Successfully Copied

स्वास्थ्यवर्द्धक सोयाबिन

सोयाबिन बढी खाँदा शरीरमा ‘इस्ट्रोजन’ बढ्न सक्छ । यो एक प्रकारको हर्मोन हो ।

संगीता लामिछाने, पोषण विशेषज्ञ

 

स्वास्थ्यको दृष्टिकोणले भटमास (सोयाबिन) धेरै राम्रो मानिन्छ । यसबाट धेरै प्रकारका खाद्यपदार्थ बनाइन्छ । तीमध्ये सोया फ्लोर, सोया प्रोसी, तोफु, सोया मिल्क, सोया ससेज, सोयाबिन तेल, सोया चुंक वा मस्यौरा आदि हुन् । सोयाबिनबाट उत्पादित वस्तुमा प्रशस्त मात्रामा ‘एन्टिअक्सिडेन्ट’ र

‘फाइटोन्युट्रिएन्ट’ पाइन्छ । विशेषगरी दक्षिण एसियाली मुलुकमा धेरै प्रयोग गरिने भटमासको मस्यौरा पछिल्लो समय अमेरिकामा समेत उत्पादन र उपभोग हुने गरेको छ ।

प्रोटिनयुक्त सोया चंक वा मस्यौरा हाम्रो स्वास्थ्यका लागि एकदमै उपयोगी छ । विशेषगरी शाकाहारीका लागि कटेज चीज र सोया चुंकमा बराबर मात्रामा प्रोटिन पाइन्छ । सोयाबिनलाई तरकारी बनाएर, साँधेर, पुलाउमा राखेर, ससेज बनाएर वा विभिन्न परिकार बनाएर खान सकिन्छ । यसले शरीरको मांसपेशीलाई स्थूल राख्छ । १ सय ग्राम सोया चुंकमा ५२ ग्राम प्रोटिन, १३ ग्राम फाइबर, ३५ ग्राम भिटामिन र मिनरल्स पाइन्छ । अण्डा र दूधमा पाइने प्रोटिन र सोयाबिनमा पाइने प्रोटिन बराबर नै हुन्छ । सोयाबिन चुंकले मांसपेशी विकास गर्नुका साथै केश तथा हड्डीलाई राम्रो गर्छ । शरीरमा भएको नराम्रो चिल्लोलाई पनि यसले कम गर्नमा सहयोग गर्छ । तौल कम गर्न पनि यो उपयोगी हुन्छ ।

बेफाइदा पनि

सोयाबिन बढी खाँदा शरीरमा ‘इस्ट्रोजन’ बढ्न सक्छ । यो एक प्रकारको हर्मोन हो । यसले महिलामा हुने महिनावारी र प्रजनन प्रणालीमा नकारात्मक असर पार्छ । तौल बढ्नुका साथै शरीरमा पानीको मात्रालाई पनि कम गर्छ । कब्जियतको समस्याका साथै धेरै पिसाब लागिरहने हुनसक्छ । प्रोटिन धेरै मात्रामा सेवन गर्दा युरिक एसिडको मात्रा बढाउँछ । जसले किड्नी खराब हुनुका साथै जोर्नी पनि दुख्छ ।

कति मात्रामा लिने ?

सधैं २५ देखि ३० ग्रामसम्म खाँदा स्वास्थ्यमा कुनै असर गर्दैन । थोरै मात्रामा सेवन गर्दा ‘इस्ट्रोजन’ हर्मोनको लेवल र युरिक एसिड बढ्दैन । सोयाबिनको मात्रा मिलाएर खाए धेरै फाइदा हुन्छ ।

 Image