Successfully Copied

वर्ष २०२० कस्तो रह्यो ?

सन् २०२० त्यति राम्रो रहेन । कोरोना कहरले स्कुल बन्द भए । म शिक्षिका र संगीतकर्मी भएकाले यो वर्ष केही काम भएन । सबै ठप्प भए । कुनै सिर्जनात्मक कार्य भएन । आफ्नो सिर्जना नमरोस् भनेर ‘कुन्ती मोक्तान’ नामक युट्युब च्यानल खोलेर घरैमा

सन् २०२० मा संसारभर नोबेल कोरोना भाइरस देखापर्‍यो । नेपालमा महिला हिंसालगायतका अन्य हिंसाका घटना बाहिर आए । ‘बितेको वर्ष २०२० कस्तो रह्यो त’ भनेर विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूसमक्ष हामीले जिज्ञासा राखेका थियौं ।

डा.कुमकुम गुप्ता झा

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, नर्भिक अस्पताल

बितेको वर्ष तनावपूर्ण रह्यो । अहिलेको परिप्रेक्ष्यमा कोभिडका कारण अन्योलपूर्ण स्थिति र आफू पनि कोरोना पीडित भएकाले तनावमै बित्यो । मलाई निक्कै गाह्रो भयो, खाना खानै सकिन, लगातार बान्ता भइरह्यो । आइसोलेसनमा बस्दाको मानसिक पीडा पनि उत्तिकै भयो । जे–जस्तो भए पनि ड्युटी गर्न छोडिएन । परिवारसँग भने दूरी कायम गरियो । मेरा बूढा ससुरा भने म टाढा–टाढा भएको देखेर चित्त दुखाउनुहुन्थ्यो । कतै मानसिक विचलन आउला कि भनेर पुस्तक पढ्ने, शारीरिक व्यायाम गर्ने कुरालाई निरन्तरता दिएँ । भाइरसका बारेमा भन्दा पनि अरुका बारेमा सोच्ने मनस्थितिमा बिताइयो, धेरै समय । वर्ष २०२० मेरो निराशाजनक नै बित्यो, सुरुवातमै सासू बित्नुभएकाले ससुरा सम्हाल्नुपर्‍यो । त्यसमाथि उहाँलाई पनि कोभिड भएर आइसियुमा भर्ना गर्नु पर्‍यो । सानो छोरालाई समेत कोभिड भएको थियो ।

 

कान्तिका सेजुवाल, मेयर, चन्दननाथ नगरपालिका, जुम्ला

वर्ष २०२० समग्रमा कोभिड १९ को महामारीले त्रसित बनाएर बित्यो । धेरैले ज्यान गुमाए । यो भाइरसले विकास निर्माणमा असर पार्‍यो । हामीजस्ता विकास निर्माणमा लाग्नेहरूका लागि दुर्भाग्यपूर्ण वर्षका रूपमा म हेर्छु । संविधानको उल्लंघन भयो । एसिया महादेशकै टप संविधान थियो हाम्रो देशमा । यसको उल्लंघन भएको छ । यसले हामी नेपालीमा नराम्रो असर पारेको छ । महिला हिंसाका घटना, विविध कारणले हत्या, लुटपाटका घटना भए । तसर्थ यो वर्षलाई मैले त्यति सुअवसरका रूपमा लिइनँ ।

इन्दु तुलाधर, बरिष्ठ अधिवक्ता

निश्चित रूपमा २०२० मा जनजीवन प्रभावित रह्यो । भाइरसको प्रभाव एकातिर थियो भने सरकारले मानवीय सहयोग गर्ने अवसर अर्कोतिर थियो । भाइरसको प्रभावलाई कम गर्ने कार्य हाम्रो वशमा थिएन । तर, हाम्रो वशमा भएको कुरा पनि सरकारले जनताका लागि गर्न सकेन । खासगरी नेपालको परिप्रेक्ष्यमा सरकार मानव–मानवबीचको मानवीयता र सहयोग देखाउने अवसरबाट चुक्यो । झन् त्यति नै बेला मेडिकल इक्युपमेन्ट खरिदका बेला भ्रष्टाचारका कुरा आए । न्यायको पहुँचको कुरा कहाँ पुग्यो कहाँ ? यही वर्ष लैंगिक हिंसा आकासियो । सम्बन्धित निकायहरू अपरिपक्व देखिए । दलीय व्यवस्थामा यस्तो नहुनुपर्ने थियो । सत्तामा बसेको दलभित्रको अन्योल, अस्थिरतादेखि संसद् भंग गर्नेसम्मको असंवैधानिक काम भयो । नेपाली नागरिकका लागि बितेको वर्ष सहज र सरल हुन सकेन ।

कुन्ती मोक्तान, गायिका

सन् २०२० त्यति राम्रो रहेन । कोरोना कहरले स्कुल बन्द भए । म शिक्षिका र संगीतकर्मी भएकाले यो वर्ष केही काम भएन । सबै ठप्प भए । कुनै सिर्जनात्मक कार्य भएन । आफ्नो सिर्जना नमरोस् भनेर ‘कुन्ती मोक्तान’ नामक युट्युब च्यानल खोलेर घरैमा धेरै गीत रेकर्ड गराएँ । ती गीतलाई घर वरिपरि भिडियो बनाएर सोही च्यानलमार्फत बजाउने काम गरियो । कोरोनाका कारण यो वर्ष हरेक परिवारभित्रका सदस्यबीचको सम्बन्ध प्रगाढ बनाउने सन्देश दियो भन्ने लाग्छ । मैले पनि यी कुरा मनन र पूर्ण रूपमा सदुपयोग गरें । घरमै परिवारसँग समय बिताएरै २०२० को अन्त्य भयो ।

रूपा शर्मा “नेहा”, सञ्चारकर्मी

गएको वर्ष रमाइलो र उत्साहजनक रहेन । कोभिडले गर्दा त्रासपूर्ण नै रह्यो । कामहरू केही समय रोकिए । जुन गतिमा जीवन दौडिइरहेको थियो त्यसमा ब्रेक लाग्यो तर ठप्प चाहिँ भएन । गतवर्ष महिला हिंसाका घटना धेरै देखिए । मैले टेलिभिजनमार्फत अल्पसंख्यक र सीमान्तकृतको मुद्दा बढी उठाएँ । उनीहरूको आवाज कतै पनि सम्बोधन नभएको र नीतिगत तहमा कतै पनि नसमेटिएको पाइयो । उनीहरूले ज्यालामजदुरी गरेर आफ्नो गुजारा गरिरहेकामा कोभिडले गर्दा बिचल्ली भएको पाइयो । कोभिडकै कारण फुर्सदले गर्दा वैवाहिक बलात्कारका घटनाहरू देखिए । सन् २०२० मा मैले काम गरेको अर्को महत्वपूर्ण मुद्दा क्याबिन, मसाज सेन्टर, डान्स बारमा काम गर्नेहरूको मुद्दा हो । तिनीहरू कोभिडपछि कहाँ छन् त ? ती दिदीबहिनीहरू, ती किशोर–किशोरीहरू खोइ कहाँ गए ? राज्यले खोजेको खोइ ? के तिनीहरू यौन व्यवसायमा त लागिरहेका छैनन् ? कोरोना महामारीको चुनौतीका बाबजुद पनि सन् २०२० लाई मैले सकारात्मक रूपमा लिएकी छु ।

सविता पाण्डे, शिक्षिका, अपी स्कुल

सन् २०२० को सुरुवातमै कोरोनाले धेरै कुरा सिकायो । युरोप, अमेरिकामा प्रयोगमा आएको भर्चुअल क्लास सुरु–सुरुमा गाह्रो लागे पनि पछि–पछि रमाइलो लाग्दै जान थाल्यो । यसले गर्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । शिक्षिका भएकाले कक्षामा कसरी र कस्तो पढाउँछु भन्ने थाहा थिएन, तर अहिले मलाई अभिभावकले पनि प्रत्यक्ष रूपमा देख्न र मूल्यांकन गर्न पाउँछन् । यो मेरा लागि प्लस प्वाइन्ट हो । गएको वर्ष धेरै पर्व, समारोहमा सरिक हुन पाइएन । विवाह, व्रतबन्ध, चाडपर्व धुमधामले मनाउन पाइएन । चाडपर्व आएजस्तो महसुस भएन । यो हाम्रो जीवनकै पहिलो अनुभव होला सायद, यो अन्तिम बनोस् ।

 Image