सडक तताउने युवती

प्रकृति दाहाल

चैत्र ५, २०७७

प्रकृति भट्टराई बस्नेत

गत पुस ५ मा प्रतिनिधिसभा विघटनको घोषणा पछि चौतर्फी आलोचना हुँदै आएको छ । त्यसको विरोधमा नागरिक समाज, प्रतिपक्ष र सर्जक सडकमा देखिएका छन् । महिलाको उपस्थिति भने न्यून छ । सामाजिक अभियन्ता प्रकृति भट्टराई बस्नेतको ‘हाइपोथेसिस’ भने फरक थियो । उनलाई लागेको थियो महिला सडकमा आउनेवाला छन् । विघटनको विरोधमा उनीहरूले आवाज उठाउनेछन् । तर, महिलाको उपस्थिति न्यून देखेर उनलाई अचम्म लाग्यो । विघटनको मुद्दा सेलाउन नपाउँदै भागरथीको बलात्कारपछि हत्याको घटनाले चर्चा पायो । बलात्कारका घटनामा महिला सडकमा आउँछन्, बोल्छन् भन्ने प्रकृतिको सोचाइ पनि गलत साबित भयो । देशको राजनीतिक अवस्थादेखि बलात्कारका मुद्दामा महिलाको आवाज ननिस्कदा उनी निराश भइन् । त्यसपछि महिलालाई सामाजिक र राजनीतिक विषयमा अगाडि कसरी बढाउनेबारे उनले सोच्न थालिन् । त्यसैक्रममा उनका लागि सामाजिक सञ्जाल प्रभावकारी बन्न पुग्यो । यसैलाई माध्यम बनाई उनले साथीहरूसँग जोडिएर अभियान थालिन् । ‘अझै कति सहने ?’ अभियानको नाम दिइन् । धेरै युवती सडकमा उत्रिए । उपत्यकामा मात्र नभई देशभर यो अभियानमा युवतीहरू जोडिँदै विरोध थाले । युवतीहरूले ‘तँ बलात्कारी होस्’, ‘तँ भ्रष्टाचारी होेस्’, ‘ओइ सरकार सुन्’,‘जनताका कुरा सुन्’ लगायतका नारा लगाए । कालोपट्टी लगाउने मात्र हैन, ‘पर्फमेन्स आर्ट’ लगायतका क्रियाकलापमार्फत उनीहरूले विरोध जनाए । राज्यसत्ता र पुरुषसत्तालाई खबरदारी गरे । पछिल्लो समय प्रकृतिले राजनीतिक शिक्षासमेत दिन सुरुवात गरेकी छन् । ‘लिटरेसी फर वुमन’ संस्थामार्फत उनले शिक्षा अभियान थालेकी हुन् । हाल करिब ३ सय महिलाले शिक्षा लिइरहेका छन् ।

काठमाडौंको सम्पन्न परिवारमा एक्ली छोरीका रूपमा प्रकृतिको जन्म भएको हो । उनको पढाइसँगै राजनीति तथा सामाजिक विषयवस्तुमा पहिलेदेखिको चासो थियो । घरमा उनी जति राजनीतिका विषयमा चर्चा गर्थिन् त्यति उनी विद्यालयदेखि कलेजमा यी विषयमा चर्चा गर्न पाइनन् । उनका साथीहरूको यस्ता विषयमा रुचि नै थिएन । उनी भन्छिन्, ‘साथीहरूसँग राजनीतिक एवं सामाजिक विषयमा कुरा गर्न खोज्थें तर साथीहरूको रुचि नै थिएन । यो कुराले पनि उनलाई महिलाहरू राजनीति बुझ्न नचाहेकै कारण पछि परेका हुन् भन्ने महसुस गरायो । उनमा भने राजनीतिको भोक बढ्दै गयो । ०७४ मा चुनावको माहोल तातेकै बेला उनी ‘वुमन लिड’ संस्थामा आबद्ध भई इन्टर्नसीप गरिन् ।

चुनावी अभियानमा उनी काठमाडौं क्षेत्र नं.१ मा राजनीतिक साक्षरता अभियानमा जुटेकी थिइन् । उनलाई लागेको थियो उक्त क्षेत्रमा राजनीति बुझेका महिला हुन्छन् । तर, सोचेभन्दा फरक पाइन् । उनी भन्छिन्, ‘काठमाडौं क्षेत्र १ का महिलामा राजनीति चासो नहुँदा अचम्म लाग्यो, उनीहरूलाई भोटिङ कार्डदेखि उम्मेदवारबारे समेत थाहा रहेनछ ।’ राजनीति बुझ्ने प्लेटफर्म अभावका कारण पनि महिलाहरूले आवाज उठाउन नसकेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘राजनीति नबुझेसम्म केही कुरा बुझिँदैन, यसकारण हरेक व्यक्तिले राजनीति बुझ्न आवश्यक छ । त्यसैका लागि हो संस्था र अभियान ।’ उनको अवको उद्देश्य भनेको अभियानलाई व्यवस्थित गर्दै महिलालाई सशक्त बनाउनु हो ।

‘अझै कत्ति सहने’को अभियानमा साथ दिइन् सगुन भेटवालले । उनी पनि कालोपट्टी लगाएर सडकमा उत्रिइन् । उनी देशमा भइरहेका बलात्कारका घटनाबाट चिन्तित थिइन् । पछिल्लो समय सामाजिक सञ्जालमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने आवाज उठेको छ । हरेक पुस्ताका व्यक्तिहरू मृत्युदण्डका पक्षमा उभिन थालेका छन् । सगुनलाई भने मृत्युदण्ड समाधान होइन यो गलत हुँदैछ, युवाहरूले गलत तरिकाले बुझिरहेका छन् भन्ने लाग्यो । मृत्युदण्ड समाधान होइन भनेर अभियान चलाउनुपर्ने समूहको निष्कर्षमा आफूले पनि सहमति जनाएको उनी बताउँछिन् । भन्छिन्, ‘बलात्कार सामाजिक चेतनाको अभावले भइरहेको छ, यसको समाधान मृत्युदण्ड होइन, हामीले यही नै सन्देश दिन खोजेका छौं ।’

 

सगुन भेटवाल

काठमाडौंमा जन्मे–हुर्केकी सगुनका परिवारमा छोरा भएनन् । त्यही कारणले उनले परिवारबाट आलोचनाका साथै विभेद पनि भोग्नुपर्‍यो । परिवारलाई छोराका बारेमा सधै प्रश्न उठिरहन्थ्यो । छोरीहरू जति अब्बल भएपनि छोरा नै चाहिने समाजको सोचप्रति दुःखी हुन्थिन् । घर र समाजमा छोरीहरू असुरक्षित भएको देख्दा उनी आवाज उठाउन अग्रसर बनिन् । यसमा परिवारको साथ पाइन् । उनी कहिले कालोपट्टी लगाएर विरोधमा उत्रिन् त कहिले विभिन्न माध्यमबाट आवाज उठाइरहिन् । महिलामाथि हुने विभेद र बलात्कारका घटनामा आवाज उठाउन पछि पर्न नहुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘आवाज नउठाए दबाइने डर हुन्छ, यसका लागि पनि हामीले राज्य पक्षलाई खबरदारी गरिरहनुपर्दछ ।’ अभियानमार्फत अभियन्ताहरूले कानुनी तहसम्मै खबरदारी गरिरहेको उनी बताउँछिन् । भन्छिन्, ‘बलात्कारका घटनामा मिलापत्र गर्नेदेखि सजायको समेत उचित कानुन निर्माणका लागि हामीले पहल गरिरहेका छौं ।’ उनका अनुसार व्यक्तिमा चेतना जगाउनु आवश्यक छ । चेतना नभएसम्म यस्ता घटनाहरू दोहोरिरहन्छन् ।

अभियानका क्रममा सकारात्मक मात्र होइन नकारात्मक टिप्पणीहरू पनि त्यत्तिकै आउने गरेका छन् । उनी भन्छिन्, ‘सुरुका दिनमा अभ्यास नभएकै कारण केही अप्ठ्यारो त भयो, तर अहिले सहज रूपमा लिने गरेका छौं ।’ उनका अनुसार अभियानमार्फत नै चेतना फैलाउँदै राजनीतिक तहसम्म खबरदारी गर्नु हो ।

 

अन्शु खनाल

हिंसाको प्रतिकार कसरी गर्ने ? राज्यसत्तालाई कसरी खबरदारी गर्ने ? यसका फरक तरिकाहरू हुन सक्छन् । तर, अन्शु खनालले भने विरोधको फरक तरिका अपनाइन् । उनी जिउँदै शव बनेर खाटमा चढिन् । आधुनिक तरिकाले ‘पर्फमेन्स आर्ट’मार्फत उनले विरोध जनाइन् । उनलाई साथ दिएका थिए कलाकार रसिक राज, प्रज्ज्वल अधिकारी र प्रभात तिमल्सिनाले । गत माघ ३० मा प्रतिगमन विरुद्धको महिला मार्चमा शव बनेर उनले करिब डेढ घन्टा यात्रा गरिन् । जब उनी चितामा थिइन् त्यसबेला अन्शुलाई बलात्कारका घटनाहरू झलझली याद आए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाले भने उनलाई नराम्ररी झस्कायो । उनलाई लाग्यो जिउँदै मर्नुपर्दा कति कठिन हुँदो रहेछ । उनले बलात्कार भोग्नेहरूको पीडा सम्झिइन् । भनिन्, ‘मैले सुन्दा मात्रै यति पीडा भोगें भनेबलात्कारको पीडा भोग्नेहरूलाई कति कठिन भयो होला ?’ बलात्कारको पीडा मात्रै उनले सम्झिनन् आफूले बाल्यकालदेखि भोगेका पीडाहरू पनि उनका आँखा अगाडि आइपुगे । घरमा छोरा नहुँदा आमाले भोगेका पीडा, बच्चादेखि नै पुरुषहरूले गरेको ‘ब्याड टच’ का घटनाहरू सम्झिन् । उनको यो प्रस्तुतिलाई धेरैले धर्मसँग जोडेर पनि नकारात्मक टिप्पणी गरे । तर उनले कुनै धर्मसँग नजोडी संस्कारअनुसार अभिव्यक्ति दिएको बताइन् ।

गोर्खाको आरुपोखरीमा जन्मिएकी उनी कवि र सञ्चारकर्मी पनि हुन् । उनले ‘आभा फर क्रिएटिभिटी’ संस्थामार्फत समाजमा भएका विकृतिहरूलाई विभिन्न माध्यमबाट प्रस्तुत गरिरहेकी छन् । ‘पर्फमेन्स आर्ट’मा भने श्रीमान्को सहयोगमा अघि बढिरहेकी छन् । श्रीमान्ले ‘पर्फमेन्स आर्ट’मा स्नातकोत्तर गरेकाले पनि अगाडि बढ्न हौसला मिलेको छ । उनी सानैदेखि समाजका कुरीतिप्रति प्रतिकार गर्थिन् । घरमा छोरा नभएका कारणले परिवारले थुप्रै विभेद भोगेको छ । छोरा नै चाहिने पितृसत्तामक संस्कार विरुद्ध पनि छोरीहरू बोल्नुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो समाजमा छोरा नै चाहिने संस्कार पनि छोरीहरूले नै तोड्नुपर्छ, पितृसत्तामक सोचलाई चिर्दै अगाडि बढ्नुपर्छ ।’ आफ्नो पुस्ताले भोगेको विभेद भोलिको पुस्ताले नभोगून् भन्नका लागि विभिन्न तरिकाले युवाहरू सचेत हुनुपर्ने उनको भनाइ छ । विरोध जनाउन सडकमै आउनुपर्छ भन्ने छैन विभिन्न तरिकाले विरोध जनाउन सकिन्छ । उनी भन्छिन्, ‘अहिलेका युवाहरू प्रविधि मैत्री छन्, त्यसकारण कुरीतिलाई विभिन्न माध्यमबाट आवाज अठाउनु आवश्यक छ ।’

 

संगीता उराँव

प्रजातन्त्र दिवस मनाइरहँदा नाट्यकर्मी संगीता उराँवले कविता वाचन गरिन् । उनले कुडुख (उराँव) भाषामा कविता वाचन गरेकी थिइन् । उनको कविताको शीर्षक थियो ‘मेना शासक’ जसको नेपालीमा अर्थ हुन्छ ‘ओ शासक सुन’ । उनले राज्यपक्षलाई विलासी जीवन नबिताउन खबरदारी गरेकी थिइन् । भुइँमान्छेलाई आश दिलाएर सत्तामा पुगेपछि जनता बिर्सर्नेहरूलाई उनले झक्झकाएकी छन् । इमान्दार नागरिकहरूलाई नक्कली सपना देखाएर भुइँमान्छेहरूलाई बिर्सिएकोबारे उनले कवितामार्फत आक्रोश पोखिन् । रंगमञ्चमा भविष्य बनाउँदै गरेकी संगीताको आक्रोश त्यसै आएको भने होइन । देशमा कोरोना महामारीको भयावह स्थिति थियो । त्यसबेला राज्य पक्षले महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेन । यसले गर्दा पनि राज्यको चरम लापरबाहीदेखि जनताका समस्याबारे राज्यले ध्यान दिएन । यसले गर्दा उनलाई लाग्यो राज्य जनताको दुःखमा बेपरवाह छ । भोट माग्न आउँदा आश्वासन र सपना देखाउने नेताहरू जनताका समस्यामा गैरजिम्मेवार बनेको देख्दा उनीमा आक्रोश छ । उनी भन्छिन्, ‘जनताका समस्याभन्दा पनि नेताहरू आफ्ना स्वार्थ र विलासिताको जीवन बिताउन थालेका छन् । त्यसकारण खबरदारी गरेकी हुँ ।’ जनताका धेरै समस्या छन् । समाधानमा राज्य पक्षको ध्यान जाओस् भन्नकै लागि कविता वाचन गरेको उनी बताउँछिन् । संगीताको परिवार कृषिमा आश्रित छ । उनको आफ्नो जग्गा छैन । भोट माग्न जाने बेलामा नेताहरूले जग्गा दिलाउनेदेखि धेरै सपना बाँड्छन् । उनीहरू भनेअनुसार काम नहुँदा हरेक व्यक्तिमा आक्रोश आउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘चुनाव आउँदा मात्र नेताहरू आँगनमा पुग्छन्, अरु बेला जनताका समस्या कहिल्यै सुन्दैनन् ।’ कृषकका थुप्रै समस्या वर्षौंदेखि अलपत्र छोडिएको उनी बताउँछिन् । नागरिक भएर आफ्नो तरिकाले राज्यसत्तालाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ । अहिलेको युवापुस्ता अझै जागरुक हुनुपर्ने उनी बताउँछिन् ।

 

‘युवामा राजनीतिक र सामाजिक चासो बढ्दो’

अर्चना थापा, लेखक

बलात्कारका घटना दिनप्रतिदिन बढ्दै जानु, महिलाका मुद्दाहरूमा बहस नहुनु, पितृसत्तात्मक सोचले महिलालाई अघि बढ्न नदिनु जस्ता कारणहरूले पछिल्लो समय युवाहरूमा राजनीतिक र सामाजिक चासो बढ्दै गएको छ । महिला मार्च होस् वा नागरिक आन्दोलन होस्, युवापुस्ताको संख्या बढ्दो छ । सामाजिक सञ्जालका कारण पनि युवाहरू एकजुट हुन थालेका छन् । पहिले पनि सडकमा महिला नदेखिएका होइनन् तर अहिले संख्यात्मक रूपमा बढी भएको मात्र हो । यसको कारण सामाजिक सञ्जाल हो । अहिलेको पुस्ताले गलत कदमको विरोध गर्न थालेको छ । युवाहरू हरेक गतिविधिमा प्रश्न गर्न योग्य भएका छन् ।

 

‘रचनात्मक ढंगले अघि बढाउनुपर्छ’

मोहना अन्सारी, मानव अधिकारकर्मी

पछिल्ला घटनाक्रमले युवाहरूमा निराशा छाएको प्रस्ट देखिन्छ । युवाको एउटा वर्ग मात्रै आन्दोलित भएको छैन । सबै वर्गका युवा आन्दोलित हुन थालेका छन् । आन्दोलनको शैलीभन्दा पनि युवाहरूको अभिव्यक्ति भन्छु म । युवाहरूकुन संस्कारबाट हुर्किएका छन् । त्यहीअनुसार नै युवाहरूले अभिव्यक्त गरेका छन् । यसमा नकारात्मक टिप्पणी गर्नुपर्ने आवश्यकता म देख्दिनँ । महिला मार्चमा लाश बनेको कुरा धेरैले विरोध गरे । तर, त्यसमा कलाकारहरू कुन संस्कारबाट आए सोहीअनुसार कला प्रदर्शन भएको हो । यसलाई मैले सकारात्मक रूपमै हेरेकी छु । विभिन्न माध्यमबाट युवाहरूको आवाज उठिरहन्छ । युवाहरूलाई अब रचनात्मक ढंगले अघि बढाउँदै लानुपर्छ ।

 

‘नेतृत्वले युवालाई समेट्नुपर्छ’

नवीना लामा, युवा नेतृ

सडकमा आन्दोलित युवाहरूलाई विभिन्न कोणबाट विश्लेषण गर्नुपर्ने हुन्छ । कोही राजनीतिक विचारधाराबाट परिचालित छन् । कोही संस्थागत रूपमा आन्दोलित भएका छन् । कोही नागरिकका रूपमा सडकमा पुगेका छन् । पछिल्लो समय सडकमा उल्लेख्य युवाको सहभागिता देखिएको छ । नागरिकका रूपमा देखिने युवाहरू भने बलात्कारका घटनामा उचित कारबाही नभएको र राजनीतिक अस्थिरताका कारणले सडकमा पुगेका हुन् । उनीहरूले विभिन्न शैलीमा आन्दोलन गरेका छन् । कालोपट्टी लगाएर गरेको खबरदारीले मलाई भावुक बनायो । तर मलाई लाश बनेर गरेको आन्दोलन त्यति उचित लागेन । त्यो आन्दोलन हिन्दू संस्कारमा मात्रै केन्द्रित थियो । चार जात छत्तीस वर्ण रहेको एउटा धर्मको संस्कार भिर्नु राम्रो होइन । राजनीतिक नेतृत्वकै कारण युवाहरूमा निराशा छाएको पक्कै हो । अब नेतृत्ववर्गले युवाहरूका बारेमा सोच्नुपर्छ । नेतृत्वले युवाहरूका भावनालाई समेट्न सक्नुपर्छ ।

तस्बिर : केशव थापा

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>