आमाको नामबाट नागरिकता नपाउँदा धेरै जना सरकारी सेवाबाट वञ्चित छन् ।
आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था संविधानमा छ । संविधान जारी भएको छ वर्ष भइसक्यो । तर, गोकर्णेश्वर नगरपालिका–५ का यवेश अधिकारीले पटक–पटक प्रयास गर्दा पनि आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाएका छैनन् ।
यवेश एक्ला भने होइनन् । सर्लाहीकी अञ्जली साहको अवस्था पनि उस्तै छ । जन्मेको छ महिना नपुग्दै बुवाले उनकी आमा र उनलाई छाडेकाले समस्यामा भएको हो । अहिले आमाको नामबाट नागरिकता लिन पटक–पटक प्रयास गर्दा पनि उनले पाउन सकेकी छैनन् । नागरिकता नभएकै कारण उनले विदेश गएर पढ्ने अवसर समेत गुमाइन् । नागरिकताकै कारण रुचि नभएको विषय उनले पढ्नुपरेको बताइन् । सरकारी सेवाबाट वञ्चित रहेको उनको गुनासो छ । आमाको वंशज नागरिकता भए पनि अञ्जलीलाई भने नागरिकताकै लागि भौंतारी रहनुपरेको छ ।
त्यस्तै, भरतपुर महानगरपालिका–१ का विकास नेपालीले पनि आमाको नामबाट नागरिकता पाएका छैनन् । अझ उनकी आमा बितेपछि दलालले आमाको नामको जग्गासमेत हडपेका छन् । नागरिकता नहुँदाको पीडाबारे उनले यसरी बेलिविस्तार लगाए, ‘विद्यालय र क्याम्पसमा अध्ययनका क्रममा प्रथम भएको थिएँ, दोस्रो हुने साथीले बैंकमा प्रबन्धकको जागिर खाएका छन्, म नागरिकता नभएकैले अलपत्र छु, आमाले जोडेको सम्पत्तिमा पनि अरुले अधिकार जमाउन खोजेका छन् ।’
काठमाडौं महानगरपालिकाकी सरिता (नाम परिवर्तन) ले आमाको दोस्रो विवाहपछि नागरिकताकै कारण आपूmले पहिचानसमेत गुमाउनुपरेको गुनासो गरिन् । ‘विद्यालयमा बुवाको नाममा काकाको नाम लेखिएको थियो । शैक्षिक प्रमाणपत्रमा काकाकै नाम बाबुको महलमा लेखिएको छ’ उनले भनिन्, ‘मेरो पहिचान नै सङ्कटमा परेको छ । नागरिकताकै कारण मेरो उच्च शिक्षासमेत पूरा हुन सकेन ।’
धनुषास्थित गणेशमान सारनाथ नगरपालिका–३ का इन्द्रजित साफीले साहुसँग पाँच लाख रुपैयाँ ऋण लिएर इन्जिनियरिङ विषय अध्ययन गरे । अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम सुरु गरेको केही दिनमै उनीसँग नागरिकताको प्रतिलिपि मागियो । प्रतिलिपि उपलब्ध गराउन नसकेपछि आफूले रोजगारीबाट हात धुनुप¥यो । अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएकाले अहिले आफू र आफ्नो परिवार नै चिन्तामा डुबेको उनले बताए । ‘साहुको ऋण बढेर १५ लाख भएको छ, रातदिन पैसा माग्न आउँछन्, नागरिकता नभएकै कारण मैले पाएको जागिरसमेत गुमाउनुप¥यो, अब मैले कसरी ऋण तिर्ने, साहुको सधैंको किचकिचले आत्महत्या गरौं कि जस्तो लाग्न थालेको छ’ उनले भने । उनले आफ्ना चार भाइले १२ कक्षासम्म र बहिनीले स्नातक अध्ययन गरे पनि नागरिकता नभएकै कारण सामान्य रोजगारीसमेत पाउन नसकेको बताए । धनुषाकै चन्दन मुखर्जीले पनि नागरिकता नभएकै कारण यस्तै समस्या भोग्नुपरेको छ । यसैगरी महोत्तरीका अर्जुन साहले नागरिकता नभएकैले आफ्नो पढाइलाई अगाडि बढाउन नसकेको बताए ।
महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संविधान सभाबाट पारित संविधान कार्यान्वयनमा आए पनि नागरिकताको विषय भने अपूरो भएको बताए । संविधानको धारा १२ र ३८ मा उल्लिखित नागरिकतासम्बन्धी नयाँ व्यवस्थाबमोजिम नागरिकता ऐनमा संशोधन नभएकाले यो विषय कार्यान्वयनमा ल्याउन कठिन भएको उनको भनाइ छ ।
नागरिकतामा पटक–पटक राजनीति हुँदै आएकाले पीडित झन्–झन् दुःखी छन् । त्यसैले चालू अधिवेशनमै नागरिकता विधेयक पारित गराउन नागरिकता पीडित दबाब दिन लागिपरेका छन् । साउनको तेस्रो साता संसद् भवनअगाडि धर्ना दिने तयारी भएको पीडित साफीले बताए । विधेयक पारित नभएसम्म धर्ना जारी राख्ने नागरिकता पीडितहरूको तयारी छ । पचासभन्दा बढी नागरिक संस्थाका तर्फबाट नागरिकतासम्बन्धी समस्या छिटो समाधान गर्न संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई ज्ञापनपत्र पनि बुझाइ सकिएको छ । मञ्चमा ५ सयभन्दा बढी नागरिकताविहीनको अभिलेख छ ।