याङको चमत्कार

लक्ष्मी लम्साल

भाद्र २, २०७८ जापानको टोकियोमा ३२ औं ग्रीष्म कालीन ओलम्पिकमा चीनको सुदूरपूर्वी चच्याङ प्रान्तकी २१ वर्षीया याङ छियानले पहिलो स्वर्णपदक जितिन् । सुटिङ खेलमा जितेको उक्त पदकले चीनमा खुसीको संचार भयो । किनभने उनले चीनका लागि स्वर्णपदकको खाता खोलेकी थिइन् । खुसियालीमा चीनभरि बधाइ साटासाट भइरहँदा याङकी आमाले भनिन्, ‘एकपछि अर्को गर्दै यहाँसम्म आइपुग्नु याङका लागि सजिलो थिएन छोरीप्रति गर्व लाग्छ । टोकियोबाट आएपछि उसका लागि मन पर्ने समुद्री खानेकुरा टेबुलभरि राखिदिनेछु ।’ सुटिङमा याङले जितेको स्वर्णपदक टोकियो ओलम्पिकमै घोषित प्रथम स्वर्णपदक भएर उनको चर्चाले व्यापकता पाएको हो ।

सन् २००० मा चच्याङ प्रान्तको निङ्पोयिनचौमा जन्मिएकी याङ ११ वर्ष उमेर छँदै सुटिङ खेलकुदमा होमिएकी हुन् । उनले थप ११ वर्षको निरन्तर अभ्यास, लगन र मेहनतबाट इतिहास रचिन् । तर, प्रतियोगितास्थलमा स्वर्ण जितेको घोषणा हुँदा याङको अनुहारमा खासै प्रतिक्रिया नदेख्दा धेरैलाई आश्चर्यमा पारेको थियो । चिनियाँहरूको अनुहारमा हठात् परिवर्तन देखिइरहँदा स्वर्ण विजेता याङको अनुहार निकै संयमित र एकदम शान्त देखिन्थ्यो । शायद जितपछि शालीनता प्रदर्शन गर्ने उनको व्यवहारले यस्तो भएको धेरैले लख काटे ।

मानिसको जीवनमा गन्तव्य त छ तर त्यो पूर्णरूपमा अपरिवर्तनीय भने नभएको याङको भनाइ छ । ‘जीवन तासको खेलजस्तै हो । कुन कार्डले खान्छ भनेर अनुमान गर्न सकिँदैन तर हामी हातमा भएका कार्डहरू छनोट गर्न सक्छौं, जसबाट मानिसहरू थप आत्मविश्वासी भई बाजी मार्ने सम्भावना बनाउन सक्छन्’ याङले भनिन्, ‘तिनीहरूलाई धन्यवाद जसले हरेक दिनको दिक्कलाग्दो तालिमको क्रममा गुनासो गरेनन्, खेलमा निराशाको सामना गर्नबाट बिच्काएनन् र तनावपूर्ण परिस्थितिमा उफ्रिएर छोडी गएनन् ।’

सन् २०११ मा राष्ट्रिय टिमका प्रशिक्षक युलिह्वाको प्रशिक्षणमा निङ्पो स्पोर्टस स्कुलको प्राथमिक तहको कक्षा ४ को सुटिङ टिममा याङ छानिएकी थिइन् । सन् २०१६ को फेब्रअरीमा याङले छिङ्ह्वा विश्वविद्यालयको हिउँद कालीन खेल परीक्षामा उत्तीर्ण भई छिङ्ह्वा सम्बद्ध माध्यमिक विद्यालयको कक्षामा प्रशिक्षण सुरु गरिन् । सन् २०१७ मा याङ कलेज प्रवेशको फलामे ढोका मानिने चिनियाँ ‘काओखाओ’ उत्तीर्ण भएपछि छिङह्वा विश्वविद्यालयको ‘स्कुल अफ इकोनोमिक्स एण्ड म्यानेजमेन्ट’ की छात्रा बनिन् । याङले छिङह्वा विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेपछि राष्ट्रिय सुटिङ टोलीमा भर्ना भइन् । सन् २००० पछि जन्मिएकी एकजना जवान खेलाडीको हैसियतले ओलम्पिक खेलकुदमा सहभागी भएको यो पहिलो पटक थियो । विभिन्न गुणवत्ताका साथ बलियो इच्छाशक्ति र कडा मेहनत एक खेलाडीमा हुनुपर्ने गुण हो, यही सूत्रलाई पछ्याउँदै याङले पहिलो अन्तर्राष्ट्रिय खेलकुदमै इतिहास बनाइन् ।

खेलाडी याङ प्रोफेसनल मात्रै छैनन्, एकजना सहयोगी पनि हुन् । उनी ११ वर्षकी छँदा घर छाडेर विद्यालयमा भर्ना भएकी थिइन् । भर्नाको पाँच महिनापछि याङकी आमा गम्भीर बिरामी भइन् । आमाको रेखदेखका लागि उनले स्कुल छाडेर घर फर्किने निर्णय गरिन् । तर, उनकी आमाले छोरीलाई विद्यालयमै रहन सल्लाह दिएकी थिइन् । आमाले त्यसताका भनेकी थिइन्, ‘जब तिमीले राम्रो नतिजा हासिल गर्छ्यौ र पाँचतारे झण्डा फहराउनेछौ, त्यही नै मेरा लागि सबैभन्दा शक्तिशाली औषधि हुनेछ ।’ अन्ततः टोकियो ओलम्पिकपछि आमाको सपना पूरा भएको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>