कहाँ छ महिला अधिकार ?

नारी संवाददाता

चैत्र १०, २०७७ म २६ वर्षकी भएँ । ज्याला–मजदुरी गर्छु । माइती धरान र घर सिन्धुपाल्चोक हो । हाल कपनचोकमा बस्छु । मेरा दुई वर्षका छोरा र पाँच वर्षकी छोरी छन् । जाँड–रक्सी खाएर रातदिन हिंसा गर्ने श्रीमान्ले अर्की श्रीमती ल्याए । हामी तीन जनालाई बिचल्ली पारेर छाडिदिए । बच्चा सानो छँदा काखमा च्यापेर घर ढलानको काममा हिँडें । गिट्टी, बालुवा र इटा बोकें । ज्यामी कामसमेत गरें । कति दुःख गरियो यही मनलाई थाहा छ, भनिसाध्य छैन । अझै पनि ढलान गर्ने ठाउँमा इटा, बालुवा बोकी ज्यामी काम गरेर दुई सन्तानलाई पालनपोषण गरिरहेकी छु । उनीहरूलाई राम्रो स्कुलमा पढाइरहेकी छु । बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मजदुरी गर्नुपर्छ । तैपनि बाँच्न धौ–धौ छ । मलाई त यो देशमा सरकार र महिला अधिकार दुवै छैनन् जस्तो लाग्छ । भएको भए हामी रातदिन पसिना बगाउनेलाई खान नपुग्ने किन त ? महिला अधिकार हुँदो हो त मजस्तो हिंसा पीडित झनै पीडित भएको किन त ? जति दुःख गरे पनि जीवनमा कहिल्यै सुविधा भएन । सरकार छ भने हामीजस्ता गरिबलाई बाँच्ने बाटो खोलिदिए हुन्थ्यो । जे गर्न सकिन्छ, त्यहीअनुसारको काम दिए हुन्थ्यो । महिला अधिकारको कुरा गर्दा के अधिकार छ भन्नु खै ? हामी निर्दोष हुँदा पनि पुरुषले दबाउँछन्, हामी दबिएरै बस्न बाध्य हुन्छौं । परिवार र समाजले पनि हामीलाई नै उल्टो दोष लगाउँछ । हाम्रो अधिकार हुँदो हो त हामीलाई पनि अलिकति राहत हुन्थ्यो । मजस्ता पीडितले अधिकार पाउँथे होलान् । जोसँग पैसा र पावर छ उसैलाई मात्र अधिकार छ जस्तो लाग्छ मलाई त । अब त मैले आफ्नो चाहना र अधिकारको कुरा बिर्सिसकें । अबको मेरो चाहना भनेको मेरा दुई सन्तानलाई राम्रोसँग पालनपोषण गरी पढाउन पाए हुन्थ्यो भन्ने हो । एउटी असल आमाको इच्छा त्यसभन्दा बढी हुँदो रहेनछ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>