Successfully Copied

कर्मक्षेत्रका प्रतिभा

जीवन संघर्ष हो । संघर्षले नै मानिसलाई सार्थक र सफल जीवन जिउने पथमा डोर्‍याउँछ ।

जीवन संघर्ष हो । संघर्षले नै मानिसलाई सार्थक र सफल जीवन जिउने पथमा डोर्‍याउँछ । कठिन परिश्रम र संघर्षबाटै नाम र दाम कमाउनेहरूमध्येका केही पुरुषहरूलाई यो अंकमा समावेश गर्ने जमर्को गरिएको छ । यहाँ छनोट गरिएकाहरू पुरुष र नारी दुवैका लागि प्रेरणाका स्रोत बन्ने विश्वास हाम्रो छ । 

गगन प्रधान

संस्थापक, हिमालयन जाभा

भक्तपुरस्थित गछें टोलमा जन्मिएका गगन प्रधानले कक्षा चारमा पढ्दाताकै भविष्यमा होटल म्यानेजमेन्ट पढ्ने निर्णय गरेका रहेछन् । सायद यो विषय रोज्नुमा उनका बुवाको प्रभाव हुन सक्छ । किनभने गगनका बुवा पर्यटन क्षेत्रमा कार्यरत थिए । उनले नेपालमा आइकमपूरा गरी अस्ट्रेलियामा होटल म्यानेजमेन्ट पढे । अस्ट्रेलिया गएपछि नेपाल नफर्किएसम्म गगनको जीवनमा धेरै संघर्षका क्षण आए । तर, ती सबैलाई उनी आफ्नो जिन्दगीको जग भन्न रुचाउँछन् । ‘जिन्दगीमा कामै नगरेको मान्छे, अस्ट्रेलियामा पढ्दै, काम गर्दै र हरेक जिम्मेवारी आफ्नै काँधमा बोकेर अघि बढ्नुपर्दा दुःख त भयो नै तर पनि भविष्य तय गर्ने बलियो आत्मविश्वास पनि पैदा भयो’ उनले अतीत सम्झिदै भने । छिट्टै निर्णय गर्न सक्ने क्षमताका गगन पढाइ सकिनेबित्तिकै स्वदेश फर्किए । व्यवसायका लागि मार्केट रिसर्च गर्दा ‘जाभा’ जस्तो कफी सप खासै भेटेनन् । यही नै गर्नु छ भने थप अध्ययन किन नगर्ने भनेर उनी अमेरिका गए । त्यहाँ कफीसम्बन्धी विशेष कोर्स सिध्याएर कफी बनाउने साधारण मेसिनहरू बोकेर नेपाल आए । सन् १९९९ मा उनले हेरिटेज प्लाजामा ‘हिमालयन जाभा’ स्थापना गरे । हाल काठमाडौं, पोखरा, नाम्चे, चितवन, इटहरी गरी यसका ३८ वटा शाखा छन् । ‘जीवनमा केही सजिलो छैन तर असम्भव पनि छैन भन्ने अठोटमा पुगेरै नेपालमा जाभा खोलेको हुँ’ उनले भने । 

नेपालमा ‘कफी कल्चर’बसाल्ने मात्र नभई नेपाली उत्पादनप्रति विश्वास जगाउँदै यो क्षेत्रलाई बढावा दिने उद्देश्यले यो व्यवसाय थालेको उनले बताए । गननले भने, ‘लाइफ स्टायल र अनुभव सेयर गर्ने थलो हो जाभा, यसले पृथक् अनुभव र गुड हस्पिटालिटी बेच्छ । यसैलाई अफिस ठानेर यहाँ समय बिताउनेहरूको संख्या बढ्दो छ । स्कुल–कलेज पढ्ने युवाहरू हुन् वा व्यापार–व्यवसायमा संलग्न व्यावसायिक मान्छेहरू यहाँ आउँछन्, कफीको चुस्कीसँगै मुड बनाउँदै निःशुल्क वाइफाइमार्फत हाम्रै स्थान प्रयोग गर्दै संसारभरका मानिससँग जोडिएर करोडौंको काम गर्छन् । न उनीहरूलाई अफिस चाहियो न भाडालगायत अन्य खर्च नै छुट्याउनुपर्‍यो । मात्र एक कप कफीमा सारा काम तमाम । यो कल्चर हामीले विकास गर्न सक्यौं, गर्व लाग्छ आफ्नै मुलुकमा धेरैका लागि रोजगार सिर्जना गर्न सकेकोमा ।’ आफ्नो कम्पनीले नेपाली कफी मात्रै बेच्ने गरेको गगनले दाबी गरे । 

विगत स्मरण गर्दै गगनले भने, ‘विदेशी कल्चरमा काम जस्तोसुकै होस् सम्मान गरिन्छ, कामको इज्जत गर, कामले इज्जत दिन्छ भन्ने कुरा महसुस गराइन्छ । होटल म्यानेजमेन्टको विद्यार्थी भएकाले मेरा प्रोफेसरले मलाई यदि तिमी डिस वासर चलाउन तयार छौ भने तिम्रो भविष्य बन्यो, त्यो नभएर यदि सुरुमै होटलको जिएम, सिइओ बन्ने सपना छ भने पैसा फिर्ता लिएर यहाँबाट जाऊ भनेका थिए । विदेशमा भाँडा माझ्नु भनेको मोटरसाइकल चलाउन सिक्नु जस्तै हो अर्थात् डिस वासिङ मेसिन अपरेट गर्न सिक्नु हो । म त्यसका लागि मानसिक रूपमै तयार भएँ । त्यसैले आज म सफल व्यवसायी बनेको छु ।’

 

डा.शेरबहादुर पुन

चिफ अफ क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

मध्यरातको तीन बजे उनी विश्वविद्यालयबाट कोठा फर्कन्थे, नुवाइधुवाइ सकेर खाना पकाउँथे । खाइसक्दा झिसमिसे बिहान भइसकेको हुन्थ्यो । मुस्किलले दुई/तीन घण्टा सुतेर उनी विश्वविद्यालय फर्किन्थे । डा. शेरबहादुर पुनका यी कठिन र संघर्षपूर्ण दिन बेलायत सरकारको छात्रवृत्तिमा जापानमा सरुवा रोग विषयमा विद्यावारिधि गर्दाका हुन् । ‘रातको बाह्र–एक बजे कोठा फर्किन थाल्दा प्रोफेसरले यति छिट्टै गयौ भने त तिमीले डिग्री पाउन मुस्किल छ भनेपछि म अझ दृढ भएर पढाइमा लागेको थिएँ’ त्यो क्षण स्मरण गर्दै पुनले भने, ‘त्यो गज्जवको संघर्ष थियो । जापानीहरू यसै पनि निकै परिश्रमी हुन्छन्, म अझ उनीहरूभन्दा कडा परिश्रमी भएर निस्किएँ ।’ 

बाग्लुङको पाण्डुखानी गाउँमा जन्मिएका शेरबहादुरका बुवा हरिलाल पुन ब्रिटिस आर्मी थिए । त्यसैले उनको प्राथमिक शिक्षा हङकङमै पूरा भयो । उनी स्वीमिङ, बास्केटबल, भलिबल खेलमा अब्बल थिए । बाल्यकालमा चुलबुले स्वभावका उनी पढाइ र खेलकुदका अलावा अन्य क्रियाकलापमा समेत सहभागी हुन्थे । पढाइमा उनले कहिल्यै दोस्रो हुन परेन । उनी बाटोमा जनावरले दुःख पाएको देख्दा आफ्नो मन दुख्ने बताउँदै भन्छन्, ‘यसले पनि मलाई सेवामा अझ सक्रिय भएर अग्रसर हुन सहयोग पुर्‍याएको हो । चिकित्सा पेसालाई म अर्धसमाजसेवा भन्न रुचाउँछु ।’ जापानमा उनले पढाइ सँगसँगै प्राध्यापन, अनुसन्धान असिस्टेन्टका रूपमा समेत काम गरे । 

जापानमा अध्ययन पूरा गरेर उनी नेपाल फर्किए । आफ्नै देशमा सेवा गर्ने दृढताले उनी जापानमा सबैखाले अवसर र कामलाई परित्याग गरी नेपाल फर्केका हुन् । सन् २००९ मा टेकु अस्पतालमा काम गर्न थाले । ‘सरुवा रोगलाई सामान्य मानेर उपचारमा त्यति गम्भीर नहुने, बिरामीको मनमा त्रासले गाँजिरहने प्रशस्त समस्या मैले यहाँ पाएँ । सामान्य मानिने झाडापखाला, इन्सेफ्लाइटिसलगायतका कारण कयौं बिरामी मरिरहेको देखें । काउन्सिलिङको आवश्यकता महसुस गरी यसैमा ध्यान दिन थालें’ उनले भने, ‘काउन्सिलिङले आधा रोग निको पार्ने तथ्य बुझेपछि म झनै हौसिएँ । मैले काउन्सिलिङ गरेका कुरा मोबाइलमा रेकर्ड गरेर लैजाने बिरामी थुप्रै छन् । म आवश्यक परेको खण्डमा मात्रै औषधि दिन्छु ।’ 

सन् २०१० मा उनले टेकु अस्पतालमा ‘क्लिनिकल अनुसन्धान इकाइ’ स्थापना गरे । त्यसपछि उनी दत्तचित्त भएर शोध अनुसन्धान र सेवामा खटिन थाले । उनले ‘चिकन गुनिया’ भाइरस पहाडतिर फैलिँदै गएको र किर्नाले टोकेर लाग्ने ‘लायन डिजिज’ पत्ता लगाएका हुन् । जारको पानीमा संक्रमण हुने र कलेरा हैजाका विषयबारे पहिलो पटक उनैले बोलेका हुन् । उनले भने, ‘नेपालबाट हाइटी जाने सैनिक टोलीले कलेरा हैजा हाइटीसम्म पुर्‍याए भन्ने कुराको प्रतिरक्षास्वरूप मैले होइन भन्ने विभिन्न तर्क पेस गर्दै अन्तर्राष्ट्रिय जर्नलमा लामो लेख लेखें । त्यसको अमेरिकाको सीडीसीसम्म निकै चर्चा भयो । लामखुट्टेको टोकाइबाट फैलिने डेंगु रोग पत्ता लगाउँदा पनि नेपालमा त्यत्तिकै चर्चा चलेको थियो ।’ संसारमा थोरै मात्र विज्ञले पाउने ‘पोस्ट–डक्टरेट फेलोसिप’ को अवसर अस्वीकार गर्दै ‘मेरो देशमा मेरो खाँचो छ’ भन्दै स्वदेशमै बसे । 

शेरबहादुरले भने, ‘मेरो काम र सोच उदाहरण र उत्प्रेरणा बनोस् । सोहीअनुरूप काम गरिरहेको हुन्छु ।’ नयाँ ज्ञानको भोक आफूमा सधै रहेको बताउने उनी बिरामीको खुसीलाई आफ्नो कमाइ मान्छन् । उनी पुराना सदाबहार गीत तथा मोटिभेसनल स्पिच सुन्न मन पराउँछन् । महिलालाई अदृश्य शक्ति मान्ने शेरबहादुर प्रौढ शिक्षा पढेकी आमा इन्द्रकली पुनको बालबच्चाका लागि शिक्षा पहिलो सर्त हो भन्ने सोचलाई सलाम गर्छन् । उनले भने, ‘मेरी आमा मेरो अस्तित्व हुनुहुन्छ, श्रीमती असल साथी र सल्लाहकार अनि मेरी बहिनी र महिला सहकर्मीहरू मलाई सधै प्रेरणा दिइरहने नारी पात्र हुन् ।’

 

रामकृष्ण ढकाल

गायक, नायक तथा कम्पोजर

छ वर्षकै छँदा गायक रामकृष्ण ढकालले चितवनस्थित विद्यालयमा स्टेट शो गरेका थिए । त्यसको पाँच वर्षपछि उनी गायन र संगीतमै नाम कमाउने उद्देश्यले काठमाडौं छिरेका थिए । उनी भन्छन्, ‘त्यसताकाकयौं रात भोको पेट सडकमा बिते । उमेर नै के थियो र ? म केवल ११ वर्षको थिएँ । परिवारले काठमाडौंमा राखेर संगीत पढाउने अवस्था थिएन । सपना पूरा गर्नु छ भने आफैं संघर्ष गर्नुपर्छ भनेर काठमाडौं आएको थिएँ’ विगतका संघर्ष सम्झिँदै रामकृष्ण भन्छन्,‘कृषिमा आश्रित परिवार, खान–लाउन दुःख थिएन तर मेरो सपना ठूलो थियो । छ वर्षकै उमेरमा स्कुलको कार्यक्रममा स्टेज शो गरिसकेको थिएँ । यसलाई मूर्तरूप दिनुपर्छ भन्ने सोच र सपना थियो । यहाँ आएर पद्मोदय स्कुलमा सात कक्षामा भर्ना भएँ । केही समयपछि संगीत प्रवीण नरराज ढकालसँग शास्त्रीय संगीत सिक्न थालें ।’

आफूलाई भगवान्ले गाउन सक्ने शक्ति दिएरै पठाएको बताउने रामकृष्णले काठमाडौंको बसाइमा संयोगवश संगीतप्रेमी गोपाल कर्माचार्यलाई भेटे । उनले रामकृष्णलाई छोराजस्तै गरी आफ्नै घरमा लगेर राखे । उनैले पढाइ र संगीतमा एकैसाथ सहयोग गरेका थिए । ०४४ सालमा राष्ट्रिय सभा गृहमा धरान साँझबाट रामकृष्णको सुमधुर आवाज सुनेपछि राजधानीमा हरेक कार्यक्रममा उनको खोजी भयो । त्यसपछि रामकृष्ण ‘टक अफ द टाउन’ भए । उनको क्रेज र डिमान्डलाई मध्यनजर गर्दै गोपाल कर्माचार्यले ०४५ सालमा एकल गायन ‘ढकाल साँझ’ आयोजना गरिदिए । रामकृष्ण भन्छन्, त्यो शोमा ५ सयको टिकट ब्ल्याकमा हजारमा बिकेको थियो । मैले हिन्दी र नेपाली गरी २२ वटा गीत लगातार गाएको थिएँ । यो देखेपछि वास्तवमै गाउने क्षमता रहेछ भन्ने भयो ।’ 

२०४७ मा उनले रेडियो नेपालमा भ्वाइस टेस्ट दिए जसमा उनलाई आफ्नै गुरु दिनेश सुब्बाले सघाएका थिए । ‘यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छ’ु जस्ता कालजयी गीतले उनलाई स्वपहिचान बनाउन सहयोग गर्‍यो । ०५० तिर आशीर्वाद नामको सोलो एल्बम रेकर्ड गर्न मुम्बई गएँ । जुन एल्बम नेपालीको घरघरमा पुग्यो, बेस्ट सेलिङ अवार्ड पनि पायो ।’ त्यसपछि उनी छुट्टै बस्न थाले । गजल रेस्टुरेन्टमा गीत गाउन थाले । त्यसपछि आशिष, आशा, आरोह लगायतका सदाबहार गीतले भरिएका एल्बम निस्किदै गए । संगीत साधनाले उनलाई २३ वर्षको कलिलै उमेरमा राजा वीरेन्द्रको हातबाट प्रबल गोरखा दक्षिण बाहु दिलायो । ०५८ मा उनकै जीवन कथामा आधारित चलचित्र आशीर्वाद बन्यो । उनी स्वयंले अभिनय गरेको उक्त चलचित्र सुपरहिट भयो । ‘कला जीवन्त हुनुपर्छ, यो मन र भावना छुने हुनुपर्छ चाहे प्रस्तुत गर्ने माध्यम जुनसुकै होस् । गायनबाट अभिनयमा फड्को मार्नुको कारण बताउँदै उनी भन्छन्–‘कला प्रस्तुत गर्ने माध्यम मात्रै फरक हो कला त कला नै हो भन्ने महसुस गरेर म अभिनयमा आएको हुँ ।’

साइग्रेस पोखरेल

कथाकार

कलंकीका साइग्रेस पोखरेल नेपालमा स्नातकसम्मको पढाइ सकेर उच्च शिक्षाका लागि डेनमार्क हान्निए । त्यहाँ अध्ययन खर्च जुटाउन उनले सरसफाइको काम थाले । ‘मेरो योग्यता र क्षेत्रभन्दा बाहिरको काम भएकाले मलाई एकदम गाह्रो लाग्न थाल्यो । तीन महिना काम गरेर छाडिदिएँ’ उनले संघर्ष सम्झिदै भने, ‘उच्च शिक्षा हासिल गर्ने रहरले मलाई विदेश पुर्‍याएको थियो । मैले त्यहाँ पैसा रोज्नुपर्थ्यो कि खुसी । त्यहाँको जिन्दगीले सुख–दुःख चिनायो । मेरो खुसी स्टोरी टेलिङ र टेक्नोलोजीमा थियो । अन्ततः मैले पैसा होइन खुसी रोजें ।’ डेढ वर्ष डेनमार्क बसेर डिजिटल मार्केटिङ पढ्न उनी स्पेन पुगे । त्यहाँ पुगेर उनले डिजिटल मार्केटिङमा पुनः मास्टर्स गरे । पहिलेदेखि फोटोग्राफी, स्टोरी टेलिङ र भिडियो मेकिङमा रुचि राख्ने उनले त्यहाँ ‘साइग्रेस प्रोडक्सन’ सुरुवात गरे । त्यसैमार्फत उनले विभिन्न सभा–समारोहलगायत विवाहको फोटो खिच्न थाले, भिडियो र वृत्तचित्र बनाउन थाले । उनी भन्छन्, ‘सीप र लगनशीलता छ भने कामको खाँचो नहुँदो रहेछ । टेक्निकल काम भएकाले भाषाभन्दा दक्षता र विज्ञतालाई हेर्न थालियो । क्रमशः कामले मलाई खोज्दै आउन थाल्यो ।’ बार्सिलोनामा बसिरहेको एउटा नेपाली फुच्चे केटो एकाएक सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि नेपालमा उनको खोजी हुन थाल्यो । धेरैको निमन्त्रणा टार्न नसकेर नेपाल आएका साइग्रेस पछिल्लो समय कथावाचनकै क्रममा देश दौडाहामा छन् । विदेश जाँदा उनलाई इयरपोर्ट छोड्न आमा–बुवा र भाइ तीन जना गएका थिए तर नेपाल फर्किंदा उनलाई स्वागत गर्न तीन सय जनाभन्दा बढी मान्छे लाइन लागेको देखेर आफू भावविह्वल भएको साइग्रेस बताउँछन् । जब उनी कथावाचनका लागि स्टेज चढ्छन् हजारौं मान्छे शान्त भएर उनलाई सुनिरहेका हुन्छन् । अहिले उनी जति चर्चित छन् त्यो यसै बनेको नभई वर्षौंको साधना, तपस्या र मेहनतको फल भएको बताउँदै उनी भन्छन्–‘म्याराथन रेस जित्ने कुरा १२ सेकेन्डले डिफाइन गर्छ तर त्यसका लागि १२ वर्षको कठोर परिश्रम र संघर्ष लुकेको हुन्छ । मेरो जीवनमा पनि भएको ठ्याक्कै यही नै हो । यहाँसम्म आइपुग्न मैले जीवनका अनेकौं उकाली–ओराली पार गरेको छु । कयौं हन्डर खाँदै संघर्ष गरेको छु ।’ 

उनी अधिकांश कथा आफै लेख्छन् भने कति उनलाई विभिन्न माध्यममार्फत प्राप्त हुन्छन् । अहिले पनि उनको इनबक्समा १५ हजारभन्दा बढी कथा उपलब्ध छन् । त्यसबाट छानेर प्राथमिकताका आधारमा कथा तयार पार्छन् । उनको स्टोरी टेलिङले क्यान्सर पीडितलगायत जीवनबाट हारेर मृत्यु रोज्न तम्सिएकाहरूसम्म बाँच्न हौसिएका छन् । आफू यस क्षेत्रमा सफल हुनुको श्रेय उनी दर्शक–श्रोतालाई दिन चाहन्छन् । 

 

प्रशान्त ताम्राकार 

फेसन कोच, मेन्टर, कोरियोग्राफर र कलाकार

काठमाडौंस्थित वसन्तपुर नजिकै यट्खा बहालको नेवारी परिवारमा जन्मिएका प्रशान्त ताम्राकार गुठी, जात्रा, भोजमा रमाउँदै हुर्किए । अडिटरका छोरा प्रशान्त ११ वर्षकै छँदा बुवालाई रोगले च्याप्यो । बुवा थला परेपछि उनको परिवारमा ठूलो आर्थिक संकट आइपर्‍यो । सानै उमेरमा उनी कामको खोजीमा भौंतारिन बाध्य भए । बिहान हिँडेपछि दिउँसो–बेलुका के खाने भन्ने उनलाई थाहै हुन्नथ्यो । संघर्षका दिन सम्झिँदै उनी भन्छन्, ‘त्यो उमेरमा पनि कमाएर परिवार पाल्न सक्छु भन्ने आँट ममा थियो ।’ अन्त कतै काम नपाएपछि बुवाले गर्ने एकाउन्टिङ/अडिटिङको काम उनले थाले । बुवालाई सञ्चो भएपछि पूरै परिवार काममा लागेर घरको आर्थिक अवस्था उकास्न सफल हुनुलाई प्रशान्तले जीवनको सुनौलो क्षणका रूपमा लिन्छन् । 

मोडलिङतिर मोडिनुमा एउटा रोचक प्रसंग उनीसँग जोडिएको छ । प्रशान्तको सुगठित र खाइलाग्दो शरीर देखेर बुवाले सन् १९९१ मा ‘हिमालयन एक्सपो’को मोडल वान्टेड फर्म ल्याएर उनको हातमा थमाइदिएका थिए । त्यसपछि कहिले विश्रामै नलिनेगरी उनले यो क्षेत्रमा आफ्नो करियर सुरु गरेका हुन् । यो अवधिमा उनले धेरै महिलालाई मोडलिङमा प्रशिक्षित मात्रै गरेका छैनन्, ‘मिस नेपाल’ इभेन्टहरूको ‘अफिसियल कोरियोग्राफी’ समेत गरिसकेका छन् । फेसन, मोडलिङ, कोरियोग्राफी तथा इभेन्टमै काम गरी आफ्नो उचाइ बनाइसकेका उनलाई पछिल्लो समय चलचित्र र गायन क्षेत्रमा धेरैले रुचाएका छन् । ‘टाटा–बाइबाइ’, ‘सम्बोधन’, ‘मुखौटा’, ‘ऐश्वर्या’, ‘रणबीर’, ‘जय शम्भु’, ‘क्याप्टेन’ आदि चलचित्रमा उनको अभिनयलाई धेरैले प्रशंसा गरेका छन् । हाल उनी ‘मायांक’, हिन्दी तथा भोजपुरी चलचित्रका साथै साउथ इन्डियाको तेलगु मुभीमा काम गर्दैछन् । चार वटा गीत रिलिज गरिसकेका प्रशान्त कुशल गायकको परिचय पनि स्थापित गर्न सफल भएका छन् ।

प्रशान्त बास्केटबल, ह्यान्डबल, स्क्वास र सफ्ट टेनिसका राष्ट्रिय स्तरका खेलाडी पनि हुन् । उनी भन्छन्, ‘मलाई भर्सटायल काम गर्न मन पर्छ । चाह्यो भने मान्छेले जे र जति पनि गर्न सक्छ । अब बडी बिल्डिङमा पनि कम्पिट गर्ने सोचमा छु । त्यसबाहेक समाजसेवामा पनि उही बेलादेखि लागिपरिरहेको छु । मनाङको चामे र ताल बाढीले बगाउँदा ‘हेल्प फर मनाङ’ अभियान चलाई सहयोग गर्न सकेकोमा खुसी छु । विपद्का बेला म उभिदिँदा काम बन्छ भने किन नउभिने ?’ पछिल्लो समय बुद्धजन्मस्थल लुम्बिनीबाट ‘फेसन फर पिस’ को सुरुवात गरी अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने तयारीमा जुटेका प्रशान्तले पैसाका लागि कहिल्यै काम नगरेको बताए । उनी भन्छन्, ‘नेपालको कला, संस्कृति एवं पहिरनको संरक्षण र संवर्द्धनमा सधै अघि बढिरहने मेरो चाहना छ ।’ 

 

स्यान्टु श्रेष्ठ

खेलाडी, टेबुल टेनिस

‘साउथ एसियन गेम’ मा चार वटा इभेन्टमा चार वटै मेडल ल्याउने स्यान्टु श्रेष्ठभन्दा अगाडि नेपालमा अन्य कुनै खेलाडी थिएनन् । सन् २०१९ को साउथ एसियन गेममा उनले यो ब्रेक तोडे । २१ वर्षीय स्यान्टु यो सफलता सहजै प्राप्त भएको होइन भन्छन् । कडा मेहनत र परिश्रमले मात्रै प्राप्त भएको उनले बताए । बाल्यकालदेखि नै उनी खेलकुदमा रुचि राख्थे । पहिले दाइसँगै स्वीमिङ खेल्ने उनको रुचि १० वर्षको उमेरदेखि टेबुल टेनिसतिर मोडियो । ‘बच्चा हुँदा पढाइ छाडेर खेल्न जान्थें । बुवाआमाले पढाइलाई प्राथमिकतामा राख्नुपर्छ भनेपछि दुवैको तालमेल मिलाउँदै जान थालें । त्यतिबेला मलाई समय व्यवस्थापनको ठूलो चुनौती थियो । बिहान ६ देखि ८ बजेसम्म ट्रेनिङ हुन्थ्यो, क्यासिनोमा रातभरि काम गरेर थकित मेरा ड्याडी नाइट ड्युटी सकेर मलाई लिन आउनुहुन्थ्यो’ उनी भन्छन्, ‘अनि मलाई ट्रेनिङस्थल लैनचौर पुर्‍याउनुहुन्थ्यो । नौदेखि तीन बजेसम्म स्कुल हुन्थ्यो । फेरि साढे तीन बजेदेखि बेलुकी सात बजेसम्म ट्रेनिङ हुन्थ्यो । आराम गर्ने, खाने कुनै टुँगो हुँदैनथ्यो ।’ बाल्यकाल र टिनएजर्स हुँदा कुनै पनि दिन यिनले साथीभाइसँग रमाउने फुर्सदै पाएनन् । साथीभाइ ह्याङआउट र घुमघाममा रमाइरहेका हुन्थे, उनी भने ट्रेनिङमा व्यस्त रहन्थे । उनी भन्छन्–‘न त मलाई कसैको बर्थडे पार्टीको मतलब थियो न क्लब वा घुमघाम, म त एकोहोरो पागल जस्तो भएर आफ्नो सपनामा चुर्लुम्मै डुबेको थिएँ ।’

दोलखामा जन्मिएका स्यान्टुले अहिलेसम्म सन् २०१८ मा इन्डोनेसियामा एसियन गेम, सन् २०१९ मा हंगेरीमा वर्ल्ड च्याम्पियनसीप, सन् २०१९ मा पुनः इन्डोनेसियामा एसियन च्याम्पियनसीप, सन् २०२१ मा कतारमा एसिसयन च्यम्पियनसीपमा आफ्नो खेल प्रदर्शन गरिसकेका छन् । क्यासिनोमा कार्यरत राजकुमार श्रेष्ठ र मानव अधिकारकर्मी तारा श्रेष्ठका दुई छोरामध्ये स्यान्टु कान्छा हुन् । सानै उमेरमा सफलता हात पार्नुको पछाडि आफ्नो कडा मेहनत, धैर्य र परिश्रम मुख्य कारक रहेको उनको भनाइ छ । १६ वर्षकै उमेरमा नेसनल रेकर्ड ब्रेक गरेका स्यान्टु युवाहरूलाई आफ्नो क्षेत्रमा शतप्रतिशत दिन आग्रह गर्छन् । उनी भन्छ्न्, ‘आफूभित्रको दृढता, आत्मविश्वास र परिश्रमले सफलता ल्याउँछ । तसर्थ आफू जुन क्षेत्रमा हो त्यो क्षेत्रमा पूर्णरूपमा दृढ हुनु जरुरी छ ।×’ नेपालमा खेलकुद क्षेत्रमा खासै भविष्य नदेखेको उनको तर्क छ । उनलाई आफू अझैं पूर्णरूपमा सफल नभएजस्तो लाग्छ । ‘सीमित खेलबाहेक अन्यमा सरकारको प्राथमिकता नरहेको उनको गुनासो छ । यसैमा लागेर भविष्य सुनिश्चित छ भनिहाल्ने अवस्था छैन’ स्यान्टुले भने, ‘तसर्थ खेलकुद क्षेत्रका लागि सरकारी तवरबाट गर्नुपर्ने थुप्रै काम बाँकी भएजस्तो लाग्छ ।’ नारीलाई उनी सफलतासम्म पुर्‍याउने कसी ठान्छन् । आफ्नी आमाले राति तीन बजे उठेर पनि उनको उपयुक्त समयमा तातो भात खुवाएको सम्झिँदै उनी भन्छन्, ‘मेरी ममी त्यतिबेला कमै मात्र निदाउन पाउनुहुन्थ्यो । नारी त्याग र बलिदानका पात्र हुन् । आफैंलाई रित्याएर पनि अरुलाई खुसी दिन सक्ने प्राणी हुन् । नारी सृष्टिकर्ता र जननी हुन् जसले जीवन दिन्छन् ।’

 Image