Successfully Copied

चर्चामा स्वीडिस म्याग्डालेना

स्वीडेनको इतिहासमा मुलुककै प्रथम महिला प्रधानमन्त्री बन्न सफल ‘स्वीडिस सोसल डेमोक्र्याटिक पार्टी’ की नेतृ इभा म्याग्डालेना एन्डर्सन पदभार ग्रहण गरेको केही घन्टामै राजीनामा दिन बाध्य भइन् ।

स्वीडेनको इतिहासमा मुलुककै प्रथम महिला प्रधानमन्त्री बन्न सफल ‘स्वीडिस सोसल डेमोक्र्याटिक पार्टी’ की नेतृ इभा म्याग्डालेना एन्डर्सन पदभार ग्रहण गरेको केही घन्टामै राजीनामा दिन बाध्य भइन् । उनी शिक्षामा मात्रै होइन राजनीतिमा समेत अब्बल छिन् । तर, राजनीतिक ‘फोहरी खेल’ र रस्साकस्सीका कारण उनको प्रधानमन्त्री पद १२ घन्टा नबित्दै धरापमा पर्‍यो । यसबाट उनी कत्ति विचलित र निराश छैनन् बरु स्वीडेनको संसद्ले आफूलाई पुन : प्रधानमन्त्री बनाउने कुरामा आशावादी छिन् ।

स्वीडेनको उप्पसाला सहरमा अध्यापकको परिवारमा ५४ वर्षअघि जन्मिएकी म्याग्डालेना एन्डर्सन नोभेम्बर २४ मा मुलुककै प्रथम प्रधानमन्त्री बनिन् । तर, दुर्भाग्य नै भन्नुपर्छ, उनी प्रधानमन्त्री बनेको केही घन्टामै राजीनामा दिन बाध्य भइन् । प्रधानमन्त्री बनेकै दिन उनले राजीनामा दिन्छिन् भन्ने लखसम्म कसैले काट्न भ्याएको थिएन । तर, धेरैको अनुमानमै नरहेको घटना उनका लागि हुन पुग्यो । उनले नेतृत्व गरेको गठबन्धनको सहयोगी दलले समर्थन फिर्ता लिएसँगै उनको पद धरापमा पर्‍यो । म्याग्डालेना ‘स्वीडिस सोसल डेमोक्र्याटिक पार्टी’की नेतृ हुन् । उनको दलसहितको गठबन्धनमा सहभागी ‘ग्रीन पार्टी’ले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिनुपरेको हो । 

आफूलाई ‘असल र मेहनती महिला’ भएको दाबी गर्ने उनी स्पष्टवादी नेताका रूपमा स्वीडेनमा लोकप्रिय छिन् । तर, राजनीतिमा स्पष्टवादी र तीतो सत्य बोल्नेहरू लामो समय टिक्न सक्दैनन् भन्ने कुरा उनको प्रधानमन्त्री पदमा बहाली हुनु र केही घन्टा नबित्दै राजीनामा दिनुले पनि प्रमाणित भएको छ । हालै एउटा टेलिभिजन रिपोर्टमा उनलाई ‘बुलडोजर’ को संज्ञासमेत दिइएको थियो । उनका बारेको यो खरो टिप्पणीले त्यहाँ निकै चर्चा पाएको थियो । 

पछिल्लो घटनाक्रमले पनि उनको चर्चा शिखरमा छ । मुलुककै इतिहास बनाउन सफल हुनु तर प्रधानमन्त्री बनेकै दिन राजीनामा दिन बाध्य हुनुले उनी विश्वमै चर्चाको पात्र बनेकी हुन् । म्याग्डालेना स्वीडेनको संसद् ‘रिक्सदाग’ मा एक मतले मात्र प्रधानमन्त्री बनेकी थिइन् । प्रधानमन्त्री बनेसँगै उनले संसद्मा बजेट प्रस्ताव ल्याइन् । तर, उनलाई समर्थन गर्ने दल ‘ग्रीन पार्टी’ ले त्यो बजेट प्रस्ताव अतिवादी दक्षिणपन्थीहरूसँग मिलेर ल्याएको भन्दै विरोध मात्रै गरेन, समर्थन नै फिर्ता लियो । यस्तो अवस्थामा उनीसँग प्रधानमन्त्री पदबाट राजीनामा दिनुको अर्को विकल्प नै थिएन । यो घटनाबारे प्रतिक्रिया दिँदै उनले भनेकी थिइन्, ‘मैले सभामुखलाई पहिले नै भनिसकेकी थिएँ–‘म राजीनामा दिँदैछु । त्यसैले यसलाई अन्यथा मान्नुपर्ने कुरै छैन । मलाई आशा छ–म फेरि मुलुकको प्रधानमन्त्री बन्नेछु । मुलुकको संवैधानिक परम्पराअनुसार एउटा समर्थक दलले आफ्नो समर्थन फिर्ता लिएपछि मैले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भनेरै तत्काल राजीनामा दिएकी हुँ ।’ 

म्याग्डालेना एक मतले मात्रै संसद्मा प्रधानमन्त्री चुनिएकी थिइन् । स्वीडेनको संविधानमा कुनै व्यक्तिविरुद्ध संसद्मा मतदान गर्ने बहुमत सांसदहरू नभएको अवस्थामा पनि व्यक्ति प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ । ३४९ सदस्यीय स्वीडिस संसद् ‘रिक्सदाग’ मा १७४ सांसदले उनीविरुद्ध मतदान गरेका थिए । यो संख्या बहुमतभन्दा कम हो । उनको समर्थनमा ११७ सांसदले मतदान गरेका थिए भने ५७ जना अनुपस्थित रहेका थिए । म्याग्डालेनाले एक मतले बहुमत प्राप्त गरेपनि त्यहाँको संवैधानिक व्यवस्थाका कारण सय वर्षको इतिहासमा पहिलो पटक प्रधानमन्त्री बन्न सफल भएकी हुन् । उनी प्रधानमन्त्री भएपछि सबै सांसदले संसद् भवनमा उठेर स्वागत गरेका थिए । उनी प्रधानमन्त्री बन्नुअघि स्वीडेन एउटा मात्रै भौगोलिक र सांस्कृतिक रूपमा समानता रहेको उत्तरी युरोपेली मुलुक ‘नर्डिक देश’ थियो जहाँ अहिलेसम्म कुनै महिला प्रधानमन्त्री बन्न सकेका थिएनन् । 

‘जुनियर स्वीमिङ च्याम्पियन’ रहिसकेकी म्याग्डालेना १६ वर्षको उमेरमै सोसल डेमोक्र्याटिक पार्टीको सदस्य बनेकी थिइन् । उनले आफ्नो राजनीतिक करियर सन् १९९६ मा तत्कालीन प्रधानमन्त्री गोरान पेरसोंको राजनीतिक सल्लाहकारका रूपमा सुरु गरेकी थिइन् । त्यसपछि उनी सात वर्षसम्म मुलुकको अर्थमन्त्री बन्न सफल भइन् । सफल अर्थमन्त्रीका रूपमा आफ्नो परिचय बनाएकी म्याग्डालेनाले ‘स्वीडेनले राम्रो गर्न सक्छ’ भन्ने नारा दिएर चुनाव लडिन् र जितिन् । उनी ४ नोभेम्बर २०२१ मा स्वीडिस सोसल डेमोक्र्याटिक पार्टीको नेतामा चुनिएकी थिइन् । २४ नोभेम्बर २०२१ मा स्वीडेनको संसद्ले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । 

शिक्षा, करियर र रुचि

म्याग्डालेना स्वीडेनस्थित उप्पसाला विश्वविद्यालयमा अध्यापक रहेका गोरान एन्डर्सनकी एक्ली सन्तान हुन् । उनले विद्यालय तहको शिक्षा उप्पसालास्थित क्याथेरल स्कुलबाट पूरा गरेकी हुन् । पढाइमा सानैदेखि अब्बल उनले पछि चर्चित ‘स्कटहोम स्कुल अफ इकोनोमिक्स’ बाट अर्थशास्त्रमा स्नातकोत्तर गरिन् । त्यहीँबाट उनले विद्यावारिधिको उपाधि हासिल गरिन् । उनले भियनास्थित ‘इन्स्टिच्युट अफ एडभान्स्ड स्टडिज’ र ‘हावार्ड विश्वविद्यालय’ मा समेत अध्ययन गरेकी छन् । उनी माध्यमिक तहको विद्यार्थी छँदै १६ वर्षको उमेरमा ‘सोसल डेमोक्र्याटिक युथ लिग (एसएसयु)’ मा आबद्ध भइन् । पछि उप्पसाला क्षेत्रको ‘एसएसयु’ को अध्यक्षमा निर्वाचित भइन् । 

अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेपछि सन् २०१४ मा भएको आम निर्वाचनमा त्यहाँको सांसदमा विजय भइन् । त्यसपछि उनी तत्कालीन प्रधानमन्त्री स्टेफन लोफ्भेनको मन्त्रिमण्डलमा अर्थमन्त्री भइन् । उनले आफ्नो कार्यकालमा मुलुकलाई आर्थिक क्षेत्रमा अघि बढाउन सफल भइन् । सन् २०१८ मा पनि उनले पुनः अर्थमन्त्री बन्ने सौभाग्य प्राप्त गरिन् । सन् २०२० मा उनी अन्तर्राष्ट्रिय मुद्रा र आर्थिक समिति (आईएमएफसी) को सदस्य बनिन् । पछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ‘बोर्ड अफ गभर्नर्स’को प्राथमिक नीति सल्लाहकार समितिले उनलाई तीन वर्षका लागि समितिको अध्यक्षका रूपमा चयन गर्‍यो । एकदशक भन्दा बढी समयपछि त्यो जिम्मेवारी पाउने उनी प्रथम युरोपेली र पद पाउने प्रथम महिला बनिन् । गत अगस्तमा प्रधानमन्त्री स्टेफनले ‘सोसल डेमोक्र्याटिक पार्टी’ बाट नोभेम्बरमा राजीनामा दिने घोषणा गरेपछि उनी नै दलको नेता बन्ने निश्चित भएको थियो । गत २९ सेप्टेम्बरमा पार्टीको मनोनयन समितिले उनलाई दलको नेताका रूपमा घोषणा गर्‍यो । दलको नेताकै हैसियतमा उनी स्वीडेनकी प्रथम प्रधानमन्त्री बनिन् । उनको व्यक्तिगत जीवनको कुरा गर्दा उनले सन् १९९७ मा ‘स्टकहोम स्कुल अफ इकोनोमिक्स’मा अर्थशास्त्रका प्राध्यापक रिचर्ड फ्राइबर्गसँग विवाह गरिन् । उनका दुई सन्तान छन् । उनी र उनका पतिलाई भ्रमण गर्ने चाहना भएकाले लामो ंपर्वतारोहणमा जान रुचाउँछन् । 

(एपी र रोयटर्सको सहयोगमा)

 Image