फुड कोचिङ ओभर इटिङले रोग

राजेश घिमिरे

आश्विन ४, २०७८ फुड (खाना) र कोचिङ (प्रशिक्षण) मिलेर ‘फुड कोचिङ’ शब्दावली बनेको हो । यसबाट आहार–विहारबाटै कसरी निरोगी रहन सकिन्छ भन्ने ज्ञान प्राप्त गर्न सकिन्छ । कुनै पनि व्यवसायलाई मार्गदर्शन चाहिएजस्तै खानामा पनि कस्तो खाना, कसरी र कुन समयमा खाने भन्ने जानकारी राख्नुपर्छ । डाइटिसियन, न्युट्रिसनिस्टले कुनै पनि रोग लागिसकेपछि खानाको तरिका र तालिका बताउँछन्, रोगीहरूलाई गाइड गर्छन् । ‘फुड कोचिङमा भने ‘प्रिभेन्सन इज बेटर देन क्युयोर’ को फर्मुला लागू हुन्छ अर्थात् रोग लाग्नै नदिने तरिका अपनाइन्छ । यसमा खानालाई औषधिका रूपमा उपभोग गर्ने विधि सिकाइन्छ । खानाद्वारा शरीर, दिमाग र मनलाई निरोगी कसरी राख्ने भन्ने कुरा नै ‘फुड कोचिङ’ को मुख्य सूत्र हो ।

शरीरको प्रकृतिअनुसारका गुणस्तरीय खाना उपभोग गरी गुणस्तरीय जीवन शैली बिताउन यसले सहयोग गर्छ । नेपालमा ‘फुड कोचिङ’ नयाँ विषय हो । कुनै बेला म आफैं पनि कफ, पित्त, बाथले ग्रसित बिरामी थिएँ, जसलाई शास्त्रमा महारोग भनिन्छ । उतिबेला ढाड अह्ररो हुँदा मेरो एक महिनाको बच्चा बोक्न सक्दिनथें । ग्यास्ट्रिकले सताएर धेरै चिकित्सककहाँ धाएँ, थुप्रै औषधि सेवन गरें तर, ठीक भएन । जब म जापान गएर ‘फुड कोचिङ’ को प्रशिक्षण लिएँ, मैले आफूमा आहार–विहार परिवर्तन गरें । हाल म ४० किलोको वजन सहजै उठाउन सक्छु ।

हामी नेपालीहरूमा खानासम्बन्धी धेरै भ्रम छन् । खाएको जस्तो देखिनुपर्छ, खानेबेला बाहिर निकाले जस्तो, खातापिता परिवारका ‘यस्ता–यस्ता भनाइले रोग निम्त्याइरहेको छ । जस्तो कि, धेरै खायो भने मोटोघाटो भइन्छ, हट्टाकट्टा हुनु भनेको स्वस्थ हुनु हो । यस्ता प्रकारका भ्रमले हामी ग्रसित छौं । यस्तो मानसिकताले शरीरमा कफ, पित्त, बाथ उत्पन्न हुन्छ र त्यही नै दीर्घ रोगको कारण बन्न पुग्छ । तसर्थ फेरि खान पाउँदिन कि जस्तो गरेर खानामा लोभ गर्नु नै रोगको कारण बन्न पुग्छ ।

 

कस्तो र कसरी खाने ?

खानालाई औषधिका रूपमा उपभोग गर्ने कला जान्नु आवश्यक छ । ४० वर्ष कटेपछि भोजन गर्दा अन्नमा ७० प्रतिशत कटौती गर्दा उत्तम हुन्छ । यसो गर्दा शरीरभित्र टक्सिन र फ्याटको मात्रा कम हुन्छ । आफ्नो शरीरको प्रकृति र अवस्था हेरी आफूलाई सुहाउने भोजन गर्नु जरुरी छ । सकेसम्म बिहान चिसा फलद्वारा दिनको सुरुवात गरी तातो खानापछि ओछ्यानमा पस्नुपर्छ । सकेसम्म सूर्यास्तअघि खाना खानुपर्छ । शरीरलाई गह्रौं बनाएर होइन कि शरीरको आनन्दका लागि खाने बानी बसाल्नुपर्छ । ठोस आहार दैनिक एक पटक खाँदा राम्रो हुन्छ । जति खान मन लाग्छ दिनको समयमा खानुपर्छ । खानामा हरिया सागपात र फललाई प्राथमिकता दिनुपर्छ । साँझ पार्टी जानु छ भने दिनभरि उपवास बस्ने वा मध्यान्नदेखि बिहानको तालिका सुरु गर्नुपर्छ । पार्टीमा चिल्ला, गठिला खानेकुरा खाइने हुँदा भोलिपल्ट उपवास बस्दा लाभदायक हुन्छ । तरल पदार्थ पिएर बसेको उपवासले अघिल्लो दिनको गह्रौं खानपान मजाले पचाउन सघाउँछ । प्लास्टिकका भाँडामा राखेको जुनसुकै कुरा प्रयोग गर्नु हानिकारक छ । सम्भव भए माटोको भाँडामा माड काटेर पकाएको भात खानुपर्छ । तामाको जगमा राखेको पानी पिउनुपर्छ । आफ्नो शरीर र स्वास्थ्य आफ्नै हातमा निर्भर छ । बिहान वनस्पतिमा आधारित हल्का खाना खाने, दिउँसो ठोस खाना खाने र राति तातो झोलयुक्त खानेकुरा खानुपर्छ । फल खाँदा एकपटकमा एकै किसिमका फल मात्रै सेवन गर्नुपर्छ । विभिन्न फलको संमिश्रण गर्नु हुँदैन ।

हाम्रो शरीरभित्र अत्यधिक बलियो हाइड्रोक्लोराइड एसिड पनि छ । जसले शरीरका लागि आवश्यक ब्याक्टेरियालाई काट्ने काम गर्छ । त्यसैले त हाम्रो परम्परागत खानेकुरामा ढुसी उमारेर खाने चलन थियो । टुसा उमारेका गेडागुडी, च्याउ, गुन्द्रुक, गालेको अचार, दही वा जाँड शरीरलाई ब्याक्टेरिया आवश्यक छ भनेरै खाइने खानेकुरा हुन् । स्वस्थकर र सर्वोत्तम खानालाई समय तालिका मिलाएर नियम परिधिभित्र बसेर खाइयो भने रोग लाग्दैन । खानेभन्दा बढी (ओभर इटिङ) ले रोग निम्त्याउँछ ।

गर्न नहुने

- बढीभन्दा बढी खान ।

- खानपानका साथै सुत्ने–उठ्ने तालिका परिवर्तन ।

- सहज वातारणभित्रै बसिरहन ।

- प्लास्टिक तथा यसका भाँडाकुँडाको प्रयोग ।

गर्नुपर्ने

- चिनीको साटो गुँड–सख्खर ।

- तेलको साटो घिउ वा तोरी र आलसको तेल ।

- नुनको साटो सिधेनुन तथा बिरेनुनको प्रयोग ।

- २८ पटकभन्दा बढी चपाएर खाने ।

 

(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>