आदत

प्रभा बराल

फाल्गुन ९, २०७८ ‘पिसाब लागेर... ..। म सुरुवालको इजार खोल्दै आमातिर फर्किएँ ।

‘पिसाब फेरेर सुत है ? अँध्यारै छ । उज्यालो भएको छैन । केटाकेटी मान्छे चाँडो किन उठ्नु ।’

मैले आँगनकै डिलबाट खलल्ल पिसाब गरें । सुनसान भएकाले पिसाब फेर्दा पनि संगीत बजेजस्तै लाग्यो । गोठसँगै जोडिएको पक्की शौचालय थियो तर शौचालयमा बत्ती जोडिएको थिएन । छामछुम गर्दै राति त्यहाँ खासै गइन्नथ्यो । बिहान उज्यालो भएपछि राति पिसाब गरेका ठाउँमा पानी खोत्ताइन्थ्यो ।

पिसाब गरेर आमातिर फर्किएर भनें, ‘आमालाई पनि जाडो हुन्छ नि, कति चाँडो उठ्नुहुन्छ नि तपाईं ?’

‘चिसो भनेर भो र यत्रो घरधन्दा कसले गर्छ नि ?’ आमा भकारो सोर्दै बोल्नुभयो । मेरो अनुहारसम्म हेर्न भ्याइनभ्याइ थियो उहाँलाई । गोठसँगै जोडिएको एउटा कुनोमा अगेनो थियो, कुँडो पकाउने, दूध तताउने, मकै/भटमास भुट्ने र जाडोमा आगो ताप्ने काम त्यहाँ हुन्थ्यो । आँतिला दाउराको रापिलो आगो दनदन दन्किरहेको थियो । आगोको रापमा ठूलो ताउलोबाट कुँडोको बाफ उडिरहेको थियो । पिंढीमा अमिलोको झार र खरानीले माझेर टल्काएका पूजाका लागि प्रयोग गरिने तामाका भाँडा थिए । अनि थिए भान्सामा प्रयोग हुने चरेसका करुवा र अम्खोराहरू । बत्तीको मधुरो उज्यालोमा पनि ती भाँडाकुँडाहरू टलक्क टल्किरहेका थिए । पिंढी रातो माटोले लिपेर सिनित्त र आँगन पनि सर्लक्क बढारिएको थियो । आमा भकारो सोहोरेर दूध दुहुने तरखरमा रहेको कुरा अनुमान गर्न गाह्रो थिएन । पुसको महिना, मुटु कमाउने जाडो थियो ।

म ओछ्यानमा गएर लुपुक्क सुतें तर मलाई निन्द्रा पटक्कै लागेन ।

अरु बेला हरेक दिन आमाले पूजा गरेको घण्टीे बजेको सुनेपछि हामी परिवारका बाँकी सदस्यहरू उठ्थ्यौं । कित्लीभरि चिया पाकेको हुन्थ्यो । कराहीमा दूध तताएर डम्म तरको जाली लागेको हुन्थ्यो । म, भाइ, बहिनी तीन जना दुई–दुई वर्षको फरकमा जन्मिएका थियौं । आमाले भाइ र बुवालाई दूध दिनुहुन्थ्यो । मलाई र बहिनीलाई चिया दिएर आफू पनि चिया खानुहुन्थ्यो । ‘मलाई पनि दूध..’ भाइलाई आमाले दूध दिँदा बहिनी आमासँग गुनासो पोख्थी ।

‘भाइ सानो छ, उसलाई अहिलेदेखि चियाको बानी लगाउनुहुन्न । छोरी मान्छे ज्ञानी हुनुपर्छ । भाइको दाँजोमा लाग्नुहुन्न ।’ आमा बहिनीलाई थुम्थुमाउनुहुन्थ्यो । एक गिलास तातो दूध खाएपछि बुवा पाटनतिर घुम्न निस्कनुहुन्थ्यो । पाटनमा दुईटा चौतारा थिए । चौतारामा वर–पीपलका ठूला–ठूला रूख थिए । पचास वर्ष भयो रे ती वृक्ष रोपेको भनी आमाले बेला–बेला सुनाउनुहुन्थ्यो । शनिबार पीपलको बोटमा जल चढाए राम्रो हुन्छ भनेर आमा झिसमिसेमै पीपलको पूजा गर्न जानुहुन्थ्यो । पीपलको फेदमा पूजा गरेको हेर्न मलाई एकदम रमाइलो लाग्थ्यो । ‘नानी यो काँचो धागोले पीपलको बोटलाई फन्का लगाऊ त’ उहाँ आरती गर्न कातेको बत्ती सालको बोहोतामा राख्नुअघि मलाई अह्राउनुहुन्थ्यो । म बडो खुसी हुँदै आमाको आज्ञापालन गर्थें ।

पूजा गरेर बाटोमा हिँड्दै गर्दा मैले आमालाई, ‘पीपलको पूजा शनिबार किन गरिन्छ आमा ?’ भनेर जिज्ञासा राखें ।

उहाँले मेरो जिज्ञासा मेटाउँदै भन्नुभयो । ‘पौराणिक कथाअनुसार देवता र दानवहरू मिलेर समुद्र मन्थन गर्ने क्रममा लक्ष्मीभन्दा पहिले दरिद्रता उत्पत्ति भएकी थिइन् । लक्ष्मीले आफू प्रकट भएपछि विष्णुलाई पतिका रूपमा वरण गरिन् । यसबाट दरिद्रता रिसाइन् । यो देखेर विष्णुले दरिद्रतालाई आफ्नो प्रिय वृक्ष पीपलको बोटमा बस्न अनुरोध गर्दै आफू समय–समयमा भेट्न आउने वाचा गरे । सोहीअनुरूप प्रत्येक शनिबार विष्णुसँग लक्ष्मी पनि आफ्नी दिदीलाई भेट्न पीपलको बोटमा आउँछिन् । यसकारण शनिबारका दिन पीपलको पूजा गरी यसको परिक्रमा गर्दा निकै धर्म हुन्छ नानी’ आमाले भन्नुभयो । म बाह्र वर्षकी बालिकाले धेरै कुरा बुझिन । ‘समुद्र मन्थन भनेको के हो नि आमा ?’ मैले फेरि सोधें ।

‘अलि ठूली भएपछि बुझ्छ्यौ अहिले हतार नगर’ आमाले भन्नुभयो । म ज्ञानी भएर आमाको साडीको आँचल समाउँदै सरासर घर आएँ ।

 चौतारामा हाम्रा बुवाजस्तै अरुका बुवा पनि हरेक बिहान आउँथे र इच्छानन्द काकाको चिया पसलको चिया खान्थे । पसलको चिया नखाए के बिर्सें, बिर्सें हुन्थ्यो रे उहाँहरूलाई ।

हामी बिहानको खाना खाएर स्कुल जाने बेला भइसक्दा पनि बुवा घरमा बेलामा भात खान आउनुहुन्थेन । आमा बुवाले नखाई खान मान्नुहुन्थेन । हामीले भात खाने बेलामा कहिलेकाहीँ बुवा एक हूल साथी लिएर आउनुहुन्थ्यो अनि सबैलाई चिया पकाएर बाँढ्न थाल्नुहुन्थ्यो । यसबाट झन् लम्बिन्थ्यो आमाको खाना खाने समय ।

‘भाउजूको हात सारै मीठो । कति मीठो चिया ।’ बुवाका साथीहरू आमाको पाककलाको चर्चा गर्थे । आमा प्रशंसाले खुसी देखिनुहुन्थ्यो । ‘ल ल ढिला हुन्छ स्कुल जाओ’ भनेर आमाले हामीलाई हकारेपछि म भाइ र बहिनीलाई दायाँ र बायाँ हातको औंलाले समाउँदै स्कुल पुर्‍याउँथें ।

बेलुका साढे चार बजे हामी सँगै फर्किन्थ्यौं । हामी आउँदा आमा भान्सामै लुटुपुटु गरिरहेको देख्थें ।

‘आयौ ?’ हाम्रो अनुहार हेरेर आमा मुस्कुराउँदै सोध्नुहुन्थ्यो ।

‘ल ल लुगा फेर, हात–गोडा धोऊ । मैले तातो खाजा बनाइदिएकी छु । खाऊ अनि आराम गरेर पढ्न बस ।’ आमा हामीलाई मातृवात्सल्यको पछ्यौरा गम्लङ्ग ओडाउनुहुन्थ्यो ।

हामी खाजा खाँदै गर्दा आमा मलाई आफ्नो दिनभरिको दैनिकी सुनाउनुहुन्थ्यो । ‘आज खेतबारीमा यो काम गरें, यो बीउ छरें, तरकारी टिपें, लुगा धोएँ । वस्तुभाउको ख्याल गरें । तिमीहरू भोकाएर आउँछौ भनेर हतारहतार खाजा बनाएँ ।‘ आदि–आदि ।

‘अनि बुवा खै त आमा ?’ आमाको अनुहारमा धपेडीका रेखाहरू दौडिएको देखेर मैले सोधें ।

‘तिमीहरूका बाउको के टुङ्गो । बिहान खाना खाएर हिँड्नुभएको अब बेलुका कुन बेलामा हो नि ?’ दिक्दारिएको भावमा आमा बोल्नुभएको कुरा बुझ्न गाह्रो थिएन । आमा महिनावारी हुँदा फुपू आउनुहुन्थ्यो हाम्रो घरमा । पल्ला गाउँमा थियो फुपूको घर । बुवा समाचार दिन जानुहुन्थ्यो होला सायद । फुपू आउन नमिल्दा आमाले नै मलाई हातको ईशारा लगाएर पकाउन सिकाउनुभयो । जानीनजानी म पनि खाना पकाउने कला सिक्दै गएँ ।

हाम्रा बुवा जागिरे पनि हुनुहुन्थेन । उहाँलाई समयको चापाचाप भएको मैले कहिल्यै थाहा पाइन । घर कसरी चल्छ ? पैसा कसरी आउँछ ? मैले केही मेसो पाएकी थिइन । हुन सक्छ बुवा यी काममा दौडनुभएको पनि हुनसक्छ । एकदिन आमालाई यो प्रश्न सोध्दा, किन धेरै चासो राख्नुपर्‍यो सानो मान्छेले भनेर पन्छिएजस्तो मानेपछि फेरि सोध्ने आँट आएन । बुवालाई त सोध्ने मेरो हिम्मत नै थिएन ।

मेरा बालसुलभ हृदयमा बुवाको ठोस 

जिम्मेवारीबारे अनेक प्रश्न उब्जिए । के–के सोचें । खाजा खाँदाखाँदै एउटा प्रश्न आमासँग अचानक राख्न पुगेंछु । ‘आमा तपाईं राति तीन बजे उठेदेखि अहिलेसम्म यति धेरै काम गर्नुहुन्छ । यो काम बुवा र तपाईं मिलेर गरे तपाईंलाई धेरै दुःख हुने थिएन नि है ?’

‘हुन्छ नि गरे त किन नहुनु ।’ आमाको आवाज गलेको र मधुरोजस्तो थियो ।

‘अनि किन बुवाले नगर्नुभएको त आमा ?’

‘तेरा बुवाको काम गर्ने आदत छैन नि नानी ।’

‘आदत ?’ म आदतको अर्थ नबुझेर अलमल्ल परें ।

‘आदत भनेको के हो आमा ?’ कामले गलेकी आमालाई धेरै प्रश्न सोधेर झिँजो लगाउन हुन्न भन्ने थाहा पाए पनि आदतको अर्थ नसोधी धरै पाइन ।

‘आदत भनेको बानी के बानी ।’ आमाले संयमपूर्वक उत्तर दिनुभयो ।

‘अनि बानी किन नभएको त आमा ?’ मैले आमालाई प्रश्नमाथि प्रश्न गरिरहें ।

‘खै नानी यसको जवाफ तिमीले आफ्ना बुवाबाटै लिनू है ?’

मैले ‘हस’् आमा त भनें तर बुवालाई यस्तो प्रश्न सोध्ने आँटै आएन । बुवाले आमाको अप्ठ्यारो बुझेर आफै ज्ञानले जानेर काममा सघाए हुन्थ्यो नि भन्ने सोच्थें तर बुवाले कहिल्यै आमालाई सघाउनु भएन । बुवाको हातमा कुनै दिन पनि डाडु, पनियो र कुचो पनि देखिन । मेरा मनमा लामो समयसम्म यही प्रश्न गढेर रह्यो तर बुवालाई कहिल्यै सोध्न सकिन बरु आमाले भनेको त्यही वाक्य दोहोरिरह्यो बुवालाई त बानी छैन नि यो काम गर्ने । तर त्यही बानी आमालाई कसरी लाग्यो ? अनि बुवालाई कसरी लागेन ? कसरी लागेन ? हा कसरी लागेन ?

‘नानी किन बर्बराएकी तँ ? के–कसरी लागेन भनेकी ? बिहान अलि चाँडो भयो सुत भनेको त । झन् सपना पो देख्न थालिछ ।’ आमा कानैनेर आएर कराउँदा झसङ्ग भएँछु । अरु बेलाजस्तो पूजाको घण्टी बजेको पनि सुनिनछु । हत्तेरी आफैसँग लाज मान्दै जुरुक्क उठेर मुख धुन दौडिएँ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>