Successfully Copied

गर्भावस्थाका तस्बिर देखाउने ट्रेन्ड

प्रियंकाले आफ्नो बढेको पेट देखाएर तस्बिर खिचेकी छन् । आयुशमान र प्रियंकाको उक्त तस्बिरमा लेखिएको छ, ‘यस वी आर प्रेग्नेन्ट ।’

अभिनेतृ प्रियंका कार्की गर्भवती भएकी छन् । अघिल्लो वर्ष मात्रै उनको आयुष्मान देशराज जोशीसँग धुमधामका साथ विवाह भएको थियो । विवाह लगत्तै लकडाउन भयो । त्यसपछि सार्वजनिक कार्यक्रममा खासै देखा परेनन् । चलचित्रको काम पनि सुस्तायो । हालै मात्र उनीहरूले सार्वजनिक गरे, गर्भावस्थाको तस्बिर ।

प्रियंकाले आफ्नो बढेको पेट देखाएर तस्बिर खिचेकी छन् । आयुशमान र प्रियंकाको उक्त तस्बिरमा लेखिएको छ, ‘यस वी आर प्रेग्नेन्ट ।’

गर्भवती भएको कुरा यसरी खुलस्त गर्ने उनी एक्ली अभिनेतृ भने होइनन् । यसअघि धेरै अभिनेतृले यसरी नै गर्भावस्थापछि बढेको पेट देखाई तस्बिर खिची सार्वजनिक गरिसकेका छन् । यसलाई उनीहरूले महिला सशक्तीकरणकै एउटा पाटोका रूपमा अर्थ्याउने गरेका छन् ।

गर्भावस्था कुनै पनि दम्पतीका लागि विशेष क्षण हो । आफ्नै कोखको सन्तान जन्माउने उत्सुकताले उनीहरूमा बेग्लै तरङ्ग पैदा गर्छ । त्यसैले दम्पती र उनका परिवारकै लागि यो एक ‘शुभ–समाचार’ हो । यद्यपि गर्भ रहेपछि महिलाहरू त्यसलाई खुला रूपमा सार्वजनिक गर्न असहज मान्छन् । आफ्नो ठूलो पेट लुकाएर हिँड्ने र बाहिर निस्कनै लजाउँछन् । उनीहरू भरसक आफ्नो पेट लुकाउने यत्न गर्छन् । खुकुलो पहिरन लगाएर हिँडडुल गर्छन्, ताकि बढेको पेट नदेखियोस् ।

तर, पछिल्लो समय यसबारेको संकोच हट्दैछ । गर्भावस्थालाई समेत उत्सवकै रूपमा मनाउने क्रम सुरु भएको छ । त्यसो त हाम्रो पूर्वीय संस्कारमा पनि गर्भावस्थामा उत्सव मनाउने चलन थियो । गर्भ रहेपछि दही–चिउरा खाएर त्यसमा खुसी मनाउने गरिन्थ्यो । पछिल्लो समय दही–चिउरा ख्वाउने संस्कार कम हुँदै गएको छ भने ‘बेबी सावर’ को ट्रेन्ड बढ्दो छ । शिशु जन्मनुअघि ‘बेबी सावर’ मनाउने गरिएको छ ।

त्यति मात्र होइन, गर्भ रहेपछि बढेको पेट देखाएर फोटोसुट गर्ने प्रवृत्ति पनि मौलाएको छ । यसमा नेपाली सेलिब्रेटीहरू अग्रपंक्तिमा छन् । सामाजिक सञ्जालले यसमा थप साथ दिएको छ । ‘बेबी बम्प’ को फोटोसुट गर्दा दम्पती नै सामेल हुन्छन् । उनीहरूले खुसीको भावभंगीका साथ तस्बिर सार्वजनिक गर्छन् । गर्भावस्था पनि महिलाको जीवनको एउटा खुसीको चरण हो भन्ने मनोविज्ञानलाई पनि बल पुर्‍याएको छ । यो एक महिलाको उत्सवका रूपमा लिन सकिन्छ । फोटोसुटमा पति–पत्नी दुवै सामेल हुनाले उनीहरूबीचको सम्बन्ध पनि उजागार गर्छ । यति मात्र नभएर आमा–बुवा र बच्चाबीच प्रेमको सुरुवात पनि हो ।

प्रियंका कार्कीले जस्तै तस्बिर सार्वजनिक गरिरहँदा अंग्रेजीमा ‘वी आर प्रेग्नेन्ट’ अर्थात् ‘हामी गर्भवती भयौं’ भनी लेखेकी थिइन् । उनले ‘हामी’ भनी गरेको सम्बोधनमा धेरै प्रतिक्रिया आएको थियो । कतिले त त्यसमा श्रीमान् र श्रीमती दुवैको सहभागिता हुने भएकाले ‘हामी गर्भवती भयौं’ भन्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएका थिए ।

यसअघि, अभिनेतृ निशा अधिकारीले पनि ‘बेबी बम्प’ को तस्बिर सार्वजनिक गरेकी थिइन् । उनले क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी हुन् । विवाहपछि जब निशा गर्भवती भइन्, त्यसलाई उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरिन् । त्यससँगै उनले आफ्नो पेटमा हुर्कदै गरेको बच्चाको धड्कनसँग रमाइरहेको उल्लेख गरेकी थिइन् ।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले रिवाज श्रेष्ठसँग विवाह गरिन् । विवाहको पाँच वर्षपछि उनी गर्भवती भइन् । बढ्दै गरेको पेट र त्यसमा श्रीमान्ले स्नेहपूर्वक स्पर्श गरिरहेको तस्बिर सार्वजनिक गर्दै माल्भिकाले लेखेकी थिइन्, ‘विवाहको पाँच वर्षपछि सन्तान जन्माउने योजना थियो । अहिले मेरो पेटमा स्वस्थ बच्चा हुर्कदैछ ।’ गर्भ रहेको २४ सातापछि उनले उक्त तस्बिर सार्वजनिक गरेकी थिइन् ।

यसरी ‘बेबी बम्प’ सार्वजनिक गर्ने अभिनेतृको सूचीमा सिर्जना सुब्बा पनि छिन् । उनले गर्भवती भएपछि बढेको पेट देखाउँदै फोटोसुट गरेकी थिइन् । सिर्जनाले फिल्मकर्मी पदम सुब्बासँग विवाह गरेकी हुन् ।

चलचित्र ‘चपली हाइट’ बाट चर्चामा आएकी अभिनेतृ विनीता बरालले ‘लिटिल विनीता’ भन्दै ‘बेबी बम्प’ सार्वजनिक गरेकी थिइन् । उन्मुक्त एवं खुसी मुद्रामा सार्वजनिक यो तस्बिरसँगै उनलाई बधाईको ओइरो लागेको थियो । विनीताको तिलक पौडेलसँग विवाह भएको थियो ।

गर्भावस्थाको आफ्नो बढेको पेट देखाएर फोटोसुट कसले र कसरी गर्‍यो भन्ने आधिकारिक जानकारी नभए पनि सन् १९९१ मा अमेरिकी फोटोग्राफर एन्नी लाइभोटिजले हलिउड अभिनेतृ डेमी मूरको तस्बिर खिचेकी थिइन् । योसँगै ‘बेबी बम्प’ देखाएर फोटोसुट गर्ने ट्रेन्ड सुरु भएको मानिन्छ । उक्त तस्बिर चर्चित म्याग्जिन ‘भेनिटी फेयर’ का लागि खिचिएको थियो, जुन नग्न थियो । म्याग्जिनको आवरणमा छापिएको तस्बिर निकै विवादित बन्यो भने धेरैले अभिनेतृ मूरको आलोचना गरे । उक्त तस्बिरले निकै तरङ्ग ल्याए पनि ट्रेन्डलाई भने पछ्याउन थाल्यो ।

यसको ट्रेन्ड विश्वभरि देख्न सकिन्छ । हलिउड होस् वा बलिउड । हरकोही आफू गर्भवती भएको कुरा खुलेर सार्वजनिक गर्छन् । हलिउड, बलिउड हुँदै कलिउडका नेपाली सेलिब्रेटीहरूले पनि यो ट्रेन्ड पछ्याइरहेको देख्न सकिन्छ । त्यतिमात्र होइन अहिले गर्भावस्थाको फोटोसुट गर्ने चलन सेलिब्रेटीमाझ मात्र सीमित छैन । जोकोहीले पनि आफ्नो बढेको पेटसँग फोटोसुट गराउन थालेका छन् । यो शैली पनि परम्पराकै रूपमा विकसित भइसकेको छ ।

यसरी गर्भवती हुँदाको तस्बिर खिचाउनेमा चर्चित गायिका बियोन्से, हलिउड अभिनेतृ नायिका एन्जेलिना जोली, किम कारदेसियन, स्कार्लेट जोन्सनदेखि बलिउड अभिनेतृ करिना कपूर, नेहा धुपिया, लिजा हेडन, अनुष्का शर्मा आदि छन् ।

तस्बिरहरू : सामाजिक सञ्जाल

 Image