अभियानले रोक्न नसकेको हिंसा

नारी संवाददाता

पुस २, २०७८

यमुना अर्याल (काफ्ले) 

 

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधिलाई ‘महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ का रूपमा मनाइन्छ । नेपालमा पनि दुई सातासम्म जनचेतनामूलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । खासगरी सहरी क्षेत्रमा एक किसिमको अभियान नै चल्छ । महिला अधिकार र हक–हितका लागि खुलेका संघसंस्थाहरू यो अवधिमा निकै सक्रिय हुन्छन् । तिनीहरूले गर्ने कार्यक्रममा ठूल्ठूला ब्यानर र पम्प्लेटमा ठूला अक्षरमा ‘महिलाले हक–अधिकार पाउनुपर्छ’, ‘महिलाले भोग्दै आएका हिंसा अन्त्य हुनुपर्छ’ जस्ता नारा लेखिएका हुन्छन् । 

ब्यानरमा विशेष तामझामका साथ अभियान चलाए पनि त्यो आम महिलाको साझा कार्यक्रमका रूपमा देखिन सकेको छैन । यो अभियान सहर केन्द्रित मात्रै हुने गरेको छ । विकट ग्रामीण बस्तीका महिलाले आफूहरू पनि यो समाजका नागरिक भएको अनुभूति गर्न पाएका छैनन् । महिला र पुरुष एक रथका समान पाङ्ग्रा हुन् भन्ने कुराको हेक्कासम्म उनीहरूलाई छैन । महिलाको पनि अधिकार हुन्छ, महिलाले सबै अत्याचार सहनु हुँदैन भन्ने कुराको बोध पनि उनीहरूलाई छैन, हुँदैन । तर, महिलाबारे सहर केन्द्रित कार्यक्रमहरू वर्षौंदेखि भइरहेका छन् । खास पीडा र भोगाइ अनि यथार्थता भने गाउँका बस्ती–बस्तीमा भेटिन्छ, त्यता चियाउने कसले ? त्यहाँका महिलाको हक–अधिकारका बारेमा बोलिदिने कसले ? ती महिलाहरूको अधिकारका बारेमा ठूला ब्यानरमा नारा लेखिने कहिले ? यो प्रश्न अझै पनि अनुत्तरित छ भन्दा फरक पर्दैन । 

अभियान महिला हिंसाविरुद्धको हो तर विडम्बना यही अभियान चलिरहेकै अवधिमा पनि हाम्रो समाजमा दिदीबहिनीहरू हिंसामुक्त हुन सकेका छैनन् । कतिपय प्रचारमा आए, ठाउँ पाए र सबैतिर चर्चा पनि भए होलान् तर धेरै घटना बाहिर आउँदैनन्, ल्याउन खोजिँदैन । महिलाले सहने हो, जसरी पनि सहनुपर्छ भनेर गुपचुप बनाइएका उदाहरण धेरै छन् । मनभरि पीडा, मुटुभरि गहिरो चोट छ । समाज र लोकलाजका कारण ती घटना पानीका फोकाजस्तै बनेका छन् । एकैछिन फुल्छन्, ठूला हुन्छन् अनि आफै फुट्छन् र उही पुरानो आकारमा आउँछन् । महिलाहरूको हक–अधिकार र समानताबारे निकै चर्चा र परिचर्चा भए पनि व्यवहारमा त्यो पाटो ओझेलमा पर्दै आएको छ विगतदेखि वर्तमानसम्म । नारामा राष्ट्रपति महिला, प्रधानन्यायाधीश महिला, मुख्यमन्त्री महिला, सिडिओ महिला भन्ने गरिए पनि, ३३ प्रतिशत महिलाको सहभागिताको रटानलाई निकै उचाइमा पुर्‍याउने गरिए पनि व्यवहारमा सोचेझैं छैन । एक/दुईजना महिला पात्र उच्च पदमा पुगे भन्दैमा समग्र महिलाको प्रतिनिधित्व त्यसले गर्दैन । 

समाज मूलतः पुरातन सोच र पुरुषवादी चिन्तनबाट ग्रसित छ । यो समाज त्यही समाज हो जहाँ महिलामाथि बलात्कार हुँदा, दोषी पहिचान हुँदा पनि राजनीतिक दबाब र चेपुवामा पारेर थामथुम पार्ने प्रयत्न गरिन्छ । यही घटना अरूका छोरी–चेलीमाथि पर्दा आर्थिक लेनदेनमा मिलोमतो गरी मिलाउने महाशयहरू आफ्नै परिवारमा यस्ताघटना भए तपाईंहरूको पहल यस्तै हुन्थ्यो कि यो भन्दा अलि फरक हुन्थ्यो ? निर्मला पन्त वा भागीरथी भट्ट होऊन् वा साना अबोध छोरी होऊन् वा आठ दशक उमेर पार गरेका हजुरआमा नै किन नहोऊन् उनीहरूको चरित्र हत्या भएको छ, उनीहरूमाथि हिंसा भएको छ, अत्याचार भएको छ, धेरैको जघन्य हत्यासमेत भएको दृष्टान्त जीवित छ । यस्ता घटनाका दोषीलाई कानुनको दायरामा ल्याएर सजाय दिलाउनुको साटो पद, पैसा र पावरको दबाब दिएर मिलाउने प्रपञ्च रचिन्छ । 

यसरी बलात्कारका घटना मिलोमतो गराएकै कारण कतिपय छोरी–चेलीले प्राण त्याग गरेका छन् । हामी जतिसुकै आदर्शका कुरा गरे पनि हाम्रो समाज त यही हो, समाजका पात्रहरू उनै हुन् । बलात्कार पुरुषले गरेको, खास अपराधी ऊ हो तर उसबाट पीडित भएकी महिला, छोरी–चेलीलाई नै वास्तविक दोषी देख्ने समाजका सामु केही शब्द बाँकी छैन । हिजो पैसा र पावरको दबाबमा मिल्न सुझाउनेहरू भोलि शत्रु भएर उनै महिलाका सामु निस्कन्छन् । उनीहरू नै चरित्र र आदर्शका ज्ञान दिन थाल्छन्, हामी छोरीलाई चरित्र र संस्कारबारेमा ज्ञान दिन्छौं तर छोरालाई चरित्रवान् बन्न सिकाउँदैनौं । खोक्रो आदर्श र पीडाको रोदनमा पिल्सिएका छोरी–चेलीहरू पटक–पटक मरेर बाँच्नुभन्दा एकैपटक मर्ने प्रण गर्छन् र संसार त्याग्ने दुस्साहस गर्न पछि पर्दैनन् । एकातिर कलंकको टीका अर्कातिर छोरी–चेली मारिएको पीडा त्यो परिवारका बाउआमा कसरी बाँच्छन् ? कसरी बाँचेका होलान् ? यो कुराको लेखाजोखा कसले गर्ने ?कसरी गर्ने ? कहिले गर्ने ? जब यस्ता सवालहरू नै ओझेलमा पर्छन् भने अभियान मात्रै मनाउँदा कर्मकाण्डी कामको निरन्तरताजस्तै हुँदैन र ?

हिंसा अन्त्य मुखले भनेर हुँदैन, न त यो ब्यानरमा लेखेर मात्रै अन्त्य हुने सवाल हो । यो सवाल हर घरको सवाल हुनुपर्छ, हर परिवारको, हर समाजको, हर टोलको साझा सवाल हुनुपर्छ । हामी हाम्रा छोरी–चेली घटनामा पर्दा तात्तिन्छौं तर अरुका छोरी–चेली सोही प्रकृतिका घटनामा पीडित हुँदा, मारिँदा, असह्य पीडामा छटपटाउँदा वास्ता गर्दैनौं । यसले के देखाउँछ भने जसलाई पीडा पर्छ उसैले सहनुपर्छ, जसलाई केही परेको छैन उसले किन जागरुकता देखाउने ? उसले किन हिंसाबारे आवाज उठाउने ? ऊ किन नारा–जुलुसमा अघि बढ्ने ? यस्ता प्रश्नहरू उब्जिन थाल्छन् । राज्य संयन्त्र कमजोर भएका कारण दण्डहीनाताले प्रश्रय पाउँछ, अपराधहरू बढ्छन् र पीडितहरू झन्–झन् पीडामा पिल्सिन बाध्य हुन्छन् । 

हामी, म र मेरो होइन, हामी र हाम्रो नजरबाट सबै छोरी, सबै नारीलाई नियाल्न सक्छौं भने हाम्रो व्यवहार पक्कै पनि फरक हुन्छ र त्यो फरकपनले व्यवहारमा पनि अवश्य फरकपन ल्याउँछ । सोह्र दिन अभियान चलाउँछौं, तर यो अभियान महिलाका लागि हो भन्ने कुरा देशका कति भेगका महिलालाई थाहा छ ? देशका कति महिलाले यसबारे जानकारी पाएका छन् ? अझ हामी त हरेक वर्ष महिला दिवस पनि मनाउँछौं तर यसको खास हेक्का ज्याला मजदुरी गर्ने महिलालाई छ कि छैन ? आजको आधुनिक जमानामा पनि दोस्रो दर्जाको उपमा पाएका महिलालाई थाहा छ कि छैन ? यसबारे जानकारी राख्दैनौं तर पनि कार्यक्रम त भव्य रूपमा मनाएकै हुन्छौं । ब्यानरमा होइन व्यावहारिक रूपमा हामी प्रस्तुत हुन कहिले सिक्ने ?

कागजमा महिला अधिकार र समानताका बारेमा धेरै कुरा लेखिए तर व्यवहारमा धेरै महिला अझै पनि हिंसा सहेर बस्न बाध्य छन् । उनीहरू नचाहेर पनि हिंसा सहरै जिन्दगी बिताएका छन् । हरेक वर्ष मनाएकै कारण अभियान मनाऔं भन्ने परम्परालाई कायम नराखौं । व्यवहारमा पनि अभियानको वास्तविकता झल्किनुपर्छ । हामीले मनाएका अभियानले खास अर्थ राख्न सक्नुपर्छ । कर्मकाण्डी अभियान होइन खास देखिने अभियान चल्नुपर्छ । सहरमा नारा लगाएर मात्रै अभियान चलाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । महिला हिंसा अन्त्यका लागि हरेक घरपरिवार र हरेक परिवारजनको साथ र सहयोग चाहिन्छ । हामी सबैको साझा अभियान हुन सक्यौं भने वास्तविक रूपमा अभियान सफल हुन्छ । यो वर्षको अभियान सफल होस्, हिंसामा परेका महिलाले न्याय पाउनुपर्छ । महिला हिंसाविरुद्धको अभियानमा सबैले हातेमालो गरौं । 

हामीले के नारा लगायौं वा के अभियान चलायौं भन्ने कुरा महत्वपूर्ण होइन हामीले कस्तो कर्म गर्‍यौं वा कस्तो व्यवहार गर्‍यौं भन्ने कुरा महत्वपूर्ण हो । हिंसा कसैले कसैमाथि नगरौं, हिंसामुक्त समाजको निर्माणमा सबैजना एकाकार हुन सक्यौं भने मात्र हामीले चाहेजस्तो हिंसामुक्त समाज बन्छ । महिलामाथिको हिंसालाई नारा र प्रचारमा होइन व्यवहारमा देखिने गरी अन्त्य गरौं । ‘म हिंसा गर्दिन र म हिंसा सहन्न’ भन्ने अनूभूति गर्न सिकौं ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>