अनलाइन कक्षा: बालबालिका र सिकाइ

असार ३१, २०७८

विश्व कोरोना कहरले आक्रान्त छ । यो कहरको अन्त्य कहिले हुने हो भन्ने अनुमान गर्न सकिने अवस्था छैन । बालबालिकाहरू विद्यालय जानबाट वञ्चित छन् । अघिल्लो वर्षको अन्त्यमा केही दिन विद्यालय संचालन भएबाहेक करिब एक वर्षभन्दा बढी समय विद्यार्थीहरू घरमै बसी अध्ययन गर्दैछन् । सबै विद्यालयका लागि अनलाइन कक्षा अनिवार्यजस्तै भएको छ । सुरुमा बेवास्ता गरेका विद्यालयले पछिल्लो समय यो कक्षा सक्रिय रूपमा संचालन गर्दैछन् । तर, यसले बालबालिकामा विभिन्न समस्या देखिएको भन्दा चिन्तासमेत व्यक्त गर्न थालिएको छ । कतिपय अभिभावक आफ्ना बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै चिन्तित छन् ।  

अनलाइन कक्षाका फाइदा

–घरमै बसी अध्ययन गर्ने हुनाले विद्यालयसम्म जाने समय र पैसाको बचत हुनुका साथै लामो समयावधिको विचार गर्दा अनलाइन कक्षा सस्तो पर्छ ।

–आवश्यकतानुसार जुनसुकै बेला पनि कक्षा संचालन गर्न सकिन्छ ।

–सिकाइका क्रममा केही कुराको खोज वा अद्यावधिक (अपडेट) गर्नुपरे तत्कालै गर्न सकिने तथा त्यसको सम्प्रेषण पनि छिटो हुन्छ ।

–देशका दूरदराजका ठाउँमा पनि लागू गरी शिक्षाको पहुँचको खाडललाई सजिलै पुर्न सकिन्छ  ।

–बिजुली र इन्टरनेटको मात्र पहुँच भएमा आकस्मिक प्राकृतिक प्रकोपमा पनि कक्षा संचालन गर्न सकिने यसको सबल पक्ष हो ।  

–आफ्ना बालबालिकाको सिकाइबारे जानकारी सजिलै लिनुका साथै अभिभावकले शिक्षकस“गको सहजै वार्तालाप गर्न सक्छन् ।

अनलाइन कक्षाका बेफाइदा

–कम्प्युटर, टिभी वा मोबाइल स्क्रिनको माध्यमबाट गरिने अनलाइन कक्षा अर्थात् ‘भर्चुअल’ सिकाइ एकल डिजिटल सिकाइ हो । यसमा विद्यार्थीको आफ्नै आकांक्षा र पहल नभएकाले यो एकतर्फी हो । यस प्रकारको एकल अध्ययनले बालबालिकाको सिकाइ प्रभावकारी नहुन सक्छ । यस्तो सिकाइका लागि साना बालबालिकालाई स्क्रिनमा लामो समय केन्द्रित गराउन कठिन हुन्छ ।

–अनलाइन कक्षा लामो समय संचालन गर्दा बालबालिकाको आ“खामा समस्या हुन सक्छ । अधिकांश बालकालिका लामो समय संचालित अनलाइन कक्षापछि कम्प्युटर तथा टिभी हेर्ने र मोबाइल गेमसमेत खेल्ने गर्छन् । यसरी उनीहरूले लामो समय स्क्रिनअगाडि बिताउ“छन् । त्यसैले धेरै बालबालिकाको आँखा सुक्खा हुने तथा चस्मा लगाउनुपर्ने समस्या देखिन थालेको छ । अभिभावकहरूले आफ्ना बालबालिकाहरूको स्क्रिन समय कम गर्न विवेकपूर्ण भूमिका खेल्नुपर्छ ।

–प्रविधिमा सबैको पहुँच नहुन सक्छ । नेपालजस्तो विकासोन्मुख देशमा इन्टरनेट तथा बिजुलीको सुविधा गाउँ–गाउँसम्म समान रूपमा पुग्न सकेको छैन । त्यसैले सबैको सहभागिता यसमा कठिन छ । शिक्षकलाई ट्रेनिङ दिई कक्षा संचालन सम्बन्धमा शिक्षक र विद्यार्थीले साझा अवधारणा परिपालना गर्नुपर्ने हुन्छ ।

–अनलाइन कक्षामा शिक्षकको विद्यार्थीप्रतिको सिधा प्रभाव कम हुने भएकाले विद्यार्थीहरूले ग्रुप बनाएर च्याट गर्ने, कक्षामा ध्यान नदिने गर्छन्् । यस्तो अवस्थामा शिक्षक र विद्यार्थीमा स्व–अनुशासन आवश्यक पर्छ ।

 रञ्जना कायस्थ प्रधान

(लेखिका राजधानीस्थित एक निजी विद्यालयकी शैक्षिक निर्देशक हुन्)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>