Successfully Copied

महान् महावीर

केन्द्रले भेन्टिलेटर, आइसियु मर्मत र बनाउनेदेखि पीपीई समेत उपलब्ध गराइरहेको छ । केन्द्रमा दैनिक करिब चार सय पीपीई उत्पादन हुन्छ । महावीर शिक्षक र समाजसेवीका साथै युवा वैज्ञानिकका रूपमा संसारभरि परिचित छन् ।

कोरोनाको महामारीमा अंग्रपक्तिमा खटिने व्यक्ति हुन् महावीर पुन । उनीद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रले उक्त समयमा अस्पतालहरूमा पीपीईदेखि भेन्टिलेटर उपलब्ध गराउँदै आएको छ । करिब आठ महिनादेखि उनी निरन्तर अस्पतालहरूमा सेवा दिँदै आएका छन् । केन्द्रले भेन्टिलेटर, आइसियु मर्मत र बनाउनेदेखि पीपीई समेत उपलब्ध गराइरहेको छ । केन्द्रमा दैनिक करिब चार सय पीपीई उत्पादन हुन्छ । महावीर शिक्षक र समाजसेवीका साथै युवा वैज्ञानिकका रूपमा संसारभरि परिचित छन् । उनले ०७६ मा काठमाडौंस्थित कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी विभिन्न आविष्कार गर्दै आएका छन् । कृषि, स्वास्थ्य शिक्षाजस्ता क्षेत्र लक्षित गर्दै नयाँ–नयाँ आविष्कारहरू केन्द्रबाट भइरहेका छन् ।

महावीर ६५ वर्षअघि म्याग्दीको नागी गाउँमा जन्मिएका हुन् । उनी आफ्नो जन्म ढुंगे युगमा भएको बताउँछन् । त्यसबेला उनको गाउँमा न बिजुली थियो न विद्यालय, न त कुनै सडक सञ्जाल । इन्टरनेट त टाढाको कुरा भयो । गाउँमै उनी हुर्किए । ढुंगा, पाटीमा लेख्दै, पढ्दै अक्षर चिन्ने भए । उनले गाउँमा राम्रो विद्यालयमा अध्ययन गर्न पाएनन् । अध्ययनका लागि उनले विभिन्न स्थान घुमिरहे । महावीरले चितवनबाट एसएलसी र काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सीको अध्ययन पूरा गरे । तर, उनले भावी पुस्ताका लागि गाउँमा अध्ययनमा कुनै रोकावट नहोस् भनेर गाउँमै विद्यालय खोल्ने अभियान चलाए । उनकै अभियानको परिणाम हो, नागीको हिमाञ्चल उच्च माध्यमिक विद्यालय ।

उनको जीवनको बाटो तब मोडियो, जब उनी स्नातकोत्तर अध्ययनका लागि अमेरिका पुगे । उनले १९८९ अमेरिकाको नेब्रास्का युनिभर्सिटीबाट शिक्षामा स्नातकोत्तर गरे । अमेरिकामा अध्ययन पूरा गरेपछि त्यहीँ बस्न उनलाई अरुले नसुझाएका पनि होइनन् । तर, उनलाई विदेशको मोहले तानेन । नेपालमै केही गर्ने अठोटका साथ उनी स्वदेश फर्किए । स्वदेश फर्केपछि उनको पहिलो प्राथमिकता बन्यो, विद्यालय खोल्नु । विद्यालय सञ्चालनपछि उनले भोलेन्टियर शिक्षकका रूपमा अध्यापनसमेत गरे । विद्यालय सञ्चालन र अध्यापनसँगै उनको लक्ष्य नमुना शिक्षाका साथै आर्थिक विकासमा टेवा पुर्‍याउने बन्न पुग्यो ।

हाल भने उनी आविष्कार क्षेत्रमै रमाइरहेका छन् । शिक्षण पेसाका महावीरको आविष्कार यात्रा कसरी सुरु भयो त ? यसबारेमा जानकारी लिन उनका अतीतलाई कोट्याउनैपर्ने हुन्छ । सन् २००१ मा विदेशबाट फर्कनासाथ उनी समाजसेवामा सक्रिय रहे । सामुदायिक विकासका लागि सहयोग गर्ने स्वास्थ्य, पर्यटन र नमुना शिक्षाको विकासका लागि उनी अग्रसर बने । गाउँघरमा घुलमिल हुँदै जाँदा त्यहाँ उनले इन्टरनेटको आवश्यकता महसुस गरे । त्यो समयमा नेपालको कुनै पनि गाउँमा इन्टरनेट फोनको सुविधा थिएन । उनको त्यो महत्वाकांक्षालाई बीबीसीले विश्व समुदायबीच परिचित गराइदियो । युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरूले महावीरलाई आर्थिक सहयोग गरे । सहयोगबाट उनी नागी र राम्चे आसपासका गाउँमा वायरलेस इन्टरनेट सञ्चालन गर्न सफल भए ।

आफ्नो जीवनका करिब २० वर्ष यही क्षेत्रमा समाजसेवा गर्दै बिताएपछि यो कामबाट पनि उनलाई आत्मसन्तुष्टि मिलेन । सामाजिक कामले मात्र देशको विकास नहुने रहेछ भन्ने अनुभव जब उनले बटुले तब उनले फरक बाटो रोजे । देशको आर्थिक विकासलाई अघि बढाउने सोचका साथ उनले आविष्कारको अवधारणा बनाए । राष्ट्रिय आविष्कार केन्द्रलाई राष्ट्रव्यापी रूपमा अघि बढाई देशका प्रतिभाहरूलाई काम गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ उनी आविष्कारका क्षेत्रमा अघि बढ्न थाले । आविष्कार केन्द्रबाट देशको आर्थिक अवस्थालाई अघि बढाउँदै रोजगारी सिर्जना गर्न मद्दत पुगेको उनको भनाइ छ । देशको आर्थिक विकासका लागि उनी अग्रसर भए तर उनका लागि राज्य अग्रसर भएको छैन । राज्यको आर्थिक सहयोग नभएपछि जनस्तरबाटै उनी आविष्कारको काम सञ्चालन गरिरहेका छन् । नेपालजस्तो अविकसित देशमा आविष्कारको अवधारणाको विकास नभएकाले राज्य यस विषयमा गम्भीर हुन नसकेको उनी बताउँछन् । तर आर्थिक विकासका लागि आविष्कारमा लगानी गर्न पछि पर्न नहुने उनको धारणा छ ।

देशमा भइरहेका राजनीतिकदेखि सामाजिक गतिविधिमा पनि उनी चासो राख्छन् । पछिल्लो समय देशमा बढेको महिला हिंसाबारे पनि उनी जानकार छन् । नारीलाई गर्ने भेदभावका कारण हिंसा बढ्दै गएको उनको तर्क छ । उनी भन्छन्, ‘नारीमाथिको भेदभावले नै हिंसालाई प्रश्रय दिइरहेको छ ।’ नारी पुरुषलाई भेदभावका रूपमा हेर्न नहुने उनको भनाइ छ । नारीहरूले आफूलाई कमजोर ठान्न नहुने उनी बताउँछन् । महावीर भन्छन्, ‘महिलाले आफूलाई कमजोर ठान्नु हुँदैन, महिला अधिकारका लागि महिला नै अगाडि बढ्नुपर्छ, अधिकारका लागि लड्नुपर्छ ।’

आविष्कार केन्द्रले नारीलाई समेत लक्षित गर्दै विभिन्न आविष्कार गरेको छ । महिला उद्यमीहरूको मागअनुसार मकै भुट्ने, सेल रोटी पकाउने र लुगा धुने मेसिन बनाउने तयारी केन्द्रले गरिरहेको छ । त्यस्तै, स्यानिटरी प्याड बनाउनका लागि आविष्कार केन्द्र जुटेको छ ।

सरल व्यक्तित्वका धनी महावीर सामान्य जीवनशैली अपनाउँछन् । सादा जीवन र उच्च विचारको शैलीमा उनी अगाडि बढिरहेका छन् । उनको अबको लक्ष्य भनेको आविष्कार केन्द्रमार्फत देशलाई समृृद्धिको बाटोमा डोर्‍याउनु हो ।

 Image