‘सफलताका लागि काममा साधना आवश्यक’

उपासना घिमिरे

असार २, २०७८ कारागारमा रहेका बालबालिकाका क्षेत्रमा २५ वर्षदेखि सक्रिय समाजसेवी इन्दिरा रानामगर को जन्म ५१ वर्षअघि झापा शनिश्चरे–६ सालबारीमा भएको हो । बाल्यावस्थामा उनका दाजुहरू स्कुल जान पाए पनि उनी भने जान पाइनन् । वनमा घाँस–दाउरा, गाई–बाख्रा हेर्दैमा उनको बाल्यावस्था बित्यो । तर, पढ्नुपर्छ भन्ने चाहना उनीमा सानैदेखि थियो । त्यसैले त अंगारले कोरेर, धान कुट्न जाँदा भुसले कोरेर घरमै भए पनि पढ्ने गर्थिन् । घाँस–दाउरा गर्दै उनले अक्षर चिनिन् । १० वर्षको उमेरमा बल्ल उनको औपचारिक शिक्षा सुरु भयो । स्थानीय विद्यालयमा उनी एकै पटक पाँच कक्षामा भर्ना भई पढ्न थालेकी थिइन् । साथीभाइलाई गृहकार्य गर्न सिकाएवापत उनीहरूले दिएको कापी/कलम बोकेर उनी विद्यालय जान्थिन् । यसरी नै उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरिन् । त्यसपछि उनलाई ‘पढाइदिन्छु’ भनेर धेरै स्थानीय धनाढ्य उनीसमक्ष विवाहको प्रस्ताव लिएर आएका थिए । तर उनले त्यो प्रस्तावलाई स्वीकार गरिनन् । कलेजको शिक्षा प्राप्त गर्न दमक पुगिन् । दमक क्याम्पसबाट इन्दिराले अरुको घरको काममा सघाएर विद्यालयमा पढाउँदै आईकम उत्तीर्ण गरिन् । बीकम पढ्न भने काठमाडौं छिरिन् ।

एकजना चिनेका साथीमार्फत टाँक बनाउँदै पढाइ जारी राखिन् । पछि साहित्यकार पारिजातका आफन्तले संचालन गरेको एउटा विद्यालयमा पनि पढाइन् । त्यही क्रममा पारिजातसँग चिनजानपछि मानव अधिकार संगठनको सदस्य भई कारागार जानेहरूको तथ्यांक संकलनमा जुटिन् । कारागारमा आमाबुवासँगै बालबालिका पनि रहेको देखेपछि उनले अर्को छुट्टै संस्थामार्फत काम थालिन् । केन्द्रीय कारागारमा बालबालिका तथा निरक्षर आमालाई पढाउन सुरु गरिन् । कारागारका बालबालिकाका क्षेत्रमा काम गरेवापत उनले स्विडेनको ‘वर्ल्डस चिल्डेन प्राइज’ समेत पाइसकेकी छन् । सन् २०१७ मा उनी बीबीसीको १०० प्रेरणादायी महिलाको सूचीमा पनि परिन् । यसैगरी, ‘अन्तर्राष्ट्रिय मानवतावादी अवार्ड २०२०’ को शीर्ष तीन स्थानमा पर्न सफल भइन् । पछिल्लो समय कोरोना महामारीका कारण जारी लकडाउन/निषेधाज्ञामा सडकमा भोकभोकै रहेकाहरूलाई खाना खुवाउने र त्यसको जोहो गर्नमा उनी व्यस्त छिन् । ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ की अध्यक्ष इन्दिरासँग बालबालिकाका क्षेत्रमा काम गरेको अनुभव र भोगाइ तथा सडकमा भोकालाई खाना खुवाउने अभियानसहितका विषयमा केन्द्रित रही गरिएको कुराकानीको संपादित अंश :

 

समाजसेवामा रुचि कसरी बढ्यो ?

बाल्यावस्थामा धेरै दुःख पाएकीले समाजसेवातर्फ आकर्षित भएकी हुँ । अझ साना बालबालिकालाई कारागारमा देखेपछि मलाई यो क्षेत्रमा आउन थप प्रेरणा मिल्यो । हाल हाम्रो संस्थामा सानैदेखि हुर्काएर सँगै बस्ने उपत्यका र उपत्यकाबाहिर गरी २  सय जना भन्दा बढी छन् । सानालाई अन्य ठाउँमा लैजाँदा केयर नपुग्ला भनेर आफैंले हुर्काउने गरेका छौं । हामीले हुर्काएका बालबालिका स्कुल–कलेज पढ्ने भइसकेका छन् ।

धेरैको आमा’ हुन पाउँदा कस्तो महसुस गर्नुभएको छ ?

गर्व लाग्छ । बालबालिकालाई फिलिङ दिन पाउँदा म आफूलाई भाग्यमानी सम्झन्छु । जीवनमा एट्याचमेन्ट र माया ठूलो कुरा रहेछ । बालबालिकाहरूबाट हामी ले पनि माया पाइरहेका हुन्छौं, त्यो ठूलो कुरा हो । अझ आमा भनेर बोलाउँदा औधी आनन्द प्राप्त हुन्छ । यसो भनिरहँदा कतिपयले बच्चालाई यस्तो गर्‍यौ, उस्तो गर्‍यौ पनि भन्छन् । जे होस्, ‘धेरैको आमा’ बन्न पाउँदा खुसी लाग्छ ।

पछिल्लो समय सडकमा भोकाहरूलाई खान खुवाउन थालेको एक वर्षभन्दा बढी भयो, खर्च कसरी पुगिरहेको छ ?

धेरै ठाउँबाट आर्थिक सहयोग प्राप्त हुन्छ । फन्ड रेज, स्पन्सरबाट सहयोग पाइरहेकी छु । समाज सेवा गर्छु भनेर मात्र हुँदो रहेन छ, आर्थिक सहयोग बढाउन आफूसँग क्षमता पनि हुनुपर्छ । सँगै इमान्दारीपूर्वक जिम्मेवारी पनि पूरा गर्नुपर्छ । नेपालीकै सहयोगबाट अहिले सडकमा खाना खुवाइरहेका छौं । हरेक दिन एक हजार जनालाई खाना र पानी बाँडिरहेका छौं । काठमाडौंको थापाथली, न्यूरोड, दरबार स्क्वायर, ठमेललगायतका क्षेत्रमा दिनहुँ खाना बाँडिरहेका छौं ।

बेसहारालाई सहारा र भोकालाई खान दिन पाउँदा कस्तो महसुस हुन्छ ?

असाध्यै आत्मसन्तुष्टि महसुस हुन्छ । महामारीका बेला अस्पतालमा धेरैजना अक्सिजन नपाएर रोइरहेका छन् । यति मात्रै होइन, बिरामी भएर अस्पताल जान सकिरहेका छैनन् । गरिबले खान पाएका छैनन् । त्यसैले यस्तो अवस्थामा एक छाक भए पनि प्रत्येक दिन केहीलाई खुवाउन पाएकोमा खुसी छु ।

महिला भएकैले काम गर्न कत्तिको सहज छ ?

धेरै अप्ठ्यारो छ तर पनि म आफ्नो काममा विचलित नभई लागिपरेकी छु । कतिपय ठाउँमा मलाई सम्मान गर्छन् भने कतिपय ठाउँमा खाना बाँडेर फोहोर भयो, अनुमति नलिई खाना बाँडे भनेर अपमान पनि गर्छन् । कतिले संस्थाको ब्यानर देखेर यसले नै हो अपराधी पाल्ने भन्छन् । यद्यपि बुझ्ने र सहयोग गर्ने प्रहरी पनि छन् ।

समाजसेवा गरेवापत धेरै ठाउँबाट सम्मानित हुनुभएको छ । सफलताको श्रेय कसलाई दिनुहुन्छ ?

यो श्रेय उनीहरूलाई दिन्छु, जसका लागि मैले काम गर्ने मौका पाएँ । उनीहरू नभएको भए म चिनिने थिइनँ, सफलता पाउँदिनथें । म मेरो सफलताको श्रेय मेरा बच्चाहरूलाई पनि दिन्छु, उनीहरूको प्रेमले मलाई खुल्ला हृदयी हुन, माया गर्न सिकायो ।

सफलता पाउन के गर्नुपर्ला ?

एउटा बच्चालाई राम्रोसँग हुर्काउन सक्नु नै मेरा लागि सफलता हो । समाजमा आफूले के दिन सकियो, कस्तो प्रभाव पारियो त्यही नै सफलता हो । कतिपयले सफल हुन्छु भन्ने रणनीति सुरुमै बनाउँछन्, असफल भएपछि त्यसलाई त्याग्छन् । सफल वा असफल भए पनि काम गर्न छाड्नु हुँदैन । सफलता सानो कुरामा हेर्नुपर्छ । कुनै पनि काम गर्दा संख्याभन्दा पनि गुणस्तरलाई हेर्नुपर्छ । साधनासाथ काम गरे एकदिन सफलता हात पर्छ । काम गर्ने बेलामा विभिन्न वाधा/अवरोध आइरहन्छन्, त्यसलाई पार गर्नुपर्छ ।

जीवन के हो ?

सुख र दुःखको सम्मिश्रण हो, जीवन । दुःखले पाठ सिकाउँछ । तर, दुःख छ भनेर पीडा लिनु हुँदैन । सायद सुखसयलमा हुर्केको भए अरुको दुःख र भोक महसुस गर्न सक्दिनथें । मैले जुन जीवन पाएकी छु, आफूलाई भाग्यमानी ठान्छु । समयलाई ख्याल गर्दै वास्तविक जीवन जिउन चाहनेहरूले शारीरिक र मानसिक रूपमा सक्रिय रहनुपर्छ । सुख–सुविधामा मात्र बाँच्नेहरूले जीवन बुझेकै हुँदैनन् ।

भविष्यको लक्ष्य के हो ?

मेरो त जिन्दगी र भविष्य नै बालबालिका र पीडामा रहेकाको सेवा गर्नु हो । मेरो जीवन रहेसम्म यही क्षेत्रमा लागिरहन्छु ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>