछ । केही कुरासँग पनि उसको तुलना हुनै नसक्ने रहेछ । त्यति मात्र नभएर आफूलाई जत्ति थकाइ लाग्दा पनि, बिरामी नै पर्दा पनि आफ्नो कुनै पर्वाह नराखी उसको स्वास्थ्य र खुसीको मात्रै ध्याउन्न हुँदो रहेछ ।’ 

आमा भइसकेपछि भावनात्मक भइने कुरा उनी स्वीकार गर्छिन् । अरुको बच्चाले दुःख पाएको देख्दा आँखा रसाउने र मुटु चिरिने उनलाई त्यसअघि कमै हुन्थ्यो । तर, जब उनी आमा बनिन् तब उनमा मातृत्व प्रेम र वात्सल्य झाँगिदै जान थालेको उनको अनुभवले बताउँछ । 

‘मेरी आमा र मेरो सन्तानबीच तुलना नै हुन सक्दैन । आमा नभएकी भए म हुँदैनथे, म नभएको भए मेरो सन्तान हुँदैनथ्यो । आमा भनेको महासागर र ब्रह्माण्ड रहेछ भन्ने अनुभूित मेरी छोरीले गराइन्, जुन अनमोल छ’ सन्तान र मातृत्वको नाता कोट्याउँदै दीपाले भनिन्, ‘मेरा लागि सन्तान के भन्ने प्रश्नको उत्तर म दिनै सक्दिन, हर क्षण मेरो आँखाअगाडि बसिरहोस्, मुटु भित्र कतै लुकाएर राखिरहूँ भन्ने हुन्छ । म कतै गएर आउँदा ममाथि पर्ने उसको त्यो पहिलो नजर विशेष छ जसलाई म आत्मैदेखि महसुस गर्न मात्रै सक्छु तर भन्न सक्दिन ।’ 

कतिपयमा मान्छे भएर पनि मान्छेमा हुनुपर्ने गुणको कमी हुन सक्छ । तर दीपालाई आफ्नी छोरीको व्यवहारले कसैलाई नबिझाओस् भन्ने लाग्छ । आफ्नो सन्तानलाई त्यस्तो बनाएर हुर्काउने इच्छा छ उनलाई । गायिका समेत रहेकी दीपाले आमाका बारेमा गीत नै बनाएकी छन् । उनले भनिन्, ‘आमा भनेका निःस्वार्थ माया गर्ने मान्छे हुन् । हरेक दिन मेरा लागि राम्रो मात्रै प्रार्थना गर्ने मान्छे हुनुहुँदोरहेछ–मेरी आमा । मेरी छोरी जन्मिएपछिको पहिलो ‘मदर्स डे’ मा आमाको पूजा नै गरें किनभने मलाई आमाको महत्व अझ बढेको अनुभव भयो ।’ 

दीपालाई स–साना कुराले पनि ठूलो खुसी प्रदान गर्छ । उनलाई आफ्नो सन्तानसँग कुनै ठूलो आशा र अपेक्षा छैन । उनले भनिन्, ‘उसको उमेर र गच्छेअनुसारको कार्ड बनाएर केही लेखेर दिओस् अथवा सानै भए पनि कुनै उपहार प्रदान गरोस्, त्यो हेर्ने र सुन्ने मन छ ।’

 Image