घुम्दै खाना चाख्दै

भाद्र ९, २०७८ भौगोलिक बनावटअनुसार खानेकुरामा विविधता पाइन्छ । कुन ठाउँमा कस्तो खालको खानाको उत्पादन हुन्छ भन्ने कुरा त्यहाँको मौसमअनुरूप हुन्छ । अर्को कुरा त्यहाँ बसोबास गर्ने जातजातिअनुसार त्यस ठाउँको खानाको स्वादमा फरक पार्छ । त्यसैले खाना संस्कृतिसँग पनि जोडिएको हुन्छ ।

नेपालको रैथाने खाना विश्वमा चिनाउने अभियानमा लागेका सेफ तारा रायमाझी अहिले गाउँगाउँमा गएर रैथाने परिकार के–कस्ता रहेछन् भनेर खोज्दैछन् । ‘सबै खानेकुरा

पुरानै हो’ उनी भन्छन्, ‘मौसमअनुसार, भूगोलअनुसार पाइने खानेकुरालाई विभिन्न जातजातिले आफ्नै स्वादअनुसार पकाएर खाने रहेछन् र जातिअनुसार नै एउटा खानेकुराको नाम पनि फरक पाएँ ।’

नेपाल विभिन्न समुदायको बसोबास भएको थलो हो । यहाँ विभिन्न समुदायअनुसार थरीथरीका खानेकुरा पाइन्छ । चियाका लागि इलाम, सुकुटीका लागि धनकुटा, कालो सुँगुरका लागि धरान, चुकौनीका लागि पाल्पा, बरमाझिँयाको पेडा, नेपालगञ्जको चाट र राबडी, हिलेको तोङ्बा, भक्तपुरको जुजुधौ, मलेखुको माछा, चितवनको तास प्रसिद्ध मानिन्छ । त्यस्तै, ट्राउट माछा खान ककनी पुग्ने गर्छन्, एयरपोर्ट छेउछाउ सेकुवाका लागि चिनिन्छ ।नेपालमा खानाकै लागि चिनिएका धेरै ठाउँ छन्, जहाँ खानकै लागि भनेर यात्रा गरिन्छ ।

दाङको पहिचान बदिया भाले

दाङको लोकप्रिय परिकारका रूपमा चिनिएको बदिया भालेको मासु स्वादिष्ट मानिन्छ । यो विशेष प्रकारको भाले हो । जब चल्लाबाट भाले र पोथी छुट्टिने बेला हुन्छ त्यति नै बेला भालेको पेटबाट चिरेर अण्डकोष निकालिन्छ । चल्ला लगभग तीन महिनाको भएपछि बदियाका लागि उपयुक्त मानिन्छ ।

बदिया बनाएको चारदेखि पाँच महिनामा

भालेको मासु खानका लागि तयार हुन्छ । यसरी बन्ध्याकरण गरेको भाले बास्दैन, जसले गर्दा मासुको उत्पादन थप बढ्छ । थारु समुदायमा अत्यधिक प्रचलनमा रहेको भालेलाई बदिया बनाउने चलन अहिले त्यहाँका स्थानीयले अपनाएका छन् । यसको मूल्य सामान्य भालेको भन्दा महँगो पर्छ । यसरी पालिएको भालेको मासु निकै स्वादिलो र भिन्न हुने बताउँछन्, रेस्टुरेन्ट व्यवसायी थमनबहादुर भण्डारी । स्थानीय खानालाई ब्रान्डिङ गर्ने सोचले उनले आफ्नो रेस्टुरेन्टमा यसको परिकार बनाएर बेच्न थालेको बताए ।

जलेश्वरको लिट्टी चोखा

लिट्टी चोखा विहारको सिग्नेचर डिस हो । यो परिकार जलेश्वरमा प्रसिद्ध छ, जुन निकै स्वादिष्ट र पौष्टिक हुन्छ । लिट्टी र चोखा दुई परिकार मिलाएर खाइने यो खाना जलेश्वर आसपासको क्षेत्रमा लोकप्रिय छ र उत्तिकै स्वास्थ्यवर्द्धक पनि छ । लिट्टीका लागि आटाको पिठोमा मसला मिसाएर गोलो बनाइन्छ । चोखाका लागि उसिनेको आलुमा तेल, हरियो खुर्सानी, प्याज, लसुन आदि मिसाइन्छ । यसमा तोरीको तेल प्रयोग गरिने भएकाले यसको स्वाद र सुगन्ध विशिष्ट हुन्छ ।

भैरहवाको फालुदा

फालुदा गर्मीको पेय पदार्थ हो । गर्मीमा शीतलता प्रदान गर्नका लागि फालुदा निकै उपयोगी मानिन्छ । यो परिकार विशेषगरी तराईमा लोकप्रिय मानिन्छ । फालुदाको जग इरानलाई मानिन्छ । जहाँको एक ‘फलोदेह’ मिठाईं लोकप्रिय थियो । मध्यएसिया र राजवंशीले यो मिठाईं १६ औं शताब्दीमा भारतमा भित्र्याएका थिए । फालुदा वा रबडी फालुदा नुडल्सबाट बनेको चिसो परिकार भारत हुँदै नेपाल आएको हो ।

यसलाई ‘नुडल्स भएको आइसक्रिम’ पनि भनिन्छ । फालुदा बनाउनका लागि दूध, तुलसीको बीज, सेबई, राबडी, ड्राईफ्रुट्सको प्रयोग गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । फालुदामा कुल्फीको साटो भेनिला आइसक्रिमको पनि प्रयोग गरेको पाइन्छ ।

ट्राउट माछाका लागि ककनी

ककनी ट्राउट माछाले लोकप्रिय छ । रेन्वो ट्राउट चिसो र बगेको सफा पानीमा हुर्कने भएकाले यसको स्वाद निकै मीठो हुन्छ । काठमाडौंमा गर्मी बढेसँगै ककनीमा माछा खान जानेको संख्या पनि बढ्ने गर्छ । प्रायः गर्मी छल्नका लागि मात्र नभएर ट्राउट माछा खानकै लागि ककनी पुग्ने गरेको ग्रिन भिलेज रिसोर्ट एण्ड ट्राउट फार्मका संस्थापक विपुल शाक्य बताउँछन् । कोभिड–१९ले ट्राउट व्यवसायमा असर पारे पनि यसको बजार अझै खस्केको छैन । जिउँदो हजार रुपैंयाँ प्रतिकिलोग्राम मूल्य पर्ने ट्राउट माछा पकाएर १५ सय रुपैंयाँ केजीमा बेचिन्छ ।

काठमाडौंबाट ककनी पुग्न २३ किलोमिर बाटो छिचोल्नुपर्छ । बालाजु माछापोखरी हुँदै बाइपासबाट ककनी पुग्न सकिन्छ । नुवाकोट जिल्लामा अवस्थित ककनीबाट सूर्योदय र सूर्यास्तको लोभलाग्दो दृश्य देख्न सकिन्छ । साथै त्यहाँबाट सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, लमजुङ, माछापुच्छ्रेलगायत दर्जन बढी हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । हाइकिङका लागि पनि ककनी प्रख्यात मानिन्छ । त्यहाँ थुप्रै घुम्ने ठाउँ छन् । मोमोरियल पार्क, ऐतिहासिक महत्व बोकेको बसन्ती दरबार, स्काउट भवन तारकेश्वर झरना, तारकेश्वर महादेव, पाँच माने आदि ठाउँ घुम्न सकिन्छ ।

लाफिङको केन्द्र बौद्ध

खासगरी युवायुवतीहरूबीच लोकप्रिय छ, लाफिङ । हुन त काठमाडौंका विभिन्न ठाउँमा लाफिङको स्वाद चाख्न पाइन्छ । तर बौद्ध लाफिङकै लागि चिनिएको छ । लाफिङ चिसो नुडल्स हो । लसुन र टिमुरको मिश्रित फ्लेवर आउने लाफिङ अमिलो र पिरो परिकार हो । तिब्बती परिकार मानिने लाफिङ खासमा चिनियाँ परिकार हो । चिनियाँ शब्द लिङ अर्थात् पिरो र फेन अर्थात् नुडल्स । मैदा वा चनाको पिठोलाई मुछेर स्टिम गरी गोलो आकारमा काटिन्छ । त्यसमा नुन, खुर्सानी, भेनेगर, लसुन, टिमुर मिसाइन्छ । लाफिङ सुख्खा वा झोल दुवैमा खान सकिन्छ । यो परिकार किशोर–किशोरीबीच लोकप्रिय छ ।

पाटनढोकाको कोन पिज्जा

‘क्याफे दि पाटन’ सन् १९८३ मा विदेशी ग्राहकलाई लक्षित गरेर सुरु गरिएको संस्थापक प्रतीक शाक्य बताउँछन् । किनभने त्यतिबेला उनीहरूकै लागि भनेर राजधानीमा त्यति रेस्टुरेन्ट खुलेका थिएनन् । पुरातात्विक महत्व बोकेको पाटनमा घुम्नकै लागि भनेर विदेशीहरू आउँथे । विदेशी ग्राहकलाई लक्षित गरिए पनि विदेशी र स्वदेशी ग्राहकबीच राम्रो सन्तुलन मिलाएको शाक्य जिकिर गर्छन् । तर जब ०७२ सालमा भूकम्प गयो, त्यसपछि व्यवसायमा ठूलो धक्का व्यहोरे । त्यसयता उनले नेपाली युवाहरूको रुचि, आवश्यकता र उनीहरू के चाहन्छन्, उनीहरू रेस्टुरेन्ट जाँदा के खोज्छन् ? भन्ने कुराको अध्ययन गरे । त्यही परिवर्तनको उत्पादन थियो, कोन पिज्जा ।

एक अलग किसिमको प्याकेज बनाउने सोच भएकाले परिचित र सबैको प्रिय खाना पिज्जालाई फरक र स्टाइलिस तरिकाले पेस गरियो । तर यसका लागि चुनौती धेरै थिए । किनभने कोनमा चीज टपिङ गर्दा कोन टुट्ने गर्थ्यो । अहिले कोन पिज्जा खानेको भीड धान्नै नसकिने हुन्छ । आइसक्रिमको जस्तो कोनमा पाइने यो पिज्जा पाटनढोकामा प्रसिद्ध छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>