Successfully Copied

मनमोहक एजेलिया

एजेलियालाई ‘रोयल्टी अफ द गार्डन’ भनिन्छ । यसको फूल लामो समयसम्म रहने र धेरै सेडमा फुल्ने भएकाले यो धेरैको रोजाइमा पर्छ ।

सिर्जना याता श्रेष्ठ

एजेलियालाई ‘रोयल्टी अफ द गार्डन’ भनिन्छ । यसको फूल लामो समयसम्म रहने र धेरै सेडमा फुल्ने भएकाले यो धेरैको रोजाइमा पर्छ । तर, यो फूलको उचित स्याहार–सुसारबारे थाहा नपाउँदा राम्रोसँग फुल्न सक्दैन । पात झर्ने, पहेंलो हुने र कोपिला सुक्ने समस्या देखिन थाल्छ । त्यसैले यसको हेरचाह बढी नै गर्नुपर्छ ।

अहिले यो फूल फुल्ने मौसम हो । हुन त यो वर्षायाममा पनि फुल्छ । यो फूल पातै नदेखिनेगरी फुल्छ । यसको सौन्दर्यले सबैलाई मोहित बनाउँछ । यो विभिन्न रंगमा मात्र फुल्दैन यो फूलको पत्र पनि भिन्न प्रकारमा पाइन्छ ।

जिनस रोडोडेड्रोन प्रजातिमा पर्ने एजेलियाको पात गुराँसको भन्दा अलिक साइजमा सानो र तिखो हुन्छ । विश्वमा १० हजारभन्दा बढी भेराइटीको एजेलिया पाइन्छ । यसको पात जनावर र बालबालिकाका लागि भने हानिकारक मानिन्छ ।

कसरी रोप्ने ?

नर्सरीमा राखिएको बिरुवा जुनसुकै सिजनमा पनि सार्न सकिन्छ । एउटा गमलाका लागि दुई मुठ्ठी कोकोपिट, दुई मुठ्ठी सुकेको पातको मल, आधा मुठ्ठी बालुवा मिक्स गर्ने र त्यसपछि गमलामा राखेर फूल रोप्नुपर्छ । धेरै ठूलो गमलामा रोप्नुहुँदैन । बिरुवाको जराको साइजभन्दा दुई वा तीन इन्चमात्र ठूलो गमलामा रोप्नुपर्छ । जसकारण माटोमा धेरै पानी जम्न पाउँदैन ।

स्याहार–सुसार

पानी धेरै हुनुहुँदैन तर जरा भने ओसिलो हुनुपर्छ । जरा सुख्खा नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । एजेलियालाई सीधा घामको किरणबाट बचाउनुपर्छ । नत्र बिरुवा मर्ने खतरा बढ्छ । पात झर्छ । कोपिला लागिसकेको पनि सुख्खा भएर मर्छ । साथै बिरुवा अस्वस्थ देखिन्छ । तर, ४०–४५ डिग्रीको तापक्रममा पनि यसको फूल फुलाउन सकिन्छ ।

जब एजेलिया फुलिसक्छ, फूल फुलेको डाँठ (एन्थर) लाई भाँचेर फाल्नुपर्छ । त्यसपछि त्यहीँबाट नयाँ मुना पलाउँछ । एउटा एन्थर बराबर दुईवटा मुना पलाउँछन् । दुईवटा मुना बराबर चारवटा फूल फुल्छन् । बेलाबेलामा सुकेका पातलाई निकालिरहनुपर्छ । २०–२० दिनको फरकमा फर्टिलाइजर (एचपी हन्ड्रेड) हाल्नुपर्छ । जसले फूल राम्रोसँग फुल्छ र बोट पनि स्वस्थ देखिन्छ । बेलाबेला माथिबाट कोकोपिट, बदामको खोस्टा कुटेर हालिरहनुपर्छ । त्यसैगरी कोइला कुटेर माथिबाट छर्कन पनि सकिन्छ । यसले फर्टिलाइजरको काम गर्छ र बिरुवामा प्रोटिन पनि पुग्छ ।

एजेलियालाई बोन्साई पनि गर्न मिल्छ । जून–जुलाईमा यसको कटिङ गर्नुपर्छ । जमिनमा रोपेर ठूलो बोट बनाउँदा आकर्षक देखिन्छ । एजेलियालाई रोप्न प्लास्टिकको भन्दा माटोको गमला उत्तम मानिन्छ । माटोको गमलामा हावा ओहोरदोहोर हुने भएकाले यस्तो गमलामा फूल सप्रिन्छ । एजेलियाको पात र कोपिला सुक्यो भने घाम नपर्ने शीतल ठाउँमा राखिदिनुपर्छ । धेरै पानी पनि हाल्नुहुँदैन । जरामात्र भिज्ने गरी पानी हाल्नुपर्छ । यसको जरा निकै संवेदनशील हुन्छ ।

रोगबाट कसरी बचाउने ?

एजेलियामा फंगस लाग्न सक्छ । त्यसका लागि बजारमा सजिलै फंगस हटाउने कीटनाशक औषधि पाइन्छ । अर्गानिक औषधि पनि पाइन्छ । त्यसलाई १५–१५ दिनको फरक पारेर लगाउन सकिन्छ । नत्र फंगस लागेको हाँगा नै काटेर फाल्न पनि सकिन्छ । त्यस्तै एजेलियामा ‘लेस बग्स’ सबैभन्दा बढी लाग्ने कीरा हो । जसले पातमुनिको हिस्सामा कालो कीराको झुन्ड बनाएर बस्छ र पात पहेंलो र सेतो देखिन थाल्छ । यसलाई नियन्त्रण गर्नका लागि किटनाशक औषधिको प्रयोग गर्न सकिन्छ ।

 Image